रातमाटे–६, भस्मे, ओखलढुंगाका १९ वर्षीय शिव खड्काले लामो दूरीको रिमोट आविष्कार गरी सफल परीक्षण गरेका छन् । उनले जिल्लाका सुरक्षा निकाय प्रमुखहरूको उपस्थितिमा करिब २ सय मिटर टाढा बसेर रिमोटबाट एकै पटकमा रेडियो, हेलिकप्टर र सानो परिमाणको विस्फोटक पदार्थ विस्फोट गराएका थिए ।
रिमोट थिच्दा एकैपटक रेडियो बज्नुका साथै हेलिकप्टरको पंखा घुमेको र विस्फोटक पदार्थ विस्फोट भएको थियो । खड्काले कम्तीमा पनि ५ किलोमिटरको दूरीबाट समेत यो रिमोट चलाउन सकिने दाबी गरे । यसअघि उनले स्विचबाट चल्ने गाडी र पंखा घुमेर आफैं मोडिने हेलिकप्टरको परिक्षण गरिसकेका छन् । खड्काले शिक्षा संकायमा गाउँकै जाल्पा उच्च माविबाट कक्षा १२ उत्तीर्ण गरेका हुन् ।
शिवले आविष्कार गरेको सामग्रीमा स्थानीय स्रोत–साधन मात्र प्रयोग गरिएको छ । प्लास्टिकका बट्टा, सोलार ब्याट्री, तार आदि जोडेर उनले यो रिमोट तयार गरेका हुन् । विस्फोटनको क्षेत्रमा चाहिँ शिवको आविष्कार नयाँ हुन सक्ने नेपाल प्रहरीका डिएसपी दिपेन्द्र शाहले बताए । प्राय: ५ सय मिटर दुरीभित्रबाट मात्र रिमोट सिस्टममा बमलगायतका विस्फोटक पदार्थ विस्फोट भएको सुनिएकोमा शिवले गरेको दाबी नयाँ भएको शाहको भनाइ छ ।
कतिपयले उनलाई ‘बम बनाउने युवा’ भनेर नकारात्मक रूपमा चर्चा गरे पनि त्यसो नगर्न उनका आफन्तहरूले अनुरोध गरेका छन् । उनको क्षमताको कदर गर्न सके मात्र सकारात्मक काममा लगाउन सकिने उनीहरूको भनाइ छ ।