सूचना–प्रविधिको यो युगमा गुगल सर्च इन्जिनले मानिसहरूलाई केही कुरा सिक्न वा जान्न निकै सहज बनाइदिएको छ । आफूले खोजेको कुरा शब्द वा वाक्य गुगल सर्च इन्जिनमा टाइप गरेर सर्च गर्नेबित्तिकै त्यससँग सम्बन्धित हजारौँ सामग्री तथा सूचना र तथ्यहरू फरर देखा पर्छन् । विकिपेडिया होस् वा अन्य विभिन्न खालका आधिकारिक वेबसाइटहरूमार्फत चाहेको कुरा पढ्न वा जान्न सहज बनाएको छ गुगलको सर्च इन्जिनले, तर अब गुगलको सर्च इन्जिनमा खोजेर अन्य स्रोतहरूमा पुगी चाहेको कुरा अध्ययन गर्ने मात्र होइन, आफूले चाहेको वा खोजेको आधिकारिक पुस्तकसमेत पढ्न पाइन्छ ।
गुगलले आफ्नो गुगलबुक्स सेवामार्फत लेखकका पुस्तकहरू अनलाइनमा उपलब्ध गराउँदैछ । लेखकहरूले आफ्ना पुस्तक प्रकाशनका लागि गुगलबुक्सलाई दिन सक्छन् र त्यसरी दिइएका पुस्तक स्क्यान गरी गुगलले गुगलबुक्समा राखिदिन्छ ।
करिब १० वर्षको कानुनी लडाइँपछि गुगलले केही हप्तापहिले आफ्नो अनलाइन पुस्तकालय स्थापना गर्ने अर्थात् गुगलबुक्स सुरु गर्ने अनुमति पाएको हो । यससँगै गुगलको पुस्तकालय परियोजना अर्थात् पुस्तकलाई स्क्यान गरी अनलाइनमाउपलब्ध गराउने प्रयास अघि बढ्नेछ ।
गुगलले केही वर्ष पहिले नै पुस्तकलाई स्क्यान गर्ने प्रयास सुरु गरेको थियो । गुगलबुक्सले गुगल प्रयोगकर्तालाई पुस्तकका विभिन्न भागलाई अनलाइनमा पढ्न पाउने सुविधा प्रदान गर्छ । यदि पुस्तक मन पर्यो भने त्यसलाई अनलाइन खरिद गर्न पनि सकिन्छ ।
गुगलको पुस्तकलाई अनलाइनमा उपलब्ध गराउने यस्तो कार्यविरुद्ध लेखकहरूको एक समूहले अदालतको ढोका ढक्ढक्याएको थियो एक दशकपहिले । आफूहरूसँग कपी राइट भएको अवस्थामा गुगलले त्यस्तो गर्न नपाउने लेखकहरूको दाबी थियो, तर अमेरिकी अदालतले भने गुगलकै पक्षमा फैसला गर्यो ।
अब यससँगै गुगलको अनलाइन पुस्तकालयमाथिको कानुनी अड्चन हटेको छ र गुगलको पुस्तक स्क्यान गर्ने परियोजना अघि बढ्नेछ । अब प्रयोगकर्ताहरूले अहिलेसम्म पढ्न नपाएका र बजारमा नपाइने पुस्तक पनि गुगलबुक्समा गएर अनलाइनमा पढ्न पाउनेछन् ।
लेखकहरूले आफ्नो पुस्तकको हार्ड कपी मात्र नभै पिडिएफ फाइल नै गुगललाई पठाउन सक्नेछन् । गुगलले पाठक तथा पुस्तकका बारेमा जान्न चाहनेहरूका कुरा सम्बन्धित लेखकसम्म पुर्याइदिने काम पनि गर्नेछ ।
एजेन्सीको सहयोगमा