नेपालमा अनलाइन पेमेन्टका लागि कतिपय बैंकले कर्पोरेट स्तरमा अनलाइन ट्रान्जेक्सन राखेका छन् भने सर्वसाधारण मानिसहरूले कुनै पेमेन्ट गेटवे प्रयोग गर्नुपर्ने हुन्छ । हाल नेपालमा eSewa, iPay, PayBill, Hello paisa, Easy pay, moco जस्ता पेमेन्ट गेट्वे सञ्चालनमा छन् ।
एफ वन सफ्टले सन २०१० मा ल्याएको eSewa अहिले नेपालमा प्रमुख अनलाइन पेमेन्ट गेट्वे हो । eSewa को प्रयोग गरेर पैसा पठाउन तथा प्राप्त गर्न, Utility पेमेन्ट गर्न, विमानसेवाको टिकट र चलचित्र टिकट किन्न, रिचार्ज कार्ड किन्न, कलिङ कार्ड किन्न, स्कुल तथा कलेजको बिल तिर्न, इन्टरनेट सर्भिसको बिल तिर्न तथा पत्रपत्रिकाको वार्षिक ग्राहक शुल्क तिर्न सकिन्छ ।
मुन्चा डटकमको iPay बाट पनी विभिन्न पेमेन्ट गर्न, हवाई तथा चलचित्रको टिकट किन्न, टेलिफोन, केबुल टेलिभिजन, स्कुल फी तिर्न तथा अनलाइन सपिङमा प्रयोग गर्न सकिन्छ । पेविल नामक अर्को पेमेन्ट गेट्वे पनि नेपालमा फस्टाउँदै गएको छ । यसबाट पनि अरु पेमेन्ट गेट्वे जस्तै बिलहरू तिर्न, अनलाइन सपिङ गर्न सकिन्छ । हेल्लो पैसा पनि अहिले धेरै बैंकहरूमा अनलाइन कारोबारको लागि प्रयोग भैरहेको छ । यसबाहेक इजी पेजस्ता अनलाइन पेमेन्ट तथा सिस्टमबाट रिचार्ज गर्न, पेमेन्ट गर्ने सकिने सुविधाहरू सुरु भएका छन् ।
हातैमा पैसा कसरी प्राप्त गर्ने ?
ब्लगिङ, एफिलिएट मार्केिटङ, अनलाइन सर्भे, फ्रिल्यान्सिङ आदिबाट तुलनात्मक रुपमा धेरै आम्दानी गर्न सकिन्छ भने कुनै अनुभव र विशेष ज्ञानबिना नै वेबसाईट भिजिट वा क्लिक गरेर, फेसबुक पेज लाइक गरेर, ट्विटर एकाउन्ट फलो गरेर, इमेल पढेर, वा अन्य साना र सजिला काम आदिबाट पनि दिनहुँ केही न केही कमाउन सकिन्छ । मुख्य कुरा कुन साइटले पैसा दिन्छ कुनले दिँदैन भनेर राम्रोसँग छुट्टयाउनुपर्छ ।
धेरै साइटले न्यूनतम लिमिट पुगेपछि आफना प्रयोगकर्तालाई पैसा पठाउन प्रयोग गर्ने मुख्य माध्यम भनेका पे–पल, पेजा, मनिबुकर्स आदि अनलाईनमा पैसाको कारोबार गर्ने साइटहरू हुन् । यि साइटले बैंकले जस्तै काम गर्छन्, जसलाई आफ्नो वास्तविक बैक एकाउन्टसँग कनेक्ट गरी जम्मा भएको पैसा प्राप्त गर्न सकिन्छ । अरुको तुलनामा पे–पललाई नै लोकप्रिय र विश्वासिलो मानिन्छ, तर पे–पललाई नेपाली बैंकमा कनेक्ट गर्न सकिँदैन । त्यसैले नेपालजस्ता मुलुकका लागि पेजा लाई पे–पलको राम्रो विकल्पका रूपमा लिइन्छ । पेजालाई नेपालका केही बैंकका एकाउन्टमा कनेक्ट गरी सिधै कारोबार गर्न सकिन्छ ।
नेपालमा पे–पल भेरीफाई गर्न नमिल्ने तथा पेजाको पनि सिमित र केही अप्ठ्यारो प्रक्रिया भएकाले विदेशमा रहेका साथी वा नातेदारलाई आफ्नो नाममा पे–पल एकाउन्ट खोल्न लगाउनुपर्छ ।
जब आफूले काम गरेका बेवसाइटबाट पैसा लिने बेला हुन्छ तब आफना लागि बनाइएको पे–पल र पेजा एकाउन्टको इमेल आईडी दिनुपर्छ । त्यसपछि आफ्नो नाममा जारी पैसा संकलन गर्दै जानुपर्छ । जब आफूलाई आवश्यकता पर्छ, उक्त व्यक्तिको भेरिफाईड एकाउन्टमा पठाईदिनुपर्छ, उसले उक्त रकम आफनो बैंक एकाउन्टमा पढाउँछ । त्यो रकम विभिन्न रेमिट वा मनि ट्रान्सफरबाट पठाउन भन्न सकिन्छ ।