बुटवलका मेकानिकल इन्जिनियर शिशिर जिसीले इन्धन बचत तथा वातावरणमैत्री उपकरण (सक्स डिभाइस) को आविष्कार गरेका छन् । सवारी साधनमा जडान गर्ने यो यन्त्र निकै उपयोगी भएको उनको दाबी छ ।
के हो सक्स डिभाइस ?
सक्स डिभाइस सवारी साधनमा जडान हुने यन्त्र हो । यसले सवारी साधनको पेट्रोल खपत कम गर्छ । सक्स डिभाइस प्रयोग गरेपछि इन्धनसँगै वातावरण प्रदूषणसमेत कम हुने दाबी जीसीको छ । यसले ६० प्रतिशत इन्धन तथा ४० प्रतिशत पानी प्रयोग गरी काम गर्छ ।
यसबाट सवारीको पिकअप बढ्ने हुँदा सवारीको भार कम हुने, सवारीको पिस्टनमा जम्ने कार्बन यसको प्रयोगबाट बाहिर निस्कने हुँदा इन्जिनको समेत आयु लामो हुने दाबी गरिएको छ । यसको प्रयोगबाट सवारीको इन्जिनबाट आवाजसमेत कम आउने र सवारी साधनमा अक्सिजनसमेत उत्पन्न हुने बताइन्छ । यो यन्त्रको आकार ३० सेन्टिमिटर बाई १५ सेन्टिमिटर छ ।
मोटरसाइकल, कार तथा ठूला सवारीका लागि फरक–फरक आकारको सक्स डिभाइस निर्माण गरिएको छ । एक पटकमा ४ दशमलव ६ लिटर पानी मेसिनमा हालेपछि ६ सय ५० किलोमिटर सवारी गुड्ने इन्जिनियर जीसीले बताए । पछिल्लो एक वर्षदेखि प्रयोग गरेर प्रमाणित भएपछि जिसी रिसर्च एन्ड डेभलपमेन्ट दर्ता गरेर बुटवलबाट उक्त डिभाइसको सार्वजनिक बिक्री प्रारम्भ गरिएको हो ।