साप्ताहिक संवाददाता
माइक्रोसफ्ट कम्पनीको कम्प्युटर सफ्टवेयर विन्डोज–७ बन्द भएको छ । यो कम्पनीले विन्डोज–७ को सफ्टवेयरलाई बन्द गर्नका लागि सन् २०१५ देखि नै यसको मेनस्ट्रिम सपोर्ट सर्भिस बन्द गरेको थियो । माइक्रोसफ्टले गत मंगलबारदेखि यो सेवालाई बन्द गरेको हो ।
योसँगै अबदेखि प्रयोगकर्ताले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टममा विन्डोज १० अपडेट गर्नुपर्ने भएको छ । माइक्रोसफ्टले केही समय अघिदेखि प्रयोगकर्तालाई भाइरस तथा अन्य जोखिमबाट बच्नका लागि आफ्नो कम्प्युटरमा विन्डोज १० अपग्रेड गर्नका लागि आग्रहसमेत गरेको थियो ।
माइक्रोसफ्टको अनुसार विन्डोज–७ को सफ्टवेयर प्रयोग गर्ने प्रयोगकर्ताको कम्प्युटरमा त्यो सफ्टवेयरले काम नै नगर्ने भन्ने होइन तर, ती कम्प्युटरहरू भाइरस र साइबर सेक्युरिटीको उच्च जोखिममा पर्नेछन् ।
हामीले प्रयोगकर्तालाई मध्यनजर गरेर नै विन्डोज १० लाई मुख्य प्रायोरिटीमा राखेका हौं । यसले प्रयोगकर्ताले अक्सर झेल्ने भाइरस र साइबर आक्रमणको समस्यालाई राहत प्रदान गर्ने काम गर्छ ।