साप्ताहिक संवाददाता
सूचना प्रविधिलाई केन्द्रमा राखेर गरिने प्रदर्शनी क्यान इन्फोटेकको २६ औं संस्करण शुक्रबारबाट भृकुटीमण्डपमा सुरु भएको छ । क्यान फेडेरेसनको आयोजनामा हुने प्रदर्शनी फागुन ७ सम्म चल्नेछ । सयभन्दा बढी स्टल रहने प्रदर्शनीको यो संस्करण विशेष र रोचक हुने आयोजक संस्थाका इनोभेटिभ एक्स्पोजर उपेन्द्र ढुंगाना बताउँछन् । उनका अनुसार इन्फोटेकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागितासमेत रहेको छ।
अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल सोलुसन, सेक्युरिटी सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्कजस्ता उत्पादन प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ । विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीले आफ्नो ब्रान्ड तथा उत्पादनको प्रदर्शनी आकर्षक छुटसहित समेत गर्नेछन् । त्यसैगरी, आईटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि मेलामा रहनेछन् ।
अर्लाम र साइरन बजाउने एप
कुनै पनि घटना वा दुर्घटना हुनुुअघि हामी कसरी सचेत रहने ? भइपरी आउने त्यस्ता दुर्घटनाहरूबारे तत्काल जानकारी गराउने एप अब नेपालभित्रै पनि उपलब्ध हुने भएको छ । काठमाडौं न्युरोडस्थित यु–सफ्ट कम्प्युटर टेक्निक्सले स्मार्ट होम प्रोडक्टमार्फत उक्त सेवा सुरु गर्न लागेको हो । क्यान–इन्फोटेक–२०२० मा कम्पनीले उक्त सेवाको उद्घाटन गर्नेछ ।
प्रदर्शनीमा उक्त सेवाबारे डेमो प्रस्तुत गर्ने प्रोपाइटर बुद्ध मानन्धरले बताए । उनी भन्छन्– ‘रियल टाइम सुरक्षा दिने कुरामा स्मार्ट होम प्रोडक्ट हामीले छनोट गरेका छौं ।’
मानन्धरका अनुसार फायर अर्लाम र मोबाइलमा आउने म्यासेजमार्फत साइरन बज्ने सेवा उक्त प्रोडक्टमार्फत उपलब्ध हुनेछ ।
‘कोही व्यक्ति घर वा अफिसमा आउँदैछ भने मोबाइल एपबाट जानकारी हुने तथा पानी तान्ने मोटर अन गर्दा पनि साइरन बज्ने लगायतका सिस्टम उपलब्ध गराउनेछौं,’ मानन्धरले भने ।
मानन्धरका अनुसार नेपालका लागि यो नयाँ सेवासमेत हो, जसले सम्भावित दुर्घटनाबाट जोगाउँछ । त्यसैगरी कम्प्युटर वा मोबाइलमा डाटा लस हुने समस्या समाधानका लागि डाटा सेभ सिस्टम पनि लञ्च गर्न लागेको उनले बताए ।
एक प्रतिशत ब्याजदरमै ऋण
अनलिमिटेड टेक्नोलोजी प्राइभेट लिमिटेडले प्रदर्शनीको समयमा ‘इ ढेवा सुपर एप’ नामक एक आकर्षक एप लन्च गर्दैछ, जसमा एउटै एपबाट फरक–फरक सेवा सेवाग्राहीले प्राप्त गर्नेछन् । एपमार्फत पहिलो पटक प्रयोगकर्तालाई १ प्रतिशत ब्याजमा ऋण दिने सुविधा कम्पनीले ल्याउन लागेको छ । कम्पनीको प्रोपाइटर जुनू थापाका अनुसार ऋण लिन चाहनेले एपमार्फत रिक्वेस्ट पठाउन सक्नेछन् । रिक्वेस्टसँगै आफ्नो नाम, ठेगाना, इमेल तथा सम्पर्क नम्बर रजिस्टर गर्नुपर्नेछ ।
ऋण लिन चाहने सेवाग्राहीले आफूले काम गर्ने संस्थाको नाम, आम्दानीसहित तीन महिनाको स्टेटमेन्ट पठाउनुपर्नेछ । सबै प्रक्रिया पूरा गरेपछि सेवाग्राहीको मासिक आम्दानीको ७० प्रतिशतसम्म ऋण दिन सकिने प्रोपाइटर थापा बताउँछिन् । ‘सिस्टमले लिगल डकुमेन्ट माग्छ । सेवाग्राहीले आफूले लिएको ऋण तिर्ने समय खुलाउनुपर्छ,’ थापा भन्छिन्, ‘तथापि, कसलाई ऋण दिने र नदिने भन्ने कुरा सिस्टमबाटै तय हुनेछ ।’
यसका साथै टुटल तथा पठाओलगायतका सेवा, रेमिट्यान्स सेवा, युटिलिटी पेमेन्ट, विभिन्न खानेकुराको अर्डरलगायतका सेवा एपमार्फत प्राप्त गर्न सकिने प्रोपाइटर थापा बताउँछिन् ।
अनलाइन गेमको आकर्षण
प्रदर्शनीको गेमिङ पार्टनर ओसियनले ई–स्पोर्ट्स च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्नेछ, जसमा डोटा टु तथा सीएस गोजस्ता टिमवर्क आवश्यक पर्ने लोकप्रिय खेल प्रतियोगिता नकआउट शैलीमा खेलिनेछन् । उत्कृष्ट ८ टिमले भाग लिने प्रतिस्पर्धाका विजेताले प्रमाणपत्रसहित रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
ओसियन कम्प्युटरका जनरल म्यानेजर सुरेश कायस्थका अनुसार नेपालमा यसलाई नयाँ किसिमको कम्प्युटर अनलाइन खेल मान्न सकिन्छ । ‘विदेशमा यसको राम्रो स्कोप छ । लाखौं डलरमा प्राइजसमेत पाउँछन् । स्पोन्सर पनि धेरै हुन्छ । यसका व्यावसायिक खेलाडी पनि छन्,’ कायस्थले भने । नेपालमा नयाँ भए पनि व्यावसायिक ढंगबाट अघि बढाउन सके यो खेलमा स्कोप रहेको उनी बताउँछन् ।
नयाँलाई प्रोत्साहन र प्रवद्र्धन
प्रदर्शनीमा प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इनोभेटिभ आइडियाहरूको प्रवद्र्धन गर्न इनोभेसन एक्स्पोजरलाई विशेष प्राथमिकता दिइएको छ । सूचना–प्रविधि तथा इन्जिनियरिङका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारोपयोगी शिक्षामा योगदान गर्नु यसको उद्देश्य रहेको क्यान फेडेरेसनका महासचिव नारायण थापा बताउँछन् ।
प्रदर्शनीमा स्कुल तथा कलेजका विद्यार्थीले पढेका कुरा व्यवहारमा उतार्ने अवसरसमेत पाउनेछन् । इनोभेटिभ एक्सपोजर उपेन्द्र ढुंगाना भन्छन्, ‘क्यानमा हुने प्रदर्शनीमा धेरै मान्छे आउँछन् । उनीहरूले विद्यार्थीहरूलाई रोबोट बनाउने मान्छे भनेर चिन्छन् । जति धेरैले चिन्छन् त्यतिधेरै काम गर्ने जाँगर बढ्ने हुन्छ । यही उत्साहका कारण हरेक वर्षमा नयाँ आविष्कार आइरहेका छन् ।’
कम्प्युटर ह्याङ हुन नदिने जाइजेल
टिच अफिस प्राइभेट लिमिटेडले ताइवानको जाइजेल प्रोडक्ट नेपालमा भित्र्याएको छ । प्रोपाइटर आनन्द महर्जनका अनुसार उक्त प्रोडक्टले कम्प्युटरलाई ह्याङ हुनबाट जोगाउनुका साथै एन्टिभाइरसको कामसमेत गर्छ ।
प्रहरी सचेतना
प्रदर्शनीमा नेपाल प्रहरीको सचेतना कार्यक्रमसमेत समावेश रहेको छ । प्रहरी निरीक्षक सुनिल कुमार ब्रनवालका अनुसार साइबर सचेतनाका कार्यक्रमबारे प्रहरीले प्रदर्शनीमा जानकारी गराउनेछ । प्रनि ब्रनवालले भने– ‘साथै हामी नागरिक केन्द्रित कार्यक्रमहरूबारे जानकारीका साथै नयाँ इनोभेसनबारे बताउनेछौँ ।’
रोबोट प्रदर्शन
यसपालि स्कुल तथा कलेजका विद्यार्थीले गरेका दर्जनभन्दा बढी रोचक आविष्कार प्रदर्शनमा हुनेछन् । ढुंगानाका अनुसार स्कुल पढ्ने विद्यार्थीले आविष्कार गरेको देखि तत्काल व्यावसायिक प्रयोजनमा आउने रोबोटसमेत प्रदर्शन हुँदैछ । त्यसमा ड्रोनका साथै गुड्ने तथा पानीमा काम गर्ने खालका अनौठा रोबोट छन् ।
इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतिस्पर्धा पनि आयोजना हुनेछ । यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।