जब रोबोटले रिबन काटेर कार्यक्रमको उद्घाटन गरियो, तब माथिबाट ड्रोनले पुष्पवृष्टि गरिदियो । यो रोचक दृश्य थियो गत शुक्रबार क्यान फाउन्डेसनले भृकुटीमण्डपमा आयोजना गरेको इन्फोटेक–२०२० को । यो परिणाम थियो पछिल्लो समय विकास भइरहेको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोगको । जसलाई नेपालका युवाहरू पछ्याइरहेका छन् ।
उद्घाटनमा प्रयोग गरिएको ड्रोन र रोबोट तिनै युवाहरूको देन हो । तिनैमध्ये एक हुन्— रामकृष्ण यादव । २४ वर्षीय यादव इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर इन्जिनियरिङका विद्यार्थी हुन् । चार वर्षदेखि ड्रोनमा काम गरिरहेका उनले दुई दर्जनभन्दा बढी ड्रोन बनाइसकेका छन् । उद्घाटनमा प्रयोग गरिएको ड्रोन उनैले बनाएका हुन् ।
सानैदेखि इन्जिनियरिङतिर चासो राख्ने यादवले कलेजका सुरुवाती दिनमा ब्लुटुथ कन्ट्रोल रोबोट बनाए । उनी अहिले ड्रोनलाई फोटोग्राफीमा मात्र नभई नेपालको व्यावसायिक कामका लागि प्रयोगमा ल्याउनुपर्छ भन्ने अभियानमा छन् । ‘नेपालको दुर्गम भेगमा औषधि अभावले मानिसहरूको अकालमा ज्यान जान्छ । त्यसैले एउटा डाँडाबाट अर्को डाँडामा औषधि लैजान ड्रोनले भूमिका खेल्छ भने यो ठूलो उपलब्धि पनि हो,’ उनी भन्छन् ।
उनका अनुसार नेपालको सन्दर्भमा मेडिकल, कृषि र मिलिटरी क्षेत्रमा ड्रोनको प्रयोग गर्न सकिन्छ । उनीहरूको समूहले एप्लिकेसन बेसमा मेडिकल र एग्रिकल्चर ड्रोनहरू बनाइरहको यादव बताउँछन् ।
कक्षा ११ मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्दै गरेका निराजन रिमाल इन्फोटक प्रदर्शनीमा भिजिटरलाई इनोभेसनबारे बताइरहेका थिए । ‘यो विज्ञापन गर्ने नयाँ प्रविधिको माध्यम हो । जो ग्लोबजस्तै देखिन्छ । विज्ञापनमा चासो नहुनेलाई पनि कलात्मक तरिकाले उत्सुकता थपिदिन्छ,’ स्टलमा आएका आगन्तुक निराजनलाई सुनिरहेका थिए । कलेजको पढाइसँगै प्रयोगात्मक सिकाइमा लगाव राख्दा आफूलाई रुचि लाख्ने निराजन बताउँछन् । ‘कलेजमा पढिरहँदा यसलाई कहाँ प्रयोग गर्ने भन्ने लाग्थ्यो । यसलाई अप्लाई गर्ने उपयुक्त ठाउँ र अवसर पायो भने धेरै जानिँदो रहेछ,’ उनी भन्छन् । निराजन विभिन्न संस्थासँग आबद्ध भएर भूकम्प तथा बाढीपहिरोमा उद्धारका लागि रोबोट कसरी प्रयोग गर्ने भन्नेबारे सोचिरहेका छन् ।
इन्फोटेकमा युवाहरूले हात नहुनेहरूका लागि उपयोगी यान्त्रिक हात, रेस कम्पिटिसनका लागि नयाँ संरचनासहितको गो कार्टलगायतका इनोभेसन प्रदर्शनमा राखेका थिए । गो कार्ट मेकानिकल इन्जिनियर सोसाइटीका विद्यार्थीले बनाएका हुन् ।
सामाजिक सञ्जालबाट जुटेका युवा
२०७२ सालतिर सामाजिक सञ्जालमा सक्रिय थिए इनोभेटिभ एक्सपोजर उपेन्द्र ढुंगाना । त्यतिबेला ख्वप: कलेजमा इलेक्ट्रोन एन्ड कम्युनिकेसन अध्ययन गर्दै थिए उनी । ट्रोल बनाउन रुचि राख्थे । ट्रोल नेपाल भन्ने फेसबुक समूहमा आबद्ध थिए । चलचित्रका कलाकारका ट्रोल बनाएर फन्डा गर्न माहिर थिए । उनले बनाएका राजनीतिक नेताहरूको ट्रोल पनि भाइरल हुन्थ्यो ।
उपेन्द्रले सुरुमा कालोपोथी र गाजलु भन्ने फिल्मको ट्रोल बनाए । त्यसपछि अन्य फिल्म तथा कलाकारको बनाउँदै गए । यी सब उनले केवल रमाइलोका लागि गरिरहेका थिए । तर, यसले चलचित्र प्रवद्र्धन भइरहेको थियो । त्यसैले कलाकारले उनलाई सम्पर्क गर्न थाले । फिल्म प्रवद्र्धनमा आग्रह गर्न थाले । त्यसपछि उनलाई लाग्यो– अब म यही काम गर्छु ।
ट्रोल नेपालजस्तै अर्को पेज थियो मिम नेपाल, जसमा उनीजस्तै टेक्नोलोजी पढिरहेका युवा साथीहरू आबद्ध थिए । त्यसपछि उनले ती साथीहरूसँग सम्बन्ध बढाए र आफ्नो आइडियाबारे भने । यसरी सामाजिक सञ्जालमा सक्रिय विभिन्न समूहका साथीहरूलाई एक–अर्कामा जोड्न उपेन्द्र सफल भए ।
अहिले उनीहरूको एउटा इनोभेटिभ सर्कल छ, जसमा दारी ग्याङ, मिम नेपाल, रुटिन अफ नेपाल बन्द, डब्लूआरआर, ट्रोल नेपाल जस्ता विभिन्न समूहका साथी छन् । ‘सामाजिक सञ्जाललाई दुरुपयोग गर्नेहरू पनि छन् । तर, हामीले प्रविधिको काम गर्नु थियो । सामाजिक सञ्जाललाई बलियो माध्यम बनायौं,’ उपेन्द्र भन्छन् ।
पढाइसँग जोडेर फेसबुक पेजलाई सक्रिय बनाएपछि उनीहरू सफल पनि भइरहेका छन् । क्यान–इन्फोटेकमा रोबोटिक्स प्रदर्शनीमा तिनै सामाजिक सञ्जालबाट सक्रिय थिए ।
रोबोटिक्स इभेन्टमा काम गर्न सुरुमा निकै समस्या भयो उनीहरूलाई । ‘काम गर्दा सोचेजस्तो सामान नै पाइँदैनथ्यो । कतिपय सामान विदेशबाट महिनौं लगाएर मगाउनुपथ्र्याे अनि बनाउन नै वर्ष दिनसम्म लाग्थ्यो,’ उपेन्द्र भन्छन् ।
यही क्रममा उनीहरूले ब्याटल रोबोट भन्ने पेज बनाएर त्यसबाट आफ्नो कामको प्रोमोट गर्न थाले अनि उनीहरूले गर्ने गतिविधिलाई त्यहाँबाट अपडेट गर्न थाले । साउथ वेस्ट्रन कलेजका विद्यार्थीहरू पनि थिए समूहमा । पछि सोही कलेजलगायत अन्य संस्थाहरूले गतिविधिमा साथ र प्लेटफर्म दिँदै गए ।
नयाँ पुस्ता, नयाँ गतिविधि
२०१७ सालदेखि उपेन्द्र लगायतका युवा क्यान–इन्फोटेकमा सहभागी हुँदै आएका छन् । जहाँ उनीहरूले रोबोट प्रतियोगिता गर्ने चाहना पनि पूरा गरे ।
कलेजमा पढ्दा एक/दुइटा इभेन्टमा मात्र सहभागी हुन पाउने विद्यार्थीका लागि अहिले प्लेटफर्म बढ्दै गएको उपेन्द्र बताउँछन् । ‘हामी सात सेमेस्टरदेखि मात्र रोबोटिक्स प्रतियोगितामा जान पाउँथ्यौं । वर्षको एक–दुइटा मात्र इभेन्ट हुन्थ्यो । एपमा त हरेक दिन अपडेट गर्नुपथ्र्यो । एक–दुई इभेन्टमा गएर कहिले अपडेट हुने ? यही कारण इभेन्टका लागि हामीले प्लेटफर्म खोज्दै र बनाउँदै गयौं,’ उपेन्द्रले सुनाए ।
२०२० को सुरुवातमै उनीहरूको समूह उपत्यकाबाहिर पनि गयो । सधैं एउटै इभेन्ट गर्दा निरश अनुभव गरेका उपेन्द्र बाहिर जिल्ला जाँदा दंग परे । कारण, उपत्यकामा पुरानो लागेको कुरा बाहिरी जिल्लाका लागि विल्कुल नौलो थियो, जसले गर्दा कामको मूल्य पनि बढ्यो ।
‘इटहरी, वीरगन्ज, बुटवलमा हामीले आफ्नो कामको प्रशंसा पायौं । यसैकारण पछिल्लो समय धेरै ठाउँबाट आग्रह आइरहेका छन्,’ उपेन्द्र सुनाउँछन् । कसैले वास्ता नगरेको कुरामा पछिल्लो समय चासो बढ्दै गइरहेकोमा उनको समूह उत्साहित छ । यतिमात्र होइन, उनीहरूले अन्य क्षेत्रमा पनि सहयोग गर्ने गरेका छन् । कहिले मेडिकल क्षेत्रमा डाक्टरहरूलाई सहयोग गर्छन्, कतिपय ठाउँमा हेल्थ क्याम्प गरेर सहयोग गर्छन् ।
यो अभियानमा निरन्तर नयाँ पुस्तालाई जोड्न सके प्रविधिको विकास अझै तीव्र हुने उपेन्द्रको दाबी छ । सँगसँगै इनोभेसनलाई व्यावसायिक रूपमा प्रयोग गर्नुपर्ने उनको धारणा छ । त्यसका लागि भने लगानीको अभाव रहेको उनी बताउँछन् । ‘अहिले व्यक्तिगत खर्चबाट कामहरू गरिरहेका छौँ । तर, सधैं सम्भव पनि हुँदैन । लगानीको पाटोमा समस्या नभए धेरै काम निर्धक्क गर्न सकिन्थ्यो,’ उपेन्द्र सुनाउँछन् ।