साप्ताहिक संवाददाता
अनुसन्धानका लागि यस्तो उपयुक्त थलो होस्, जहाँ विज्ञान र प्रविधिका हरेक सुविधा उपलब्ध हुनेछ । नेपालमै रहेर विज्ञान र प्रविधि क्षेत्रमा उन्नत काम गर्न चाहने वैज्ञानिकको सपना र गुनासो दुवै हो यो । नेपाली वैज्ञानिक यही सपना देख्छन् र यही गुनासोसहित विदेश पलायन हुन्छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यसलाई सम्बोधन गर्ने कदम चालेको छ, जसअन्तर्गत ललितपुरको खुमलटारमा अनुसन्धानमैत्री अत्याधुनिक भवन निर्माण गरिरहेको छ ।
२०७४ असार १८ बाट निर्माण सुरु गरिएको उक्त भवनले नास्टको प्रविधि संकायलाई विस्तार गर्नेछ । नास्टका प्रवक्ता तथा वरिष्ठ प्राविधिक अधिकृत सुरेशकुमार ढुंगेल भन्छन्, ‘अहिले प्रविधि संकाय प्रशासनिक भवनको एउटा तलामा सीमित छ । यसमा जटिल प्रकृतिको काम हुने भएको हुँदा भवनको हुँदा छुट्टै भवनको आवश्यकता थियो । त्यसैलाई मध्यनजर गरेर भवन निर्माण थालिएको हो ।’
भवन निर्माणपछि जुन कुनै समयमा अनुसन्धानका काम सुविधाजनक ढंगले गर्न सकिने नास्टले जनाएको छ । ढुंगेल विस्तारमा बताउँछन्, ‘अनुसन्धान लगातार भइरहेको प्रकृतिको काम हो । यसको कुनै समय सीमा हुँदैन । त्यसका लागि विकसित देशमा जस्तै वातावरण नेपालमा नै बनाउन खोजिएको हो ।’
त्यसका लागि अनुसन्धान गर्नेका लागि हरेक ल्याबमा सुत्नका लागि ओछ्यान, खानका लागि भान्सा, मिटिङ हलका साथै आवश्यकताअनुसारका सम्पूर्ण सुविधा उपलब्ध हुनेछन् । भवन नेपालका लागि नमुना हुने ढुंगेलको दाबी छ ।
यस्तो बन्दैछ भवन
भवनमा हरियो रङ प्रयोग गरिनेछ, जसको वरिपरि बगैंचा रहनेछ । भवन निर्माण परियोजना प्रबन्धक सुवास पौडेलका अनुसार त्यहाँ उपयोग हुने वैकल्पिक ऊर्जा पनि सोही भवनबाट उत्पादन हुनेछ ।
भवनमा सेन्ट्रल एयर कन्डिसन सिस्टम रहनेछ । ‘भवनभित्र पसिसकेपछि भित्रको वातावरण र तापक्रम सबै एउटै हुन्छ । तापक्रम सन्तुलन गर्नका लागि क्याभिटी वाल बनाइनेछ’ पौडेल भन्छन्, ‘जसमा दुई तहका पर्खालबीच खाली ठाउँ हुन्छ । त्यसले एउटाको तापक्रम अर्कोमा सर्न दिँदैन ।’
भवनमा एयर सावर रहनेछ । हावाबाट नुहाउने यो प्रविधि प्रयोग गरेर मात्र प्रयोगशालामा जान सकिने प्रबन्धक पौडेल बताउँछन् । ‘भित्र जानुअगाडि आफूले लगाएको सबै लुगा परिवर्तन गरिन्छ । त्यसका लागि चेन्जिङ रुम पनि हुनेछ । एयर सावर गरेर भित्र छिरेपछि शरीर धूलोरहित हुनेछ अनि मात्र अनुसन्धानकर्ता भित्र गएर आफ्नो काम गर्न सक्नेछन्’, पौडेलले जानकारी दिए ।
भवनभित्र सम्पूर्ण सुरक्षा प्रविधि जडान गरिने प्रबन्धक पौडेल बताउँछन् । भवनका पाँच तलामध्ये चार तलामा प्रयोगशाला रहनेछन् ।
नास्टमा हाल न्यानोटेक्नोलोजी, बायोइनर्जी, स्मल हाइड्रो, विन्ड एनर्जी, इन्डिजिनिसय, डिजास्टर म्यानेजमेन्टलगायतका ल्याब छन् । भवन तयार भएपछि केही नयाँ ल्याबसमेत थपिनेछ । भवनमा दुइटा लिफ्ट हुनेछन्, एउटामा मान्छे र अर्कोमा उपकरण आवतजावत गराइनेछ । भवनलाई अपांगमैत्री बनाइनेछ । करिब २७ करोड बजेट रहेको निर्माणाधीन भवन ४५ हजार वर्गाकार क्षेत्रफलमा फैलिनेछ ।
वैज्ञानिक फर्काउने लक्ष्य
नेपालका वैज्ञानिक कति स्वदेशमा क्रियाशील छन् र कति पलायन भए, यसको तथ्यांक छैन । तथापि, नास्टले नेपाली वैज्ञानिकहरूको तथ्यांक संकलन गर्ने काम गरिरहेको छ । ढुंगेल भन्छन्, ‘नेपाली वैज्ञानिकहरूको सम्पूर्ण तथ्यांक संकलन गरिरहेका छौं । केही महिनापछि सार्वजनिक गर्नेछौं ।’ देशका राम्रा जनशक्तिलाई यहीं काम गर्ने वातावरण बनाउन पनि भवनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ ।
भवन निर्माण भइरहँदा विदेशमा रहेका नेपाली वैज्ञानिकहरूले सकारात्मक आशा व्यक्त गरेका छन् । ‘नेपालमै आएर अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्न सकिने भयो भन्ने प्रतिक्रिया आएको छ । यसमा हामी सचेत र प्रतिबद्ध पनि छौँ,’ उनले भने ।
२०७७ असार १७ सम्म भवन निर्माण गरिसक्ने लक्ष्य लिइएको इन्जिनियर पौडेल बताउँछन् । अहिले करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । नास्टका अनुसार नयाँ भवनमा २ सयदेखि ३ सय जनासम्म कर्मचारी राखेर अनुसन्धान गर्न सकिनेछ ।
सहकार्य गर्न सजिलो
नास्टले विदेशी प्रोजेक्टहरूमा सहकार्य गर्दा प्राय: भोग्नुपरेको नमीठो अनुभव थियो टेक्नोलोजी भवनको अभाव । भवन अभावकै कारण कतिपय सम्झौता गुमाउने अवस्थामा समेत पुगिएको ढुंगेल बताउँछन् ।
‘विदेशीहरूले सहकार्यका लागि पहिले हेर्ने भनेको भवन हो । भवन नभई सहकार्य हुन्नथ्यो । तर, प्रविधिको छुट्टै भवन नहुँदा सम्झौतामा पनि प्रभाव पारेको थियो । प्रशासनिक भवनमै काम हुँदा उनीहरूले विश्वास गर्न गाह्रो मानेका थिए,’ प्रवक्ता ढुंगेलले भने । भवन निर्माणपश्चात् विदेशी लगानी तथा प्रोजेक्टसमेत भित्र्याउन सकिने ढुंगेलको दाबी छ ।