विश्वमा छापाखानाको विकाससँगै कागजमा छापिएका अक्षर पढ्न थालियो । करिब ८ शताब्दीयता विश्वमा थुपै्र छापाखाना खुले, करोडौं पुस्तक प्रकाशित भए । मानिसहरू प्रकाशित पुस्तक पढ्नमा अभ्यस्त हुँदै गए । तर, पछिल्लो समय प्रविधिको विकाससँगै पुस्तक पढ्ने शैलीमा परिवर्तन भएको छ । छापिएका पुस्तकभन्दा ल्यापटप, ट्याब, किन्डलमा पुस्तक पढ्नेको सङ्ख्या बढेको छ । अर्थात् ई–पुस्तकप्रति पाठक आकर्षित छन् ।
६ दशक अघिदेखि निरन्तर पुस्तक पढिरहेका भूगोलविद् प्रोफेसर पिताम्बर शर्माको पुस्तक पढ्ने शैली परिवर्तन भएको छ । कागजमा छापिएका पुस्तक पढ्ने शर्मा अहिले किन्डलमार्फत अध्ययन गर्छन् । ‘केही वर्षदेखि किन्डलमा नै मनपरेका पुस्तक पढिरहेको छु’, शर्मा भन्छन्, ‘सुरु–सुरुमा अलि अप्ठेरो जस्तो भए पनि अहिले किन्डलमार्फत पुस्तक पढ्दा बढी आनन्द आउँछ ।’ पाना पल्टाउँदै पढ्नुपर्ने झन्झट नहुने र नबुझेका शब्दको अर्थ पनि तत्कालै खोज्न सकिने भएकाले किन्डलमा पढ्दा सजिलो भएको उनको अनुभव छ ।
कहिलेकाहीँ अनलाइनमा पाइएका पुस्तकलाई उनी ल्यापटप वा स्मार्ट टिभीमा सार्छन् । र, सुतेरै पुस्तक पढ्छन् । किन्डलमार्फत् दर्जन बढी पुस्तक पढिसकेका शर्मा अहिले पंकज मिश्राको ‘एज अफ एन्जर’, द जोन आदम्सको ‘पिपुल, पावर एन्ड प्रफिट’ पढिरहेका छन् ।
लेखक उज्ज्वल प्रसाईं र गनेस पौडेल पनि अनलाइन पुस्तकलाई मोबाइल, ट्यावलेट, किन्डल वा ल्यापटजस्ता आधुनिक प्रविधिमार्फत पढ्छन् । ७ वर्षदेखि किन्डलमार्फत पुस्तक पढिरहेका प्रसाईं भन्छन्, ‘भारतमा बसेर पढ्दा साथीले उपहार दिएको किन्डल मेरा लागि निकै प्रभावकारी भएको छ ।’
पहिला छापिएका किताब झोलाभरी बोकेर हिँड्ने लेखक पौडेल अचेल यात्रामा निस्कँदा ट्याबलेट वा किन्डल बोक्न बिर्संदैनन् । ‘किन्डल भएपछि पढ्न निकै सजिलो भएको छ’ पौडेल भन्छन्, ‘धेरै किताब बोकेर हिँड्नुपर्ने झन्झट पनि नहुने, जहाँ समय मिल्छ, त्यहीं पढ्न पाइने भएकाले किन्डल मेरो साथी भएको छ ।’ हाइलाइट गर्दै मन परेका टेक्स्टको नोट बनाउन पनि पाइने भएकाले किन्डल अध्ययनका लागि निकै प्रभावकारी भएको उनको बुझाइ छ ।
शर्मा, प्रसाईं र पौडेल मात्रै होइनन्, पछिल्लो समय लेखक तथा पाठकले अध्ययनका लागि प्रविधिको ज्यादा प्रयोग गर्न थालेका छन् । मुख्यत: किन्डलको विकाससँगै पुस्तक पढ्ने शैलीमा परिवर्तन आएको हो ।
के हो किन्डल ?
किन्डल अमेजन कम्पनीले विकास गरेको इलेक्ट्रोनिक उपकरण हो, जुन अनलाइन किताब तथा पाठ्य सामग्री पढ्नका लागि प्रयोग गरिन्छ । यसका प्रयोगकर्ताले किताबका साथै अखबार, म्यागजिन, वेबसाइट, ब्लग र इलेक्ट्रोनिक संस्करण खरिद गरी डाउनलोड गर्न र पढ्न सक्छन् । त्यस्तै पीडीएफ डाउनलोड गरेर पनि अनलाइन पुस्तक अध्ययन गर्न सकिन्छ ।
अमेजन वेबसाइटबाट ‘ई–बुक’को किन्डल संस्करण खरिद गर्न सकिन्छ । अधिकांश प्रयोगकर्ता पुस्तक डाउनलोड गर्न वाइफाई जडान गर्छन् । किन्डलमा १४ सयभन्दा बढी पुस्तक संग्रह गर्न सकिन्छ । किन्डलमा अक्षर पढ्दा हार्डकपीमा पढ्ेजतिकै आनन्द आउने प्रयोगकर्ता अध्येताको दाबी छ ।
प्रिन्टेड पुस्तकमा भन्दा बुक मार्क गर्न पाठकलाई किन्डलमा सजिलो हुन्छ । किनकि किन्डलमा स्वचालित बुक मार्क गर्ने सुविधा हुन्छ । पढ्दै जाँदा नबुझेका शब्दको अर्थ खोज्न पनि किन्डलमा सजिलो हुन्छ । पुस्तकको सुरक्षाका लागि पासवर्डको सुविधा भएकाले पनि यो पाठकमाझ प्रिय बन्दैछ ।
किन्डलको इतिहास र स्थिति
सन् २००७ नोभेम्बर १९ मा किण्डलको सुरुवात भएको हो । १२ वर्षको अवधिमा यसमा विभिन्न विकसित भर्सन आइसकेका छन् । किन्डलले ५ मिनेटमै पुस्तक प्रकाशन गर्नसक्छ । जुन २४ देखि ४८ घण्टामा पुस्तक किन्डलको स्टोरमा देखिन्छ । किन्डलमार्फत प्रकाशित पुस्तकको बिक्रीबाट लेखकले ७० प्रतिशत रोयल्टी पाउँछन् ।
डिसेम्बर ५, २००९ मा द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा अमेजनका सीईओ जेफ बेजोसले ई–पुस्तक बिक्रीबाट ६५ प्रतिशत राजस्व राख्ने बताएका थिए । बाँकी ३५ प्रतिशत प्रकाशक र लेखकबीच सम्झौता हुने बताएका थिए । अमेजनको रिपोर्टअनुसार बेलायती लेखक ए एल जेम्सको उपन्यास ‘फिफ्टी सेड्स अफ ग्रे’ पुस्तकको किन्डल संस्करण प्रिन्ट बिक्रीको तुलनामा दुई गुणा बढी भएको थियो । अमेरिकामा प्रतिवर्ष ६० हजारदेखि र एक लाखसम्म पुस्तक प्रकाशित हुन्छन् । तीमध्ये आधाभन्दा बढी अनलाइनमार्फत प्रकाशित हुन्छन् ।
तथ्यांकअनुसार अहिले किन्डलमा ४८ दशमलव ५ मिलियन पुस्तक संग्रहित छन् । जसमा विश्वचर्चित, बेस्ट सेलरलगायतका विभिन्न दुर्लभ पुस्तकसमेत पाउन सकिन्छ ।
जहाँ असीमित पुस्तक अट्छन्
कुनै बेला प्रोफेसर पिताम्बर शर्माले घरमै प्रिन्टेड पुस्तकको लाइब्रेरी बनाएका थिए । अहिले उनी ती पुस्तक बाँड्न थालेका छन् । ‘अनलाइनमै करोडौं पुस्तक पाइने भएपछि घरमा लाइब्रेरीको खाँचो नै भएन’, उनी भन्छन्, ‘आफूसँग भएका पुस्तक गाउँका पुस्तकालयलाई दिन थालेको छु ।’ त्यस्तै इतिहासकार सुजित मैनालीले पनि किन्डलबाट पढ्न थालेपछि प्रिन्टेड साहित्यिक पुस्तक साथीभाइलाई बाँडेको अनुभव सुनाए । अहिले अनलाइमै प्रशस्त पुस्तक संग्रह गर्न सकिने भएपछि परम्परागत पुस्तकालय स्थापना गर्ने चलन घटेको छ ।
‘गुड रिडर्स’ ई–लाइब्रेरीमा २.६ बिलियनभन्दा बढी ई–बुक स्टोर गरिएका छन् । सन् २००७ मा स्थापना भएको उक्त ई–लाइब्रेरीलाई संसारकै ठूलो मानिन्छ । हाल ९० मिलियन पाठक सदस्य रहेको उक्त लाइब्रेरीमा ९० मिलियनभन्दा बढी पुस्तकका समीक्षासमेत प्रकाशित भइसकेका छन् । जसमा सयौं पुस्तक नि:शुल्क पढ्नेसमेत सुविधा छ ।
ई–पुस्तकको उत्पादन र वितरणलाई सहज बनाउने उद्देश्यले सन् १९७१ डिसेम्बरमा अमेरिकी लेखक माइकल एस हार्टले ‘गुटेनबर्ग’ डिजिटल लाइब्रेरीको स्थापना गरेका थिए । जसमा ६० हजार भन्दा बढी पुस्तक तथा डकुमेन्ट नि:शुल्क प्राप्त गर्न सकिन्छ ।
ओपन लाइब्रेरी नामक अनलाइन लाइब्रेरीमा चित्रसम्बन्धी पुस्तक, फ्यान्टास्टी, बायोग्राफी, विज्ञानलगायत विभिन्न डकुमेन्ट गरी लाखौं पुस्तक पढ्न सकिन्छ । ‘बि ओके सीसी’ साइटको जेट ई–लाइब्रेरीमा ४९ लाख ५९ हजार ३ सय ९६ पुस्तक र ७ करोड ७१ लाख ९४ हजार ९ सय ८९ वटा आर्टिकल पढ्न सकिन्छ ।
त्यसैगरी ओपन लाइब्रेरी, बुक बोन, फ्रि–ईबुक्सलगायतका थुप्रै ई–लाइब्रेरीबाट संसारमा चलेका पुस्तक तथा आर्टिकल पढ्न र प्रकाशन गर्न सकिन्छ ।
ई–बुकबाटै लाखौं कमाउँछन् लेखक
विश्वमा लेखेरै लाखौं कमाउने लेखक धेरै छन् । जसमा अनलाइन प्रकाशनको भूमिका महत्वपूर्ण छ । ३५ वर्षीया अमेरिकी लेखक अमान्डा हकिङले अलनाइन पुस्तक प्रकाशनबाट थुप्रै कमाइन् । सुरुमा प्रकाशन गृहले उनका पुस्तक प्रकाशन गर्न मानेनन् । आफैं प्रकाशन गर्न पैसा पनि थिएन । पछि उनले अनलाइनमार्फत आफ्नो पुस्तक बजारमा ल्याइन् । अनलाइनमार्फत उनको १.५ मिलियनभन्दा बढी पुस्तक बिक्री भयो । त्यसपछि उनले १७ वटा उपन्यास लेखिसकेकी छन् । भन्छिन्, ‘मेले ई–बुक’बाट यतिधेरै कमाइ हुन्छ भन्ने सोचेको थिइनँ ।’ उनलाई यो सुविधा अमेजनको किण्डलले दिलाएको थियो ।
बेलायती चर्चित लेखक स्टेफन ल्यादर पनि ई–बुक प्रकाशनमार्फत धेरै कमाउने लेखकको सूचीमा पर्छन् । पछिल्लो वर्षमात्र उनले ई–बुकबाट मासिक ११ हजार युरो कमाए । ‘अर्बान फ्यान्टासी एन्ड परानर्मल रोमान्च’की लेखक एचपी मल्लरीले अघिल्लो वर्ष दुई महिनामा ७० हजार प्रतिपुस्तक बेचिन् । उनको पुस्तक ई–बुकबाट छोटो अवधिमा सर्वाधिक बिक्री हुनेमा पर्छ । त्यस्तै जोन लक, ओलिभरलगायत लेखक ई–बुकमार्फत धेरै आम्दानी गर्नेमा पर्छन् ।
नेपालको सन्दर्भ
नेपालमा ई–बुकका पाठक बढ्दै छन् । यद्यपि ई–बुकमा अधिकांश नेपाली पुस्तक पाइँदैनन् । लेखक कैलाश राई नेपाली पुस्तक हार्ड कभरमै पढ्नुपर्ने बाध्यता रहेको बताउँछिन् । भन्छिन्, ‘विदेशी किताब अनलाइनमा पढ्छु । नेपाली किताबमा यो सुविधा छैन ।’
नेपाली पुस्तक अनलाइनमा नपाइँदा विदेश बस्ने नेपालीलाई झन् अप्ठेरो परेको छ । ‘नेपाली पुस्तक विदेश पठाउन अफ्ठयारो छ’ कथाकार दीनमान गुर्मछान भन्छन्, ‘अनलाइनमा पढ्ने व्यवस्था भए नेपाली पुस्तक पनि सबैको पहुँचमा हुने थियो ।’
नेपाली पुस्तक अनलाइनमा पढ्नै नपाइने भने होइन । पुस्तकालय डटओआरजीमा केही नेपाली साहित्य, गैरसाहित्य तथा पाठ्यक्रका सीमित पुस्तकहरू पढ्न र सुन्न सकिन्छ । ओपन लर्निङ एक्सचेन्ज नेपाल (ओएलई नेपाल)ले सन् २००९ देखि ई–पुस्तकालयको व्यवस्था गरेको थियो । जसमा अहिलेसम्म ६ हजार ८ सय पुस्तक, २ हजार ३ सय १९ अडियो पुस्तक, ५ सय ६१ वटा भिडियो संग्रहित छन् । पछिल्लो समय केही प्रकाशन गृहले अनलाईन संस्करणको सुरुवात गरेका छन् । तर त्यो पर्याप्त छैन ।
छापाखानाको इतिहास
मानव सभ्यता सुरु हुँदा लेख्ने परम्परा थिएन । पूर्खा वा गुरुले भनेका कुरा सुन्ने र सुनाउने चलन थियो । जुन प्रक्रिया अफ्ठयारो र दस्तावेजकृत नहुने भएपछि लिपीको आविस्कार भयो । सुरुमा संकेतमार्फत ढुंगा र पातका बोक्रामा लेख्न थालियो । चिनियाँ नागरिक तुस्ताई लुनले कपास र सलमलको सहयोगमा कागज आविस्कार गरे । त्यसपछि चीनमा सीमित र स्पष्ट ब्लक प्रिन्टिङ सुरु भयो । यसका लागि काठको खण्ड बनाइएको थियो । चीनमा नै सन् ६५० मा ‘हिरक सूत्र’ नामक संसारको पहिलो पुस्तक छापिएको थियो ।
विश्वको पहिलो छापाखाना चीनमा नै स्थापना भएको हो, जसमा काठका कागज प्रयोग गरिएका थिए । एक अध्ययनका अनुसार कागज बनाउने कला चीनबाट अरब हुँदै युरोपसम्म पुगेको हो । केही खोजकर्ताले भने १५औं शताब्दीमा युरोपबाट छापाखानाको सुरुवात भएको अनुमान गरेका छन् । उनीहरूका अनुसार सन् १४४० अघि युरोपभर केही हजार हस्तलेखन ग्रन्थ अस्तित्वमा थिए । पछि जर्मनका सुनार जोहानस गुटेनबर्गले पहिलो पटक प्रेसको स्थापना गरेका हुन् ।
गुटेनबर्गले अंगुर निचोर्ने हाते मेसिनलाई सुधारेर एउटा हाते मेसिनको आविष्कार गरेको बताइन्छ । हातेप्रेस त्यसको सुधारिएको रूप हो । जुन अमेरिकाको कोलम्बियामा बनेको थियो । विश्वमा प्रिन्टिङ प्रेसको व्यावसायिक विकास भएको धेरैपछि मात्र नेपालमा भित्रिएको पाइन्छ । नेपालमा पहिलोपटक कोलम्बियन प्रिन्टिङ प्रेस भित्रिएको हो । यसलाई नेपालीमा गिद्धे छापाखाना (गिद्धे प्रेस) भनिन्छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९०८ सालमा बेलायतबाट उक्त प्रेस नेपाल भित्र्याएका थिए ।
तत्कालीन बेलायतकी महारानी भिक्टोरियाले उपहारस्वरूप दिएको उक्त प्रेसलाई उनले थापाथलीस्थित आफ्नै दरबारमा जडान गर्न लगाएका थिए । भी.एण्ड.जे. फिज्जिन्स मेकर्स’ लेखिएको त्यस मेसिनको अग्रभागमा पखेटा फिजाएको गिद्धको आकृति भएकाले उक्त प्रेसलाई नेपालमा ‘गिद्धेप्रेस’ भनिएको हो । त्यसअघि किताब प्रकाशन गर्न भारत पुग्नुपर्ने बाध्यता थियो ।