साप्ताहिक संवाददाता
चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका फलित ज्योतिष विषयका सहप्राध्यापक डा. माधवप्रसाद पाण्डेय भन्छन्, ‘यो राम्रो योग होइन, अहिले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी फैलिएको छ, यस्तो योग दुर्लभप्रायः हुन्छ ।’ वेदका ६ अङ्गमध्येको एक ज्योतिषको सूक्ष्म अध्ययन अनुसन्धान गर्ने हो भने त्यसले भविष्यका घटनाको पहिले नै थाहा पाउन सकिन्छ तर पछिल्लो समय नेपालमा यसको अध्ययन अनुसन्धान केवल औपचारिकतामा मात्र सीमित छ । सूक्ष्म रुपमा हुननसकेको यसको अध्येताको स्वीकारोक्ति छ ।
ज्योतिषविद् डा. खिलानाथ बस्ताकोटी शनि, वृहस्पति र मङ्गल एकै राशिमा हुने योग भएका बेला विगतमा विश्वव्यापीरूपमा ठूला घटना भएको बताउछन् । विसं २०४६ मा यस्तै योग भएका बेला रसिया टुक्रिएको र नेपालमा जनआन्दोलन भई प्रजातन्त्र पुनःस्थापना भएको थियो । रणबहादुर शाह राजा भएका बेला पनि यस्तै योगका बेलामा विश्वव्यापीरूपमा बिफर रोगको महामारी फैलिएको थियो । चन्द्रमामा मङ्गलबार देखिएको दृश्य भने वायु प्रदूषण नभई स्वच्छताका कारण पनि देखिएको हुनसक्ने भएकाले यस विषयमा दूरबीनलगायत यन्त्रका आधारमा अध्ययन गरेर मात्र निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।
वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिषका सहप्राध्यापक जयन्त आचार्य चैत्र शुक्ल पूर्णिमामा चन्द्रमा अन्य पूर्णिमामा भन्दा नजिक देखिने र वायुमण्डलसमेत स्वच्छ भएकाले मङ्गलबार राति आकाशमा फरक दृश्य देखिएको बताउछन् । प्रत्येक महिनाको पूर्णिमाका दिन राति आकाशमा पूर्ण चन्द्र देखिन्छ ।