त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका । कहिले नेपाल प्रहरीका सवारी हान्निँदै पुग्छन् । वीर अस्पताल, शिक्षण अस्पतालका एम्बुलेन्स पनि उत्तिकै पुग्छन् । एम्बुलेन्स किन गएका होलान् भनेर जिज्ञासा पनि आमरूपमा उत्पन्न हुनसक्छ । विश्व स्वास्थ्य सङ्गठन र सरकारले तय गरेको मापदण्डविपरित गएर भने विश्वविद्यालय परिसरमा कुनै भीडभाड गरिएको छैन । आखिर के छ त ? विश्वविद्यालय परिसरमा ।
जवाफ सहज छ, राष्ट्रिय आविष्कार केन्द्र । नेपालको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउनेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महावीर पुनले विश्वविद्यालय परिसरमा नै केन्द्र स्थापना गरेका छन् । केन्द्रमा आजकल दैनिक २० जना दिनरात नभनी काम गरिरहेका छन् । केन्द्रका प्रमुख पुन पोखरामा छन् । तर उनी पोखरामा रहेको भान कोही कसैलाई पनि छैन । केन्द्रमा भइरहेको काम कारवाहीको बारेमा उनी सिसिटिभी मार्फत् निगरानी मात्रै गर्छन् र आवश्यक्ता अनुसार निर्देशनसमेत दिन्छन् । ‘तिमी केटाहरूले संकटको समयमा पार लगाउन सक्छौं, कि सक्दैनौँ, नेतृत्व क्षमता देखाउन सक्छौं, कि सक्दैनौँ भनेर जिम्मा नै दिनुभएको छ पुन सरले’, आविष्कार केन्द्रमा संयोजन गरिरहेका इन्जिनीयर शङ्कर ढकालले भने ।
कोरोनाको संक्रमणबाट जोगाउने लक्ष्यका साथ राष्ट्रिय आविष्कार केन्द्रमा महत्वपूर्ण काम भइरहेको छ । विश्वव्यापी रूपमा नै कोरोनाको महामारी बढ्दै गएको बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरिरहेको छ केन्द्रले ।
कोभिड–१९ लागेका मानिसका लागि खाना र औषधि पुर्याउने रोबोट बन्दैछ । सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत ६ जनाको समूहले काम गरिरहेको छ । फ्याकिएका ट्रलीको सदुपयोग गरिएको छ । बाहिरबाट मालसामान ल्याउनुपर्ने बाध्यता पनि छैन । फ्याकिएका सामान नै प्रयोग गरेर रोबोट तयार हुँदैछ । गत सोमबार डेमो गरिसकिएको छ । ‘स्वचालित बनाउनका लागि आवश्यक प्रणाली जडान हुँदैछ, अब केही दिनमा तयार पार्छाैँ, यसले बिरामी जहाँ हुन्छ त्यहाँ खाना र औषधि लिएर जान्छ, मानिस गइरहनु पर्ने आवश्यकता हुँदैन’, ढकालले भने ।
रोबोट अबको तीन दिनमा तयार हुनेछ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा विभिन्न तीन तल्लामा कोरोनाका बिरामी उपचार गर्ने स्थान बन्दैछ । आईसीयू तयार हुँदैछ । वीरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल सबै क्षेत्रमा १५ देखि २० वटा रोबोट तत्कालै आवश्यक परेको छ । माग पनि उत्तिकै आइरहेको छ, केन्द्रलाई । कोरोनाको उपचार गराइरहेका बिरामी र चिकित्सकबीच कुनै पनि समयमा प्रत्यक्ष सम्पर्क नहोस, खाना तथा औषधि पुर्याउन समेत सहज होओस् भनेर नै रोबोट तयार पारिएको इन्जिनीयर कार्कीले बताए ।
सब्जी कोठी
इन्जिनीयर गौरव दासको चटारो पनि उस्तै छ । दासलगायतको समूहले सब्जी कोठी बनाइरहेको छ । किसानले तरकारी १० देखि ४० दिनसम्म जस्ताको तस्तै राख्न सक्छन् कोठीमा । गाडीबाट घरघरमा पुर्याएर बिक्री गर्नसमेत सकिन्छ । त्यसमा डिस इन्फेक्सन च्याम्बर राखिएको छ । त्यसले जुनसुकै भाइसर पनि मारिदिनसक्छ । त्यसभित्र एक प्रकारको कृत्रिम ओजन तह बनाइएको छ ।
‘योसँगै गौरवकै नेतृत्वमा पीपीई, ग्लोब्स, मास्क डिसइन्फेक्सन गर्ने यन्त्रको आविष्कार गरिरहेको छ । काम अन्तिम चरणमा रहेको छ । एक प्रकारको अल्ट्रा भ्वाइलेट रे युक्त (यूभी) बनाइँदै छ । त्यो झण्डै ओभन जस्तै हुन्छ । केही दिनमा तयार हुँदैछ’, दासले भने । त्यसभित्र एक प्रकारको बक्सा हुन्छ । त्यहाँ राखेपछि एक पटक प्रयोग गरिएका सामान फेरि प्रयोग गर्न सकिने गरी भाइरसरहित बनाइन्छ ।
व्यक्तिगत स्वास्थ्य एवं सुरक्षात्मक सामग्रीको अभाव भइरहेको बेलामा निर्मलीकरण गरेर पनि प्रयोग गर्नसक्ने ओभन जस्तै यूभी बनाउन लागिएको दासले जानकारी दिए ।
जनकपुर निवासी २६ वर्षका गौरव मेकानिकल इन्जिनीयर तथा जुनियर वैज्ञानिक पनि हुन् । दुई वटा शोधको त उनीसँग ‘प्याटेन्ट राइट’ नै छ । सब्जी कोठी र दर्जी उहाँको प्याटेन्ट राइट भएका अविष्कार हुन् । दास थापाथली इन्जिनीयरिङ अध्ययन संस्थानका विद्यार्थी हुन् ।
स्यानिटाइजिङ टनेल
स्यानिटाइजिङ टनेल पनि गौरव कै नेतृत्वमा बनिरहेको छ । के छ त यसको विशेषता ? हाम्रो प्रश्न थियो, दासलाई । बिरामी, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीले आवतजावत गर्दा, बाहिर गएर आउँदा त्यो टनेलले पूरै शरीर ‘स्यानिटाइज’ गर्छ । त्यस्तै खालको टनेल टेकु अस्पतालमा जडान गरिएको छ । त्यो आयातित हो । दासको समूहले फालिएका र काम नलाग्ने सामग्रीबाटै टनेल बनाएको हो । सो मेशिनले हातमा स्यानिटाइजर गरे झैँ यसबाट शरीरलाई पूरै स्यानिटाइज गर्न सकिन्छ । जसले गर्दा एक मानिसबाट अर्काे मानिसमा भाइरस सर्न पाउँदैन । मेसिनले नै शरीरमा एकैचोटी स्यानिटाइज गर्ने प्रविधि यसमा जडान गरिएको छ ।
एम्बु ब्याग
आविष्कार केन्द्रमा निर्माण भइरहेको अर्को सामग्री हो एम्बु ब्याग । अहिले पनि कतिपय ठाउँमा अक्सिजन दिँदा म्यानुअल पम्पिङ गर्ने गरिन्छ । अस्पतालमा अब यो तयार भएपछि मेसिनले अटोमेटिक रूपमा पम्प गर्छ । भेन्टिलेटरमा यो खालको मेशिन राख्दा झनै प्रभावकारी हुन्छ । अस्पतालमा वा एक ठाउँबाट अर्काे ठाँउमा बिरामी लैजाँदा एम्बु व्यागले ठूलो काम गर्छ । गम्भीर बिरामीलाई अक्सिजन पम्पिङ गर्दा हात प्रयोग गर्नु पर्दैन । सिधै मेशिनले गर्न मिल्ने गरी यो बनाउन लागिएको हो । हाल त्यस्तो खालको ब्याग देशभरी जम्मा ५ सय मात्रै रहेको ढकालको दाबी रहेको छ ।
एरोसल बक्स
कोरोनाको शंका लागेका बिरामीको स्वाब परीक्षणका क्रममा सबैभन्दा बढी संक्रमणको जोखिममा चिकित्सक नै हुन्छन् । उपचारका क्रममा बिरामीले वाकवाक गर्छ, ह्याच्छयूँ गर्छ, त्यसबेला त्यो थुकको छिटा चिकित्सक र नर्ससम्म आउन नदिनका लागि नयाँ बाकस आविष्कार गरिएको ढकाल बताउछन् । जसको नाम ‘एरोसल बक्स’ राखिएको छ । एउटा बाकसमा सिसा लगाइएको हुन्छ । हात छिर्न मिल्ने गरी दुई वटा प्वाल बनाइएको छ । बिरामी बेडमा रहेको बेलामा आवश्यक परीक्षण र उपचारका क्रममा यो बक्स प्रयोग गरिन्छ । विभिन्न अस्पतालबाट यसको माग भइरहेको छ । चितवनको कलेज अफ मेडिकल साइन्सेज र शिक्षण अस्पतालबाट समेत माग आइसकेको छ ।
पीपीई बुथ
केन्द्रले तयार पारेको अर्को आविष्कार हो, पीडीई बुथ । कोरोनाभाइसर स्याम्पल कलेक्सन बुथ (पीपीई बुथ)को रुममा पनि त्यसलाई लिन सकिन्छ । यो एउटा ठूलो बक्सा हो । बक्साभित्र चिकित्सक बस्छन् । बक्साको एक भागमा सिसा राखिएको हुन्छ । सिसामा दुई वटा हात छिराउन मिल्ने प्वाल राखिएको छ ।
रबर पञ्जामा पीपीईको कपडा जोडेर बनाइएको नयाँ पञ्जा त्यस प्वालमा जोडिन्छ । त्योभन्दा बाहिर प्लाष्टिकको नयाँ पञ्जा प्रयोग हुन्छ । हात छिराएर पञ्जामार्फत चिकित्सकले बिरामीको आवश्यक परीक्षण गर्नसक्छन् । यसरी परीक्षण गर्दा सिसाबाट भाइरसभित्र छिर्न पाउँदैन ताकी चिकित्सकसम्म भाइरस जान पाउँदैन र सर्ने सम्भावना कम हुन्छ । विश्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रोग सरेको र कयौँको मृत्युसमेत भइसकेको अवस्थामा यसले रोग सर्नबाट रोक्नसक्ने गरी प्रविधिको विकास गरिएको ढकालको भनाइ छ ।
पीपीई
आविष्कार केन्द्रमा पीपीईको विज्ञ कोही पनि थिएनन् तर अवस्थाले पीपीई विज्ञ बनाइदियो । समस्या आइसकेपछि पीपीईबाट काम शुरु गर्ने निर्णय भएको ढकालले बताए । ‘त्यसको माग बढी थियो । चिकित्सक नै सक्रमित भए भने धेरैलाई प्रभावित पार्ने भयो भनेर हामीले त्यसको अनुसन्धान थाल्यौँ’, ढकालले भने, ‘वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना मगाएर हेरियो । त्यो हेर्दा वाटर पेनिटेसन थिएन । पानी छिर्ने भेटियो । त्यसपछि अनुसन्धान टोलीले विश्व स्वास्थ्य संगठनको गाइडलाइनको अध्ययन गर्यो ।’ गाइडलाइनमा भनिएको थियो वाटर प्रुफ, एयर प्रुफ र भाइसर प्रोटेक्टिभ हुनुपर्छ पीपीई । त्यसपछि हामीले कुन कपडा कस्तो छ भनेर हामीले खोजी ग¥यौँ । डबल लेयर, रबराइज, टाफेटा भन्ने फेबरिक पत्ता लाग्यो । यो फेवरिक जापानको उत्पादन हो । कम्पनीले नै भाइरस प्रोटेक्टिभ भनेर प्रमाणित गरेको कपडा हो ।
पहिले प्रयोग भइरहेका पीपीईमा हाई प्रेसरमा पानी पठाउँदा पानी पस्ने गरेको पाइयो भने यो पीपीईमा भने जति प्रेसर गर्दा पनि पानी नपसेको ढकालको भनाइ छ । गुणस्तर विभागले मापदण्ड हेरेर ठीक छ भनेको छ । केन्द्रले विभागलाई नमूना दिएर आवश्यक प्रस्तुति गरेरै काम गरेको हो । पीपीई आवश्यक डिजाइन गरेर निश्चित टेलरमा सिलाउने गरिएको छ । विभागको सुझावको आधारमा पानी नपस्ने खालको र एयर प्रुफ जीपर प्रयोग गरिएको छ । ‘सकेसम्म कम सिलाउने गरिएको छ । सिलाएको ठाउँमा समेत पानी र हावा छिर्न नसक्ने गरी टेप लगाइएको छ । सकेसम्म साइन्टिष्ट र मेडिकल विद्यार्थीबाट मेहनत गरेर बनाएका छौँ’ ढकालले भने ।
सरकारले आवश्यक सहयोग उपलब्ध गराए कोरोना नियन्त्रणका लागि विदेशबाट सामान आयात गर्नै नपर्ने ढकालको दाबी छ । हालसम्म सबै सामग्री निःशुल्क दिइएको छ । अमेरिका नेपाल चिकित्सक सोसाइटीले केही सहयोग उपलब्ध गराएको छ । यस्तै नेपालभित्रका केही दाताले सक्दो सहयोग गरेका छन् । सोही सहयोगका आधारमा नै केन्द्रले कोरोना नियन्त्रणका लागि सक्दो सहयोग गरेको छ । सरकारले आफूहरूलाई साधन र स्रोत उपलब्ध गराए देशभित्रै स्वास्थ्य सामग्री बनाउन सकिने उल्लेख गर्दै ढकालले नेपाली युवा वैज्ञानिकको ज्ञान र सीपलाई प्रयोग गर्नुपर्ने बताए ।