सामाजिक सञ्जाल तथा प्रविधिको बढ्दो प्रयोगले मानिसमा आपसमा दूरी बढेकाबारे बेला–बेला चिन्ता गरिन्थ्यो । कतिले सामाजिक सञ्जालमै यसबारे व्यंग्य पनि गरेका पाइन्थे । सन् २०१८ मा गरिएको अस्ट्रेलियन एकाकीपन सर्वेक्षणमा एक चौथाइले सातामा ३ वा त्योभन्दा बढी दिन एक्लो महसुस गरेको रिपोर्ट पनि सार्वजनिक भएको थियो । एक्लोपन महसुसको कारणमध्येको एउटा प्रमुख कारण थियो, सामाजिक सञ्जालको अत्यधिक प्रयोग ।
नेपालमा पनि कतिपय विश्लेषकले मानिसलाई एक्ल्याउने साधनाका रूपमा सामाजिक सञ्जाललाई व्याख्या गर्दै आएका थिए । एकै छानोमुनि बस्ने परिवारबीच दूरी बढाउने साधनका रूपमा लिइएको सामाजिक सञ्जालको विशेषण अहिले भने फेरिएको छ । र, यतिखेर सामाजिक सञ्जाल सम्बन्ध तोड्ने नभई जोड्ने कडीको रूपमा प्रयोगकर्ताको साथी बनेको छ ।
विश्वभर फैलिएको कोरोनाको संक्रमणबाट जोगिन चैत ११ गतेबाट सरकारले नेपालमा पनि लकडाउन गर्यो । लकडाउनका कारण सहरका सडकदेखि गाउँका बाटोघाटो सुनसान छन् । अत्यावश्यक बाहेक अधिकांश संस्था तथा कार्यालयका ढोका बन्द छन् । नियमित भेटिने साथीभाइ र आफन्तहरूसँगको भौतिक दूरी टाढा छ । घर वा कोठाभित्रै सीमित मानिसले समय कसरी काटिरहेका छन् त ? यतिबेला अनलाइन प्रविधि वा सामाजिक सञ्जाल नै प्राय: मानिसको नजिकको साथी बनेको देखिएको छ । फेसबुक, ट्विटर, युट्युब तथा इन्स्टालगायत सामाजिक सञ्जालबाट उनीहरू आफ्नो नियमित काम, साथीभाइ तथा आफन्तसँग सम्पर्क, छलफल–विमर्श र सिर्जनात्मक अभियानमा सक्रिय छन् ।
अनलाइनमै सिर्जनात्मक कार्यक्रम
लकडाउनपश्चात् कोठाभित्रै बन्दी हुनुपरेपछि कवि श्रवण मुकारुङले उपयुक्त विकल्पको रूपमा सामाजिक सञ्जाललाई रोजे । निराशा र नकारात्मक समाचारले मानिस दिक्क भएपछि आफूले सिर्जनात्मक भूमिका खेल्नुपर्ने उनले सोचे । योजना बुनेलगत्तै कवि मुकारुङले ‘क्वारेन्टाइनबाट कविता शीर्षक’ श्रृंखला सञ्चालन गरे । फेसबुकमार्फत हरेक दिन उनी स्वदेशी र विदेशी कविता लिएर लाइभ आउँछन् र सुन्दर लयमा वाचन गर्छन् । फेसबुकमा उनले वाचन गरेको कविता सुन्ने र पछ्याउनेहरूको जमात बढ्दै गइरहेको छ ।
कवि मुकारुङ बन्धनमा परेजस्तो बेलामा सिर्जना बाँड्दा ‘पोजेटिभ भाइब्रेसन’ जाने बताउँछन् । ‘यो बेला सबैको आ–आफ्नो दायित्व हुन्छ । म कवि भएपछि मेरो दायित्वको काम गरेँ,’ उनी भन्छन्, ‘यसरी सामाजिक सञ्जालको सदुपयोग गर्नेबारे सकारात्मक सन्देश पनि जान्छ ।’त्यसैगरी अर्का कवि सञ्जीव राईले पनि नेपालका अग्रज, समकालीन तथा नयाँ पुस्ताका कविहरूको कविता फेसबुकलाइभमार्फत् हरेक दिन पढिरहेका छन् ।
सञ्चारकर्मी दिलभुषण पाठकले हिमालय एचडीबाट प्रसारित हुने टफ टकका विशेष शृंखला फेसबुक लाइभमार्फत सञ्चालन गरिरहेका छन् । हरेक दिन राति ९ देखि १० बजेसम्म आउने कार्यक्रममा गायक तथा संगीतकारको साथ विभिन्न क्षेत्रका विज्ञ तथा सम्बन्धित व्यक्तिसँग सान्दर्भिक विषयवस्तुसहित अनलाइन संवादमा आउँछन् । पत्रकार विजयकुमारले ‘दिशानिर्देश’ कार्यक्रमशृंखला घरबाटै पोडकास्ट गरिरहेका छन् । कार्यक्रम मात्र होइन, संस्थाहरूको नियमित बैठक तथा छलफल पनि अनलाइनमै भइरहेको छ ।
रिसर्च तथा इनोभेसनमा काम गरिरहेका वैज्ञानिकहरूको संस्था नामीको नियमित तथा अत्यावश्यक बैठक अनलाइनमार्फत नै हुने अध्यक्ष विशेष खनाल बताउँछन् । ‘नियमित काम तथा अनुसन्धानका लागि हामी भिडियो कन्फ्रेन्स गरिरहेका हुन्छौं । यो निकै प्रभावकारी भइरहेको छ,’ अध्यक्ष खनाल भन्छन् । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी(नास्ट)को लकडाउन पछिका काम तथा बैठक पनि अनलाइनमार्फत भइरहेको प्रवक्ता सुरेशकुमार ढुंगेल बताउँछन् । ‘यस्तो बेलामा घरबाटै अनलाइनको माध्यमबाट साथीहरू काम गर्नुहुन्छ । बैठक पनि अनलाइनबाटै बस्ने गर्छौं,’ प्रवक्ता ढुंगेलले भने ।
अनलाइन फेस्टिभल
फेस्टिभल भन्ने बित्तिकै हामी ठूलो जमात भेला भएको कल्पना गर्छौं, जहाँ स्टेजभरि अतिथि र बाहिरपट्टि दर्शकहरू भरिएका हुन्छन् । कोरोना संक्रमणबाट जोगिन मानिसहरू कोठामा सीमित हुँदाको अवस्थाले नयाँ विकल्प र सम्भावनाको विकास गर्यो, जुन रोचक र प्रभावकारीसमेत बन्यो ।
किताब जात्रा फाउन्डेसनले वैशाख १ देखि ‘भर्चुअल लिट्रेचर फेस्टिभल– किताब जात्रा–२०२०’ सुरु गरेको छ । फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीका अनुसार काठमाडौंमा साहित्यिक बहस ‘किताब जात्रा’ सम्पन्न गरेको फाउन्डेसनले सातै प्रदेशमा कार्यक्रम तय गरेको थियो । ‘तर कोरोना संक्रमणको त्रासले स्थगित भएकाले यो समयमा अनलाइनमा नै फेस्टिभल सुरु गरिएको हो’, फेस्टिभल निर्देशकसमेत रहेका अधिकारीले भने । उनका अनुसार किताब जात्राको फेसबुक पेजबाट फेस्टिभलमा भएका बहस लाइभ हेर्न सकिनेछ ।
फेस्टिभलमा नेपाली साहित्य, कला र जीवनका विभिन्न आयामबारे बहस गरिने सेसन संयोजक शकुन्तला जोशीले जानकारी दिइन् । ‘संकटको समयमा कला साहित्यबारे कुरा गर्दा सिर्जनशील हुन उत्प्रेरित भइरहेको प्रतिक्रिया पाइरहेका छौं । कार्यक्रमबारे विभिन्न सुझाव पनि आइरहेको छ । एक हप्तासम्म चल्ने भनेर सुरु गरिएको फेस्टिभल परिस्थिति र प्रतिक्रियाअनुसार बढाउन पनि सकिन्छ’, उनले भनिन् ।
यसअघि अनलाइनमार्फत १६ दिनसम्म नाट्य महोत्सव भएको थियो । थिएटर मल, कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनको आयोजनामा ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ भएको हो ।
भारतको साहित्यिक एजेन्सी द बुक ब्रेकरले पनि यसअघि अनलाइनमार्फत नै लिट्रेचर फेस्टिभल गरेको थियो । अप्रिल ६ देखि १२ सम्म चलेको फेस्टिभलमा ९१ वटा सेसन र ६ सय बढी वक्ता सहभागी भए । बिहान १० बजेदेखि रातको ९:३० बजेसम्म फेसबुकमा लाइभ भएको प्यानल डिस्कसनमा बेस्ट सेलर लेखक, क्रिकेट सेलिब्रेटी, चर्चित अभिनेता, चर्चित मोटिभेसनल स्पिकर, अग्रणी पत्रकार, राजनीतिक विश्लेषक, व्यवसायी, प्रहरी अधिकारीलगायत सहभागी थिए । ‘यो हामीलाई साहित्य प्रेमीहरूले दिएको उपाय हो । लकडाउनको बेलामा चुनौतीपूर्ण तर फरक कार्यक्रम गर्न पाउँदा खुसी छौं,’ संस्थाको सह–संस्थापक सञ्जीव माथुरले भने, ‘सबै विधा समेटिएको हुनाले यो अत्यन्तै प्रभावकारी पनि भयो ।’
फस्टाएको अनलाइन कक्षा
चाइनाको हवेई युनिभर्सिटीमा ब्याचलर्स इन चाइनिज ल्यांग्वेज अध्ययन गरिरहेकी शीतल चौलागाईं फेब्रुअरी १५ मा नेपाल आइन् । फेब्रुअरी १७ बाट उनको नयाँ सेमेस्टर सुरु भयो । कोरोना कहरले चाइनाको विश्वविद्यालय बन्द छ । यतिबेला उनीलगायत सबै साथीहरू अनलाइन क्लास लिइरहेका छन् । ‘हरेक दिन बिहान चीनको समय ११ बजेदेखि अनलाइन कक्षा सुरु हुन्छ । त्यहीबेला असाइमेन्ट वा भिडियो कक्षाबाटै समूहकार्य पनि हुन्छ । नयाँ सेमेस्टर सुरु हुने बित्तिकै हामी यसरी नै पढिरहेका छौं,’ उनी भन्छिन् ।
कलडाउन भएता नेपालमै पनि केही विश्वविद्यालयले अनलाइनमार्फत नै विद्यार्थीहरूको कक्षा सञ्चालन गरिरहेका छन् । हात्तीवनस्थित काठमाडौं विश्वविद्यालयमा फाइन आर्टस् दोस्रो सेमेस्टरमा अध्ययन गरिरहेका विज्ञान सापकोटा घरबाटै अनलाइन क्लास लिन्छन् । कलेजकै रुटिनअनुसार १० बजेदेखि २:३० सम्म उनीहरूको कक्षा सञ्चालन हुन्छ ।
काठमाडौं युनिभर्सिटीले ‘वर्क फर्म होम’को कन्सेप्टअनुसार केही विषयको अनलाइनबाट कक्षा लिइरहको प्राध्यापक चण्डिराज दाहाल बताउँछन् । ‘कलेज जाने र भेट्न सक्ने अवस्था नभएपछि यो एउटा विकल्पका रूपमा आयो । मलगायत अरू पनि साथीहरूले पढाइरहनुभएको छ,’ उनी भन्छन्, ‘बरु फिजिकल क्लासमा एक दुई विद्यार्थीहरू अनुपस्थित हुन्थे । यसमा सबै उपस्थित हुन्छन् । उनीहरूलाई एक खालको इन्गेजमेन्ट नै भइरहेको छ ।’
विश्वविद्यालयले मात्र हैन, केही स्कुलले पनि नियमित विद्यार्थीहरूका लागि विशेष कक्षा अनलाइनबाटै सञ्चालन गरिरहेका छन् । ठूलो भर्याङस्थित संस्कृति इन्टरनेसनल स्कुलले ‘जुम’ एपमार्फत सबै कक्षाका विद्यार्थीसँग भिडियो कन्फ्रेन्स गर्ने गर्छ । कोरोनाको त्रासबाट बालबालिकालाई मुक्त गराउन स्कुलले मनोपरामर्शदाताबाट काउन्सेलिङ कक्षासमेत अनलाइनमार्फत सञ्चालन गर्यो । त्यसैगरी अभिभावकका लागि पनि छुट्टै कन्फ्रेन्स अनलाइनमार्फत स्कुलले गरेको छ । स्कुलमा अहिले गुगल क्लासको अवधारणामा काम भइरहेको स्कुलका नेपाली शिक्षक विश्व सिग्देल बताउँछन् । उनका अनुसार स्कुलका शिक्षकहरूसमेत कसरी अनलाइन क्लास सञ्चालन गर्ने भनेर तालिममा सहभागी भइरहेका छन् ।
स्पाइनी ब्याबलर नामक शैक्षिक संस्थाले ‘साइकल स्टोरी’सँग मिलेर ३ देखि १३ वर्षसम्मका बालबालिकाका लागि अनलाइन अध्ययनको अफर ल्याएको छ । लकडाउनयता ‘अफर स्पाइनी ब्याबलर इभोलुसन अनलाइन एजुकेसन प्रोगाम’ ले गुगल कक्षामार्फत कला, विज्ञान, गणित, सामाजिक ज्ञान, फिटनेस, भाषा, विकासलगायतका आकर्षक शिक्षा बालबालिकालाई प्रदान गरिरहेको छ । यसका लागि बालबालिकालाई अभिभावकले अनलाइन फाराम भराउन सक्छन् । त्यसैगरी कारखाना, मिदास एजुकेसन, म्याक्स कनेक्टलगायतका संस्थाले बालबालिकालाई नि:शुल्क ई–लर्निङ गराइरहेका छन् । यसरी ई–लर्निङको कक्षाले इन्टरनेटको पहुँच हुने विद्यार्थीहरूको समय सदुपयोग हुनुका साथै सिकाइमा रोक नलगाएको अभिभावक तथा शिक्षकहरूको बुझाइ छ ।
सामाजिक सञ्जालको हानी पनि, फाइदा पनि
विश्वमा ३ दशमलव ८ विलियनभन्दा बढी मानिस सामाजिक सञ्जाल प्रयोग गर्छन्, जसले विश्वको कुल जनसंख्याको ४९ प्रतिशत प्रतिनिधित्व गर्छ । नेपालमा लकडाउनयता पहिलेभन्दा ४० प्रतिशत बढीले इन्टरनेट प्रयोग गर्न थालेको अनुमान छ । अहिलेको संकटको बेलामा मानिसलाई एकाकीपनबाट हटाउन र सामाजिक बनाउन सामाजिक सञ्जालको प्रयोग बढेको मानवशास्त्री डम्बर चेम्जोङ बताउँछन् ।
‘अहिले घरमा पत्रिका पनि आउँदैन, सामाजिक सञ्जाल नभएको भए कठिन हुन्थ्यो,’ चेम्जोङ भन्छन्, ‘यतिबेला सबैभन्दा सहज महसुस गर्ने माध्यम सामाजिक सञ्जाल नै भयो ।’ उनका अनुसार सहरी क्षेत्रमा मात्रै सामाजिक सञ्जालको प्रयोग बढेको हो । गाउँमा भने पहिलेकै तुलनामा प्रयोग भइरहेको छ ।
लेखक तथा चिन्तक आहुति सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक दुवै किसिमले प्रयोग भइरहेको बताउँछन् । उनका अनुसार मानिसले सकारात्मक उद्देश्यले सामाजिक सञ्जालको प्रयोग गर्ने हो भने मानवजाततिको ठूलो उपलब्धि हो । भन्छन्, ‘अहिलेको अवस्थामा यसले दुवै काम गरेको छ । भए नभएको हल्ला फैलाउन पनि प्लेटफर्म उपलब्ध गराएको छ । अर्कोतिर चाहिँ सही सूचना दिन र समृद्ध बनाउने काममा धेरै ठूलो भूमिका खेलेको छ ।’
नास्टका प्रवक्ता सुरेश कुमार ढुंगेलका अनुसार पहिले विज्ञान, प्रविधिको प्रयोगले मान्छेको मोबिलिटी एकदमै छिटो थियो । एक ठाउँमा थिर भएर अडिनै सक्दैन थियो । यद्यपि, लकडाउनपश्चात् प्रविधिकै प्रयोगले अहिले घरभित्रै बसेर पनि मान्छे एक अर्कोसँग जोडिएका छन् । उनी भन्छ्न्, ‘विज्ञान प्रविधि सूचना आदान–प्रदान गर्ने क्रममा, आफ्ना क्रियाकलाप गर्ने क्रममा, मनोरञ्जन दिने क्रममा सबै क्रममा यो एकदमै प्रभावकारी भएको छ ।’
सामाजिक सञ्जालको महत्व बढ्यो
लकडाउनका बेलामा इन्टरनेट बढी उपयोग भयो । तर, यसको उपयोग र दुरुपयोग दुवै भएको छ । अहिले अधिकांश नागरिक लकडाउन भोगिरहेका छन् । नेपालमा इन्टरनेट नै ४० प्रतिशत बढी चलिरहेको छ । सूचना आदान प्रदानमा यसको सबैभन्दा महत्वपूर्ण भूमिका छ । अहिले प्रिन्टमिडियाभन्दा अनलाइन पढिने क्रम बढ्दो छ । सामाजिक सञ्जाल नभएको भए यतिबेला न पत्रिका आउँथ्यो, न टेलिभिजनसँग दोहोरो संवाद हुन्थ्यो । तर, सहज महसुस गर्ने माध्यम सामाजिक सञ्जाल भएको छ । यसको सकारात्मक सदुपयोगमा पनि सधैं ध्यान दिनुपर्छ । सामाजिक सञ्जाल यो बेलामा सामाजिक सम्बन्धको कडी हो, त्यसैले गलत प्रयोग नगरौं ।