साप्ताहिक संवाददाता
विश्वव्यापी महामारी बनेको कोरोना भाइरस सुरुमा चीनको वुहानमा देखियो । जुन सहर मुख्य संक्रमणको क्षेत्र बनेको थियो, त्यसमा अहिले चीनले नियन्त्रण गरिसकेको छ । चीन आफ्नै कम्पनीले उत्पादन गरेका माक्स, पीपीई र मेडिकल उपकरणको प्रयोग गरेर यो महामारीसँग जुध्यो ।
विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले आफ्ना लागि मात्र मेडिकल उपकरण बनाएन, बरु देशभित्रका हजारौं कारखानाबाट माक्स, पन्जा, थर्मोमिटर, भेन्टिलेटर, टेस्टिङ किट्स उत्पादन गरेर विश्व बजारमा निर्यात गरिरहेको छ । अहिलेको महामारी र विपद्मा चिनियाँ बजार माक्स र मेडिकल उपकरण निर्माण गर्ने मुख्य केन्द्र बन्दै छ । तर, बढ्दो मेडिकल उपकरणको मागसँगै चीनमा कालोबजारी, बिचौलिया र गुणस्तरहीनतामा पनि वृद्धि भएको बताइन्छ ।
कतिपय कम्पनीले आफूकहाँ खरिद गर्न आउने उपभोक्ता राष्ट्र वा संस्थालाई नमुना प्रति देखाउन र कारखाना भ्रमण गराउँदा नै डिपोजिट रकम राख्न माग गरिरहेका छन् । यसको कारण भनेको चीनमा फैलिएको कोरोना भाइरस उनीहरूकै कम्पनी र संयन्त्रले नियन्त्रण गर्न सकेकाले हो । विश्वभरिका मानिसलाई चिनियाँ कम्पनीले मात्रै माक्स, पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) र मेडिकल उपकरण बनाउन सक्छन् भन्ने विश्वास छ । छिटो सामान उत्पादन र वितरण गर्ने चिनियाँ तरिकाले गर्दा उनीहरूलाई मेडिकल उपकरण उत्पादनको माग अकल्पनीय तवरले बढेको छ ।
कतिपय देश र त्यहाँका स्थानीय सरकारले जुनसुकै मेडिकल सामग्री खरिद गर्दा पनि चिनियाँ कम्पनीबाटै गर्नुपर्छ भन्ने माग गरिरहेका छन् । दक्षिण कोरिया, सिंगापुर, भियतनाम र थाइल्यान्डमा बन्ने मेडिकल उपकरण पनि नभएका होइनन् । तापनि चिनियाँ कम्पनीसँग मात्रै बढी मात्रामा एजेन्टले विश्वबजारलाई डिल गराइरहेका छन् । विश्वका अन्य कोभिड–१९ संक्रमण फैलिएका राष्ट्रलाई मेडिकल सामग्री निर्यात गर्नुपर्दा आफ्नै देशका कम्पनीबाट मात्रै गर्नुपर्ने प्रावधानमा चिनियाँ कम्पनीले जोड दिएका छन् । यसले विश्व भूराजनीतिमा नै केही फेरबदल आउन सक्ने अनुमान गरिएको छ ।
चीनको सेन्जेन प्रान्तमा बसेर गुणस्तर मापन गर्ने सोफिस्ट कम्पनीका सहसंस्थापक फ्याबिन गोएसरगेज भन्छन्, ‘खरिद नीतिमा पनि निकै फेरबदल गरिएको छ । यसले गर्दा विश्व बजारलाई चीनबाट कोरोना भाइरस रोकथाम गर्ने मेडिकल उपकरण निर्यात गर्न समस्या भइरहेको छ ।’ यो परिस्थितिले गर्दा चीनका गल्फ बल बनाउने, डटपेन–पेन्सिल र कारका पाटपुर्जा बनाउने कम्पनीहरूले समेत माक्स बनाउन थालेका छन् । उत्पादन गरेको दुई सातामै बिक्री र नाफा हुने भएकाले चिनियाँ कम्पनीहरूबीच मेडिकल उपकरण उत्पादन गर्ने प्रतिस्पर्धा नै चलेको छ ।
खानेकुरा प्याक गर्ने ‘फोसाङ होङ्स कम्पनी’ले पनि गत फेब्रुअरी २६ बाट माक्स बनाउन थालिसकेको छ । उक्त कम्पनीका निर्देशक झु हुइकिङका अनुसार पूर्णक्षमता र द्रुत गतिमा माक्स उत्पादन भइरहेको छन् । उनी भन्छन्, ‘अब मे महिनासम्म नयाँ अर्डर लिन सक्ने अवस्था छैन । हाम्रो कम्पनीले ५० वटाभन्दा बढी मेसिन लाइनबाट एकैसाथ उत्पादन गरिहेका छौं । प्रत्येक महिना करिब २ लाख अमेरिकी डलरबराबरको उत्पादन भइरहेको छ ।
चीनमा फेस माक्स बनाउने ३८ हजारभन्दा बढी नयाँ कम्पनी सन् २०२० को सुरुदेखि नै दर्ता भइसकेका छन् । अघिल्लो वर्ष करिब ९ हजारको संख्यामा रहेका कारखाना र कम्पनी एकाएक बढेको चिनियाँ कम्पनी दर्ता कार्यालयको तथ्याङ्कमा उल्लेख छ । विश्वभरि नै लकडाउन बढिरहेको अवस्थामा चीनले निरन्तर उत्पादन र निर्यातमा जोड दिइरहेको छ । उसको यही नीतिका कारण मेडिकल उपकरणको व्यापार बढेको छ । विश्वभरका एजेन्ट र खरिद गर्न चाहने संस्थाका लागि गन्तव्य बनेको छ ।
व्यापारमा समस्या पनि
ह्यारिस ब्रिकेनको ल फर्ममा दैनिक ४० भन्दा बढी उजुरीमा इमेल आउने गर्छन् । उनी चिनियाँ सामानबारे आएका उजुरी हेर्ने गर्छन्, जसमा एकजना अमेरिकी व्यवसायीले चिनियाँ निर्यातकर्तालाई दिनलाई लिएको करोडौं रुपैयाँ चिनियाँ निर्यातकर्ताले लिएर बेपत्ता भए । जसले गर्दा ती अमेरिकी व्यवसायी निराश भएका छन् । यस्तै अर्का एकजना अमेरिकी व्यवसायीले करोडौं रुपैयाँ डलरको माक्स अर्डर गरे । तर, माक्स लिइसकेपछि ‘यो तह्यालोइन चाडमा लगाउने जस्तो नराम्रो माक्स’ (गुणस्तरहीन माक्स) भन्दै सामानप्रति गुनासो गरे ।
चिनियाँ बजारमा बसेर निर्यात र व्यापारको काम गर्ने डेभिड सनले गत फेब्रुअरिमा नै ‘एन–९५’माक्स खरिद गरेर अमेरिका निर्यात गर्न खोजेका थिए । सन भन्छन्, ‘मैले एकजना एजेन्ट भेटाएँ, जसले मलाई माक्स उत्पादन गर्ने कम्पनीबाट सस्तोमा माक्स बेच्न सक्थ्यो, तर उनीहरूले एकचोटीमा १० लाख पिस अर्डर गर्नुपर्ने न्यूनतम शर्त राखे । मैले अर्डर गरेँ तर पाँच घण्टामै प्रतिमाक्स १३ युयानबाट १५ युयान पुग्यो । यसपछि मैले अर्डर त्याग्नु पर्यो । आज चीनमा मेसिनले पैसा छापेसरि माक्स उत्पादन भइरहेको छ’, सनले भने, ‘कतिपय कम्पनीले बल्ल मात्र उत्पादन अनुमति पाएका छन् तर उनीहरूसँग पहिल्यै माक्स थियो ।’ उनका अनुसार विदेशी व्यापारी र कम्पनीलाई ३० सेन्टमा पाउने सर्जिकल माक्स ७० सेन्टसम्म पुर्याइएको छ । यस्तै पन्जा र पीपीईको भाउ पनि दोब्बर भएको छ ।
‘मुख्यतया: मध्यमवर्गका बिचौलिया र एजेन्टबाट समस्या उत्पन्न भएको छ’, चीनको सुजाऊमा बस्ने ‘विल्सन, उडम्यान एन्ड ग्रिनउड एसोसिएट्स’का निर्देशक क्लिभ ग्रिनउडले भने, ‘छिटो नाफा कमाउने उद्देश्यले उनीहरू अन्तर्राष्ट्रिय कम्पनी र व्यवसायीलाई ठगीतर्फ उन्मुख गराइरहेका छन् । यसले गर्दा अन्तर्राष्ट्रिय बजारलाई कुन कम्पनी र कस्ता उपकरण कहाँ खरिद गर्ने अन्योल भएको छ ।’ भेन्टिलेटरजस्ता अस्पतालमा अति उपयोग हुने उपकरणमा पनि एजेन्टमाथि एजेन्ट थपिने गरेका छन् । आयातकर्ता कम्पनीसम्म त्यो सामान पुग्दा उपकरणको मूल्य उत्पादन मूल्यभन्दा बढ्ने गरेको छ ।
कोरोना भाइरसले गर्दा चिनियाँ अर्थतन्त्र र त्यसको रणनीति नै परिवर्तन हुने विश्लेषण गरिएको छ । आपतकालीन अवस्थामा पनि अत्यावश्यक पर्ने मेडिकल उपकरणहरू आधिकारिक कम्पनीले कम उत्पादन गरेका उपकरण झन् महँगो बन्न पुगेको छ । चीनमा उत्पादन भएका पीपीई चीनबाहिर पुर्याउने एक अमेरिकी कम्पनीका अध्यक्ष जोन सिङ्लेटनका अनुसार बाहिर पठाउने सामानको मूल्य भन्न अफ्ठेरो परिरहेको छ । उनी भन्छन्, ‘गुणस्तरीय सामानको मूल्य बढिरहेको छ, अनाधिकारिक र अगुणस्तरीय उपकरण बजारमा बढी छ ।’
सिंगलेटन अमेरिकी वायुसेनाका पूर्वपाइलटसमेत हुन् । उनी टिप्पणी गर्छन्, ‘युद्धको अनुभूति भइरहेको छ । उत्पादन कम्पनीका पहिलाका राम्रा काम छायामा परेका छन् ।’ आपतकालीन अवस्थामा पनि व्यापारबाट नाफा कमाउने मात्रै सोच राख्दा विश्व व्यापारको मामिलामा नै फेरबदल आउने संकेत देखिएको उनी बताउँछन् ।
(साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्टमा आधारित यो लेख साप्ताहिकका लागि ‘समर्पण श्री’ ले अनुवाद गरेका हुन् )