परदेशीका पीडामा आधारित गीतले सफलता पाएपछि उनलाई यथार्थपरक गीत सिर्जना गर्नेतिरै मन जान थाल्यो,अहिलेसम्मका गीतमध्ये ७५ प्रतिशतभन्दा बढी परदेशीकै पीडामा आधारित गीत भएको उनी सुनाउँछन्
सन् १९९९ मा काश्मिरमा भारत र पाकिस्तानबीच भएको बहुचर्चित कार्गिल युद्धको समयमा रेडियो नेपालमा बारम्बार बज्ने एउटा लोकगीत थियो– ‘मलाई सम्झी रेलिमाई नरोऊ है आमा, तिम्रो छोरो रेलिमाई जिउँदै छ रणमा ।’ लाहुरे जीवनकै सन्देश कहने झलकमान गन्धर्वको सर्वाधिक प्रसिद्ध गीत ‘आमाले सोध्लिन् नि’ पछि रेडियोमा श्रोताहरूले तिनताका अनुरोधपत्र पठाइरहने लोकगीत सायद यही थियो । रेकर्ड भएको छोटो समयमै यो गीत श्रोताहरूबीच लोकप्रिय भयो र छोटो समयमै लोकगीतका पारखीहरूबीच नारायण रायमाझी नाम पनि स्थापित भयो । त्यसयतासांगीतिक यात्रामा लोकगायक रायमाझीले झण्डै ३०० गीत गाइसके,जसमध्ये उनलाई परिचय दिने धेरै रचना त्यस्तै छन्, जसमा परदेशीका सुस्केरा र लाहुरे जीवनकै पीडाहरू सुन्न सकिन्छ ।
परदेशमा हुने लडाइँको जीवनले एकातिर लाउँ–लाउँ र खाउँ–खाउँ भन्ने उमेरका धेरै नौजवानको ज्यान लिन्छ, अर्कोतिर घरदेशमा आमाका काख रित्तिन्छन्, जीवनसँगिनीहरू एक्लिन्छन् र सन्तानहरू टुहुरा हुन्छन् । कार्गिलकै लडाइँमा पनि नेपाली युवाहरूले ज्यान गुमाएका थिए । ‘मलाई सम्झी रेलीमै नरोऊ है आमा’र ‘नमुछे आमा दहीमा टिका’यस्तै रणभूमिको पृष्ठभूमिले जन्माएका गीत हुन,’ रायमाझीले सुनाए, ‘यी दुवै गीतका शब्द मेरो दाजु लक्ष्मण रायमाझीले सिर्जना गर्नुभएको हो ।’ र, यिनै गीत नारायण रायमाझीको सांगीतिक जीवनका आधारस्तम्भ बने । आजको आफ्नो सफलता र परिचयलाई उनी दाजु लक्ष्मणकै प्रेरणाको उपज ठान्छन् । भन्छन्, ‘यदि दाइका ती कालजयी सिर्जना नहुन्थे त आज म गायक हुन्थिनँ, बरु गाउँमै सामान्य किसानका रूपमा जीवन बिताइरहेको हुन्थें ।’
गायन तथालोकगीत सिर्जनामा नारायणको आज अलग्गै चिनारी छ । यो सिर्जनशीलता उनीसँग बालादिनदेखि नै थियो । दाजु लक्ष्मण रायामाझी एक कुशल सर्जक थिए । दाजुले कोरेका मर्मस्पर्शी शब्दलाई उनी गीति प्राण भर्थे । आफै लय भरेर गाउने प्रयास गर्थे । सानैदेखिगाउँघरमा हुने नाचगानमा उनी छुट्दैनथे । गाउँमा मादल घन्किने र दोहोरी रन्किने भनेपछि झरी, बादल, अधेंरी रात, जंघार कुनै कुराले पनि उनलाई छेक्दैन्थ्यो ।
‘गाउँघरमा हुने नाचगान कहिल्यै छुटाइनँ,’ बालापनका स्मरण सुनाउँछन्, ‘त्यसबेला अहिलेजस्तो टर्चलाइटको सुविधा थिएन, नाचगान हुने सुइँको पाउनेबित्तिकै अगुल्टो हल्लाउँदै, थोत्रा चप्पल पड्काउँदै रामरमिता हेर्न पुग्थें ।’ हार्मोनियम, बाँसुरी, सारंगी विद्यालयमा अध्ययन गर्दादेखि नै उनी बजाउँथे । ‘वाद्यवादनमा निकै रूचि थियो,’ उनी भन्छन्, ‘केही साथीहरूसँग मागेर बजाउँथें, बजारतिर गएको बेलामा मुर्चुङ्गा, सारंगी, मादल किनेर ल्याउँथे र आफ्नै पारामा सिकें ।’ यसरी गाउँमै सिकेर बजाएका वाद्यवादन काठमाडांै आएपछि उनका लागि जीविकोपार्जन गर्ने आडभरोसा भए ।
पाल्पाको माछागढीमा जन्मिएका रायामाझी विद्यालयमा हुने सांगीतिक कार्यक्रममा सधैं प्रथम हुन्थे । त्यहीँको किसान माविमा अध्ययन गरेका उनले ०३८ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । एकदिन विद्यालयमा आयोजितसांगीतिक कार्यक्रमबारे उनले बुबालाई सुनाए । बुबाले छोराका लागि भनेर ‘कल्ले दियो सानुलाई निरको टिको, रातो रिबन, कालो चोलो, बुट्टे गुनियुँ, ढुंग्री बुलाकी’ बोलको लोकगीत लेखिदिएछन् । त्यही गीत गाएर उनी प्रतियोगितामाप्रथम भए । स्कुलमाविजेता भएपछि सांगीतिक क्षेत्रमा लाग्न थप उर्जा मिलेको अनुभव उनी सुनाउँछन् । ‘बुबाले लेखिदिनुभएको गीत गाएर प्रथम भएपछि गीतसंगीतले मलाई सधैं आफूसँगसँगै तान्यो, कहिल्यै टाढा जान दिएन,’ आज लोक दुनियाँका अब्बल गायक तथा सर्जकमा दरिइसकेका रायमाझी आफ्नो यात्राको सुरुवाती जस परिवारकै अग्रजलाई दिन्छन् ।
स्कुल पढ्दादेखि गाउँमा केही गर्नुपर्छ भन्ने सोच उनमा थियो । सोहीअनुरूप उनकै नेतृत्वमा गाउँमा इन्द्रेणी बालक्लब गठन गरे । बालक्लबमा उनीहरूले वाद्यवादनका विभिन्न सामग्रीहरू ल्याएका थिए । त्यही बालक्लबमा संगीतको अभ्यास गर्थे । कुनै विशेष समारोहमा उनको टिमले विभिन्न सांगीतिक प्रस्तुतिका साथै थिएटर नाच पनि देखाउँथे । यिनै कारणले गर्दा उनले गाउँघरमै धेरैको मन जितिसकेका थिए ।
गायक बन्ने सपना पूरा गर्न राजधानी
गाउँका लागि सहर । सहरका लागि परदेश । सपना पूरा गर्ने गन्तव्य बन्ने गर्छन् । नारायण पनि सपना पूरा गर्नकै लागि सहर अर्थात काठमाडौं पसेका थिए । गाउँमा हुँदा रेडियो नेपालमा बज्ने गीतहरूले नारायणलाई लोभ्याउँथ्यो । उनलाई रेडियो नेपालमा गीत रेकर्डिङ गराउने ठूलो धोको थियो । गायक बन्ने आकांक्षा बोकेर उनी ०४२ सालमा काठमाडौं आए । त्यसपछिको एकवर्ष संघर्षमै बित्यो । ‘रेडियो नेपालमा गीत गाउने रहर बोकेर आएको थिएँ,’ उनी भन्छन्, ‘काठमाडौंमा चिनेजानेका कोही नभएकाले सुरुवाती दिन निकै कठिन रहे ।’ सुरुमा त उनलाई रेडियो नेपालभित्र छिर्नै मुस्किल पर्यो । त्यहीबेला (हाल स्वर्गीय) गायक लोकबहादुर क्षेत्रीले रेडियो नेपालमा छिर्न ठूलो सहयोग गरे । काठमाडौं आएपछि उनी क्षेत्रीसँगै बस्न थाले । केही समयपछि लोकबहादुर गाउँ फर्के । उनी छु्ट्टै बसे । ‘हाम्रो पालामा धेरै गाह्रो थियो,’ उनी भन्छन्, ‘अहिलेजस्तो चाहेर पनि रेकर्डिङ गर्ने स्टुडियो थिएनन् र संगीत सिक्ने सिकाउने चिनजान पनि कसैसँग थिएन ।’
गाउँमै छँदा उनलाई सारंगी, हार्मोनियम बजाउन आउँथ्यो । काठमाडौं आएको केही समयपछि विद्यालयका कार्यक्रम, कल्चरल कार्यक्रममा वाद्यवादन गर्न थाले । सोल्टी होटलमा हु्ने रात्रीकालीन सांगीतिक कार्यक्रममा पनि उनले काम पाए । रेडियो नेपालमा गीत गाउने सपना कायमै थियो । रेडियो नेपालमा गीत रेकर्डिङ गर्नका लागि विभिन्न चरण पार गरिसकेपछि उनले रेडियो नेपालमा जागिर पाए । सुरु–सुरुमा एउटा गीत रेकर्ड भएपछि २५ रूपैयाँ पारिश्रमिक पाउन थाले । औसतमा दिनमा एउटा गीत रेकर्डिङ हुन्थ्यो । उनका गीतहरूरेडियो नेपालबाट बज्न थालेपछि यस क्षेत्रले अझै तानिरह्यो । व्यस्तता बढ्न थाल्यो । ‘रेडियो नेपालमा काम गर्न थालेपछि मेरो दिनचर्या भ्याइनभ्याइ हुन थाल्यो,’ उनी भन्छन्, ‘कलेज जानुपर्ने, त्यसपछि संगीत सिक्न जानुपर्ने, जागिरमा जानुपर्ने, केही सांगीतिक कार्यक्रम पनि भ्याउनुपर्ने भएकाले दौडादौड हुन्थ्यो ।’
पहिलो एल्बमले दिएको नसोचेको सफलता
काठमाडौंमा संघर्ष गर्दागर्दै ०४५ सालमा ‘छोरीको जुनी’ एल्बम बजारमा ल्याए । एल्बममा ५ गीत थिए । गायक बन्ने धित पूरा गर्न एल्बम बजारमा ल्याएका थिए । एल्बम हिट होला र पैसा कमाउँला भन्ने कल्पना थिएन । सोचेभन्दा विपरित भइदियो । त्यो पहिलो एल्बमले अपार सफलता पायो । त्यहीबेलामा क्यासेटको जमाना आयो । क्यासेट विक्रीवितरण हुन थालेपछि गीत बिक्री हुँदो रहेछ भन्ने लागेको उनी बताउँछन् । ‘त्यसबेला एउटा क्यासेट विक्री हुँदा हामीलाई डेढ रूपैयाँ आउँथ्यो,’ उनी भन्छन्, ‘क्यासेट बिक्री हुन थालेपछि भने गीत–संगीत बिक्री भएर बाँच्न सकिँदो रहेछ भन्ने लाग्न थाल्यो ।’
‘छोरीको जुनी’ एल्बममा छोराछोरी बीचको भेदभाव, पराई घरमा गएपछिको छोरीले खेपेको पीडा, बुहारीप्रति गर्ने भेदभाव, बुहारीको संघर्षलाई उजागर गरिएको गीतिकथा थियो । त्यो एल्बमबाट उनले लाखौंरूपैयाँ कमाए । भन्छन्, ‘गीत गाउने रहरले काठमाडौं आएको हुँ, अर्को काम गरेर भएपनि गीत गाउन छाड्दिन भन्ने प्रण गरेको थिएँ, संगीत नै व्यावसायिक बनेपछि मलाई अरु पेसा गर्नुपर्ने जरुरत परेन ।’ पहिलो एल्बमले नै सफलता स्वाद चखाएपछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । काठमाडौं आएको एकवर्षमै रेडियो नेपालमा जागिर मिल्नु, पहिलो एल्बम लोकप्रिय हुनु उनलाई गायक बनाउने बलिया आधार बने । पहिलो एल्बमले चर्चा बटुलेपछि उनी विदेशमा सांगीतिक कार्यक्रममा पनि हिंड्न थाले । ०४५ सालमा पहिलोपटक फिनल्याण्डमा सांगीतिक कार्यक्रममा पुगेको रायमाझी स्मरण गर्छन् । त्यसयता उनले नेपाली पुगेका अधिकांश देशमा सांगीतिक यात्रा गरेका छन् ।
पहिलो एल्बमको सफलतापछि बजारमा ल्याएको ६ गीतको ‘रोधीघरको रमझम’ एल्बम पनि उल्कै हिट भएको उनी सुनाउँछन् । यो एल्बम उनलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गराउने अर्को कोशेढुंगा बन्यो । दुवै एल्बमको अकल्पनीय सफलतापछि उनको ‘कार्गिल’ एल्बम सार्वजनिक भएको थियो । उक्त एल्बमका सबै गीत उनका दाजु लक्ष्मण रायामाझीले लेखका थिए । दाजु लक्ष्मणका तिनै सिर्जनाले आफूलाई सफल गायक बनाएको उनी बताउँछन् । कार्गिल युद्धमा केन्द्रीत रहेर लेखिएको त्यो गीतलाई उनी गाउँमा स्कुल पढ्दा नै आफ्नै पाराको संगीत राखेर गाउँदै हिड्थे । ‘जुनबेला म काठमाडौं आएको थिइनँ, दाइका गीतलाई म सारंगी बजाएर गाउँमा गाउँदै हिड्थें,’ उनी भन्छन्, ‘मैले गाएको गीतका शब्द सुनेर मानिसहरू धरधरी रुन्थे, भावुक हुन्थे ।’
काठमाडौं आएपछि उनले उक्त गीत ०५० सालमा रेकर्डिङ गरे । त्यो एल्बमले पनि व्यापक सफलता पायो । कतिसम्मभने रेडियो नेपालको फर्माइसमा सबैभन्दा बढी बज्ने गीतभित्र यो पनि पथ्र्यो । परदेशीका पीडामा आधारित गीतले सफलता पाएपछि उनलाई यथार्थपरक गीत सिर्जना गर्नेतिर मन जान थाल्यो । आफूले अहिलेसम्म गाएका गीतमध्ये ७५ प्रतिशतभन्दा बढी गीत परदेशीकै पीडामा आधारित भएको उनी सुनाउँछन् ।
दाइको प्रेरणा र समाजमा देखिने विभिन्न कथाले आफ्नो सिर्जनाले जीवन्तता पाउने गरेको रायमाझी बताउँछन् । ‘आफ्नै अघि गाउँघर, समाज, राष्ट्रमा परदेशीका पीडा र घटना देखिन थाल्यो,’ उनी भन्छन्, ‘त्यही यथार्थले मेरा सिर्जनामा परदेशीका पीडा झल्किन पुगे ।’ ‘नमुछे आमा दहीमा टीका’, ‘मलाई सम्झी नरोए आमा,’ ‘भन्थेउ आमा नेपालमा दु:ख छ, विदेशमा त पैसाको रुख छ’, ‘कसलाई रहर होला सान्दाइ गाउँघर छोडेर जानलाई’, ‘धन कमाउन म जान्छु पियारी, बस तिमी बालबच्चा सियारी’, ‘राम्दी पुल तर्ने,’ लगायत गीत परदेशीका कथामै आधारित छन् । यसबाहेक ‘लाइछौ बेसन’, ‘हाँसेर बोलिदेऊ माया’लगायत उनले सिर्जना गरेका ३ सयभन्दा बढी गीत चर्चित छन् । ‘मैले धेरैजसो परदेशीका गीत गाएतापनि कतिपय सचेतनामूलक र रमाइलो खालका गीतहरू पनि गाएको छु,’ उनी भन्छन्, ‘समाजमा विकृति आउने र उच्छृंखल सिर्जना गाउनुहुन्न भन्ने मेरो सुरुदेखिकै मान्यता हो, त्यसैले यस्ता गीत गाउने प्रयास गरिएन । कतिपय रोमान्टिक गीत भने मैले गाएको छु ।’
परदेशीकै कथामा चलचित्र पनि
सफललोकगायकको रूपमा परिचित रायमाझी चलचित्र लेखक, निर्देशक तथा निर्माता पनि हुन् । गीत–संगीतमार्फत परदेशीका पीडा गाउँदा–गाउँदै उनीसँग एउटा कथा नै तयार बन्यो । त्यसपछि उनले चलचित्र बनाउने हिम्मत कसे । ‘मैले गाउँदेखि नै गीतिकथा, गीतिनाटक देखाउँथें,’ रायमाझी आफ्नो सिनेमा निर्माणको यात्राबारे भन्छन्, ‘मेरा गीत–संगीत पनि कथामा बग्थे । त्यसलाई फिल्ममा उतार्ने धोको थियो । तर, सिनेमा सम्बन्धी ज्ञान थिएन । जब मलाई सहज हुन थाल्यो, त्यसपछि चलचित्रमा हात हालेँ ।’
११ वर्षअघि उनको निर्देशनमा बनेको ‘गोर्खा पल्टन’ चलचित्र दर्शकबीच लोकप्रिय भयो । त्यस्तै अर्को कथामा ‘लाहुरेको जिन्दगी’ बनाए । समाजमा लाहुरेहरूको प्रभाव र उनीहरू आउने जाने संस्कृति नै बनेको थियो । यसरी उनीहरूको कथा हेर्दाहेर्दै, उनीहरूको गीत गाउँदागाउँदै, परदेशीका घटनाहरू सुन्दासुन्दै, परिवारका बिछोडहरू, लडाइँका कुराहरू लामो समयदेखि नियालेर त्यसैलाई चलचित्रमा उतारेको उनी बताउँछन् । यसपछि उनले परदेशीकै कथामा आधारित अर्को चलचित्र ‘परदेशी’ बनाए । यो चलचित्रले पनि सफल भएपछि उनी अहिले यसैको सिक्वेल परदेशी–२ बनाउने तयारीमा छन् ।
‘भारतले सीमा मिच्दा मन भतभती पोल्यो’
रायमाझी परदेशीका पीडा मात्रै गाउँदैनन्, राष्ट्रियता र देशभक्तिका गीत पनि सिर्जना गर्छन् । नेपाल–भारत सीमा विवाद उत्कर्षमा रहेका बेला हालै उनले शान्तिश्री परियारसँगै ‘आमा तिम्रो छाती’ बोलको गीत रेकर्ड गरेका छन् । रमेश विजीले गीत लेखेर फेसबुकमा हालेका थिए । त्यति नै बेला रायमाझीलाई यो गीत रेकर्डिङ गर्नुपर्छ भन्ने लागेछ । ‘सीमा विवादको कुराले मेरो मन भतभती पोलिरहेको थियो,’ उनी भन्छन्, ‘यहीबेला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश विजीको फेसबुक पोस्टमा यो गीत देखेपछि मैले त्यसमा संगीत भरेर रेकर्डिङ गरेका हौं ।’ गीतसंगीतबाट पनि नेपाली नागरिकहरूबीच जागरुकताल्याउनुपर्छ भनेर २ दिनभित्रमा गीत बजारमा ल्याएको उनी बताउँछन् ।
खड्किरहन्छ सँधै दाइको अभाव
मान्छेको जीवनमा कहिले खुशीका क्षण त कहिले दु:खका क्षण घुम्दैफिर्दै आइ नै रहन्छन् । कतिपय दु:खपीडा क्षणिक हुन्छन् भने कतिपयले जीवनभरि सताइरहन्छ । नारायणको जीवनमा पनि एउटा यस्तै क्षण छ ।जसले उनी खुशी हुँदा, दु:खी हुँदा त कतै सफलता हासिल गर्दा त्यो पीडाले उनलाई गिज्याउन थाल्छ । उनले भुल्नै नसक्ने त्यो पीडा हो दाइको निधन । नारायणले गीत–संगीतमा भर्खरै सफलता हासिल गर्दैगर्दा दाजु लक्ष्मण रायामाझीको २० वर्षअघि निधन भयो ।
‘अहिले दाइ हुनु भएको भए मेरो सफलतामा कति खुशी हुनुुहुन्थ्यो होला,’ उनी भन्छन्, ‘मैले समाजले स्याबास् भन्ने काम गरें भने दाइलाई देखाउन पाएको भए म कति गौरवान्वित हुन्थें होला । एउटा चलचित्र, एउटा गीत सफल भएको बेला दाइ कति खुशी हुनुहुन्थ्यो होला जस्तो लाग्छ,’ उनी थप्छन्, ‘दाइले लेख्नुभएको गीतहरू दाइ बितिसकेपछि हिट भए, ती गीत दाइ हुँदै हिट भएको भए दाइ अझै कति खुशी हुनुहुन्थ्यो होला, त्यसैले मलाई सधैं दाइको अभाव खड्किरहन्छ ।’