यारहरू भट्टीमा घन्टौँ बिताउँछन् । यसको मतलब यो होइन कि उनीहरू जँड्याहा हुन् । रक्सी त केवल एक बहाना हो । खासमा रक्सीलाई बहाना बनाएर मिठा–मिठा गफ गर्ने उनीहरूको चाहना हो ।
२०३२ सालमा काठमाडौं आएपछि पुरुषोत्तम सुवेदी त्रिचन्द्र कलेज भर्ना भए । उनका क्लासमेट थिए, पत्रकार पूर्णहरि अमात्य । अमात्यको संगतबाट उनको विमल निभा, नारायण ढकाल र राजव पुडासैनीसँग परिचय भयो । सबैको साहित्यमा रुचि । उनीहरू बिस्तारै निकट हुँदै गए । जक्सन बन्न थाले न्युरोडका चिया र भट्टी पसल । पीपलबोट र भूगोल पार्कमा बसेर गफ गर्ने अनि छेउछाउका रेस्टुराँमा गएर चुस्की मार्ने । यसरी समय बित्दै गयो र उनीहरू एक–अर्काका यार बने ।
त्यतिबेलाका चल्तीका लेखक बालकृष्ण सम, भूपी शेरचन, उपेन्द्र श्रेष्ठ, कृष्णभक्त श्रेष्ठलगायत प्रायँ न्युरोडको डाँफे र रोयल रेस्टुराँमा भेटिन्थे । यारहरू पनि कहिलेकाहीँ उनीहरूका कुरा सुन्न त्यहाँ पुग्थे । तर, अहिलेको जस्तो सिनियर लेखकहरूसँग घुलमेल हुने समय थिएन त्यो । गरिमा, रूपरेखाजस्ता पत्रिकामा रचना नछापिँदासम्म मै हुँ भनेर हिँड्ने वातावरण थिएन । नेपाली साहित्यबारे जानकारी दिने स्रोतहरू खासै थिएनन् । रुस र भारतबाट आउने पुस्तकहरू यारहरूको पहुँचमा थिएन । त्यसैले पनि उनीहरू साहित्य र जगतबारे बुझ्न सिनियरहरूले टेकेको दैलोमा खुसुक्क पुग्थे । अनि कान ठाडो पारेर बस्थे मध्यरातसम्म ।
कलेजको समयमा सबै साथीहरू साहित्यिक थिएनन् । त्यसैले जक्सनमा भेट्दा सधैँ साहित्यका कुरामात्र हुँदैनथे । तर, जब साहित्यिक साथीहरूको बाहुल्य हुन्थ्यो तब उनीहरू साहित्यसँगै वैचारिक विषयमा बहस गर्थे । बिस्तारै अमेरिकन, ब्रिटिस र इन्डियन लाइब्रेरीहरूमा जाने र पुस्तकहरू पढ्ने क्रम पनि सुरु हुन थाल्यो ।
० ० ०
मासु र रक्सी यारहरूको प्रमुख रोजाइ हुन्थ्यो । यारहरूमध्येका एक सुवेदी भन्छन्, ‘त्यतिबेला सेक्सन अफिसरको तलब करिब ३ सय थियो । एक पटक बसेर रक्सी र मासु मज्जाले खाँदा ८ रुपैयाँले ४ जनालाई पुग्थ्यो ।’ यारहरू आफ्नो पढाइ सकेर जागिरे भइसकेका थिए । पैसाको कमी हुने कुरै भएन । झन् उनीहरूको रात बसाइ लम्बिँदै जान थाल्यो ।
मात्तिएपछि यारहरू फिल्म र साहित्यका कुरा धेरै गर्थे । चेतनास्तर पनि बढ्दै थियो, गफ गर्ने विषय पनि गहन हुन थाल्यो । एक–अर्काको लेखन, वर्तमान साहित्य, विदेशी रचनाबारे छलफल हुन थाल्यो । यारहरू भेट भएको एक दशकभित्रै युरोप, रुस, अमेरिका, बेलायत, स्विडेन र भारतका साहित्य र लेखनबारे चर्चा गर्ने भइसकेका थिए । ‘त्यतिबेला एकातिर साहित्यिक आन्दोलन चलिरहेको थियो । साहित्यिक आन्दोलनको प्रेरक राजनीतिक आन्दोलन थियो । कम्युनिष्ट आन्दोलन उत्कर्षमा पुगेको थियो’ सुवेदी सुनाउँछन्, ‘पश्चिम र पूर्वको एक खालको टसल चलिरहेको थियो । त्यसका पक्ष र विपक्षमा हामी आदर्शहरू छाँट्थ्यौँ ।’ त्यतिबेला नेपालमा संचारमाध्यममार्फत यस्ता सूचनाहरू पाउने सम्भावना थिए । यारहरू बिबिसीका अंग्रेजी र हिन्दी संस्करण सुनेर विश्व परिवेशबारे जानकारी लिन्थे ।
अहिलेजस्तो त्यतिबेला हात–हातमा मोबाइल पनि थिएन । त्यसैले काठमाडौं बाहिरबाट कोही मान्छे आयो भने सम्पर्क गर्ने माध्यम हुँदैनथ्यो । तर, रमाइलो त के थियो भने नयाँ मान्छे न्युरोड गयो भने उसले त्यहाँ साथीभाइ, जिल्लाबासी भेटिहाल्थ्यो । त्यतिबेला काठमाडौंको सम्पर्क केन्द्र भनेकै न्युरोड थियो ।
भेट भएपछि रमाइलो त गर्नैपर्यो । सबैको रमाइलो गर्ने थलो हुन्थ्यो, भट्टी । यसरी न्युरोडका भट्टी पसलमा काठमाडौंका रैथानेदेखि दूरदराजका आगन्तुक झुम्मिन्थे । सबैका आ–आफ्ना पाराका गफ । नाता–सम्बन्ध, व्यापार, भविष्य, सुख, दुःख आदि । मातेपछि राजनीतिक गफ पनि चल्ने भइहाल्यो । सुवेदी भट्टीमा बिताएका ती क्षणहरू स्मरण गर्छन्, ‘राजनीति छाँट्नेहरूलाई जासुसका रूपमा शंकाको नजरले हेरिन्थ्यो । कैयौँपटक हामीमाथि पनि शंका गरियो होला । त्यतिबेला समय अलि खराब थियो नि त ।’
खासमा त्यतिबेला टिभी र मोबाइल नहुँदा अलमलिने एउटै उपाय थियो, न्युरोड । स्थानभन्दा पनि त्यहाँ भेटिने यारहरू । मनोरञ्जनको स्रोत, साधन जे भने पनि गफगाफ थियो । ‘हाम्रो भेट भनेको मुख्य त मनोरञ्जनको स्रोत हो । त्यसपछि ज्ञानका कुरा आदान–प्रदान गर्ने र रचनाहरू लेनदेनका कुरा त छँदैछन्’ सुवेदी सुनाउँछन् ।
० ० ०
यारहरूको रक्सी खुवाई झन् पछि झन् अराजक बन्दै गयो । उनीहरू उदण्ड र अराजक हुन थाले । सुवेदीको भनाइअनुसार ०४१ सालतिर कालीमाटीको श्रीकृष्ण रेस्टुरेन्टमा उनीसहित गोपाल गुरागाईं, विमल, राजव, श्यामल अधिकारीलगायतका साथीहरू भेला भएका थिए । मातेपछि हात हालाहाल हुन थाल्यो । ‘विवादपछि अब तँसँग बोल्दिन भनेर उठेर हिँड्ने त कति भयो कति’, सुवेदी सुनाउँछन् । तर, उनीहरूले कसैको अनुपस्थितिमा उसको कुरा काट्ने काम भने कहिल्यै गरेनन् ।
यसरी २०५० साल पनि सकियो । तर, सानातिना घटनाले यारहरूको सम्बन्ध टुटाउन सकेन । न उनीहरूको भट्टी पसलको यात्राले नै नयाँ मोड लियो । उनीहरू झन् बढी निकट हुँदै गए । बरू सुवेदीको रक्सी खुवाई अन्य साथीहरूको भन्दा डेन्जर हुन थाल्यो । एक बसाइमा एक लिटर खाँदासमेत उनलाई रक्सी लाग्न छाड्यो । सुवेदी भन्छन्, ‘खुर्सानी खाएपछि पिरो भएझैँ रक्सी खाएपछि मान्छे मात्नुपर्ने हो नि । तर, मलाई मात लाग्न छाड्दै गयो ।’ अर्थात, उनले रक्सी होइन कि रक्सीले उनलाई खान थाल्यो । अब भने उनले रक्सी छाड्ने मनसाय बनाए । तर, सक्नु कसरी ?
०५१ सालमा सुवेदीका बुबा सिकिस्त बिरामी भए । उनी गाउँ हानिए । अस्पतालमा २ महिना बुबालाई कुरेर बसे । त्यस्तो अवस्थामा रक्सी खाने कुरा भएन । पछि बुबाको मृत्यु भयो । त्यसपछि उनले एउटा संकल्प कसे, अब म रक्सी छाड्छु । र, छाडे पनि ।
० ० ०
रक्सी छाडेर काठमाडौं आएको दोस्रो दिनमै सुवेदीको यारहरूसँग भेट भयो । सदाझैँ उनीहरू भट्टी हानिए ।
त्यसपछि के भयो ?
‘के हुनु नि । मैले साथीहरूलाई म पण्डित भएर आएँ है भनेँ । उनीहरूले बोर हुने भयो यार भने । यत्ति हो’ सुवेदी हाँस्छन् ।
उनले रक्सी छाडे पनि यारहरू भने कहिल्यै छाडेनन् । ४० वर्षभन्दा धेरै भयो उनीहरूले एक–अर्काको संगत गर्न थालेको । २०३२–३३ सालतिर न्युरोडको भट्टीमा गिलास ठोक्दै चियर्स गरेपछि २०७६ मा लक डाउन हुनुअघिसम्म उनीहरूको थलो न्युरोड नै कायम थियो । यारहरूको कालो जुँगा र कपाल पनि सेतो भइसक्यो । तर, आत्मीयता धमिलिएको छैन । यारहरू साहित्य जगतमा एउटा उचाइमा पुगिसके । तर, घमण्ड देखाउने, इष्र्या गर्ने या भनौँ भुइँबाट खुट्टा छाड्ने काम कसैले गरेनन् । सुवेदीलाई यारहरूले खाएको रक्सी कहिल्यै गन्हाएन । मासुसमेत छाडेका उनी हातमा कोक लिएर अझै पनि यारहरूसँग चियर्स गर्छन् । एक–अर्कालाई हरेकको बारेमा हरेक कुरा थाहा छ । प्रेमिकादेखि अन्तरंग कुरासम्म ।
बिस्तारै यारहरू विवाह बन्धनमा बाँधिदै गए । बिहेपछि मध्यरातमा घर पुग्दा श्रीमतीसँग ठाकठुकसमेत पर्न थाल्यो । तर, यारसँगको संगत कायम नै रह्यो । छोराछोरी जन्मिएपछि भने यारहरूमा केही लिमिटेसन कायम भयो, राति अबेरसम्म भट्टीमा नबस्ने । यतिबेला उनीहरूको सम्बन्ध पारिवारिक छ । परिवारका सदस्य नै एक–अर्काको घरमा आउ–जाउ गरिरहन्छन् । सुवेदी भन्छन्, ‘फलानो साथीको संगत नगर भन्ने वा साथीका कारण घरझगडा हुने काम कसैको भएन । त्यसैले पनि होला आज हाम्रो सम्बन्ध मित्रवत्बाट पारिवारिक भइसकेको छ ।’
० ० ०
समय क्रमसँगै यारहरूको टोलीमा नयाँ र पुराना पुस्ताका केही लेखकहरू पनि थपिँदै गए । शार्दूल भट्टराई, ध्रुवचन्द्र गौतम, अमर गिरी, अविनास श्रेष्ठ, नयनराज पाण्डे, बुद्धिसागर आदि । कहिलेकाहीँ योभन्दा नयाँ पुस्तासँग पनि भेट हुन्छ उनीहरूको । खिचापोखरीमा रहेको ‘लुच्छेको चिया पसल’ मा । उनीहरू पसलको बाहिरपट्टी रहेको बेन्चमा बसेर चिया पिउँदै गफ मार्छन् । त्यसपछि अरू कार्यक्रम बन्यो भने त्यहाँबाट उठ्छन् । ४ दशकअघिको जस्तो निश्चित स्थान हुँदैन, कहिले कता कहिले कता पुग्छन् । कहिलेकाहीँ त यारहरूको घरमै पनि अड्डा जम्छ । तर, उहिलेजस्तो बौद्धदेखि माथिको डाँडोमा जाने र राति १ बजे मात्तिँदै घर फर्कने काम भने हुँदैन ।
४ दशकअघिको न्युरोड र अहिलेको न्युरोडमा धेरै फरक देख्छन् सुवेदी । त्यतिबेला हरेक वर्गका मानिसहरू न्युरोडको भट्टी पसलमा भेटिन्थे । खुवाइ सबैको एउटै हुन्थ्यो । तर, अहिले वर्गले भट्टी पनि छुट्याइदिएको छ । हुने–खानेहरू फाइभस्टार रोज्छन्, समान्य मानिस सामान्य रेस्टुराँ । त्यतिबेला मनोरञ्जन गृह भनेकै न्युरोडको भूगोल पार्क, पीपलबोट वा त्यहाँका भट्टी पसल र यारहरू हुन्थे । तर, यतिबेला मनोरञ्जनका लागि मानिसहरू प्रविधिमा भर पर्न थालेका छन् । ८ रुपैयाँले ४ जनालाई मज्जाले मासु र रक्सी खान पुग्ने समय पनि छैन अहिले । एक पटक बस्दा ८–१० हजारको बिल उठ्छ ।
‘अहिले हेर्नुस् त, अस्पतालदेखि लिएर मनोरञ्जनस्थल, श्रव्य–दृश्यका साधन, शैक्षिक संस्था, खानपान वर्गअनुसार फरक–फरक छन्’ सुवेदी अहिलेको समयलाई चित्रण गर्छन् । समय फेरिए पनि यारहरूको सम्बन्ध भने कहिल्यै फेरिएन । लकडाउनअघिसम्म पनि उनीहरू सातामा ६ दिन भेटघाट गर्थे । लकडाउनले सबैमा छटपटी निम्त्याएको छ । चिया पसल, भट्टी र यारहरूको न्यास्रो उनीहरू म्यासेन्जर, भाइबर र फोन कलबाट मेटिरहेका छन् । ‘गाह्रो त भएको छ । तर, यो समय आफूले आफूलाई उत्खनन गर्ने समय पनि हो कि भन्ने मलाई लागेको छ’ सुवेदी भन्छन्, ‘सायद लकडाउन खुलेकै दिन हाम्रो भेट हुनेछ ।’
यारहरू भट्टीमा घन्टौँ बिताउँछन् । यसको मतलब यो होइन कि उनीहरू जँड्याहा हुन् । रक्सी त केवल एक बहाना हो । खासमा रक्सीलाई बहाना बनाएर मिठा–मिठा गफ गर्ने उनीहरूको चाहना हो । ‘हामी खासमा रक्सी खानकै लागि भनेर भेट्ने होइन । रक्सी भेट हुने वा भेट भएपछि लामो समय बिताउने एउटा बहाना बनेको पनि हुनसक्छ’ सुवेदी भन्छन् ।
० ० ०
‘तपाईंको नजरमा यारहरू कस्ता छन् । उनीहरूबारे बताइदिनुस् न ?’ कुराकानीको अन्त्यमा मैले सुवेदीसँग अनुरोध गरेँ । उनले पालैपालो यारहरूबारे सुनाउन थाले ।
नारायण ढकाल : अत्यन्तै मेहनती मान्छे हो उहाँ । निकै अध्ययन गर्नुहुन्छ । नियमित लेख्नुहुन्छ । उहाँ सकारात्मकमात्र सोच्नुहुन्छ ।
विमल निभाः संयमित जीवनशैली छ उहाँको । लेखाइ र पढाइमा कुनै सम्झौता गर्नुहुन्न । राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भन्नुहुन्न । कुनै पनि कुरालाई अध्ययन, मनन र चिन्तन गर्नुहुन्छ ।
राजव पुडासैनीः उहाँलाई म ‘ननइस्यु’ मास्टर मान्छु । कसैले चिताउनै नसक्ने कुराहरू उहाँका विषयवस्तु हुन्छन् । त्यो कथा, कविता या उपन्यास जे होस् । सामान्य परालको त्यान्द्रोलाई लिएर पनि मज्जाले लेख्न सक्नुहुन्छ । उहाँलाई ठाउँ चाहिँदैन । जहाँ र जुन परिवेशमा बसे पनि त्यहीँको स्थानीय जीवनसँग भिजेर मौलिक शैलीमा लेख्न सक्नुहुन्छ । उहाँ असाधरण मान्छे हो ।
शार्दूल भट्टराईः उहाँ धेरै हाँस्नुहुन्छ र लो प्रोफाइलमा बस्न रुचाउनुहुन्छ । तर, उहाँको अध्ययनको रेन्ज निकै गहिरो छ । उहाँले नराकात्मक कुरा कहिल्यै गर्नुहुन्न । आजसम्म मैले नकारात्मक कुराको ‘न’ समेत भनेको सुनेको छैन । ‘माई डियर’ मान्छे हो उहाँ । राजनीतिलाई पनि निकै गहिरो ढंगले बुझिरहनुभएको हुन्छ ।
श्यामल : उहाँ निकै प्रतिभाशाली मान्छे हो । उहाँको ग्रहण शक्ति निकै सशक्त छ । लेख्न र पढ्नमा विशेष रुचि राख्नुहुन्छ ।
अविनाश श्रेष्ठः उहाँको अध्ययनको गहिरो परिपाटी छ । सम्पादन गर्ने खुबी छ । एकै पटकमा रचनाको स्तर चिन्न सक्नुहुन्छ । रचना र रचनाकारलाई चिन्न सक्ने खुबी उहाँको सबैभन्दा बढी मनपर्छ मलाई ।