यसमा नै मैले जीवन बिताउने निधो गरिसकें । मेरो काम र जीवन दुवै जोखिमपूर्ण छ ।
कोरोना भाइरस संक्रमणका कारण १ जेठमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापनमा खटिएपछि अरुण सैजू र उनको टिम ‘रेस्क्यु एण्ड अवारनेस-१६’ (आरएनए) को चौतर्फी प्रशंसा भइरहेको छ ।
काभ्रे जिल्ला प्रशासनबाट बोलाइएपछि अरुण र उनको टिमका राजेश गाइजू सुत्केरी महिलाको शव लिन पुगेका थिए । शवलाई चकलेट र्यापिङ्ग गरेर पशुपती आर्यघाट पुर्याए । चुनौतीपूर्ण कामको फ्रन्टलाइनमा खटिएका अरुण र राजेश यतिबेला सूर्यविनायकस्थित नेपाली सेनाको वीर दल गणले व्यवस्थापन गरेको आइसोलेसन कक्षबाट पीसीआरको रिपोर्ट नेगेटिभ आएपछि पुनःकाममा फर्केका छन् ।
उनीहरु सुरुदेखि नै कोभिड-१९ रिपोर्ट नेगेटिभ आउनेमा ढुक्क थिए । अरुण भन्छन्, ‘हामीले पीपीई दुई पटक फेर्यौं । सुरुमा शव बोकेको पीपीई शवसँगै जलाई दियौं । सेनिटाइजर प्रयोगदेखि सबै कुरामा हामी निकै सचेत थियौं ।’
अरुणले छाउनी रेञ्जर गणबाट कोभिड-१९ ले मृत्यु भएकाहरुको शव व्यवस्थापनको प्रशिक्षण लिएका थिए । पछिल्लो समय कोरोना भाइरसको महामारी पछि नेपाली सेनाद्वारा प्रदान गरिएको शव व्यवस्थापन तालिमकै आधारमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव लिन अरुण र राजेश त्यहाँ खटिएका थिए । ‘जिल्लामा मात्र होइन, अहिलेको अवस्थामा देशको जुनसुकै भू-भागबाट बोलाएपनि हामी पुग्छौं,’ अरुण भन्छन्, ‘आपतको बेला हाम्रो सहयोग र साथ सधैं रहिरहन्छ ।’ अरुणले स्काउटबाट मानवीय सेवा र विपद्सम्बन्धी तालिम लिएका छन् । त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले दिने विपद् व्यवस्थापन र मानवीय उद्धारको तालिमसमेत प्राप्त गरेका छन् ।
अरुणको भेट राजेशसँग तराईमा बाढीको विपद्का बेला भएको हो । डोरी सम्बन्धी विज्ञ राजेशसँग रेस्क्यूकालागि आवश्यक डोरी सापटी लिने क्रममा उनीहरुबीच चिनजान भयो । दुवैको एउटै भिजन भएकै कारण उनीहरुको सहकार्य अहिलेसम्म बिना उतार–चढाव अघि बढी रहेको छ । उनीहरुको समूहमा २० जना युवा संलग्न छन् । लकडाउन हुनु अघिसम्म सशस्त्र र नेपाल प्रहरीसँग मिलेर स्कुल, कलेजमा सचेतना कक्षाहरु लिइरहेका थिए । लकडाउनको घोषणा भएपछि समूहका अरुण सैंजू, राजेश गाइजू, न्हुज किजू र पुनम कर्माचार्य कोरोना भाइरसबाट आउने संकटका लागि तयार भएर बसेका छन् ।
हाल भक्तपुर अस्पतालमा आउने बिरामीको ज्वरो नाप्ने र थप उपचारको लागि चिकित्सकसम्म पुर्याउने र बिरामी लिनजाने काममा व्यस्त छन् । २ महिना देखि राति अस्पताल परिसर नजिकैको टेन्टमा बस्छन् । लकडाउनको सुरुकै दिनमा चाँगुनारायणमा १६ जना भारतीय आएको र त्यसमा ६ जना कोरोना पोजेटिभ भनेर बिहान १० बजे खबर आयो । तर, साँझ ७ बजेसम्म कुनै पनि एम्बुलेन्स बिरामी लिन जान तयार भएन । त्यसपछि निकै दुखी भएका अरुणले चिनजानका एकजना समाजसेवी केपी ताम्राकारलाई समस्या बताएर गाडी मागे । गाडीलाई सूर्यविनायक वीर दल गणका कर्णेल शिवप्रसाद पौडेलको पहलमा गाडीलाई शव र जीवित ब्यक्ति राख्न मिल्ने गरी एम्बुलेन्स बनाए । जुन गाडी अरुण स्वयंम चलाउँछन् । सुरुमा उनीहरुलाई पनि डर लाग्थ्यो, कतै आफूलाई पनि कोभिड-१९ संक्रमण भैहाल्ने त होइन भनेर । त्यतिबेला पीपीई लगायत सुरक्षणका लागि आवश्यक सम्पूर्ण सामग्री आफैंले किन्थे । अहिले भने उनीहरुलाई प्रहरी र नेपाली सेनाले सहयोग गरिरहेका छन् ।
दर्जनौं तालिम कामको अनुभवले धेरै ज्ञान बढेको बताउँछन्, अरुण । ३१ वर्षअघि भक्तपुर नगरपालिका बंशगोपाल टोलमा जन्मेका अरुण पेसाले एक निजी विद्यालयको अनुशासन शिक्षक हुन् । २०७२ सालको भूकम्पपछि सुरु भएको उनको स्वयंसेवाको यात्रा बाढी, पहिरो, सवारी दुर्घटनासम्म पुगेको छ । भूकम्पकाबेला उनी अस्पतालमा नभएको भए उद्दारकर्ता बन्ने सोच नआउन सक्थ्यो । वैशाख ६ गते उनी बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । जहाँ उनका केही साथीहरु चिकित्सक थिए । भूकम्प आउँदा उनी अस्पतालमै बिरामीका रुपमा थिए । विनाशकारी भूकम्पको चपेटामा परेकाहरु भक्तपुर अस्पताल परिसरमा यत्रतत्र लडिरहेका थिए । को जिवित छ, को मृत ? छुट्याउनै मुस्किल थियो । कसैको हात नभएको, कसैको ढाड भाँचिएको, कसैको आन्द्रा निस्केको, कोही निर्जिब भइसकेको भयावह दृश्य देखेपछि अरुण सारै अत्तालिए । त्यसपछि अरुणले घाइतेको उपचारमा लागेका स्वास्थ्यकर्मीलाई साथ दिए । उनलाई त्यतिबेला चिकित्सक साथीहरुले जुत्ता सिलाउन र लेस बाध्न आउँछ भनेर सोधेका थिए । अरुणले टाउको मात्र के हल्लाएका थिए, हातमा गज, सियो, धागो र बेटाजिन आइपुग्यो । त्यतिबेला अरुणको काम साधारण घाइते जस्तै छाला फाटेको, हात, खुट्टा चिरेका घाइतेहरुको घाउ सफा गरेर गज हाल्दै सिलाउँदैं गाँठो बनाउँदै गए । उनले २० जना जतिको घाउ सिलाए । त्यो सँगै अरुणले अस्पतालमा शवको व्यवस्थापन गर्ने जिम्मा पनि पाए । उनले एकैपटक १ महिना, ३ महिना र १ वर्षका ३ जनाबच्चाको शव बोके । त्यो सम्झदाँ उनी अहिले पनि भक्कानिन्छन् । त्यसपछि उनी भक्तपुर र वरपर फसेका, घर भत्केर पुरिएका मान्छेको उद्धारमा निस्किए । त्यति बेलासम्म उनलाई रेस्क्यू सम्बन्धी कुनै ज्ञान थिएन । ‘सेवा नै धर्म हो’ भनेर खटेका थिए । त्यहीं घटनापछि उनी बदलिए, एक उद्दारकर्ता भएर निस्किए । क्रमशः उनलाई साथ दिने पनि थपिए । अचेल जहाँ विपद् पर्छ, त्यहाँ उनको स्वयंसेवी टोली पुगिहाल्छ ।
हनुमन्तेमा बाढीले ३ जना बालबालिकासहित एक बृद्धालाई बगाउँदा रेस्क्यूकालागि उनलाई बोलाइयो । आफू रेस्क्यू क्षेत्रको नभएकोले उनले दुवाकोट सशस्त्र प्रहरीलाई खबर गरे । ३ वटा ट्युब र लाइफ ज्याकेट लिएर प्रहरी आए तर रेस्क्यू टिम थिएन । स्विमिङ गर्नै नआउने हुँदा उनले आफूसँग भएका दुई भाइलाई पठाउन तयारी गर्दै थिए । तर घटनास्थलमा ५–६ सय जनामानिसहरु चारैतिर घेरिएका थिए । उनीहरु अरुणलाई पनि सँगै जान चर्काे आवाजमा दबाब दिइरहेका थिए । अरुणलाई त्यहाँ स्विमिङ गर्नै आउँदैंन भन्नै मन लागेन । ट्युबले बाँधेर हनुमन्तेबाट राधे–राधेसम्म पुगे । बच्चाहरुलाई बचाउन त सकेनन् तर एकजना बुद्धालाई उद्धार गरेर ल्याए । अरुणको इमेज त्यतिबेलासम्म भक्तपुरमा उद्धारकर्ताको बनिसकेको थियो । एकपटक भक्तपुरको दुधपाटीको पोखरीका सर्पहरु स्थानीयका घर भित्र छिरेपछि रेस्क्यूकालागि अरुणलाई नै बोलाइयो । त्यतिबेला अरुणले बोरा र आफूभन्दा लामो बाँस बोकेर सर्पलाई बोरामा राख्दै झिके ।
यसरी आफ्नो छवि उद्धारकर्ताको रुपमा विकास हुन थालेपछि अरुणमाथि चुनौतीपनि थपिदैं गयोे । उनले रेडक्रस, जुद्ध बारुणमा रेस्क्यू सम्बन्धी प्रशिक्षण लिए । तालिमले उनमा आत्मविश्वास झन् बढ्न पुग्यो, म सक्छु भन्ने सोचमा वृद्धि भयो । भक्तपुर मात्र होइन्, देशमै आएका अनेकन विपद्मा अरुण रेस्क्यू गर्न पुगेका छन् । यूएस बंगालको जहाज दुर्घटना, बाढी, पहिरो, हावाहुरी, सडक दुर्घटना, जात्रामा घाइतेजस्ता अनेकन विपद्मा पुगेर उनले उद्धारकर्ताका रुपमा आफ्नो परिचय बनाइसकेका छन् ।
सामान्य परिवारमा जन्मिएका अरुणको बाल्यकाल निकै दुःख बीच बित्यो । आमाका ममतामयी काखको अनुभव लिन पाएनन् । उनी एक डेढ वर्षकै हुँदा आमाले संसार छोडिन् । बुवा विद्युत् प्राधिकरणको जागिरे थिए । र, दिदीको पनि विहे भइसक्यो । त्यसैले अरुणलाई एकजना भाउजूले हुर्काएकी हुन्, जसलाई अरुण ममी भन्छन् । त्यही आमाकी दुई छोरी उनका दिदीबहिनी हुन् । अरुण उनै ममीसँग बस्ने गर्छन् ।
उनले कक्षा १ देखि नै जावलाखेलको फ्युचर स्टार स्कूलको चिल्ड्रेन नेक्स होस्टेलमा बसेर पढेका हुन् । बुबा बितेपछि ९ कक्षादेखि भक्तपुरमै पढ्न थाले । बिहानसँगै खाएका बुबाको राति आफैले दाहसंस्कार गर्नु परेको पीडा उनले खेप्नु प¥यो । सानैमा आमाबुवा गुमाएकाले होला उनलाई टिनएजमा धेरै रिस उठ्थ्यो । कतै विसंगति र नराम्रो कुरा देख्यो कि प्रतिकार गर्न पुगिहाल्थे । खेलकुदमा सक्रिय रहने उनी बक्सिङका राम्रा खेलाडी पनि हुन् । उनको सपना बक्सर बन्ने थियो । अरुण भन्छन्, ‘मान्छेको जीवनचक्र आफूले प्लान गरे अनुसारको नहुँदो रहेछ । अनुभव र भोगाइले जुन मोडमा लग्छ, उतै मोडिँदो रहेछ ।’ अविवाहित अरुणको अहिलेसम्म प्रेमिका छैनन् । आफ्नो रेस्क्यू सम्बन्धी काम भएकोले रिलेसनसीपको बन्धनमा बाँधिन अरुणलाई डर लाग्छ । काममा सन्तुष्ट अरुण भन्छन्, ‘यसमा नै मैले जीवन बिताउने निधो गरिसकें । मेरो काम र जीवन दुवै जोखिमपूर्ण छ । त्यसैले विहे गर्ने सोचाइ अहिलेसम्म बनिसकेको छैन ।’