किशोरअवस्था सुरु हुँदा कलाकारितामा प्रवेश गरिसकेकी थिएँ । संयोग, मेरो पहिलो फिल्म ‘आमा’ नेपालमा बनेको पहिलो फिल्म थियो । जसमा काम गर्दा १३ वर्षकी थिएँ ।
सानैदेखि कलाकारितामा लागेर होला, अनुशासन र दायित्वबोध थियो ममा । मलाई लाग्छ, फिल्ममा काम गर्नु पाठशालामा रहनुजस्तै हो । यहाँ जथाभावी गर्न पाइँदैन, अनुशासनमै रहेर काम गर्नुपर्छ । तर, म घरमाचाहिँ उल्कै बदमास थिएँ । उट्पट्याङ काम गरिरहनुुपथ्र्यो । अरूलाई तर्साइरहनुुपथ्र्यो ।
छिँडीमा आमाको साडीलाई पर्दा बनाउँथें अनि साथीहरूलाई मुखले म्युजिक बजाउन लगाएर नाच्थेँ । भाडाँकुटी पनि खुब खेलिन्थ्यो । भाँडाकुटी खेल्दा प्रायः म केटा साहुजी बन्थेँ । साथीहरू मेरो पसलमा किन्न आउँथे, म पखाईदिन्थेँ । ‘ह्या, यो साहुजीले कति पर्खा’को’ भन्दै रिसाउँथे । मचाहिँ ‘बस न नानी हो, के को हतार’ भन्दै ठट्यौली पारामा फकाउँथे ।
लैनचौरस्थित स्कुलमा पढ्दा पनि म निकै सक्रिय थिएँ । खेलकुद प्रतियोगिता र नाचगान कार्यक्रममा भाग लिन्थेँ ।
त्यतिबेला नाचगान गर्ने र फिल्म खेल्नेलाई अलिक हेयको दृष्टिले हेरिन्थ्यो । १२–१३ वर्षको उमेरसम्म त खासै गाली खाइएन, त्यसपछि धेरै गाली खाइयो । घरबाट पनि धेरै नै नियन्त्रण गर्न खोजियो । स्कुलमा नाच्न खासै समस्या थिएन, तर कला केन्द्रबाट नाच्न जाँदा भने साँझ पथ्र्यो अनि खुब गाली खाइन्थ्यो । मुमाहरूले रिसाएर कहिले त ढोका नै खोलिदिनु हुन्नथ्यो । ‘यसले गर्दा सबै दिदीबहिनीलाई नराम्रो भयो’ भन्दै गाली गर्नुहुन्थ्यो । म पनि मुखाले नै थिएँ, मुखमुखै लागिहाल्थेँ ।
घरमा पिटाइ खाइन्छ भन्ने डरले त्यतिबेला नाचगानकै ड्रेसमा साथीहरूलाई लिएर घर गइन्थ्यो । शिला रेग्मी, कमला श्रेष्ठलगायत साथीहरू मेरो घर आउँथे, कहिले म मुमालाई सोधेरै उनीहरूको घर जान्थेँ ।
पहिलोपल्ट राष्ट्रियस्तरको कार्यक्रममा नाच्दा ७ वर्षकी थिएँ । अहिलेको न्यूरोडमा रहेको जनसेवा प्रहरी कार्यलयमा पहिले जनसेवा नामको सिनेमा हल थियो । म पहिलोपल्ट बाल कार्यक्रममा नाचेको नै त्यहीँ हो । यो कार्यक्रममा नेपालकी पहिलो नायिका भुवन चन्दले गाउनु भएको थियो । ‘हात त काट्यो बरै चालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले’ गीतमा नाचेकी थिएँ, यति त अझै याद छ ।
त्यतिबेला बाल कलाकारलाई ‘यूज एन्ड थ्रो’ गिलासमा दूध र जेरी बाँड्थ्यो, ताजा र मिठै हुन्थ्यो । अहिलेसम्म त्यतिबेलाको त्यो स्वाद भुलेको छैन ।
पहिलो फिल्म ‘आमा’ खेल्दाको अनुभव पनि रमाइलै छ । यो फिल्म २०२१ सालमा सुटिङ भएको थियो । भुवन चन्द त्यतिबेला राष्ट्रिय नाचघरमा काम गर्नुहुन्थ्यो । मचाहिँ प्रज्ञा प्रतिष्ठानको तालिममा थिएँ । भुवन दिदीसँग राम्रै चिनजान थियो २०१४ सालदेखि नै । एकदमै माया गर्नुहुन्थ्यो । एक दिन प्रज्ञाबाट निस्किएपछि दिदीकोमा गएँ । उहाँले ‘मेरो फिल्मको सुटिङ छ, हेर्न जान्छेस्’ भन्नुभयो । म पनि ‘हुन्छ’ भन्दै उहाँको पछि लागेर चोभार डाँडा गएँ, सुटिङ हेर्न । मैले छोटो–छोटो मिडी लगाएकी थिएँ, कपाल ‘ब्वाइज कट’ काटेकी थिएँ ।
भुवन दिदी र शिवशंकर दाइको ‘गरूँला हामी सिर्जना यहाँ’ बोलको युगल गीतको भिडियो सुटिङ रहेछ । म दिदीले बोक्न दिएको रातो कोट समातेर हेर्दै बसिरहेकी थिएँ । मेरो गतिविधिलाई निर्देशकले ‘वाच’ गरिरहेका रहेछन् । हिन्दीमा ‘ओए, छोक्री इदर आओ तोह’ भन्दै मलाई बोलाए । म सरासर गएँ ।
‘तुम फिल्ममेँ काम करोगी’ भन्दै भनेर सोधे । मैले पनि ‘देगा तो करुँगी’ भन्दिएछु । त्यसपछि मैले काम पाएँ । भक्तपुरमा भएको थियो सुटिङ । मलाई हँसिया र डोको बोक्दै गीत गाउनुपर्ने सिन दिइएको थियो । मैले पनि मज्जाले गर्दिएँ, नलजाइकन । त्यसपछि कलकत्ता गइयो । बलिउडका फिल्म स्टार धर्मेन्द्र, मिना कुमारीलगायतलाई देखियो । उनीहरू र हाम्रो फिल्म एकै ठाउँ सुटिङ भएको थियो ।
त्यसपछि म प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएँ । कार्यालय जाँदा त्रिचन्द्र कलेजमा थुप्रै केटा बसिरहेका हुन्थे । मेरो ‘आमा’ फिल्म रिलिज भइसकेको थियो । फिल्ममा मैले बोल्ने ‘ए रातै’ भन्ने थेगो थियो । केटाहरूले ‘ए रात्तै’ भनेर जिस्काउँथे । ‘हिजोआज के भो, के भयो ए रात्तै, तिम्रै माया लाग्छ’ भन्दै चप्पल नै टेकुँलाझै पछि–पछि आउँथे । म पनि सानै थिएँ, खासै बुद्धि पनि थिएन, सराप्दै हिँड्थेँ । त्यो बेला अहिलेजस्तो टिनएजमै ‘लभसभ’को चक्करचाहिँ हुन्थेन । नाचगानमा पनि दाइहरूले नियन्त्रण गर्थे । चिठ्ठीहरू आउँदै नआउने होइन, आउँथे तर हेरिन्थ्यो, हाँसिन्थ्यो अनि फ्याँकिन्थ्यो ।
किशोरकाल सम्झँदा मलाई बुबाले सिस्नोपानी लगाएको म कहिल्यै बिर्सन्न । मलाई एकदमै मासु खानपर्ने । मासुविना भात नै रुच्दैनथ्यो । मासु खान पाइनँ भने कस्ता गरिब आमा, बुबा भन्दै मुख लाएर हिड्थेँ । त्यो दिनचाहिँ एकादशी परेको रहेछ । एकादशीमा मासु खाँदैनथे तर मैले रोएर जात्रै गरेँ मासुका लागि । त्यसदिन बुबाले मलाई केही गर्नुभएन । चुप्प लाग्नुभयो । उहाँले मलाई कहिल्यै हात लाउनुहुन्थेन । एकदमै माया गर्नुहुन्थ्यो ।
भोलिपल्ट घरमा निकै मासु पाक्यो । त्यसपछि बुबाले मलाई खम्बामा बाँधिदिनुभयो । थालभरी मासु राखेर ‘ल खा’ भन्नुभयो । तर, हात बाँधेपछि कसरी खाने ? त्यसपछि वरिपरिका मेरा साथीहरू बोलाएर सबैको अगाडि सिस्नोपानी लगाउनुभयो । म क्वाँ–क्वाँ रोएँ । मलाई कहिल्यै नपिट्ने मेरो बुबाले त्यसदिन पिट्ने पनि भयो । खासमा मैले अति नै गरेको थिएँ । आज ती सुखदुःख र चकचक गरेका दिन सम्झिँदा खुशी पनि लाग्छ, कहिलेकाहिँ त्यतिबेला त अति नै गरियो भन्ने आत्मबोध पनि । बच्चा हुँदा हामीले बुबा–आमालाई कति पीर र पीडा दिएछौँ, त्यो आमा भएपछि महसुस हुने रहेछ ।
म पुराना कुराहरूमा अल्झिने अर्थात् हिजो मसँग के थियो भनेर सम्झिने भन्दा पनि आजमा रमाउने मान्छे हो । यद्यपि विगत भनेको हाम्रो इतिहास हो, भुल्न हुँदैन भन्ने लाग्छ । कतिपय मान्छेहरू आज धाक लगाएर हिडेको देख्दा अचम्म लाग्छ । मान्छेले आफू कुन अवस्थाबाट आएर सफल भइयो, त्यो कहिल्यै बिर्सनुहुन्न । भुईं कहिल्यै छाड्नुहुन्न । आखिर उडेपछि झर्नैपर्छ, उक्लिएपछि ओर्लिनैपर्छ र जन्मिएपछि मर्नैपर्छ । जीवनको यथार्थ नै यही हो, होइन र ?
प्रस्तुति: अनिल यादव