क्यानाडा र अमेरिकाका विभिन्न राज्य ट्रक हाकेर छिचोल्ने क्रममा म आफ्नो देश खुब सम्झिन्छु । यी दुई देशमा मैले १८ पांग्रे ट्रक गुडाउन थालेको पनि वर्षैं भैसक्यो । ५३ फिट लामो यो ट्रकको एकातिरको बाहिरी भागमा फेवाताल र माछापुच्छ्रे, एकसिंगे गैंडा, पाटेबाघ, प्याराग्लाइडिङ, पदयात्रा, राफ्टिङ तथा रक क्लाइम्बिङका आकर्षक दृश्यहरू छन् भने अर्कातिर जीवित देवी कुमारी, बुद्ध स्तूपा, पाटन दरबार र पशुपतिनाथका चित्र कुँदिएका छन् ।
अमेरिका र क्यानाडामा यस्तै आकारका अरू २ हजार ९ सय ट्रक गुड्छन्, तर ती ट्रकले खासै कसैको ध्यान तान्दैनन् । जब मेरो ट्रक कतै रोकिन्छ, तब मानिसहरू झुम्मिन्छन् र ट्रकसँग सेल्फी खिच्नेहरूको लाइन लाग्न थाल्छ । कारण मेरो ट्रकमा कुँदिएका आकर्षक चित्र नै हुन् । परदेशमा रहेर पनि मैले नेपालको पर्यटन, प्रचार–प्रसारमा सहयोग पुर्याउन यो कदम सुरु गरेको हुँ । मेरो ‘नेपाल बोक्ने ट्रक’ ले एक दिनमा झन्डै ११ सय किलोमिटर दूरी पार गर्छ ।
सुरुमा क्यानाडाको अध्यागमनमा मैले ट्रक रंग्याउन पाइन्छ कि पाइँदैन भनेर बुझें । कानुनले त्यस्तो छुट दिए पनि यसरी रंग्याउने काम धेरै नै खर्चिलो हुँदो रहेछ । यो कामका लागि मैले झन्डै १ लाख रुपैयाँभन्दा बढी खर्च गरें । सुरुमा त अध्यागमनका कर्मचारीले पेन्टिङकै लागि ‘त्यत्रो रकम खर्च गर्ने तिमी मूर्ख हौ’ भनेर टिप्पणी गरे, तर मैले उनीहरूलाई विश्वस्त तुल्याएँ । मैले नाफाका लागि यो काम गरेको होइन । आफ्नो देशको प्रचारका लागि आफ्नो तर्फबाट योगदान दिएको हुँ । सुरुमा निराश बनाउने अध्यागमनका कर्मचारीहरू नै पछि मेरो प्रशंसा गर्न थाले । मेरो अभियानबाट उनीहरू पनि उत्साहित भए ।
विगत पाँच वर्षको अवधिमा म जहाँ–जहाँ पुगें, त्यहाँ विदेशी नागरिकहरूसामु नेपालको सुन्दरताका बारेमा बयान गर्दै घुम्नका लागि प्रस्ताव गरेको छु । कतिपय विदेशी प्रभावित भएर नेपाल घुम्न पनि निस्किएका छन् । म जहाँ बास बस्छु, त्यो ठाउँमा सयौं ट्रक र ट्रक ड्राइभर झुम्मिन्छन् ।
उनीहरू मेरो सिर्जनशीलताको प्रशंसा गर्छन् । यस्ता कैयौं विदेशी भेटिन्छन्, जसले नेपालका बारेमा चासो राख्छन् र नेपाल जाने योजना बनाउँछन् । म ‘नेपाल तस्बिरमा देखिएको भन्दा धेरै सुन्दर छ, एकपटक घुमेर आउनुहोस्’ भनेर सल्लाह दिन्छु । खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा एक पटक नासाको कार्यक्रममा सहभागी हुन अमेरिका आएका थिए । त्यतिबेला मेरो ट्रक देखेपछि रेग्मीले राम्रै प्रशंसा गरेका थिए ।
मेरो आफ्नै सिर्जनशीलता र निजी खर्चमा नेपालको प्रचार–प्रसारमा योगदान दिएबापत क्यानाडा र अमेरिकास्थित नेपाली दूतावासले सद्भावना दूतका रूपमा काम गर्नसमेत सिफारिस गरेका छन् । दूतावासले दिएको जिम्मेवारीले मलाई एकदमै उत्साहित र खुसी बनाएको छ ।
देशको पर्यटन प्रवद्र्धनका लागि मैले आधिकारिक व्यक्तिका रूपमा काम गर्ने अवसर पाउनु मेरा लागि गर्वको कुरा हो । यद्यपि मेरो मात्र एक्लो प्रयासले अमेरिका र क्यानाडामा पर्यटन प्रवद्र्धन अभियान सफल र प्रभावकारी हुँदैन । यो अभियानलाई संस्थागत गर्न सरकार, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा गैर–सरकारी संघ–संस्थालगायत सबैको साथ र सहयोगको आवश्यकता पर्छ ।