बतास चलिरहेकै छ । पालुवाहरू पलाइरहेकै छन् । फूलहरू फुलिरहेकै छन् । सुर्योदय र सुर्यास्त, यी त झन् अकाट्य नियम हुन्, प्रकृतिका । रातमा ताराहरू पनि चम्किँदा हुन् र जून पनि उदाउँदो हो । वैशाखले पनि मध्याह्न पार गरिसकेको छ । तर, अवरूद्ध छैन बतास । अझ मीठो कुरा बतासमा घुलिन छोडेको छैन, चिसो मिठासपना ।
म सम्झन्छु, विगतका दिनहरू । बुटवल नगर घेरेका पहाडी र जङ्गल क्षेत्रहरूमा डढेलो सल्केका दृश्यहरू । तर, यसपटक कतै देखिएका छैनन्, जङ्गलमा आगोका झिल्काहरु । न चलेको छ, विगतको जस्तो तातो हावाको प्रकोप । बरू अहिले त समयभन्दा अगावै पानी परिरहेको छ । छट्पटिनु परेको छैन, धर्तीलार्ई सुख्खा भएर लामो प्यासमा । अझ असिना पनि बर्सिइरहेको छ । म महसुस गरिरहेको छु, मान्छेले कति धेरै ज्यादती गरेको रहेछ, प्रकृतिमाथि । लाग्छ, यतिवेला सम्पूर्णतः मानव घरबन्दी भएको मौका पारेर प्रकृति आफ्नो स्वतन्त्रताको महोत्सव मनाइरहेको छ ।
चीनमा व्यापक रुपमा फैलिइरहेको महामारीको बाछिटा कतै नेपालसम्म आइपुग्ने त होइन ? त्रासपूर्ण वातावरणमा दैनिकीहरू सुचारू राख्दाराख्दै गत चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन गर्ने सरकारको पूर्वघोषित निर्णयसँग एक्यबद्धता जनाउँदै चैत्र १० गते केही आवश्यक सरसामानहरू ‘स्टोर’ गरेर लकडाउनमा आफूलार्ई घरभित्र कैद गर्न म मानसिक रुपमै तयार हुन्छु ।
लकडाउनका सुरूवाती दिनहरू कम कष्टकर थिएनन् । खुल्ला आकाशमुनि स्वच्छन्द सैर गरिरहेको स्वतन्त्र पंक्षी एकाएक पिँजडामा थुनिएर बन्दी समय गुजार्नुको छट्पटी म अनुभव गर्दै थिएँ ।
आफ्नै घर जेलजस्तै लाग्ने दिन पनि आउला भन्ने कल्पना कहिल्यै गरिएन ।
तर वास्तविकता हेरौँ ...
वेलावेला झ्यालबाट बाहिर नियाल्दा घरीघरी यस्तो अनुभूति हुन्छ, अनि कल्पना गर्छु .......
मानौँ, यो वेला म कुनै सौखिन शासकले पिँजडामा कैद गरेको बन्दी सुगा हुँ, र यो घर पिँजडा । यी झ्यालहरू पिँजडाका छिद्र स्थान । जसको सहारामा म वेलावेला बाहिरी संसार नियाल्छु ।
त्यो खुल्ला र फराकिलो बाटो, बाटो छेउका ठूलाठूला घरहरू, घर छेउका सुन्दर बगैँचाहरू, हावाको झोँक्काले लहरिएका रुखका पातहरू र आफ्नै तालमा मस्त चराचुरूङ्गीहरू ....
यो समय घरबाहिर सबथोक छ, केवल मान्छे छैन ।
लाग्छ, मान्छेले प्रकृतिसँगको लामो युद्ध हारेको छ । प्रकृतिले मान्छेलार्ई कैदी बनाएको छ र मान्छेले कैद गरेको सम्पूर्ण संसार स्वतन्त्र गरिदिएको छ । बाहिर चराचुरूङ्गीहरू खुब नाचिरहेका छन् । घरको झ्यालबाट भित्र प्रवेश गर्न खोज्छन् । यस्तो दृश्यले म अनुभूत गर्छु, वास्तवमै मान्छेहरुको बाक्लो उपस्थितिबाट प्रकृतिका असङ्ख्य जीवहरू विस्थापित भएका रहेछन् । जब मान्छे बन्दी हुन्छ, अन्य प्राणीहरू आफूलार्ई स्वतन्त्र पाउँदारहेछन् ।
फेसबुक, म्यासेन्जर, ट्वीटर र विभिन्न अनलाईन पत्रपत्रिकाको फेरो । घटना परिघटनाहरूको सञ्जाल । दिनुहुँ मृत्युुका खबरहरु । देशबाहिर व्यापक रुपमा फैलिँदै गरेको भाइरस । मानसिकता यति सन्त्रस्त हुन्छ कि मानौँ, अब हावामा पनि जीवाणु र विषाणुहरू घोलिएका छन् । आफ्नै घरको गेट पनि मृत्युले थापेको धरापजस्तो लाग्छ । बाहिर निस्किन सक्ने विभिन्न आधारहरू हुँदाहुँदै पनि स्वेच्छाले म आफूलार्ई बन्द कोठाभित्र कैद गर्न चाहन्छु । सायद, मृत्युुको भयबाट जीवनको रक्षा गर्न चाहन्छु । बन्द कोठाभित्र आफैँलार्ई गिज्याएर एकपटक म खुब हाँस्छु । मर्न पनि किन यति धेरै डर ? आखिर एक दिन मर्नु नै छ । मृत्युुको भयबाट काँपेर किन म आफूलार्ई बन्दी बनाइरहेकी छु ? ममात्रै के, सम्पूर्ण मान्छेहरु नै यही त गरिरहेका छन् । मर्न तयार छैन तर बन्दी जीवन बिताउन तयार छ । आखिर मान्छे बहादुर प्राणी हो या अतिशय कायर ? मलार्ई सम्पूर्ण मानवजातिको बहादुरीमाथि प्रश्न गर्न मन लाग्छ । अनि म आफैँलार्ई सम्झाउँछु, यो कायरपन हुँदै होइन, सचेतना हो । यहाँ त सवाल छ, समस्त मानव जीवनको रक्षाको । यो समय स्वयम्को रक्षाभन्दा पनि सम्पूर्ण संसारको सुरक्षाका निम्ति हरेकले आफूलाई कैद गर्न सक्ने हिम्मत जुटाउनुपर्ने समय हो ।
लकडाउनको पहिलो हप्ता मैले आफूलाई ऐनामा नियाल्नै बिर्सिएँ । त्यसपछि म आफूलाई ऐनामा धेरै बेर उभ्याउनै सकिँन । आफ्नै अनुहार आफैँलाई अपरिचित जस्तै लाग्यो । न आँखामा गाजल न ओठमा लिपस्टिक अर्थात् लिप्सी । आफ्नै अनुहारले आफैँलाई खुच्चिङ भनेर गिज्याएजस्तै लाग्यो । मानौँ, यो मेरो अनुहार नै होइन । यो त एकदमै उराठ र उदास लामो प्यासमा छट्पटी भोगेको कुनै मरूभूमि हो । म आफ्नो सच्चाइ स्वीकार गर्न सक्दिनँ, बरू ऐनासँग आक्रोश व्यक्त गर्छु ।
अनि सम्झन्छु, उर्दु सायर गालिवको यो चर्चित शेर–
“उम्र भर गालिव यह गलती करता रहा,
धुल चेहेरे पर थी आइना साफ करता रहा’’
वास्तवमै ऐनाको के कसुर ? ऊ त सच्चाइ देखाउँछ । बिस्तारै लाग्यो, शृङ्गार बेकार कुरा रहेछ । जसले आफूलाई आफ्नै मौलिक स्वरुपबाट टाढा लैजाँदोरहेछ । म केही मिनेटसम्म चिसो पानीले एकनास अनुहार पखाल्छु र आफूलाई ऐनामा निकै बेर नियाल्छु । अब आफ्नै वास्तविक अनुहारसँग साक्षात्कार हुने हिम्मत गर्छु । दिन प्रतिदिन बिस्तारै मलाई मेरो अनुहार सुन्दर लाग्न थाल्छ । म अनुभूत गर्छु, वास्तवमा सुन्दरता दृश्यमा होइन, दृष्टिकोणमा पो हुँदोरहेछ । म बिस्तारै आफूलाई हेरेर मुस्कुराउन सक्ने हुन्छु ।
फुर्सदको समय म सदुपयोग गर्न चाहन्छु । कुनै ज्ञान आर्जनको कार्यमा समय खर्चिन चाहन्छु या फेरि कुनै सृजनात्मक कार्यमा आफूलाई लगाउन चाहन्छु । टेबलभरि पुस्तकहरु छरपस्ट छन्, सिरानीमा पनि एकथान पुस्तक छ । तर, आफूलाई एकत्रित गर्न सकिरहेकी छैन । आज एउटा पुस्तकको चार पाना पल्टाउँछु, भोलि अर्को पुस्तकको । म फगत उपलब्धिविहीन अध्ययन गरिरहन्छु । युट्युब हेर्छु, फिल्म हेर्छु, विभिन्न समाचारहरू पढ्छु । आफ्नै मोबाइलको ‘नोटिफिकेसन साउन्ड’ पनि मलार्ई मन्दिरको घन्टभन्दा चर्को लाग्छ । म ‘नोटिफिकेसन’ ‘म्युट’ गर्छु । कहिले साथीहरूले पठाएका टिकटकका कमेडी भिडियो हेरेर खुब हाँस्छु । कहिले तिनै भिडियो पठाउनेहरूलार्ई ‘म्युट’ गर्छु । कहिले विनाकारण खुसी लाग्छ, कहिले कारणविना नै रिस उठ्छ । एकान्तवासमा मान्छेको मन पनि छिनछिनमा बदलिएको ‘फील’ गर्छु । कहिले कोठाका भित्ताहरू नियाल्छु, कहिले झ्यालबाट बाहिरको दृश्यतर्फ टोलाइरहन्छु । भनिन्छ, “लामो समय सम्पूर्ण कामकाजबाट अलग भएर एक्लै रहँदा मान्छे आफैँलाई बिर्सन्छ ।” सायद कुनै त्रासमा म बारम्बार डायरीका पानाहरूमा ठूला अक्षरले आफ्नै नाम लेखिरहन्छु । वास्तवमा बाहिरी पर्यावरणसँगको घुलमिलले हामी मान्छेहरूलार्ई आफैँबाट टाढा धकेल्दोरहेछ । मान्छे एकान्तमा आफैँसँग घुल्न र रम्न नसक्ने बन्दोरहेछ । ऊ आफैसँग आँत्तिने र बिच्किने हुन पुग्दोरहेछ ।
“बाध्यताले होस् या रहरले, जब कुनै काम बारम्बार गरिन्छ भने त्यो हाम्रो आदत बन्छ”, भनिन्छ ।
अब भने लकडाउन आदत बन्दैछ । बन्द घरभित्र बस्नु सामान्य बन्दैछ । अभाव र आवश्यकताका बाबजुद पनि एकान्तता अप्रिय लाग्दैैन । त्यसो त बाध्यताहरूलाई स्वीकार गरेर असामान्य परिस्थितिलार्ई पनि सामान्यीकरण गर्न सके जिन्दगीका पलहरू सहज र सुखी बन्छन् । र, मैले पनि यी पलहरूलाई सहज बनाउनु नै छ ।
लकडाउनको १७ औँ दिन बेलुकीपख केही किनमेल गर्न म घरबाट बाहिर निस्किएँ । मूल सडकबाहेकका गल्लीहरूमा काठ लगाएर सबैतिर थुनछेक गरिएको थियो । सबैतिर बाटो अवरूद्ध पारिएको थियो । चोकनिरको बाटोमा एक जमात लोग्नेमान्छेहरू जम्मा भएर बाटोमा हिँडिरहेका सर्वसाधारणहरूलाई अलि कडा शैलीमा थर्काउने हप्काउने गरिरहेका थिए । सायद ती व्यक्तिहरू त्यो टोलका अगुवाहरू थिए । मलार्ई उनीहरूको शैली केही अपाच्य लाग्दै थियो । सर्वसाधारणमाथिको ज्यादती र दादागिरी प्रवृत्ति ।
जब कि कोरोना भाइरससँग बच्ने पहिलो उपाय भनेको भौतिक दूरी कायम गर्नु थियो । उनीहरू आफैँ ग्रुप बनेर लकडाउनको उलंघन गरेर अरुमाथि नियम पालना गर्न ठाडो आदेश दिइरहेका थिए । स्वयम् नियमबद्ध नबनी अरुलाई नियम सिकाउने हाम्रो समाज । हामी र हाम्रो ठालु प्रवृत्तिप्रति मलार्ई अचम्म लाग्छ । स्थानीय तहदेखि केन्द्रीय सत्तासम्मको यो देशको सिस्टमप्रति मलार्ई हैरानी महसुस हुन्छ ।
हाम्रो देशमा यो प्रकोपको वेला पनि विभेदको प्रवृत्ति मेटिन सकेन । धनाढ्यहरू घरभित्रैबाट फोन गरेर रासन घरघरमा मगाउन सक्षम छन् । गरिबहरू भुड्कीलाई फुटाएर सङ्कलित पैसा लिएर बल्लबल्ल पसलसम्म पुग्दा पनि सत्ताका लाठीहरुको सिकार हुनुपरेको छ । हुनेहरू खाइरहेका छन् र नहुनेहरू भोकले छट्पटिइरहेका छन् । घरबारविहीन छन्, श्रमिकहरू । कतै देशका सडकहरुमा हप्तौ पैदल यात्रा गरेका छन् त कति सिमानामा आइपुगेर देश पुकारिरहेका छन् । देशको गन्जागोल सिस्टमका कारण आहत बनेको ठाँंउमा राहत पुगेको छैन । भन्न त भनिन्छ, भाइरसले वर्ग, जात, धनी, गरिब केही भन्दैन; तर यतिवेला यसको चपेटामा सबैतिरबाट श्रमिक र निम्न वर्गका मानिसहरू नै परेका छन् । यस अवधिमा पनि रोग र भोकसँग लडिरहेका श्रमिकहरूमाथिको अत्याचारी सत्ताको क्रुरतम व्यवहारको दृश्य विभिन्न तरिकामा ठाउँठाँउमा जब म बन्द कोठाबाटै पढ्न र देख्न थाल्छु, म भित्रभित्रै विछिप्त हुन्छु । आक्रोशित हुन्छु ।
हप्ता भनेर सुरू गरिएको लकडाउनले महिना पार गरिसकेको छ । अब भने एकान्तता मलार्ई सामान्य लाग्न थालेको छ । जीवनमाथिको बादल बिस्तारै फाट्दैछ । मृत्युप्रतिको भय बिस्तारै हट्न थालेको छ । जीवनले अनिश्चितताको बाँध भत्काएको छ र लकडाउनपछिको दैनिकीतिर भविष्यको एउटा खाका निर्माण गरेको छ ।
अनन्त सम्झनामा छन्; सँगी, सहकर्मी र सहपाठीहरू । कार्यस्थल तथा कार्यकक्ष, अक्सर गुडिरहने सडक, जमघट हुने चोक, चौर, चमेना, सेमिनार र पसलहरू । बयान गरिनसक्नुको छ, यी सबैसँगको पुनर्मिलनको व्यग्रता ।
मनमा अनन्त आशा छ, अब छिट्टै हामी कोरोनामाथि विजय प्राप्त गर्नेछौँ । र, सामेल हुनेछौँ, संसारभरमा समस्त मानवजाति एउटा विजयोत्सवको प्राङ्गणमा । शोकसभाको आयोजना गरी प्रकट गर्नेछौँ, विश्वव्यापी रोगसँगको महायुद्धमा ज्यान गुमाएकाहरूप्रति हार्दिक समवेदना । पुनः सुचारू गर्नेछौँ, पहिले जस्तै जिन्दगीको स्वतन्त्र यात्रा ।।