विगतमा मुसुमुसु हाँस्दै प्रेसर नाप्न आउने घरबेटी आन्टीले आँखा तर्दै ‘अचेल अस्पतालमै बसे हुन्न ?’ भन्दा मेरो मन कति रोयो होला ! कति सम्झिएँ होला मैले मेरी आमालाई !
केही वर्षदेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा नर्सको रुपमा कार्यरत छु । योबीचमा मैले सयौं-हज्जारौं बिरामीको स्याहारसुसार गरेँ । आफ्ना औसत निजी चाहनालाई मारेर पेसाप्रति जिम्मेवार भइरहेँ । मलाई लाग्थ्यो, लाग्छ, ‘मेरो पेसा जागिर मात्रै होइन, सेवा हो ।’ ‘सेवा नै धर्म हो’ भन्ने मान्यताबाट प्रेरित मैले अनेक अभाव र अफ्ठेराबीच बिरामीको हेरचाह र उपचार गरिरहेँ । आफूले रोजेको पेसा भएका कारण जस्तै कठिनाइमा पनि जिम्मेवारी निर्वाह गरिरहेँ, गरिरहेकै छु । तर, कोरोना भइरस आतंक बढेसँगै पेसाप्रति मनमा अनेक प्रश्न उब्जिएका छन् । अझ पेसाप्रति भन्दा पनि आममानिसको सोच र चिन्तनले विक्षिप्त बनाएको छ ।
अहिले त यस्तो लाग्छ, अरु औसत जागिर भएको भए छाडिदिन्थेँ । अरु केही काम गर्थें । तर जीवन मरणको दोसाँधमा छट्पटाइरहेका बिरामीलाई बेवास्ता गर्दै जागिर छाड्न मेरो आत्माले दिँदैन । भोक, तिर्खा, निद्रा नभनी दिनरात बिरामीकै सेवा गर्दा गर्व महसुस गर्ने म जस्ता सयौं स्वास्थ्यकर्मीको मनोबल गिरेको छ, यतिबेला । पक्कै पनि जारी विषम परिस्थितिमा यो अप्रिय सत्य हो ।
अहिले स्वास्थ्यकर्मीलाई सम्मान, सद्भाव र प्रेरणाको खाँचो छ । तर, केही मान्छेहरूले स्वास्थ्यकर्मीलाई नै ‘कोरोना’ जसरी हेर्छन् । व्यवहार गर्छन् । यसो हुँदा नराम्ररी चित्त दुख्दो रहेछ । हिजो अस्पतालमा सहज पहुँच र सेवाका लागि आफूले सहयोग गरेकाहरूले नै हेयको दृष्टिले हेर्दा मन कुँडिदोरहेछ । वर्षौंदेखि बसिरहेको घरबेटीले ‘डेरामै नआइज’ भन्दा मुटु भकानिँदो रहेछ । सोच्छु, ‘उपचारका लागि आएका बिरामीले कोरोना ल्याएको भनेर हामीले उपचार नै गरेनौं भने के होला ?’ ज्यान धरापमा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीको मर्मलाई किन यो समाजले बुझ्दैन ? किन यति असंवेदहीन र क्रूर बन्दैछ समाज ?
पिपिइभित्र पिल्सेर बिरामीको उपचार गरिरहँदा अनि घरबेटीलगायत अरूले भय तथा हेयको दृष्टिले हेर्दा, व्यवहार गर्दा आमाको याद आउँदोरहेछ । आमाको सम्झनाले झन् पिरोल्दोरहेछ । एक मिनेट पनि गर्मी सहन नसक्ने छोरी पिपिइभित्र पिल्सेर बिरामीको ब्लडप्रेसर जाँचिरहेको दृश्य देख्नुभयो भने मेरी आमाले कसरी आफूलाई सम्हाल्नुहुन्छ होला ? भोक लाग्यो भन्दै आमालाई घुक्र्याएको, आमाले आफ्ना अरू चाहना भुलेर मेरो चाहना पूरा गरिदिएको सम्झनाले खुब सताउँछ यतिबेला । प्यासले आक्रान्त हुँदा पानी पिउन पनि नपाउने स्थितिबारे मैले आमालाई भनेकै छैन । फोनमा कुरा हुँदा हाँसे जस्तो गरेर ‘ठीक छु’ भन्ने जवाफ दिन्छु । तर उत्तर दिई नसक्दै परेली भिजिसकेको हुन्छ । हो आमा, मैले त अहिले ढाँट्न पनि सिकेँ नि ! तपाईंले मलाई कहिल्यै झुट नबोल्नू भनेर सिकाउनु भएको ज्ञानलाई बिर्सेको अभिनय गरिरहेको छु ।
जताततै कोरोनाको त्रासले समाज नै आक्रान्त भएका बेला ज्यान बाजी राखेर, भोकै, अनिँदो काम गरेको थाहा पाउँदा मेरी आमाले कसरी चित्त बुझाउनुहुन्छ होला ? मेरा साना–साना दुखाइमा धरधरी रुने आमालाई अहिलेको मेरो पीडाले झन् कति चह-याउँदो हो ? कल्पनाले नै रुवाउँछ मलाई ।
हरेक बिरामीको रिपोर्ट नेगेटिभ आओस् भनेर भगवान् पुकार्दै आमालाई सम्झन्छु । साँच्चै, यतिबेला आमालाई गम्ल्याङ्ग अँगालो हालेर धीत मर्ने गरी रुन मन छ । तर पेसा र परिस्थितिले तपाईंकी सानी छोरीलाई निकै समझदार बनाएको छ मामू । मलाई सम्झेर पिर नगर्नुस् ।
विगतमा मुसुमुसु हाँस्दै प्रेसर नाप्न आउने घरबेटी आन्टीले आँखा तर्दै ‘अचेल अस्पतालमै बसे हुन्न ?’ भन्दा मेरो मन कति रोयो होला ! कति सम्झिएँ होला मैले मेरी आमालाई ! सोचें, कुनै दिन घरबेटी आन्टी अस्पताल आएको दिन कोरोना सर्छ भनेर मैले उपचारै गरिदिइनँ भने उहाँको मन कति दुख्ला ? हो, उहाँको मन दुख्ला भनेर मैले केही भनिनँ । बरू, दुखे दुखोस् आफ्नै मन भन्ठानेँ ।
सोच्छु, समाज किन यति धेरै मानवताहीन हुँदैछ ? जे होस्, हामी ज्यान जोखिममै राखेर भए पनि तपाईंको सेवा गर्न तयार छौँ । किनकि, हामी सेवा गर्नकै लागि यो पेसामा छौँ । अहिले विश्व महामारीका रूपमा फैलिएको कोरोनाले तपाईंलाई नभेटोस् । जहाँ भए पनि सुरक्षित रहनुस्, शुभकामना !