कोरोना भाइरसले सबैलाई तर्साएको छ नै ! बिस्तारै यसले सिर्जना गरेको आर्थिक अव्यवस्था झन् भयावह ‘दाइरस’ बन्ने संकेत देखिँदै छन्। कतिका लागि यो भल छोप्ने मेलो भइरहेको छ। कोरोना लाग्ला कि, ज्यान जाला कि, धेरै मान्छेलाई एकैचोटि महामारीले छोला कि भन्ने त्रास भुसभित्रको आगोझैँ पुत्ताइरहेको देख्छु, एकातिर। अर्कोतिर, यो महामारीलाई धमिलो पानी सम्झेर जाल थाप्नेहरूको शिकार भइने जगजगी पनि भुइँतहसम्म हुनहुन गरिरहेको छ।
सरकारले चैत १० गते साँझ घोषणा ग-यो– ११ गते बिहानदेखि देशैभरि घरबाहिर आउजाउ बन्द (लकडाउन) ! सरकारी सूचनापछि ट्वीटर–फेसबुक र अनलाइन माध्यमहरूमा कोरोना–कोलाहल झन् चर्किएको छ। यता सामाजिक जमघट हुने चोक–चौतारा र कार्यथलोहरूमा मुर्दा शान्ति फैलिएको छ। मुर्दा शान्ति र निस्क्रिय मौनता डरलाग्दो भविष्यका संकेतहरू हुन्। जुन दिन साँझ सरकारले सार्वजनिक आउजाउ रोक्ने निर्णय ग-यो, त्यो दिन (मार्च २३) प्रसिद्ध पन्जाबी कवि अवतारसिंह पाशको स्मृति दिवस थियो। त्यो साँझ म पाशको कविता–पुस्तक दोहो-याउँदै थिएँ। उनको मनछुने कविताको एउटा घतपर्दो पंक्ति छ– ‘सबैभन्दा खतरनाक हुन्छ, मुर्दा शान्तिले भरिनु, कुनै छटपटी नहुनु र सबै सहनु !’
कवि पाशलाई काठमाडौंको काव्यजगतले खासै सम्झेको अनुभूति हुँदैन। यसपालि त झन् उनको स्मृति दिवसकै छेकोमा प्रसारित महामारी भयले सहरै सन्नाटामय रह्यो। यतिखेर हामी कवि पाशले भनेभन्दा पनि खतरनाक थितिमा घेरिइसकेका छौं। नकल्पेको व्याधिले नकल्पेको त्रास विस्तार गरिदिएको छ। सामाजिक डबली र श्रमघाटहरू सुनसान छन्। कामकाजी मान्छेका हातपाखुरा थामिएका छन्। उत्पादन संयन्त्रका स्वीचहरू पज भएका छन्। सडक लम्पसारै छ तर घुम्दाघुम्दैका हजारौं पांग्राहरू थन्किएका छन्। बाटो भत्केको त छैन तर यात्रामा कसैका पाउहरू पनि लम्किरहेका छैनन्। हिँड्दाहिँड्दैका लाखौं जोरपाइलाहरू अचानक सतर्क पोजिसनतिर फर्किन विवश छन्।
यो व्यावहारिक विवशतासँगै लाखौं दिमागहरू भने छटपटीमा छन्। घरथुनामा बस्न मन कसलाई पो हुन्छ र ?अहिलेलाई भने सरकारी निर्णय सहन हामी सबै अभिशप्त छौं। हे पाश ! मनभित्र छटपटी त छ नि, सहन पनि मन छैन तर हामीसँग अहिले मुक्तिको अर्को बाटो पो के छ ?त्यसैले हामी स्वयम्बन्दी हुन मञ्जुरजस्तै छौं। मेरो पनि चलिआएको एउटा दैनिक तालिका थियो, त्यो अचानक भत्केको छ। दैनिक तालिकाको सुरुङबाट मुक्त भएपछि दिमागमा अनेक दिगमिगहरू चलमलाउँदा रहेछन् ! भनाइ नै छ– खालि दिमाग अल्छीको घर ! कामकाजी मान्छेले दिमागलाई र ज्यानलाई आराम दिन कहिले पो पाउनु?सधैं रुटिन, सधैं हतार, सधैं छुटिरहेका कामको चिन्ता! जिन्दगीलाई दैनिक रुटिनमा हुलिदिएपछि देशकालका बाँकी सबै जटिलताहरूबाट हाइसुख्ख हुन्छ। उस्तै फम्र्याटभित्र कुद्दै र छुट्दै दिन बबुरो बिताइदिने त्यस्तै जिन्दगी त छ, मेरो पनि। दिनमारा जिन्दगी– दिन कटायो, जिन्दगी घटायो !
यस्तो दिनमारा जिन्दगीलाई नै पाशको काव्यदृष्टिले ‘खतरनाक’ अर्थात् ‘डरलाग्दो’ उपमा दिएको हो। ‘सबैभन्दा खतरनाक’ शीर्षकको कविताले हरदिन उस्तै रुटिनमा बाँधिएका र समाज–संरचनाको कलपूर्जा बनिसकेका मजस्ता निरीह मान्छेहरूको जिन्दगीलाई ‘सब से खतरनाक’ करार गरेको छ। लकडाउन (छेकाबन्दी) अघि नै दोहो-याएर पढेँ, यो कविता मैजस्ता मान्छेका लागि निर्माण भएको हो भन्ने निष्कर्ष पनि मेरासामू दोहोरिन आइपुग्यो। जिन्दगीलाई जुन मान्छेले डेली–रुटिनको बन्दी बनाउँछ, आफ्ना सपनाहरूलाई पनि उसले त्यही अनुशासनभित्र दिनदिनै मार्दै जान्छ। जिन्दगीका सपनाहरू मार्दै जानुजत्तिको खतरनाक अरु के हुन सक्छ ?पाश भन्छन्, ‘सबैभन्दा खतरनाक हुन्छ– घरबाट खुरुखुरु काममा र कामबाट खुरुखुरु घर फर्कनु, अनि सबैभन्दा खतरनाक हुन्छ– हाम्रा सपनाहरूको मृत्यु हुनु !’ हामी जो छौं– ‘सक्रिय’ भनिएका, ‘व्यस्त’ देखिएका, ‘सफल’ कहलिएका, वा ‘संघर्षरत’ दाबी गरिरहेका जिन्दगीहरू, पाशका भाषामा भन्ने हो भने खासमा हामी त्यस्तै ‘खतरनाक परिस्थिति’ हौं। यस्तो परिस्थितिमा अलिकति तलमाथि हुन आँट्यो भने पनि हामी टेरपुच्छर लाउँदैनौं। महामारी र आपत्विपद्ले घेरा हाल्दा समेत हामीलाई रुटिनको ह्याङले छाड्दैन। त्यसैले त घर बस्नु परेकोमा हामी दिक्क छौं, चिन्तित छौं।
बहुराष्ट्रिय व्याधिले बबण्डर मच्चाएर कोठाभित्रै थुनिसक्दा पनि हामीले आफ्नो जीवनशैली, आफ्नो चिन्तन र आफ्नो साँघु¥याइँ छोड्न चाहन्नौं। अहँ, हामी आफूलाई बदल्न पटक्कै इच्छुक छैनौं। हामी हिजो जहाँ थियौं, त्यहीँ छौं। अनि, त्यहीँ भइरहन चाहन्छौं, आफ्नो पारा बढाउन अझ रौसिन्छौँ ! हाम्रो यस्तो ढीटपाराका अनेक उदाहरण छन्। जस्तैः चिच्याई–चिच्याई यशुसँग कोरोना भगाइमाग्ने पादरीहरू उस्तै छन्। मन्त्र जप्दै र शंख फुक्दै महामारी धपाउने यो देशका प्राज्ञको बुद्धि उस्तै छ। भाइरस भगाउन थाल ठटाउने मोदी–राजनीति उस्तै छ। युरोप–अमेरिकाभरि हाहाकार मच्चाइसक्दा समेत कोरोनालाई ‘चिनियाँ भाइरस’ भन्न नछाड्ने ट्रम्पबोली उस्तै छ। कम्युनिस्ट शासनका कारण चीनमा कोरोना बढ्यो भन्ने पश्चिमा मिडियाको ‘स्वतन्त्र–दृष्टि’ उस्तै छ। कोरोना–कालमा नवउदारवादलाई गाली गर्न पाइन्न भन्ने विश्लेषकहरूको दृढमत उस्तै छ। सत्तामत पनि त उस्तै छ, जो कोरोना–संकटमा सरकारलाई ‘सबैले’ साथ दिनुपर्छ मात्रै भन्छ। विपक्षी मत उस्तै छ, जो महामारी रोक्ने जिम्मा प्रतिपक्षी नेतालाई दिनुपर्ने दाबी गर्छ। सैन्यमत सुनिएको छैन, मौकामा ऊ पनि भन्दो हो– संकटकालको माम्लो हाम्रै काँधमा चाहिन्छ।
यो कस्तो खतरनाक परिस्थिति ! कोही पनि आफैमाथि पुनर्विचार गर्न तयार छैन। त्यसका कमजोर उदाहरणहरू त मैले माथि भनिहालेँ, सबैभन्दा बलियो उदाहरण म स्वयं हुँ। लकडाउनको अघिल्लो चरणमा म पाशको ‘लहू है कि तब भी गाता है’ पुस्तकमा विचरण गरें। दश वर्षअघि किनेको यो पुस्तक मैले अनेक पटक दोहो¥याए हुँला। त्यसको गिन्ती गरेको छैन। कोठामै बसिरहने अमूल्य विवशता आइलाग्दा पनि मैले नयाँ प्रकाशकको नयाँ पुस्तक पल्टाउने जाँगर गरिनँ, पुरानैमा पसेँ। अरुले चाहिँ नयाँ पढ्दैछन् कि भनेर मैले दीपक सापकोटालाई बिहीबार बिहान मेसेन्जर कल गरेर सोधेंको थिएँ, ‘कुन किताब पढ्दै हो ब्रो ?’ उनले भने, ‘नारायणमान बिजुक्छेको ‘सय वर्षपछिको भक्तपुर’।’ कमलपोखरीको सडकछेउमा चिया खाँदा दीपकले यही किताबबारे उत्साहजनक गफ दिएको ठ्याक्कै १० वर्ष बितेछ।
‘एक दशकपछि पनि त्यही किताब ?’ मैले व्यंग्य गर्ने पारामा प्रश्न गरेँ।
‘हो, त्यही किताब !’
‘दश वर्षअघि पनि झोलामा त्यही किताब थियो, होइन ?’
‘हो, हो ! त्यही थियो। कस्तो सम्झनुभएको ?’
‘पुरानु कुरा त म सम्झिहाल्छु नि ! पुरानु किताब पढ्न मलाई पनि रमाइलै लाग्छ। नयाँ पढ्न पो गाह्रो छ, यार।’
‘हाहा, हाहा, ठीक हो ! ठीक हो !’ दीपकको सिग्नेचर हाँसो ह्यान्ड्सफ्री गरेर सुनेपछि म फेरि पाशकै कवितातिर फर्कें।
‘हाहा, हाहा, ठीक हो ! ठीक हो !’
फोन काटिएपछि मैले सोचें– दीपकले ‘ठीक हो, ठीक हो’ भनेको कुरा ठीक हो त ?मैले पुरानु कुरा मात्रै सम्झिबस्छु त ?अहँ, होइन। ठीक हो भन्दैमा सबै कुरा ठीक हुँदैन। भन्न त मान्छेहरू अहिले पनि ‘खबर के छ ?’ भनेर सोध्नुस्, ‘ठीक छ’ भन्छन्। ठीक छ भन्नु त ठीक छ तर हालत सधैँ कहाँ ठीक हुन्छ र ?उन्नाइसदर्जे कोभिड व्याधिले संसारै हावाकावा पारिसकेको छ। तैपनि हामी ‘ठीक छ’ भन्न छाडेका छैनौं। पुरानै पारा दोहो-याइरहनु कसरी ठीक हुन्छ ?उस्तै चेतनामा हावा भर्नु कसरी ठीक हुन्छ ?१० वर्ष पुराना किताबका पेजहरूमा फर्कीफर्की प्रवेश गर्नु मात्रै कसरी ठीक हुन्छ ?अनलाइनतिर साथीहरूले प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्– यसपटक नयाँ पुस्तक पढ्नुपर्छ, नहेरेका फिल्म हेर्नुपर्छ। जिन्दगीमा जो छुटेको थियो, त्यो यसैपालि गर्नुपर्छ। कतिले नयाँनयाँ खाना बनाउन सिक्नुपर्छ, भन्दैथे। कतिले छर्छरीलाई नयाँ काम सिकाऊँ, भन्दैथे। मैले भने लकडाउनमा पनि पुरानै खाना पकाएँ– कोदोको ढिंडो ! ढिँडो ओडाल्न मैले १२–१४ वर्षको उमेरमा सिकेको हुँ। सहरी डेरावासमा पनि पिठो र मौका दुवै मिल्यो भने म भदालोमा बाअन बसालिहाल्छु, दाबिलाले मस्काइहाल्छु।लकडाउन घोषणा भएयता हाम्रो भान्सामा हरेक दिन एक छाक चाहिँ ढिँडोको पिँडो पार्ने कार्यक्रम मात्रै चलिरहेको छ। यो पनि मेरो पुरानै पारा त हो।
दिनको दुई–तीन घण्टा छोरासँगै खेलेर बित्ने गरेको छ। खोई किन हो, नयाँ खेल सिक्न मलाई जाँगरै पलाउँदैन। ढुंगाका छपनीमा रेखा तानेर बालादिनमा खेलेको बाघगोटे मैले बिर्सेको छैन। कागजमा धर्को तानेर हामी आमा–बाउ–छोरा त्यही खेल खेल्छौं। त्यो पनि दोहो-याई–दोहो-याई ! इन्टरनेटमा हजार खेलहरू छन्, भन्छन्। मोबाइलमा खेल खेलाउने अनेक एप्लिकेसनहरू डाउनलोड गर्न मिल्छ, भन्छन्। मिले मिलोस्, त्यस्ता नयाँ कुरा सिक्ने झ्याउलो किन गर्नु ?आफूले जानेको बाघगोटे (बाघचाल) छँदैछ, ट्वाक्क ह्वाइटपेपरमा धर्का तान्यो, खेल्यो ! यो त झन् केटाकेटीमै सिकेको पुरानो खेल ! कस्तो मज्जाको ! यस्तै मज्जामा चलिरहेको छ, दिन। डेरा पुरानै। जहान परिवार उनै। खाना–पाना उस्तै। तानाबाना उस्तै। औछ्याउना–बिछ्यौना उस्तै। जहाँसुकैबाट जेसुकै भाइरस वा बहिनीरस आए पनि नानीदेखिको बानी उस्तै !
सबैलाई जस्तो अलिअलि तनाउ त मलाई पनि छ– ग्याँसको एउटै सिलिन्डर छ, झ्याप्प सकियो भने गर्ने के ?नजिकको साहुजी ‘ग्याँस आएको छैन, हजुर’ मात्रै भन्छन्। चिन्ता त छ– सुकेको तरकारी निख्रियो भने कता किन्न निस्कने ?घरछेउका किराना पसले सटर घोप्ट्याएर काठमाडौं छाडेकै सातादिन भयो। पैसोको जोहो छैन। सरकारले गरिखानेहरूको चुलो बाल्ने नयाँ थिति ल्याउला कि ‘थुनिएर बस’ मात्रै भन्ला ?अफ्ठ्यारो बेलामा सरकारलाई सयमा सय विश्वास गर्नुपर्छ, भन्छन्। तर, मलाई भने बेलाबेला शंका लाग्छ– लकडाउन लम्ब्याएर यो सरकारले आगोदेखि अन्नसम्मको जिम्मा कमिसनखोरलाई पो दिने हो कि ?भरविश्वासै लाग्दैन– यो सरकारले औषधिदेखि पानीसम्मको ठेक्का नाफाखोरका पोल्टामा पो पार्ने हो कि ?अहिलेलाई यो अलिअलिको मात्रै तनाउ न हो। यस्तो तनाउले जीवनको स्थायी तलाउमा कुनै तरंग उठाउने क्षमता राख्दैन। एकबारको जुनीमा यस्तो तनाउले संकट ल्याउँछ भने पक्कै अरुलाई ल्याउँछ, मलाई यसले केही गर्न सक्ने छैन। आफ्नो शील किन छाड्ने मैले ?टिभिभरि कोभिड–कुभिन्डे देखाएर सरकारले छेकाबन्दीमा पारे पनि मेरो जिन्दगी त मेरै हो नि ! माइ लाइफ, माइ च्वाइस !
भन्न त विद्वान्हरू भन्छन्– संकटहरूले मान्छेलाई आफ्ना पुराना स्वभाव, अडान, अनुभव, आस्था, शीलबारे प्रश्न पक्कै उठाउँछ। कति त्यस्ता सयौं वर्ष पुराना रिवाजहरूबारे महामारीहरूले पुनर्विचार गर्न बाध्य पार्छन्। तर, आधारभूत रूपमा मान्छे आफूलाई मात्रै मन पराउने स्वार्थी र हठी प्राणी हो। ऊ जहाँ पुग्छ, फर्कीफर्की आफ्नै चरित्रको मुकाममा आउँछ। ऊ सकभर आफ्ना विश्वासहरूको विश्वविद्यालयबाट बाहिर निस्कन मान्दैन। ऊभित्र जे तत्व छ, संकटका बेलामा पनि त्यही जाग्छ। यो रीति सामान्य व्यक्तिमा पनि लागू हुन्छ, समाज र संस्था हाँकिरहेका नेतामा पनि लागू हुन्छ र राज्यका हकमा पनि लागू हुन्छ। अधिनायक हुन चाहने शासक यही बेला शक्ति खैँचन ताउरमाउर गर्छ। शासनबाहिर परेको कमजोर शक्तिसमूह यही बेला सत्ता हत्याउने दुलो खोस्रेर बस्छ। अरुका मात्रै के कुरा ?म पनि त मौका पायो कि लोकगीतै गुन्गुनाउन थालिहाल्छु। कविताकै पंक्तिमा पस्न किताबका चाङहरूमा खुसुरफुसुर गर्छु। कहिलेकाहीँ त लाग्छ– कोरोना–समय उपयोग गर्दै यस्सो इतिहास–सितिहासका ग्रन्थमालाहरू पल्टाऊँ ! बौद्धिक व्यक्तित्व बन्ने उमेर पकाउन धार्जे भएर राजामहाराजाका अभिलेखहरूको टिपोट गरौँ ! यस्सो नेताहरूका ह्यान्डिलमा मेन्सन गरेर ट्वीटरगिरी ज्ञानदान गरौँ ! अहँ, मन मान्दैन– फर्केर लोकधुनकै बारीमा, फर्केर काव्यकै जंगलमा, फर्केर फेसबुककै पाखामा !
आफ्नो यथाजिन्दगीको रुटिन बदल्न मलाई पटक्कै मन छैन। जे चलेको थियो, त्यसैमा रमाउन पो रमाइलो त ! ‘सब से खतरनाक’ दैनिकी भए पनि घरबाट निस्केर काममा र कामबाट फर्केर घर आउने रुटिन नै आफ्ना लागि जिन्दगानी भइसकेको छ। मेरा मन पर्ने कवि पाशले भने पनि, मलाई मनै नपर्ने संवेग त्रासले भने पनि यो रुटिन फेर्ने झ्याउलो मलाई फिटिक्कै मन परेको छैन। अचानक नसोचेको ‘त्यो भन्दा नि खतरनाक’ दैनिकीमा बाँधिनु परेर अलिअलि नमज्जा त लागेको छ। तर, सबैलाई जस्तै मलाई पनि यो थिति तोडेर बाहिर ह्वार्ह्वार्ती निस्कन मन छ। यसैउसै लकडाउनमै बूढो भइएला कि भन्ने डर अरुलाई जस्तै मलाई पनि छ। त्यसकारण, म बाहिर निस्कन चाहन्छु किनभने मलाई झ्याप्पै बुढो भइहाल्न पनि पटक्कै मन छैन। प्रिय पाश ! तिमी भन्छौ– ‘सबैभन्दा खतरनाक हुन्छ– घरबाट निस्केर काममा जानु, कामबाट फर्केर घरमा आउनु !’ हेर, यहाँ त त्यो भन्दा नि खतरनाक बेला आयो– घरमा बिउँझेर घरमै दिन बिताउनु, घरमा दिन बिताएर घरमै सुत्नु। घरमै खाना, घरमै खाजा। घरमै मिटिङ, घरमै चिया। कस्तो डरलाग्दो रुटिन !
कहिलेकाहीँ आफ्नो पुरानु रुटिनको झल्को मेट्न झ्यालबाट बाहिर आँखा लगाउँछु– मान्छेहरूको चहलपहल र आउजाउ शून्य छ, सडकमा। म जहाँ बस्छु, यो कीर्तिपुर भाजंगालको व्यस्त तीनबाटो हो। पाँगा, चारघरे र चोभार पुगिने यो तीनबाटो पाँच दिनदेखि सुनसान र बिरानो बनेको छ। पसलका सटरहरूले पिठ्युँ फर्काएका छन्। बेलाबेला पुलिसको गाडी र पानीको ट्यांकरले ह्वाँआँsss गर्नुबाहेक हल्लाखोर कोही छैन। चराहरूको कहिल्यै ख्याल नगरिएको चिरबिराहट टड्कारो सुनिन्छ। गाउँमा जंगलछेउको फाँटमा गाईबाख्रा चराउँदा महसुस हुने ध्वनि–परिवेशको झल्कोले मस्तिष्कमा तरंग उठाइरहेको छ। गाउँको सम्झना बढी नआओस् भनेर कोठाभित्रै फर्कन्छु– मलाई पर्खिरहेका कामहरूले तँछाडमछाड गरिरहेका छन्। ती काममा एकाग्र हुन मलाई कत्ति रुचि छैन। थाँती बसेका काममा किन एकाग्र हुनु ?काम गर्नुभन्दा कामको गफ दिनु बढी आनन्दको काम हो भन्ने मलाई थाहा छ। त्यसउसले गर्दा कोठामा यताउता पल्टेर मोबाइल र ल्यापटपमा ‘आ–आफ्नो काम’ गरिरहेका आमाछोरालाई केहीबेर गफ दिन्छु।
गफचुटान विषयको म सानोतिनो उस्ताद नै हुँ। अर्को भाषामा मलाई चियागफोलोजीको सिनियर प्रोफेसरको पदवी दिँदा पनि फरक पर्दैन। हाम्रो घरभित्र दैनिकजसो गफक्लास चल्ने गर्छ। यसको प्रत्यक्ष लाभ छोराले उठाइरहेको सत्य पनि पछि एक दिन अवश्य जगजाहेर हुने छ। आमाबाउको गफचुटान स्कुलिङको प्रभावबाट छोरो भविष्यमा प्रतिभाशाली गफोलोजिस्ट बनेर निस्कन सक्ने सम्भावनाहरू उसले आफ्नो नौ वर्षे संवादहरूमा प्रकट गर्न थालिसकेको छ। भनिहालौँ, गफक्लासका लागि मैले नजानेको विषय खास केही छैन (जानेकै विषय पनि खास केही छैन तर यो चाहिँ खास भन्ने कुरा थिएन)। लोकगीतको भूगोलशास्त्रदेखि कविताको समाजशास्त्रसम्म, कोरोना भाइरसको अर्थशास्त्रदेखि राजनीतिको सौन्दर्यशास्त्रसम्म म धारावाहिक गफ चुट्न सक्छु। फरक के मात्रै छ भने श्रोताहरूले मेरा गफहरू धारावाहिक सुन्न तयार चाहिँ हुनैपर्छ। श्रोताहरूले मुन्टो बटारे भने मेरो पालो आफू पनि मुन्टो घुमाएर मोबाइलतिर निहुरिन्छु। हुन त म मात्रै होइन, आजभोलि सबै मान्छेहरू पिर पर्दा पनि मोबाइलकै एप्लिकेसनमा औंला पु-याउँछन्, रिस उठ्यो भने पनि मोबाइलकै स्क्रिनमा क्लिकहरू गर्छन्। कसैलाई उत्सवमा साथ दिनुप¥यो भने पनि लाइक थिचेर कर्तव्य पूरा गर्छन्। कसैको दुःखमा सहभागी हुनुप-यो भने पनि उसलाई आँसुतुर्के इमोजी पठाइदिन्छन् र आफू अर्को भिडियोतिर दौडिहाल्छन्। म पनि कसैको कुरा मन परेन भने गोजीबाट मोबाइल झिक्छु, यत्तिकै औंला किचिकिचि पार्छु अनि ‘ए, ए, ल, ल म आइहाल्छु’ भन्दै उठेर हिँड्छु। मन नपर्ने अरुका कुरा किन सुन्नु ?मन पर्ने आफ्नै कुरा पो सुनाइरहनु त... !
अहिले पनि मलाई यो कोरोना–सोरोनाको नेपाल भ्रमणबारे खासै सुन्न मन छैन। तीनजनामा भेटियो र चारजना पुगिसके भन्ने संख्या बढाबढका समाचारहरू पनि मलाई खासै मन परेका छैनन्। मेरा साथीहरू भने फोन गरेर घरिघरि यसैबारे सोध्छन्, यसैबारे सुनाइरहन्छन्। कति साथीहरू त फेसबुक स्टाटस लेख्दालेख्दै कोरोना मामिला विद् नै बनेर निस्किसके। उनीहरूले मेसेन्जरमा ‘कोरोना नेपालीलाई किन लाग्दैन ?बहादुर गोर्खालीहरूको इम्युनिटी पावर किन बलियो छ ?’ भन्ने राष्ट्रवादी विचार पनि ऐनमौकामा पठाइरहेका हुन्छन्। आत्मसमीक्षा गरेर भन्ने हो भने मेरा साथीहरू पनि धेरै त मैजस्ता गफास्टिकहरू छन्। जस्तोसुकै महामारीले घाँटी अँचेट्न थाले पनि उनीहरू नानीदेखिको बानी बदल्न इन्कार गर्ने प्रतिबद्ध योद्धाहरू हुन्। भनेर नहुनी– अहिले देशलाई मजस्ता आफूलाई बदल्नै नचाहने व्याख्याता चाहिएकै छैन। मजस्ता गफै हाँक्ने तर्कबाजहरू त देशैभरि छन्, चाहिएको यतिखेर सतर्कबाजहरू हो। चिन्ता मात्रै गरिरहने चिन्तेहरू सहरैभरि छन्, चाहिएको त नयाँ उपायबारे घोत्लिने चिन्तकहरू हो। अरुले लेखेका पुरानै किताब खोतलिरहने मजस्ता झुरपाठक पनि काठमाडौंदेखि ललितपुरसम्म, भक्तपुरदेखि बनेपासम्म छ्याप्छ्याप्ती पाइन्छन्। झ्याप्प बसेर ट्याक्क नयाँनयाँ पुस्तक (सकेसम्म उपन्यासै) लेख्ने प्रतिभाहरू पो खोजिरहेको छ, देशले ! प्रिय, साथीहरू ! तपाईंहरू पुस्तक लेखनकै तयारीमा हुनुहुन्छ भने त्यसमा मेरो पनि सक्रिय सहयोग रहने विश्वास दिलाउँछु। हेर्नुपर्ने राम्रा फिल्म र पढ्नुपर्ने उत्कृष्ट पुस्तक सिफारिस गर्ने ढंग त मसँग छैन तर लेख्नुपर्ने नयाँ पुस्तकका लागि बबाल शीर्षकहरू भने म रेफर गर्न सक्छु। फिक्सनका लागि सम्भावित नाम टिपिराख्नुहोला– लभ इन द टाइम अफ कोरोना, क्राइम एन्ड कोरोना, कोभिड उन्नाइसको संगीत, कोरोना आफूमात्रै काठमाडौं आइपुगी, कोभिडसंहार अर्थात् पाँचौ अन्त्य, मोक्षान्तः कोरोना फिभर, कोभिडकल्प, कोरोना ओ कोरोना, कोभिडघाट, कोरोना लभ, कोभिड ब्लुज, काठमाडौंमा कोरोना दिन, काफ्का एन्ड कोरोना...।
केही ननफिक्सन नाम पनि लिइहाल्नुस्– कोरोना जिउँदै छ, मैले देखेको कोरोना, संसार हल्लाइदिने त्यो लकडाउन, माक्र्सिज्म एन्ड कोरोना क्यापिटालिज्म, कोरोयाना कोभिड गफ, कोभिड दुःस्वप्न र समृद्धिको सपना, कोरोना व्रतकथा, कोभिडहरणको दिव्यसन्देश...। शीर्षकहरूको यति ‘क्लू’ पाएपछि प्रतिभाशाली साथीहरूले बाँकी शीर्षक र उपशीर्षक आफै उत्पादन गर्न सकिहाल्नु हुन्छ भन्ने मेरो प्रस्ट धारणा छ। किताब लेख्ने बानी लागेका साथीहरूले यसपालि पक्कै पाठकका लागि नयाँ कोसेली ल्याउनु हुनेछ भन्ने अपेक्षासहित म पनि प्रतीक्षामा बसेको अवगत गराउँछु। कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको छेकाबन्दी छोटियोस् ! भाइरसले झन् डरलाग्दा दाइरस वा ठूल्दाइरस ननिम्त्याओस् ! संसार घुमिरहेको बहुराष्ट्रिय व्याधिले हाम्रो नानीदेखिको बानीलाई फेरि आफ्नै लिकमा फर्किन देओस् ! अहिलेलाई म हात धुन निस्केँ। प्रिय पाश ! सब से खतरनाक होता है, मुर्दा शान्ति से भर जाना ! न होना तडप का सब सहन कर जाना...। लेकिन, इस वक्त सब से खतरनाक होता हे– बेकाम मे घर से बाहर जाना, और टायम–टायम मे अपनी हात नधोना !
o o o
Twitter: @SangeetSrota