सधैं झैं बिहानी भयो । बर्खामा झरीले, शरदमा चाडवाडले, हिउँदमा चिसोले खुल्ने हाम्रो प्रातःकालीन निद्रा वसन्ती पवन चल्न थालेपछि चराहरूको चिरबिरले खुलाइ दिन्छ । ऋतुहरूमध्ये मलाई असाध्य मनपर्ने ऋतु हो– वसन्त । यो बेला डाँडापाखा र वनजंगल घुम्न खुबै रमाइलो हुन्छ । तर वर्तमान भनेजस्तो छैन, यी बिहानीमा ती सबै रहर बन्द कोठामा सीमित भएका छन् ।
कुनैबेला मनले यसै सोचिदिन्थ्योे, साँच्चै जेल पर्नु परे मेरो हाल कस्तोे होला ! अनि त्यही मनले भन्थ्यो, के होला र मुद्दा चल्दै गर्ला, जेलमा बसेका बेला संसार बुझौँला, किताब पढौँला । तर मनको कुरा अर्कै हो, परेपछि हुने अर्कै हो । संसारभरि महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणको सम्भावित क्षति कम गर्न सरकारले गरेको लकडाउनको सातौैं दिनको यो बिहानीसम्म आइपुग्दा भने साँच्चै जेल परेकोजस्तो भैरहेको छ । जेलभन्दा धेरै सुविधा छ, आफ्नै कोठामा मनमौजी छ । तैपनि यो मन कहाँ–कहाँ पुगिरहेछ । भौतिक रूपमा घुम्दा मनले सोच्ने फुर्सद पाउँदैनथ्यो । अहिले भने मन फनफनी घुमिरहेछ, शरीर जहाँको त्यहीँ ।
मनमा अनेक कुरा खेलिरहेछन् । घरी नोस्टाल्जिक, घरी फन्नी, घरी रित्ता,े अन्ततः एउटै प्रश्नमा आएर मन अडिन्छ, साच्चै कोरोनाको कहर कहिले सकिएला ? कोरोनापछिको हाम्रो दैनिकी कस्तो होला ? मन नै संसार घुम्ने भएपछि कोठाभित्रका सुख–सुविधा उपभोग गर्न नसकिँदो रहेछ ।
माथिका तीन हरफ लेखेपछि म आफ्नो नित्यकर्म सकेर आएँ, छत र कौशीतिरबाट बाहिरफेर चिहाएँ । बजारतिर हेरेँ । सडक, गल्ली र अघिपछि भीडभाड हुने स्थल सुनसान छ । दक्षिणको मुसीकोट डाँडा तलको जंगलमा न्याउलीको न्याहो–न्याहोले बोलाएको जस्तो लाग्यो । सडक र गल्लीहरूले ‘तल झर् न’ भनेजस्तो लाग्यो, अनि चिया दोकानहरूले पनि ‘किन आउदैनस् आजकाल ?’ भनेजस्तो लाग्यो । छतबाट फर्किनै लाग्दा पार्किङमा थन्किएको मोटरसाइकलतिर आँखा गयो, अलिकति समय खालि हुनेबित्तिकै कुदिहाल्ने त्यो दुई पाङ्ग्रे सवारीले पनि ‘मलाई माया मारेको !’ भने झैँ लाग्यो । यी मनगढन्ते प्रश्नहरूको पुञ्ज बोकेर म पुनः आफ्नै कोठामा आएको छु ।
लकडाउनका बेला मनडाउन नहोस् भनेर अनेकानेक प्रयास गरिँदैछ । अघिपछि टिकटकमा सक्रिय हुने साथीहरू यो बेला त्यता खासै सक्रिय देखिएनन् । बरू यतिबेला धेरैले गरेको भनेको व्यक्तिको प्रोफाइल खोलेर पुराना फोटोमा फन्नी कमेन्ट गरिरहेका छन् । कमेन्ट बडो हँसाउने खालका छन् । मेरो १० बर्षअघिको एउटा फोटोमा वहिनीले कमेन्ट गर्दै लेखिदिई, ‘यो फोटोमा कमेन्ट गर्न म सगरमाथाबाट फर्किएँ...’, अर्कोले अर्कै पुरानो फोटोमा लेखिदियो, ‘म जहाज रोकेर कमेन्ट गर्न आएँ...’ । अनि अर्को कमेन्टमा मित्र मनिषले लेखिदिए, ‘के तपाईं आफ्नो फोटोमा लाइक, कमेन्ट आएन भनेर चिन्तामा हुनुहुन्छ ? अब पीर नगर्नुहोस्, हामी घरघरै आउँदैछौ...’ । यस्ता आदी–इत्यादी फन्नी कमेन्ट हेरेर हाँसेपछि फेरि आफ्ना र अरूका पुराना तस्विर हेरेर हाँसो लाग्छ । ‘कता हो चिया खान भेटम् न !’ भन्ने अवस्था छैन, एक्लै भएपछि जे गर्दा रमाइलो हुन्छ, त्यही गरिँदैछ । तर पुराना तस्विरले फनसँगै नोस्टाल्जिक पनि बनाइदिन्छन्, तस्विरसँगै मन पनि बुलेट ट्रेनको गतिमा विगततिर कुद्छ ।
हर प्राणीले जे पर्छ त्यो बेहोर्नैपर्छ, भोग्नैपर्छ अनि अघि बढ्नैपर्छ । कोरोना भाइरस संक्रमणबाट जोगिन धैर्यता नै हाम्राअघि रहेको तत्कालको एकमात्र विकल्प हो । ढिलो–चाँडो यसको ‘एन्टी भ्याक्सिन’ बन्ला, पहिला स्वास्थ्यकर्मीलाई लगाएर उनीहरूलाई प्रतिरोधका निम्ति तयार पारी बिरामीलाई लगाउन सुरू गरिएला । संसारभरिका बिरामीलाई निको हुन सुरू होला । अनि सारा विश्वसँगै हामी कोरोना भाइरस निर्मूलको उत्सव मनाउँला । त्यो दिन जरूर आउनेछ । त्यो सुन्दर बिहानी वसन्त ऋतुभन्दा पनि कयौं गुणा सुन्दर हुनेछ ।
कोरोनापछि हाम्रो जीवनशैलीमा केही फरक अवश्य आउनेछ अनि बिस्तारै त्यही बानी पर्दै जानेछ । सम्पूर्ण प्रियजनहरूसँग चाँडै भेट हुनेछ, स–शरीर सँगै भएर सुख–दुःख साट्ने दिन आउनेछ । लकडाउन लामो हुनसक्छ तर हाम्रो आयु लामो बनाउन यो जरुरी छ । बस्, लकडाउनका बेला मन ‘डाउन’ हुन दिनुभएन ।
शुभ होस् ! मंगल होस् ! जय–जय होस् !
(रुकुम पश्चिम)