सहरमा सन्त्रस्त सन्नाटा टाँगिएको छ । गल्लीहरू मौन छन् । तर, मानिसहरू कोलाहल दबाएर घर–घरमा कैद छन् । लाग्छ– हामी ‘वेटिङ फर गोदो’को हालतमा छौं । संशय र अन्योलको चेपुवाबीच केही पर्खिरहेका छौँ ? त्यो पर्खाइ भोलि कस्तो स्वरूप बोकेर ढोकामा आइपुग्ला ? तहस नहसया सामान्यता ?
अवकाशको समयमा गहकिला पुस्तक, सिनेमा र संगीतमा आफूलाई भुलाउने यत्न जारी छ । वैचारिक र क्लासिक पुस्तकको पुनर्भ्रमणले पुनर्ताजगी दिएकै छ । यसबाहेक छापाका विचार–लेखमा घोत्लिनु त छँदै छ । साथीहरूले सामूहिक गफ–बाकसमा मलाई पनि हुलेका छन् । त्यहाँ ठट्टादेखि आलोचना–विमर्शसमेत चल्छ । हिजो चिया–कफी र म:मका टेबुलमा चल्ने गफको तलतल यतै मेटिन्छ । खानपिन परिवारसँगै चलेको छ । कहिल्यै नसम्झने साथीहरू पनि मोबाइलमा ‘स्टे सेफ’ भन्दै आउँछन् । दुई दशकअघि आत्मीय सम्बन्ध भएकोतर बीचमा समपर्कविहीनजस्तै रहेको साथीले अस्ति सीतापाइलाबाट फोन गर्यो । नोस्ताल्जिक हुँदै निकै बेर गफियौं । उसको अड्डा महाबौद्ध रहेछ । म पनि त्यतै–कतै नजिकै हुन्थें तर भेटैहुँदैनथ्यो । सायद ‘भोलि के हुन्छ !’ को अनिश्चयले हामीलाई जोडिदियो ।
आमालाई दिनहुँजसो फोन गर्छु । र, सचेत हुन कोरोनाविज्ञले झैँ अनेक सल्लाह दिन्छु । आमालाईसाथमै भएका सन्तानहरूको भन्दा सहरमा थुनिएका हाम्रो चिन्ता बढी हुँदो हो । अनेकानेक सोधिरहने उहाँलाई जवाफ दिन्छु– ‘आफ्नो ख्याल गर्नु न । हामीलाई थाहा छ नि, यता के गर्नु पर्छ !’ तर मलाई केही थाहा छैन ।
झ्याल खोलेर यस्सो बाहिर हेर्यो, मुर्झाएको अनुहार लिएर टोलाइरहेका निरीह प्राणीहरू पारिका झ्याल–झ्यालमा देख्छु । बोली हराएको मान्छे साँच्चै निरीह देखिँदो रहेछ । तरकारी किन्न निस्किँदा मान्छेसँगै जोगिएर हिँड्नु पर्छ । डरले आक्रान्त मानिसहरू भौंतारिरहेको तीबाटाहरू विरानो–विरानो लाग्छ, जहाँ आफ्नै पदचाप छोडिराखेका थियौं ।
दिनहुँ एउटै कोठाको चार भित्ता हेरी–हेरी अवसाददंश सहनु र आगतको चिता कल्पना गर्नुभन्दामोबाइलकै भित्ता हेरेर आफैँलाई परामर्श दिनु जाति लाग्यो । फेसबुकका भित्ता उत्खनन् गर्दै अतीतमुखी हुनुले केही राहत दिदो रहेछ कि ! पुराना तस्बिरको बाढी मन भुलाउने बहाना भएको छ, धेरैको । साथी, आफन्त र सेलिब्रिटीहरूका ‘लुकेको प्रतिभा’ चाल पाउँदै छु । नाच, कविता वाचन, गजल गायन, समीक्षा–समालोचना, स्वास्थ्य उपदेशदेखि पुँजीवाद उवाचसम्म सबै–सबै यही मोबाइलमा उपलब्ध छन्, सित्तैमा ।
यता डेरावासीलाई शौचालय र झ्यालका लेउ सफा गर्ने अनुकूलता जुरेको छ । घर–करेसा हुनेहरूले फूलबारी गोडमेल गर्दै छन् । विषादीरहित तिहुन फलाएकोमा गर्व गर्ने गमला नजिकैबाट देखेका छन्, उनीहरूले । यस्तो विरोधाभासी समयको भन्ज्याङमा उभिएछौँ, जहाँ कृषिप्रधान भनिने देशमा कौसीको खुर्सानीसँग सेल्फी सेलिब्रेट गर्न बाध्य छौँ । वर्षौं भयो पढेको– समाज वर्गीय छ । के भाइरस पनि वर्गीय हुन्छ ? सुरु–सुरुमा जहाज चढेर आएको संक्रमण अब ठेलमठेल गाडी चढेर या हिँडेरै देश भित्रिएको खबर सुन्यौँ । जब–जब महासंकट आइपर्छ, तब ठूलो मार विपन्नहरूमै पर्दोरहेछ ।
मेरा एक मित्र भन्दै थिए– ‘यो कोरोना भाइरस वायुमण्डलमा घुम्न सक्ने भएयो धरतीमा मानव अस्तित्व बाँकी रहन्थ्यो होला ? डाइनोसरको हाल हुन्थ्यो ।’ मैले भनेँ– ‘संसारका पहुँचवालहरू बाँकी बस्थे । अक्सिजन सिलिन्डर बोकेर चन्द्रमाको उडान भर्थे र प्लटिङको दलाली सुरु गर्थे, त्यहाँ पनि ।’ यो एउटा प्राक्काल्पनिक गन्थनै सही । तर, धरतीमा केही धन–कुबेरकै रजगज छ । उनीहरू आफ्नो पुँजीको सत्ता टिकाउन कहिले विज्ञानलाई काँधमा बोक्छन्, कहिले अन्धविश्वासहरूलाई शास्त्र बनाउँछन् ।
कोरोना सन्त्रासकै बीच केही मानिसले अन्धविश्वासको अथाह खेती गरे । कसैले शंख फुक्दै ‘मन्त्र’ बाँडे, कसैले ‘परमेश्वर’ पुकार्दै भाइरसलाई मुर्दावाद गरे, कसैले ‘विश्वशान्ति’ खातिर ढ्याँग्रो ढोके । दैलो र आँगन खोतलेर कोरोनानाशक ‘कोइला’ हात पार्नेको तँछाड मछाड पनि रमितलाग्दो थियो । दीप प्रज्जवलनदेखि थाली र ताली ठटाउनहरूले आफ्नो चेतना लजास्पद रूपमा उदांगो पारिदिए, भावी सन्ततिलाई समेत पुग्ने गरी । हामीभित्रैका ‘मोदीहरू’ले यस्तै बेला पूर्वीय संस्कृतिका ‘वैज्ञानिकता’ फेला पार्छन् । विद्यालय र विश्वविद्यालयको प्राङ्गण टेक्नै नपाएकाहरू त यो सन्त्रासबाट उन्मुक्ति पाउने धमिलो आशा लिएर अदृश्य शक्तिको कल्पना र विश्वासकै दोसाँधबाट भीडमा सामेल भए होलान् । तर, यहाँ चेतनाका संवाहक भनिने प्राज्ञ, संस्कृतिकर्मी, लेखक, कलाकारहरू नै त्यस्ता अन्धविश्वासी जमघटमा अघिअघि देखा परे, जो आफैंमा लाजमर्दो र आक्रोशपूर्ण छ । यो ‘धर्मनिरपेक्ष’ राज्यका प्रतिष्ठानहरूमा कस्तो व्यक्तिले प्राज्ञिक हुने लाइसेन्स पाउँदो रहेछ † यो समालोचना र शोधको विषय हुन सक्छ । भर्खरै डिजिटल पाखोमा पढेको थिएँ– ‘दाह्री, जुँगा र कपाल नकाट्ने पुरुषले उत्तम सन्तान पाउँछन् ।’ शास्त्रको हवाला दिँदै गरिने यस्ता हँसीमजाक पढ्दा लाग्छ– नेपाली समाजमा उरन्ठेउला गफको बजार राम्रै छ । तर यस्ता ठट्यौलीले समाजमा गर्ने खराबीबारे हामी कति गम्भीर छौं ?रुढिग्रस्त परिवार र समाजमै छु तैपनि कहिलेकाहीँ धृष्टताजस्तो पलाउँछ– दुनियाँ नै दुश्मन होओस् तर अन्धविश्वासी हर्कतहरूको विरोध गर्छु । नसके धार्मिक पक्षधर भने कहिल्यै हुन्न, चाहे आफ्नै समुदायको अँगालेको रीतिथिति किन नहोओस् । हुन त राज्यका जिम्मेवार व्यक्तिहरूसमेत संवेदनशील विषय हल्का ओठेजवाफ दिँदै ठट्टा गरिरहेका छन् । कतै यस्ता ठट्यौली कारखाना र सत्ता–सम्बन्ध गाँसिएको पो छ कि !
खबरहरूमै पढियो– लकडाउनका बेला घाटहरूमा लासको संख्या घट्यो । सडक दुर्घटना र बाहिरबाट आउने लासहरूलाई छोडेर पनि सरदर मृतक संख्या घट्यो । अनेकले अनेक तर्क गरेका छन् । कोरोना त्रासका कारण अस्पतालहरूले बिरामीहरूलाई भर्ना गरेका छैनन् । बिरामीकोरोग एकातिर, चिरफार अर्कैतिरको घटना यदाकदा सुनिएकै हो । यस्तै घटनाहरू अपवादभन्दा धेरै पो हुन्थ्यो कि भन्ने आशंका पनि जन्मिए, डिजिटल भित्तामा । यसले चिकित्सा विज्ञानमै समेत मानिस सन्देह पैदा गराएको छ । तर आफ्नै जीवन जोखिमको भुंग्रोमा हालेर यतिखेर खटिरहेका हजारौँ चिकित्सककै हातमा हाम्रो स्वास्थ्य र भविष्य छ ।
नियमितताले थोपरेको व्यस्ततामा लकडाउनले केही राहत महसुस गरेका हामी स्तरीय फिल्म, संगीत र पुस्तक छान मारिरहेका छौँ । सय–पचास च्यापेर जानेका लागि पसलमा नुन–तेलको अभाव हुन थालिसक्यो तर ‘बडा’का दरबारमा चौरासी व्यन्जन पाक्ने खाद्यान्न सहजै ढुवानी भइरहेकै छ । केही दिन वा महिना धान्ने रसदपानी भएका हामी सरकारी लकडाउनलाई सकारात्मक कदम भनिरहेका छौँ तर दैनिक ज्याला–मजदुरी गरेर जीवन घिसारिरहेको वर्गको भोक–कहर कस्तो होला ?
उनीहरूलाई प्रत्यक्ष कवितावाचन, लाइभ थिएटर र पढ्नै पर्ने पुस्तकले केही अर्थ राख्दैन । उनीरूका लागि पेटभर अनाजको जोहो नै आजको दुर्लंघ्य पहाड हो । रोगले भन्दा भोकले उनीहरूको जीवनमा पूर्णविराम लाग्न सक्छ । उनीहरूका अघिल्तिर केही मनकारी हातहरू फाट्टफुट्ट देखा पर्छन् । तर, धेरैजसो ‘मनकारीे हातहरू’मा राहतको पुरियाभन्दा ठूलो सेल्फी क्यामेरा र मोबाइल छन् । उनीहरू आफ्नो ‘कल्याणकारी’ अनुहार सामाजिक भनिने सञ्जालमा प्रदर्शन गर्न चाहन्छन् । कतिपय मजदुरहरू प्रहरीका तीखा आँखा छलेर इँट्टा र रोडा बोकिरहेका छन् । ती मजदुर र ‘मनकारीहरू’लाई पनि लकडाउन उल्लंघन गरेको भन्दै केही युट्युबरहरू भिडियो क्यामरा तेस्र्याउँदै केरकार गरिरहेका छन् । मजदुरहरूको बाध्यतालाई कुन तर्कले अपराध करार गर्न मिल्छ ? सोचग्रस्त छु । समाज जोगाउनुभन्दा आफू र परिवारको छाक टार्नु मजदुरहरूको निर्विकल्प मजबुरी भएको छ । बाध्यतालाई अपराध करार गर्नेहरूसँग राज्यलाई सोध्नैपर्ने प्रश्नहरू सकिएकै हो ?
लकडाउन नाघेर सडकमा पुग्नेलाई ग्यास सिलिन्डरसहित उठबस गराएको र बडेमान सनासोले कम्मरमा अँठ्याएर प्रहरी भ्यानमा कोचिरहेको दृश्यमा हाँस्नु कि कराउनु ? अन्योलग्रस्त छु ।
नेपाल–भारत सीमानाकामा अलपत्र परेका हजारौँ नेपाली मजदुरको कहर दन्त्यकथा जस्तो लाग्छ । क्वारेन्टाइनमा बस्नु परे पनि मर्न स्वदेशमा पाइयोस् भनेर गरिएको अनुनय–विनय सुन्दा कसको आँखा नरसाउला र † ज्यानको बाजी थापेर महाकालीमा हेलिएरै भए पनि जन्मभूमि टेकेका नागरिकलाई ‘सुरक्षाकर्मी’ डन्डा बर्साउँछन् । उताबाट आएका ती कुल्लीहरूको कथाव्यथा पढेपछि मेरो कानमा गुन्जिरहेको एउटै गीत हो– ‘डुल्दै हिँड्दा भारतमा नेपालीको कथा भेटियो, आँसु, रगत, पसिनामा जीवनगाथा भेटियो...।’ हामीमध्ये धेरैले यो गीत नसुनेको हुन सक्छ, केही छैन । तर, दु:ख यसैमा छ, हिजो यही गीत घन्काएर मुग्लानी मजदुरहरूलाई क्रान्तिका खातिरएकत्र पार्ने अगुवाहरू नै आजको सरकारमा छन् । ‘मेरो सरकार’को प्रधानमन्त्रीले जनतालाई जीवन र स्वतन्त्रतामध्ये एक रोज्ने विकल्प दिन्छन् । हामीलाई पत्याउनै मुस्किल पर्छ कि उनी तिनै व्यक्ति हुन्, जसले स्वतन्त्रता र सामाजिक न्यायका लागि करिब डेढ दशक जेल–जन्जिर झेलेको दोहोर्याइ रहन्छन् ?
विविधताले भरिएको समाजमा टिप्पणी कतै शालीन रूपमा प्रकट होला, कतै असहिष्णु भएर । तर, संकटको घडीमा राज्यको भूमिका कस्तो रह्यो, यो सबैले सोध्नेप्रश्न हो । बब डिलनको गीतमा भनिएजस्तो उत्तरहरू भने हावामा तैरिरहेकाछन् । कोरोना कष्टलाई पार लगाउन राज्यले जुन गतिमा आफ्ना कार्यक्रम ल्याउनु पथ्र्यो, त्यसमा ऊ चुक्यो नै । विपद्को बेला पनि जिम्मेवार व्यक्तिहरू आफ्नो गोजी र क्यालकुलेटरमै व्यस्त रहेको खबरले जीउमा आक्रोशको काँडा उम्रिन्छ । देशका कार्यकारी लामो समय मौनव्रत बसेझैँ भान हुन्थ्यो । दुई साताको लकडाउनपछि प्रधानमन्त्रीले बल्ल औपचारिक मुख खोले । छापा र बौद्धिकहरूले राज्यलाई प्रश्न मात्रै गरिरहेका थिएनन्, सार्थक सुझाव पनि दिइरहेकै थिए । आर्थिक अपारदर्शिताबारे गरिएको बारम्बारको खबरदारीलाई बेमौसमी बाजाको संज्ञा दिनु अत्यासलाग्दो छैन ? चेतावनीजस्तो सुनिने गरी उनले भने, ‘संकटको यस घडीमा हामीकहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्यांकन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ तर इतिहास भने यस मामिलामा निर्मम हुनेछ ।’ निमुखा र दीनहीन नेपालीले राज्यबाट कहिले पो दया–मायाको अनुभूति गरेका थिए र, अबको निर्ममतासँग डर मान्नू ? हामी दुईचार पैसा हुनेहरूले राज्यको लकडाउनलाई तन–मन–धन सबै लगाएर पालना गरिरहेकै छौँ । तर, राज्यका नेतृत्वलाई विनोदविक्रम केसीको कविताबाट सापटी लिएर भन्नैपर्ने भयो–युगौंदेखि आइसोलेसनमा बसेका लालबहादुरहरूको कोठामा यहाँहरू पुग्नुभएन भने उनीहरू जहाँ पनि पुग्न सक्छन् ।