आजका दिन हिजोका भन्दा पृथक छन् । हाम्रा समय पनि फरक तरिकाले बित्दै छन् । अनुकुल सामान्य बन्न अझै दिन कुर्न पर्ने देखिन्छ । अबागत छ, देश पुर्णरुपमा बन्दाबन्दिमा (लकडाउन) छ।आज मैले धेरै कुरा गर्न तिमिलाई संझिएको छैन । त्यति बिग्न असामान्य तरिकाको बिचार पनि राख्न चाहान्न । तिमी राष्ट्रको राजधानी भएको सुगम शहरमा छौं, म गाँउमा छु । हो समानता छ, तिमी आफ्नै घरमा र म पनि आफ्नै घरमा छु।
दुई बर्ष पहिले तिमी संगको पहिलो संवादमा मेरो घर त गाउँमा हो भन्दा तिमिले नाक खुम्च्याएको संझना ताजै छ । साच्चै, अहिले म मेरै गाउँमा छु । तिमीलाई स्वतन्त्रता छ अहिले पनि नाक खुम्च्याउन तर आत्मासाक्षी राखेर भन्यौ भने मन खुम्च्याएकी छौं । कारण, घरको सिमित चौघेरा बाट बाहिर हेर्न त पाएकी छौं । तर टेक्न असम्भव यहि असम्भवमा तिमीले आफ्नो दिनचर्या कसरी बिताउदै छौं भन्ने हेक्का म राख्न सक्छु तर मेरा बारे तिमीले सोचे भन्दा धेरै फरक हुन सक्छ । हुनत भनौली गाउँमा भएपछि त फरक भैहाल्छ नि ! हो, यही फरक थाहापाएकी भएरै त नाक खुम्च्याएकी हौ लि । खैर तिम्रो शहर भन्दा मेरो गाउँ कति गुणा सुन्दर छ, सहज छ अनि आत्मिय छ।
यतिबेला फाँट मकैले हरियो छ । बिहान बेलुका यिनै मकै गोड्दैं माटोको गन्धसंगै रमाउदै छु म । दिउँसो उहीँ पुरानु गोठाले भएको छु । तिमी झै घरमा सिमित हुन परेको छैन । बनपाखा चाहार्दै डियाँ डुलाएर हिड्नु र हिड्न पाउनु यतिबेला गाँउमा स्वतन्त्र छ । वनमा यतिबेला चिजु (तिँदु) पाकेका छन् । काफल लटरम्मै फलेका छन् । साथि सङ्गिमा बाढेर खादै, डिया डुलाउदै दिन बितेको पत्तै पाईदैन ।
डिया लिएर घरमा आउदा अम्खारामा मिश्री र बाबरी पानी लिएर आमा भन्नुहुन्छ– घाँम गढ्छ ला पानी पिई ! हाँडिमा भुटेको मकै ,भट्ट र ठेकिमा मोथेको दहिको मोई मेरो खाजाको परिकार । म खाजा खान्छु र कोदालो लिई मकै गोढ्न जान्छु । न यहाँ मलाई कुनै बन्दाबन्दिको प्रभाव छ न त वास्ता नै ।
बारिमा फलेका आलु, काउली, केराउ, साग, बकुल्ला जस्ता ताजा तरकारी खाएका छौ । गाँजर, मुला सलादको रुपमा खान्छौ ।तरकारीको अभाव छैन । भैसिको दुधले दुई गाँस भनेपनि बढी रुच्छ र त काम गर्न सकिएको छ । शरीर फुर्तिलो छ । कुनै आलस्यता महशुस हुदैन । मलाई बन्दाबन्दिको प्रभाव कम छ ।
तिमीलाई बिहान उठ्न साथ बन्दाबन्दिको प्रभाव परेको छ। तिमीले गर्ने गरेको मर्निङवाक छतमा सिमित छ । अहिले बिहान जनतन तरकारी खायौ भने भरे के खाउ छ । बजार पुर्ण रुपले बन्द छन् । घरका सदस्य बाहेक अरु संगको भेटघाट ठप्प छ । घरमा बस्नै पर्ने बाध्यता छ।
अब भन, म तिम्रो शहर देखेर के गरु ?
(सुन्दबजार नगरपालिका धुसेनि लमजुङ।)