सामुदायिक विद्यालयबाटै जिल्ला टप
धनकुटा—१६ वर्षीय हेन्साङ दोर्जी लामा यति बेला धनकुटामा चर्चामा छन् । गत साता प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा जिल्ला प्रथम भएसँगै उनको चर्चा चुलिएको हो ।
धनकुटा नगरपालिका–७ स्थित त्रिवेणी माध्यमिक विद्यालयबाट परीक्षामा सामेल भएका लामाले ३ दशमलव ८७ जीपीए प्राप्त गरेका छन् । त्रिवेणी माध्यमिक विद्यालय जिल्लाको पुरानो सामुदायिक विद्यालयमध्ये एक हो । उक्त विद्यालयमा अध्ययन गर्दै आएका लामाले ७ वटा विषयमा ४ जिपीए प्राप्त गरेका छन् । लामाले आफूले सोचे जस्तै नजिता हात परेको बताए ।
सामुदायिक विद्यालयलाई कम आँक्नेहरूका लागि लामा गतिलो जवाफ भएका छन् । प्रारम्भिक चरणमा निजी विद्यालयमा अध्ययन गरे पनि अभिभावकको सामुदायिक विद्यालयप्रतिको सकारात्मक सोचका कारण उनले त्रिवेणीमा अध्ययन थालेका हुन् । मलाई सामुदायिक विद्यालयमा पढ्न पाउ‘दा निकै खुसी लाग्थ्यो, लामाले भने– सरकारी विद्यालयबाटै जिल्ला टप हुन सकें, यसमा अझ बढि खुसी छु । पढ्न महँगो स्कुल नै चाहिन्छ भन्ने छैन । विद्यार्थी स्वयम्ले मेहनत गर्नुपर्ने उनको तर्क छ । सरकारी विद्यालय नै उत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धामा उत्रिसकेकाले अब सामुदायिक विद्यालय रोज्ने लामाले बताए ।
अध्ययनका क्रममा बाल्यकालदेखि नै लगनशील लामाको एउटा अनौठो बानी थियो । सामान्य समयमा पनि दैनिक ५/६ घण्टा अध्ययन गर्ने लामा परीक्षाको समयमा अध्ययनलाई कम समय छुट्याउँथे । अरू बेला कम्तीमा बिहान ४ बजेदेखि ७ बजे तथा बेलुकी ७ देखि ९ बजेसम्म अध्ययन गर्ने उनले सुनाए, तर जब परीक्षा आउँथ्यो उनी कम्प्युटरमा रोचक सामग्री हेर्थे वा घुमफिर गर्थे । परीक्षाका बेला फ्रेस हुन जरुरी हुन्छ, तसर्थ म पढाईको टेन्सनबाट मुक्त हुन्थे, लामाले भने, ‘यद्यपि सामान्य समयमा स्कुलमा पढाइएको र पढ्न बॉकी पाठ अघिल्लो दिन नै पढेर तयारी अवस्थामा हुन्थें ।’
चुलबुले स्वभावका लामा जब किशोरावस्थामा प्रवेश गरे, तब खोजमुलक विषयवस्तुमा चासो राख्न थाले । उनले कम्प्युटरप्रति चासो बढेपछि प्राविधिक (आईटी) विषय रोजे । भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य रहेको लामाले बताए । सञ्चारकर्मी बुवा सन्तवीर लामाले कम्प्युटर चलाएको देखेर आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।
सामुदायिकबाट ४ जीपीए
मोरङ, बूढीगंगा गाउँपालिका–१, पुष्पलाल चौककी १५ वर्षीय समीक्षा नेपालले २०७४ को एसईईमा अपेक्षाभन्दा राम्रो नतिजा ल्याइन् । समीक्षाले विराटनगरको सामुदायिक स्कुल पोखरिया माध्यमिक विद्यालयबाट ४ जीपीए ल्याएकी हुन् । पहिलो कुरा यो मेहनतको परिणाम हो, एसईईको नतिजा आएपछि काठमाडौं घुम्न गएकी समिक्षाले साप्ताहिकसँगको फोन सम्पर्कमा भनिन्– सुरुदेखि नै ध्यान दिएर पढे एसईईको परीक्षा नजिकिएपछि घोटिएर परिश्रम गर्नै पर्दैन ।
घोटिएर पढ्नुभन्दा पनि शिक्षकले देखाएको बाटोमा हिँडियो भने सफलता पाइने रहेछ, एसईईको परिणामको अनुभव सुनाउँदै उनले भनिन्, ‘घरमा अलिकति मात्र पढ्ने वातावरण बनाए पुग्ने रहेछ ।
शिक्षकको गाइड, साथीभाइको संगत, पारिवारिक वातावरण एवं आफ्नो मेहनत सफलताका कारण हुन् ।’ घरमा धेरै समय पढ्नुभन्दा पनि शिक्षकले पढाएको र भनेको कुरामै ध्यान केन्द्रित गर्न सक्नुपर्छ । समीक्षाले भनिन्– ‘यो मैले ट्युसन नपढी ल्याएको नतिजा हो । राम्रो नतिजा ल्याउन ट्युसन नै पढ्नुपर्छ भन्ने छैन । स्कुलमा पढेको कुरा बुझने र घरमा मेहनत गर्ने हो भने सफलता हात पर्ने रहेछ । स्कुलमा सरले पढाएको ध्यानपूर्वक सुने अनि बुझे मात्र पनि राम्रो नतिजा आउँछ । स्कुलमा पठाएको नबुझे मात्र टियुसन लिनु उपयुक्त हुन्छ । कति समय पढ्नेभन्दा पनि पढेको बुझ्नु महत्वपूर्ण हुँदो रहेछ, —समीक्षाले भनिन् ।
अब साइन्स अध्ययन गरी भविष्यमा हाइड्रोपावर इन्जिनियर बन्ने उनले बताइन् । ‘अब यसमै भविष्य छ,’ समीक्षाले भनिन् । उनका बाबु अर्जुन नेपाल सुनसरीको बर्जु गाउँपालिकाका सचिव तथा आमा सविता गृहणी हुन् । नेपाल परिवारका ५ छोरीमध्ये समीक्षा कान्छी हुन् । उनका अरू चार दिदीले ब्याचलर पूरा गरिसकेका छन् । आमा सविताले भनिन्– समीक्षा घरमा कसैले कर नगरी आफैं पढ्न बस्थिन् । विद्यालय समय बाहेक घरमा हरेक दिन बिहान दुई घण्टा तथा बेलुका दुई घण्टा गरी दैनिक चार घण्टा पढ्थिन् ।
समीक्षाले एसईईमा ४ जीपीए आउने कल्पना गरेकै थिइनन् । उनले भनिन्– ए प्लस चाहिँ पक्कै आउँछ भन्ने लागेको थियो, तर जीपीए ४ मा ४ नै आउँछ भन्ने सोचेको पनि थिइएन । विद्यालयका प्राचार्य खेमराज भट्टराईले समीक्षा सबै विषयमा अब्बल रहेको बताए । उनी कक्षामा आफना सहपाठीहरूलाई पनि सिकाउँथिन् । भट्टराई भन्छन्, ‘समीक्षाकै कारण यो विद्यालयले आफनो इतिहासमै पहिलो पटक उत्कृष्ट नतिजा ल्यायो ।
डाक्टर बन्छु
पोखरा माटेपानीस्थित शीतलादेवी सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सामेल अर्चना सापकोटा एसईई परीक्षामा कास्की जिल्लाका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी हुन्् । कक्षा ७ देखि शीतलादेवी सामुदायिक विद्यालयमा अध्ययन गर्न थालेकी अर्चना स्कुल पढ्दा कहिले प्रथम त कहिले द्वितीय हुन्थिन् । निरन्तरको प्रयासका कारण आफूले ४ जीपीए ल्याउन सकेको अर्चनाले बताइन् । अब उनको लक्ष्य साइन्स पढेर डाक्टर बन्ने छ । सानै कक्षादेखि राम्रोसँग अध्ययन गर्न सके सफल भइने उनको अनुभव छ । एसईई नदिँदासम्म उनले फेसबुक एकाउन्ट खोलेकी थिइनन् भने मोबाइल पनि चलाउँदिनथिन् । टिभीमा चलचित्र तथा समाचार हेर्दै आफूलाई रिफ्रेस गर्ने गरेको उनले बताइन् । १७ वर्षीया सापकोटा निरन्तरको मेहनतले सुखद नतिजा प्राप्त भए पनि चुनौती भने थपिएको बताउँछिन् ।
मेहनतले सफलता
अनमोल चालिसे, बुटवल
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को एभेनेजर एन्ड न्यू भिजन माविका छात्र अनमोल चालिसे एसईईमा जीपीए ४ ल्याउन सफल भए । तामनगरमै घर भएका अनमोलकी आमा सोही विद्यालयकी शिक्षिका हुन् भने बुबा कलेजका लेक्चरर । विद्यालयका प्राचार्य केशव श्रीषमगर भन्छन्–‘अनमोलको सफलताको मुख्य कारण उनको आफ्नै मेहनत तथा लगनशीलता हो, त्यसपछि मात्र विद्यालय र घरको भूमिका छ ।’ उनी नियमित रूपमा राति ११ बजेसम्म अनि बिहान ५ बजेदेखि ८ बजेसम्म पढ्थे । साँझ होमवर्क गर्ने र बिहान ५ बजे उठेर पढ्ने आफ्नो नियमित रुटिन भएको अनमोलले बताए । होमवर्क सकेपछि राति म्याथको प्राक्टिस गर्ने अनमोलको बानी थियो । पढाइका लागि आवश्यक सामग्रीको कुनै कमी हुन नदिइएको र घरमा उपयुक्त शैक्षिक वातावरण भएकाले पनि अपेक्षा अनुरूपको नतिजा आएको अनमोलकी आमा अमृता चालिसेले बताइन् । जीपीए ४ ल्याउने अरूजस्तै अनमोलले पनि कक्षा ११ र १२ मा साइन्स विषय नै पढ्ने निधो गरेका छन् । ‘प्लस टुमा साइन्स पढ्छु, त्यसपछि डाक्टर वा इन्जिनियरमध्ये कुनै एउटा लाइनमा जान्छु– चालिसेले भने ।’
ट्युसन र कोचिङ पढ्नु परेन
मनीषा थापा, बुटवल
बुटवलको न्यू होराइजन बोर्डिङकी छात्रा मनीषा थापाले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जीपीए ४ ल्याइन् । उक्त विद्यालयबाट ३ सय २० जनाले परीक्षा दिएका थिए जसमध्ये अन्य ३ जनाले समेत जीपीए ४ ल्याउँदा उनका लागि उक्त नतिजा अप्रत्याशित थिएन । मनीषा कक्षा ७ देखि सेक्सन प्रथम हुँदै आएकी थिइन् । आमा गंगालक्ष्मी थापा स्नातक तह उत्तीर्ण गृहिणी हुन् भने बुबा भारतीय सेनाका जागिरे हुन् । लाखौं विद्यार्थीमा थोरै विद्यार्थीले मात्र ल्याउन सक्ने जीपीए ४ आउनुमा आफ्नी आमा तथा विद्यालयका शिक्षकहरूको बराबर भूमिका रहेको मनीषा बताउँछिन् । आफूले नजानेको सबै कुरा मम्मीले सिकाउने भएकाले आफूले एसईईको तयारीका लागि स्कुलमा ट्युसन र कोचिङ पढ्नु नपरेको मनीषाको तर्क छ । पढाइका बेला कक्षा कहिल्यै नछुटाउने, स्कुलबाट घर पुगेपछि नास्ता खाने र त्यसपछि होमवर्क गर्ने मनीषाको बानी थियो । कक्षा १० मा एक दिन पनि गैर–हाजिर नभएको उनले बताइन् । ‘होमवर्कमा पर्याप्त समय दिन्थें, होमवर्क नसकी सुत्दिनथें,’ थापाले भनिन्– पढ्ने काम बिहान गर्थें ।’ मनीषाको दैनिकी बिहान ५ बजे उठेर ९ बजेसम्म पढ्ने अनि ९.३० मा स्कुल जाने थियो । कक्षा ११ मा विज्ञान पढ्ने निधो गरेकी मनीषा भविष्यमा के बन्ने भन्ने निर्णय तत्काल गर्न सक्ने अवस्थामा पुगिनसकेको बताउँछिन् ।
- टोपराज शर्मा
वकिल बन्न मन छ
झरना पौडेल, पोखरा
पोखरा मासवारस्थित मदरल्यान्ड स्कुलबाट एसईईमा ४ जीपीए ल्याउन सफल छात्रा हुन्— झरना पौडेल । पोखरा–८ सिमलचौरमा जन्मिएकी झरना हाल पोखरा–५ मा बस्छिन् । कक्षा ११ र १२ मा विज्ञान अध्ययन गर्ने उनको योजना छ । पछि कानुन पढेर कानुनी क्षेत्रमा करियर बनाउने लक्ष्य लिएकी झरना बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म अध्ययनमा व्यस्त हुन्थिन् । कक्षा ९ मा पढ्दा उनी हात–खुट्टामा समस्या भएर दूई महिना बिरामी परिन् । त्यतिबेला पढाइ केही खस्किए पनि पछि उनी त्यसलाई म्यानेज गर्न सफल भइन् । डिजाइन, डिभोर्सन र डिटरमिनिसनले नै विद्यार्थीलाई सफलता दिलाउने झरनाको बुझाइ छ । जति पढिन्छ राम्रोसँग बुझेर मात्र पढ्नुपर्ने उनको सल्लाह छ । शिक्षकका कुरा सुन्दै, त्यसलाई नोटमा उतार्दै रिभिजन गर्दा पढेको कुरा बुझ्न सहज हुने झरनाले बताइन् । १६ वर्षीया झरना एसईईमा धेरै विद्यार्थीको ४ जीपीए आएकाले प्रतिस्पर्धा बढेको बताउँछिन् ।
मेडिकल लाइनमा काम गर्छु
अञ्जली पुरी, पर्वत
पर्वत जिल्लाको कुस्मा बजारस्थित कालीगण्डकी बोर्डिङ स्कुलबाट एसईई परीक्षा दिएकी अञ्जली पुरी ४ जीपीए ल्याउँदै एसईई उत्तीर्ण भएकी छिन् । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर–६ गिज्यानकी अञ्जली हाल परिवारसहित कुस्मा नगरपालिका वडा नम्बर–७ मा बस्छिन् । अब साइन्स पढेर भविष्यमा मेडिकल लाइनमा काम गर्ने आफ्नो योजना भएको अञ्जली बताउँछिन् । उनका बुबा देवेन्द्र पुरी शारीरिक रूपमा अंपाग छन् । कान सुन्न नसक्ने र बोल्न नसक्ने पुरी हल्का काम मात्र गर्न सक्छन् । उनकी आमा तुलसी पुरीले सांकेतिक विद्यालयमा सहयोगीका रूपमा कार्यरत छिन् । आर्थिक अवस्थाका कारण शुल्क तिरेर अध्ययन गर्न समस्या भएकी अञ्जलीलाई कक्षा ५ देखि नै एन्सर ९बलकधभच० नेपाल नामक संस्थाले सघाउँदै छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था मिलाइदिएको थियो । पारिवारिक पृष्ठभूमिका कारण उनले पढाइसँगै घरको काममा पनि सघाउनुपर्ने हुन्थ्यो । कक्षा ११ र १२ काठमाडौंमा गएर अध्ययन गर्ने योजना उनको छ । नतिजा राम्रो ल्याउन प्रशस्तै मेहनत गर्नुपर्ने अञ्जली बताउँछिन् । राम्रो अक्षर र राम्रो ले–आउटले नम्बर बढी ल्याउन मद्दत पुर्याउने अञ्जलीको बुझाइ छ । पढाईमा एकचित्त भएर नोट गर्दै अध्ययन गर्नुपर्ने उनको सुझाव छ । अञ्जलीसँगै कालीगण्डकी एकेडेमीबाटै एसईई दिएका अनिष बस्नेतले पनि ४ जीपीए ल्याएका छन् ।