
कुन विषय पढ्दा के फाइदा हुन्छ भन्ने सन्दर्भमा धेरै विद्यार्थी अन्यौलमा हुन्छन् । एसईई परीक्षाको नतिजा प्रकाशित भए पछि अब विद्यार्थीहरूलाई कुन संकाय अध्ययन गर्ने भन्ने चासो हुन्छ । अहिले कक्षा ११ र १२ मा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज आदि संकाय छुट्याएर एउटामा अध्ययन गर्ने वातावरण भएकाले केही सहज छ ।
यही कुरालाई मनन गरी शिक्षाविद् एवं शैक्षिक क्षेत्रमा त्रियाशील व्यवसायीहरूले विभिन्न प्रकारको सुझाव दिदै आएका छन् । नोबेल एकेडेमीका संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठ हाल विद्यार्थीहरूका लागि मल्टी च्वाइसको अवस्था भएको बताउँछन् । त्यसैगरी भविष्यमा कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्ने गरी अघि बढ्न सक्ने अवस्था छ । ‘अहिले नै भविष्यको कार्यक्षेत्र निर्धारण नगरेको र धेरैतिर जान सकिने सम्भावना भएकाहरूले साइन्स अध्ययन गर्नु उपयुक्त हुन्छ’ श्रेष्ठ भन्छन् । प्लस टुमा साइन्स पढे पछि भविष्यमा ब्याचलर लेभलमा धेरै विषय छनौट गर्न सकिने सम्भावना हुन्छ । यो कुरालाई उच्च माध्यमिक विद्यालय संघ (हिसान) का महासचिव तथा जेभियर इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी लोकबहादुर भण्डारी पनि स्वीकार्छन् । भण्डारी भन्छन्, ‘साइन्स पढे पनि ब्याचलरमा म्यानेजमेन्ट पढ्न सकिन्छ तर म्यानेजमेन्टबाट साइन्समा जान सकिँदैन । त्यसैले शिक्षाको आधार अर्थात फाउन्डेसन निर्माण गर्ने तह भएकाले प्लस टुलाई भविष्यको आधार मान्न सकिन्छ । त्यही आधार निर्माणलाई मध्यनजर गर्दैर् विषय छनौट गर्न सकिन्छ ।’
कान्जिरोवा उच्च माविका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मी ब्याचलर लेभलमा हाल लोकप्रिय रहेका बीसीए, बीएस्सी सीएसआईटी, बीबीएम, बीबीए बीआई आदि विषयको आधारका लागि प्लस टुमा विषय छनौट गर्न सकिने बताउँछन् । हाल विदेशमा विशेषज्ञता अर्थात स्पेसलाइजेसन मात्र नभएर सुपर स्पेसलाइजेसनका लागि समेत अध्ययन गर्ने चलन बढिरहेको छ । अहिले साइन्स र म्यानेजेमन्ट अनि ह्युमानिटिज मिसिएका विषय समेत अध्ययन गरिन्छ । जस्तो कि बीएस्सी इन एकाउन्टिङ, बीएस्सी इन म्यानेजमेन्ट, स्टिम एजुकेसन, रोबोटिक्स आदि । त्यसैले कुनै विद्यार्थी अलि स्मार्ट छ र भविष्यमा अलि बढी क्षेत्रमा आफ्नो क्षमता देखाउने विचारमा छ भने साइन्स नै उपयुक्त हुने रेग्मीको तर्क छ ।
जागिर खाने वा आफ्नै व्यवसाय गर्नेहरूका लागि म्यानेजमेन्ट उपयुक्त हुनसक्छ । कुनै समयमा निकै लोकप्रिय ह्युमानिटिजको स्कोप अहिले नाटकीय रूपमा घटेको छ । यद्यपि ह्युमानिटिजमा पनि प्रशस्तै सम्भावना छन् । इकोनोमिक्स, अंग्रेजी वा नेपाली भाषा, पत्रकारिता आदि हाल पनि राम्रा विषय मानिन्छन् । राम्रोसँग अध्ययन गरेर अघि बढ्ने हो भने जुनसुकै विषय पढ्दा फरक पर्दैन । सबै विषयका आ–आफ्नै सम्भावना हुन्छन् ।
अहिले धेरैको रोजाइ कानुन पनि हो । ‘इग्नोरेन्स अफ ल इज नट एक्सक्युज्ड’ अर्थात कानुनको उल्लंघनलाई माफी दिन सकिदैन भन्ने भनाइ भएकाले धेरैले कानुन जान्नु आवश्यक छ । यही कारण धेरै सरकारी वा अन्य निकायले कानुनी सल्लाहकार समेत राख्न थालेका छन् । अहिले कानुन अध्ययन–अध्यापन गराउने शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूको भीड नै देखिन्छ ।
एसईई परीक्षाको नतिजा प्रकाशनपछि सबै उत्तीर्ण विद्यार्थीको ध्यान उच्च शिक्षामा केन्द्रित हुन्छ । उनीहरू एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा हुन्छन् । विद्यार्थीले पढ्नुपर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठिन अवस्था पार गर्नुपर्ने अवस्था समेत छ । यो समय उनीहरूका लागि अन्यौलको समय हो । कतिपय विद्यार्थीले कुन विषय कुन कलेजमा पढ्ने भन्ने कुरा निश्चित गरिसकेका छन् भने कतिपय विद्यार्थीका लागि यो काम अझै बाँकी नै छ ।
स्कुल र कलेजवीचको सँघारको यो अवस्थामा उनिहरूमा एक प्रकारको उत्साह पनि छ ।
यस्ता उत्साह र उमंगले भरिएका विद्यार्थीहरू अहिले विभिन्न कलेज परिसरमा प्रसस्तै भेटिन्छन् । उनीहरूमा विषय र कलेज छनौटमा केही कमजोरी रहला कि भन्ने डर पनि छ । यो नाम गरेको कलेजमा पढ्न पाए हुन्थ्यो भन्ने रहर विद्यार्थी तथा अभिभावकमा बढ्दै गएको छ । यसमा विज्ञापनको प्रभाव पनि हुन सक्छ । कलेजले पनि विद्यार्थीको रुचिमा प्रभाव पारेको छ । कुनै पनि विषय भविष्यका लागि कति महत्त्वपूर्ण छ भन्ने कुराले विषय छनौटमा सबैभन्दा बढी प्रभाव पार्छ ।
‘परिणाम जस्तो आए पनि विद्यार्थीले आफ्नो रुचिको विषय र त्यसको स्कोपका बारेमा पहिल्यै बुझ्न सक्छन् ।’ शिक्षाविद्हरू भन्छन्– ‘उनीहरूले आफ्नो लक्ष्य पहिचान गरेको खण्डमा सुरुदेखि नै औपचारिक अध्ययन पनि त्यही विषयमा गर्ने निर्णय लिन सक्छन् ।’ उनीहरूका अनुसार विकासोन्मुख मुलुकमा मात्र होइन, विकसित मुलुकमा पनि धेरै विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्न नसक्दा पछि पढेको विषयमा काम नगरी रुचिको क्षेत्रमा काम गरिरहेका उदाहरण प्रशस्तै छन् ।
रोजाइका विषयका नाममा समाजमा अत्यावश्यक कतिपय विषय ओझेल पर्दै गएको धेरैले अनुभव गरेका छन् । यसले गर्दा भविष्यमा कतिपय प्रभावकारी विषय बढ्ने क्रम घट्दै जाने हो कि भन्ने चिन्ता समेत छ । शिक्षाविद्हरू इतिहास, भूगोल, मनोविज्ञान जस्ता समाजका लागि आवश्यक विषयको चर्चा हराउँदै गएकोमा चिन्तित समेत छन् । यद्यपि जीवनलाई सहज रुपमा अघि बढाउन एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्ट जस्ता विषयको आवश्यकता छ । समाज विकासका क्रममा सान्दर्भिक विषय अध्ययन गर्नुपर्ने आवश्यकता पनि छ । यद्यपि त्यति मात्र पनि पर्याप्त हुदैन । हेर्दा सामान्य लाग्ने, तर समाज र देशका लागि सान्दर्भिक अन्य विषयतिर समेत सबैको ध्यान जानुपर्ने उनीहरूको तर्क छ ।
एसईईसम्मको अध्ययनमा लगभग सबै विद्यार्थीले एकै प्रकारको पाठ्यक्रम अध्ययन गरे पनि एसएलसीपछि रोजाइको संकाय अध्ययन गर्न पाउँछन् । यतिबेलामा विद्यार्थीले जुन संकाय रोज्छन्, उनीहरूको करियर पनि लगभग त्यही क्षेत्रसँग जोडिन्छ । एसईई उत्तीर्ण भएपछि विज्ञान संकाय रोज्ने विद्यार्थीले प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गरेपछि अन्य संकायमा गएर अध्ययन गर्ने अवसर पाए पनि व्यवस्थापन, मानविकी र शिक्षा संकाय अध्ययन गर्नेले विज्ञान संकायमा जान पाउँदैनन् । त्यस्तै व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीले स्नातक तहमा मानविकी संकायमा जान पाए पनि मानविकी संकायको विद्यार्थीले व्यवस्थापनमा जान गाह्रो हुन्छ । यो दृष्टान्तबाट पनि विद्यार्थीले कुन विषय रोज्ने भन्ने निर्णय अहिले नै गर्नुपर्ने देखिन्छ ।