साप्ताहिक संवाददाता
निकिता आचार्य, सिइओ, अर्वान गर्ल एन्ड युजी केक्स
अनलाईन व्यापार गर्ने सोच कसरी आयो ?
२०१२ को कुरा हो । म स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिएँ । त्यसभन्दा अघि म अन्तर्राष्ट्रिय वेबसाइटहरू हेरिरहन्थें, जसमा हुने इ–कमर्सले मेरो ध्यान तानिरहेको थियो । त्यसपछि मैले वेबसाइटबाटै यसका आइडियाहरू सिकें । त्यसपछि नेपालमा पनि यस्ता इ–कमर्स छन् कि भनेर सर्च गरें तर खासै फेला परेनन् । त्यसपछि आफैंले सुरु गर्ने सोंच बनाएँ र साथी किरण तिम्सिनासँगको सहकार्यमा अर्वान गर्ल स्थापना भयो ।
सुरुमा कति लगानीबाट गर्नुभयो ?
हामीले १० हजार रुपैयाँबाट सुरु गरेका थियौं ।
सुरुवाती स्टाफ कति थिए ?
हामी दुई जना मात्र । डेढ वर्षसम्म हामी दुइ जनाले मात्र काम गर्यौं ।
हाल कति स्टाफ छन् ?
अहिले ५० जना हुनुहुन्छ ।
अर्वान गर्लबाट युजी केक्सको व्यापार गर्ने सोंच कसरी आयो ?
हामीले युजी केक्स २०१४ देखि सुरु गरेका हौं । सुरुमा अन्य बेकरीबाट केक लिएर ग्राहकको माग पूर्ति गर्थ्यौं । हामीले अर्वान गर्लमार्फत महिलाहरूका लागि आवश्यक पर्ने विभिन्न एसेसरिज तथा गिफ्ट आइटमहरूको अनलाइन व्यापार गर्दैर् आएका थियौं । केक पनि एउटा अवसरका लागि गिफ्ट आइटम नै हो । सन् २०१६ देखि भने हामी आफैंले केक बनाउन थाल्यौं ।
अर्वान गर्ल र युजी केकर्सका शाखा कहाँ–कहाँ छन् ?
काठमाडौं र पोखरामा ।
तपाईंले बिजनेसबाट सिकेको कुरा ?
पहिलो कुरा त लगनशीलता नै हो । अहिले हाम्रो कम्पनी जुन गतिमा अघि बढेको छ यो हाम्रो सात वर्षको हरेक दिनको मेहनतकै कारण हो । धेरैजसो मानिस आजको भोलि प्रतिफल खोज्छन् । यद्यपि मेरो सातवर्षे अनुभवले आजको भोलि नै प्रतिफल खोजेर केही पाइँदैन भन्ने कुरा सिकाएको छ । त्यसैले बिजनेसमा सफल हुन मिसन र भिजन बुझेर अघि बढ्नुपर्छ ।
अहिले तपाईंको आम्दानी कति छ ?
अहिले जति आम्दानी हुन्छ त्यति नै लगानी पनि भैरहेको छ । त्यसैले यति नै आम्दानी भयो भन्न सकिँदैन ।
बिजनेसमा चुनौतीहरू पनि त हुन्छन् नि ?
चुनौती त धेरै छन् । पहिलो कुरा त व्यवसाय सुरु गर्नै चुनौती छ । त्यसपछि प्रतिस्पर्धात्मक बजार, दक्ष जनशक्तिको अभाव, जनशक्ति टिकाउन समस्या, लगानीकर्ताको अभावजस्ता अनेकन् चुनौती छन् ।
नेपालमा सम्भावना नदेखेर बिदेसिने युवावर्गलाई के सुझाव दिनुहुन्छ ?
सरकारले पनि नेपालमै बसेर रोजगारीको सिर्जना गर्न खोज्ने युवाहरूका लागि उपयुक्त वातावरण बनाउन सकिरहेको छैन । त्यसैले पनि धेरैजसो युवायुवती बिदेसिन बाध्य छन् । नेपालमा धेरै सम्भावना छ, त्यसैले विदेश जाने मानसिकता बनाउनुभन्दा पहिले नेपालमा आफूले गर्न सक्ने कुरा के–कति छन् बुझेर विदेश भन्दा नेपालमै केही गर्नुस् भन्ने सुझाव दिन्छु ।