भाषामा दख्खल, स्वास्थ्य र खानपानको हेरविचार, कोरियाली कानुनको सामान्य जानकारी बाहेक ‘हार्ड मसल’ भएका शारीरिक रूपका मजबुत नेपालीहरूले मात्र कोरियाका लागि तयारी गर्नुपर्ने उनीहरूको सुझाव छ ।
नेपाली युवाहरूको सपनाको देश मानिन्छ— दक्षिण कोरिया । खाडी मुलुकहरूको तुलनामा सुविधा सम्पन्न र राम्रो आम्दानी हुने कोरिया जानका लागि भाषा परीक्षा (ईपीएस) मा सहभागी हुने युवाहरूको संख्या बर्सेनि १ लाखको हाराहारीमा पुग्छ । भाषा परीक्षामा यो वर्ष करिब ९२ हजार सामेल हुँदैछन् भने सन् २०१८ मा ८२ हजार २ सय ६४ जना सहभागी थिए ।
सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लाने सम्झौताअनुसार हाल कोरियामा ४० हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन् । यो वर्ष कोरिया सरकारले कामदारको तलब १६ दशमलव ४ प्रतिशतले वृद्धि गरेसँगै त्यहाँ नेपाली कामदारको आकर्षण थप बढेको छ । वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार सन् २०१८ को भाषा परीक्षाबाट ७ हजार ९ सय ९८ जना छानिएका थिए ।
सुरक्षित गन्तव्य, कामको सुनिश्चितता, कामदार एवं रोजगारदाताबीच हुने कार्यसम्झौताअनुरूप वैधानिकता र अधिकार स्थापित हुने भएकाले नेपालीहरू कोरिया जान हत्ते हाल्ने गरेका छन् । त्यसबाहेक काम गर्ने अवधिको निश्चितता ४ वर्ष १० महिना, पुन: कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको प्रभाव नहुने भएका कारण कोरिया जान इच्छुक नेपालीको संख्या बढ्दै गएको ईपीएस शाखाले जनाएको छ ।
यद्यपि, उत्साहका साथ कोरिया उड्ने तयारीमा रहेका नेपालीहरूले धेरै कुरामा ख्याल गर्नुपर्ने कोरियामै कार्यरत नेपालीहरूले सुझाव दिने गरेका छन् । भाषामा दख्खल, स्वास्थ्य र खानपानको हेरविचार, कोरियाली कानुनको सामान्य जानकारी बाहेक ‘हार्ड मसल’ भएका शारीरिक रूपका मजबुत नेपालीहरूले मात्र कोरियाका लागि तयारी गर्नुपर्ने उनीहरूको सुझाव छ । किनभने कोरिया सरकारले नेपालीहरूलाई कृषि तथा पशुपालनका साथै माछा मार्ने काममा मात्र लगाउने गरेको छ । त्यहाँ नेपालीहरूको शैक्षिक योग्यता एवं प्राविधिक ज्ञान अनुरुप काम पाउन कठिन छ ।
व्यवसायमा सफल छन् नेपाली
कोरियामा काम गरेर भन्दा पनि व्यवसाय गरेर धेरै नेपालीले सफलता पनि हात पारिरहेका छन् । रेस्टुराँ, मार्ट, कृषि, उद्योग आदि क्षेत्रमा लगानी गरेर सफल हुने नेपालीहरूको संख्या बढ्दो छ । पर्वतका रुद्र शर्मा, पोखराका मदन केसी, झापाका केपी शिवाकोटी र भीम गुरुङ, बाग्लुङका विनोद कुँवर, मोरङका जीवन थापा, चितवनका राजेशबाबु श्रेष्ठ कोरियामा कहलिएका नेपाली व्यवसायी हुन् । उनीहरूले होटल, रेस्टुरेन्ट, कृषि, पर्यटन आदि क्षेत्रमा लगानी गरेर सयौं नेपालीलाई रोजगारी दिलाइरहेका छन् । सोलमा कार्यरत मोरङका नवराज शिवाकोटी भन्छन्, ‘यहाँका नेपालीहरूले धेरैजसो रेस्टुराँ तथा मार्टमा लगानी गरेका छन् र सफल पनि भएका छन् ।’
थ्रिडीको समस्या
डर्टी, डेन्जसर र डिफिक्ल्टी (थ्रिडी)का कारण कोरिया पुगेका धेरै नेपाली डिप्रेसनको सिकार भएको अध्ययनले देखाएको छ । आत्महत्या गर्ने र कामको चाप तथा कडा परिश्रमका कारण स्वास्थ्य अवस्था बिग्रिएर धेरै नेपालीको मृत्युसमेत हुने गरेको छ । इपीएस कोरिया शाखाको तथ्यांकअनुसार सन् २००७ यता मृत्यु हुने नेपालीको संख्या १ सय ४० नाघिसकेको छ । त्यसमा आत्महत्या गर्नेहरूको संख्या डरलाग्दो छ । म्यानपावर व्यवसायी उदय तामाङका अनुसार औद्योगिक दुर्घटना, सुतेकै ठाउँमा मृत्यु हुने र आत्महत्याका समस्यामा धेरै नेपाली पर्ने गरेका छन् । व्यवसायी तामाङ भन्छन्, ‘एसईई पास गरेका देखि एमए गरेकासम्म युवा कोरिया पुगेका छन् तर सबैले गर्ने काम भनेको एउटै स्तरको हो अनि सबैका समस्या पनि उस्तै छन् ।’
काम र कमाइ
सम्झौताअनुसार कोरिया जाने नेपालीले पाँचवटा क्षेत्रमा काम गर्न पाउँछन् । कृषि, उत्पादनमूलक क्षेत्र, निर्माण, मत्स्यपालन तथा कृषि उत्पादन क्षेत्रमा नेपालीहरूले रोजगारी प्राप्त गर्न सक्छन् । इपीएसमा आवेदन दिनेहरू उत्पादनमूलक र कृषि क्षेत्रमा धेरै हुने गरेका छन् । यो वर्ष पनि आवेदन भर्नेमध्ये ६३ हजार ३ सय ७० जनाले उत्पादनमूलक क्षेत्रमा र २८ हजार ८ सय ३४ जनाले कृषि तथा पशुपालन क्षेत्रमा जान चाहेका छन् । जसमध्ये कृषि र माछा मार्ने काममा नेपालीहरूलाई समस्या हुन्छ । कृषिमा दिनरात खटिनुपर्छ भने माछा मार्न ठूलो जोखिम मोल्नुपर्छ । हप्तौं हप्तासम्म जहाजमा बसेर समुद्रमा माछा मार्नुपर्दा नेपाली कामदारहरू तनावग्रस्त हुन पुग्छन् । अन्य क्षेत्रमा पनि कामदारलाई उस्तै जोखिम र सकस छ ।
नेपालीहरू मेहनती र इमान्दार मानिए पनि कोरियाली मालिकहरूले कामको जिम्मेवारीअनुसार दिने सेवा सुविधा भने एउटै स्तरको हुन्छ । सन २०१७ पछि कोरियामा कार्यरत कामदारले मासिक न्यूनतम १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्छन् । त्यसबाहेक ओभरटाइमबाट सरदर कमाइ २ लाख रुपैयाँको हाराहारीमा पुग्छ । कोरिया सरकारले बर्सेनि तलब वृद्धि गर्ने र कोटा बढाउने गरेकाले पनि नेपाली युवाहरूमा कोरिया क्रेज बढिरहेको छ ।
यद्यपि, इपीएस र अन्य खर्चमार्फत नेपालबाट ठूलो रकम कोरिया गैरहेको तथ्यांक पनि बाहिर आएको छ । इपीएस शाखाले कोरियाको मानव संसाधन विभागको परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी २४ डलर शुल्क लिन्छ । भाषा परीक्षामा सहभागी हुन हालसम्म ५ लाख ८९ हजार ६ सय ३८ युवाले कोरियालाई करिब १ अर्ब २६ करोड ५० लाख रुपैयाँ बुझाइसकेका छन् ।
कोरियनहरू कामलाई नै भगवान मान्छन्
रमेशकाजी लाप्चा, बोसान, कोरिया
म विगत नौ वर्षदेखि कोरियाको बुसानमा खाना बनाउने कम्पनी (ओदेँङ) मा कार्यरत छु । इलामबाट कोरिया आएपछि सुरुका केही वर्ष अत्यन्तै कठिनाइका साथ बित्यो । भाषा र जीवनशैलीमा घुलमिल हुन धेरै नै मेहनत गर्नुपर्यो । कोरिया भनेको स्वर्ग हो, यहाँ सबै कुरा ठीक छ भन्नु गलत हो । यहाँका कतिपय कम्पनी समयमै तलब नदिने, काममा धेरै खटाउने, अपमान र गाली गर्ने खालका छन् । यस्ता कुराले धेरै नेपालीलाई निराश बनाउने गरेको छ र उनीहरू विरक्तिने पनि गरेका छन् ।
कमाइका हिसाबले कोरिया नराम्रो होइन । कम्पनीमा काम गरेर १ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म कमाउने नेपालीहरू यहाँ प्रशस्तै छन्, तर हातमा सीप हुनपर्छ भने मेहनत गर्न पनि सक्नुपर्छ । काममा दक्षहरूलाई साहूले माया मात्र गर्दैनन्, आकर्षक सुविधा पनि प्रदान गर्छन् । कोरियनहरू कामलाई नै भगवान मान्छन् । त्यसैले यहाँ मानिसभन्दा प्यारो काम नै मानिन्छ । यहाँ अत्यधिक कामको चापले धेरै नेपालीको स्वास्थ्यमा समस्या देखिनुका साथै डिप्रेसनको सिकारसमेत भएको पाइन्छ ।
मेहनत र इमान्दारिताले चलेको देश
नवराज शिवाकोटी, सोल, कोरिया
मोरङबाट कोरियाको सोल पुगेर मैले यहाँ करिब १४ वर्ष बिताइसकेको छु । यहाँका नेपालीहरू अत्यन्तै कठोर परिश्रम गरेर आम्दानी गरिरहेका छन् । कोरियाको झिलीमिली देखेर मनग्य कमाउन आउनुअघि धेरै कुरामा ध्यान पुर्याउनुपर्ने रहेछ । यहाँ आइसकेपछि मात्र सबै कुराको अनुभव भयो । किनभने यहाँ जाडोमा अति जाडो गर्मीमा अत्यधिक गर्मी हुने भएकाले काममा खटिन धेरै समस्या हुन्छ । मेसिनझैं खटिएर नेपालीले मासिक सरदर १ लाख ६० हजारदेखि ३ लाख रुपैयाँसम्म कमाउँछन् । खाना महँगो हुने भएकाले बचत गर्न निकै गार्हो छ ।
यतिबेला यहाँका अधिकांश कम्पनीले ओभरटाइममा व्यापक कटौती गरेकाले नेपालीहरूलाई समस्या परिरहेको छ । कोरिया मेहनत र इमान्दारिताले चलेको देश भएकाले अनावश्यक सपना देख्नु बेकार छ । किनभने यहाँ जति खट्न सक्यो उति नै कमाउन सकिन्छ । इपीएस पास गरेर आएका नेपालीहरूलाई सुरुमा खानपान, जीवनशैली एवं भाषामा घुलमिल हुन समय लाग्छ । कृषिको तुलनामा उद्योगमा राम्रो आम्दानी भए पनि धेरै समय व्यस्त हुने भएकाले घरपरिवार, आफन्त एवं साथीभाइसँग रमाउन भने समय निकाल्न मुस्किल हुन्छ ।
मानसिक एवं शारीरिक रूपमा बलियो हुनुपर्छ
अर्जुन अधिकारी, सोल, कोरिया
म इपीएस परीक्षा पास गरी नवलपुरको कावासोतीबाट कोरियाको सोल आएको दुई वर्ष भयो । मेहनतअनुसार कमाइ गर्न सकिँदो रहेछ, तर विदेशीलाई हेप्ने र अपमान गर्ने परिपाटीले केही खल्लो महसुस गराउँछ । यहाँ काम सुरु गरेपछि दैनिकी नै अस्तव्यस्त हुन्छ । दिनभरि काम गरेर थकित भइन्छ । आराम गर्ने समय नै हुँदैन । नेपालबाट कोरिया आउनुअघि मानसिक एवं शारीरिक रुपमा बलियो भएर मात्र आउँदा राम्रो हुन्छ । किनभने यहाँ आइसकेपछि अत्यन्तै ब्यस्त मात्र भइँदैन, शारीरिक एवं मानसिक दुवै रूपमा थकित भइन्छ । घरपरिवार र आफन्तको चिन्ताले सताउने हुँदा बेलामौका त डिप्रेसन नै होला जस्तो हुन्छ ।