साप्ताहिक संवाददाता
असीममानसिंह बस्नेत, क्षेत्रीय निर्देशक, पठाओ
पठाओ अमेरिकी कम्पनी हो । पठाओमा धेरै अमेरिकी र थोरै बंगलादेशीको लगानी छ । पठाओ नेपालमा प्रवेश गरेको डेढ वर्ष भयो । हामी आएपछि बजार एकदमै विस्तार भएको छ । मानिसहरूले बिस्तारै हाम्रो सेवाबारे बुझ्दै हुनुहुन्छ । हामीसँग जोडिँदै हुनुहुन्छ । पहिला मोटरसाइकल किन्नेहरू सोखिन र जागिरे हुन्थे । अब जागिरेले मोटरसाइकल नकिने पनि दुईपाङ्ग्रे सवारी एपमार्फ समयमै कार्यालय पुग्न र फर्कन सक्ने अवस्था सिर्जना भएको छ ।
यसको प्रभाव पाँच वर्षपछि देखिन्छ । बेरोजगारहरूका लागि पनि हातमा लाइसेन्स र साथमा मोटरसाइकल हुँदा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । काठमाडौंको मुख्य चुनौती भनेको सवारी चाप हो । अबको १० वर्षमा हाम्रो कारण त्यो चाप पूर्ण रूपमा न्यून हुने सम्भावना छ । गाडी किनेर वर्षमा ५० हजार कर तिर्ने पैसाले त उसले वर्षभरी सहज रूपमा यात्रा गर्न पाउँछ ।
दुई–तीन महिनाअघिसम्म २०४९ सालमा बनेको यातायात व्यवस्था ऐनको आधारमा दुईपाङ्ग्रे सवारी एपमार्फत सेवा दिइरहेका हाम्रा केही साथीहरूलाई प्रहरीले दु:ख दिएको समाचार आएका थिए । तर, २७ वर्षअघि देशमा राजतन्त्र भएको समयमा बनेको ऐन प्रजातान्त्रिक प्रणालीमा प्रवेश गरिसकेको अवस्थामा कसरी प्रभावकारी हुन सक्छ ? यतातर्फ पनि हामीले ध्यान दिनुपर्छ ।
संविधानको धारमा उल्लेख गरिएका नागरिकका आधारभूत आवश्यकता र स्वतन्त्रताका कुरामा पनि ध्यान दिनुपर्छ । अहिले सरकारले यो कुरा बुझिसकेको छ । दुईपाङ्ग्रे सवारीको सम्बन्धमा नयाँ ऐन बनाएर त्यसलाई सम्बोधन गर्ने तयारी सरकारले गरिरहेको सुनेका छौँ । अब धेरै समय नलाग्ला । निजी सवारीले पनि यात्रु बोक्न पाउने कुरामा अब त्यति धेरै विवाद छैन । बरु कसरी पाउने भन्ने कुराचाहिँ ऐन आएपछि थाहा होला ।
ऐन आएर कानुन बनेपछि यात्रुको बिमाको बाटो खुल्छ । त्यसबाहेक राज्यलाई मुनाफा हुने अर्को पक्ष भनेको कर हो । अहिले फुल टाइम काम गर्ने एउटा राइडरले मासिक ४०–५० हजार आम्दानी गर्छ । त्यो पैसा कहाँ जम्मा गर्ने भन्ने प्रश्न अहिलेको समयमा जाहेज छ । भविष्यमा बैंकबाट ऋण लिनुपर्दा कर नतिरेको व्यक्तिलाई बैंकले ऋण दिँदैन । कर केको आधारमा तिर्ने थाहा छैन । सरकारले कति प्रतिशत कर लिने भन्ने कुरा ऐनमा स्पष्ट रूपमा आएपछि करको समस्या पनि समाधान हुन्छ ।
अहिले हामीले राइडरहरूबाट २० प्रतिशत कमिसन लिइरहेका छौँ । झट्ट हेर्दा मानिसहरूले एउटा एप बनाएको छ, यतिका कमिसन लिन्छ भन्नुहुन्छ । तर त्यसपछाडिको जटिलता कति छ भन्ने कुरा धेरैले बुझ्नुहुन्न । गुगललाई मात्र हामी दिनमा ९ सय डलर तिरिरहेका छौँ । एपको सरोवरमा राख्ने पैसा, एप बेलाबेलामा मर्मत र अपडेट गर्नुपर्छ, हामीसँग ५७ जना त प्रत्यक्ष रोजगारीमा जोडिनुभएको छ ।
हामीले यो सबै खर्च आफ्नो गोजीबाट हाल्न सक्ने अवस्था त हुँदैन नि । फेरि हामीले २० प्रतिशत कमिसन लिँदा कुनै राइडरले किन यति लिएको भन्नुभएको छैन । हाम्रो कारण उहाँहरूले राम्रै आम्दानी गरिरहनुभएको छ । कमिसन लिएर पनि हामी किन पठाओ भयौँ त । किन कि हाम्रो सिस्टम निकै राम्रो छ । हामीप्रति राइडर र यात्रुले विश्वास गर्नुभएको छ । र, त्यसका लागि हामीले खर्च गरेका छौँ । हामीलाई नराम्रो देखाउन केहीले यस्तो कुरा उठाउनुभएको छ । जसले हामी कुनै पनि रूपमा हतोत्साहित हुँदैनौँ ।