जात व्यवस्थाको विषयलाई नेपालको राजनीतिले पनि प्रष्ट रूपमा बोल्न सकेन, त्यसपछि साहित्यमा असाध्यै कम आयो । सिंगो समाज, राजनीति, साहित्य र समाजशास्त्रमा नै यो विषय असाध्यै लुकाइएको हुनाले सिनेमामा पनि कम आएको हो ।
वर्षौदेखि सुुन्दै आएको एउटा भनाइ छ, ‘प्रेमको कुनै जात हुँदैन, धर्म, वर्ग र रंग हुँदैन ।’
तर, समाजमा वर्षौंदेखि विभेद कायमै छ । जसले फिल्म ‘बाटोमुुनिको फूल’मा दलित पात्रले बोल्ने एउटा संवाद सम्झाइरहन्छ, ‘व्यर्थै भयो पिरती, के छेकिन्थ्यो सूर्यलाई हातैले, गर्नु गर्यो जातैले ।’
हाम्रो समाजमा गैरदलितहरूलाई दलितहरूको श्रम र सीप स्वीकार्य छ, तर प्रेम अझै वर्जित छ । ठकुरीसँग प्रेम गरेकै कारण पश्चिम रुकुमका नवराज विश्वकर्मा र उनलाई साथ दिने साथीहरूको समेत हत्या त्यसको क्रुर र ताजा उदाहरण हो ।
दलितले सदियौँदेखि यसरी भोगिरहेको चरम विभेदलाई नेपाली सिनेमाले समेत खासै स्थान दिएको पाइँदैन । जसरी समाजमा दलितप्रति विभेद हटेको छैन्, त्यसैगरी नेपाली सिनेमामा पनि त्यसको प्रभाव कायमै छ । नेपाली सिनेमाले प्रेमलाई विषय त बनाएको छ तर दलित–गैरदलितबीचको प्रेम देखाउने साहस कमैले गरेका छन् ।
‘हामीकहाँ जात व्यवस्थाले पारेको प्रभावबारे सिनेमाहरू कम बनेका छन्,’ लेखक तथा चिन्तक आहुति भन्छन्, ‘जात व्यवस्थाको विषयलाई नेपालको राजनीतिले पनि प्रष्ट रूपमा बोल्न सकेन, त्यसपछि साहित्यमा असाध्यै कम आयो । सिंगो समाज, सिंगो राजनीति, सिंगो साहित्य, सिंगो समाजशास्त्रमा नै यो विषय असाध्यै लुकाइएको हुनाले सिनेमामा पनि कम आएको हो ।’
फिल्म लेखक नयनराज पाण्डेको मत पनि आहुतिको जस्तै छ । ‘जसरी राजनीतिमा दलितका मुद्दाहरू उठाउने मान्छेको कमी छ, त्यस्तै कमी हाम्रो बौद्धिक जगतमा छ, संस्कृतिकर्मीहरूमा पनि छ,’ उनी भन्छन्, ‘विशेषतः सिनेमा क्षेत्रमा चाहिँ मुद्दा उठाउने तर त्यो मुद्दाको गहिराइमा पुग्न नसक्ने छिपछिपे ज्ञान भएका निर्देशकहरू बढी देखिए । जसले, विषयलाई बजारीकरण त गरे, तर विषयको गहिराइमा पुगेर विभेदको जरो उखेल्न चुके । दलितका मुद्दालाई हामीले सतही रूपमामात्रै बुझ्यौँ । फिल्ममेकरमा इम्प्याथी हुनुपर्ने हो तर सिम्प्याथी (सहानुभूति) ज्यादा भइदियो । त्यसैकारण सिनेमामा दलितका जति मुद्दा आए, ती सही ढंगले आउन सकेनन् । र, त्यसले समाजमा सांस्कृतिक र सामाजिक परिवतर्नमा खासै ठूलो भूमिका निर्वाह गर्न सकेन ।’
दलित–गैरदलित प्रेम प्रसंग या दलितका मुद्दामाथि बनेका सिनेमामध्ये सबैभन्दा मनपर्ने एक नामबारे जिज्ञासा राख्दा दुवैसँग यसको जवाफ थिएन ।
दयाहाङ राई र केकी अधिकारीलाई लिएर तामाङ र बाहुनबीचको प्रेम कथामाथि फिल्म ‘घामपानी’ बनाएका निर्देशक एवम् समीक्षक दीपेन्द्र लामा भन्छन्, ‘हामीकहाँ दलितको मर्मलाई खास सम्बोधन हुनेगरि सिनेमा बन्न सकेकै छैनन् । हामीकहाँ दलित र बाहुनको कथामाथि जति पनि फिल्म बनेका छन, ती पनि सतही प्रस्तुतीमै रमाएका छन् । दलित मुद्दाको गहिराइमा पस्न सकेका छैनन् ।’
बरू, सिनेमाले सम्बोधन गर्न नसकेको जातीय व्यवस्था र दलितको मुद्दालाई केही टेलिसिरियलहरूले सम्बोधन गरेको पाइन्छ । आहुतिको लेखनमा नवीन सुब्बाले निर्देशन गरेको ‘दलन’ त्यसैमध्येको एक हो ।
‘हामीले दलन बनाउँदा व्यापक आयाममा काम गरेको हो । जात व्यवस्थाका कारण परेको प्रभावमा अर्थराजनीतिदेखि समाजशास्त्र सबैलाई छोएका हौं,’ आहुति भन्छन्, ‘दलित र गैरदलितको समानान्तर जीवनमा कसरी परिवर्तन आउँछ, एउटा कहाँ पुग्छ, अर्को कहाँ पुग्छ, उसको जन्मदेखि नै सबै देखाउन खोजेका छौँ । त्यस्तो प्रयत्न सबैले एकैचोटि गर्ने कुरा पनि भएन तर त्यस प्रकारले अर्थ राजनीतिक र सामाजिक परिवेशको व्यापक आयामलाई छिचोल्ने गरी नेपाली सिनेमाहरू बन्नुपर्छ भन्ने लाग्छ ।’
नेपालको दलितको मुद्दामाथि बनेको पहिलो टेलिसिरियल ‘कालीगण्डकीको सेरोफेरो’ हो । ०५३ सालमा बनेको १६ भागको यो टेलिसिरियल नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । म्याग्दीको बेनी आसपास खिचिएको यो सिरियलमा दलित नै नायक, कथा पनि दलितकै थियो । त्यतिबेला निकै चर्चामा आएको यो सिरियल देखाउन नेपाल टेलिभिजनले निकै आनाकानी गरेको सम्झन्छन्, यसका लेखक अविनाश श्रेष्ठ ।
‘हाम्रो लगानी झन्डै खेर गएको थियो’, उनी भन्छन्, ‘बल्लबल्ल दवाब दिएर देखाउन लगाएका थियौँ । एनटिभीका अरू टेलिसिरियलहरू पुनःप्रसारण पनि भए, यसलाई पुनःप्रसारण गरिएन ।’
त्यसपछि दलितकै मुद्दामाथि ०५९ सालमा श्रेष्ठले अर्को टेलिसिरियल लेखेका थिए, ‘हिजो आज भोलि’ । तर, विडम्बना पर्वतको कुश्मामा पुगेर खिचिएको सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुन सकेन । श्रेष्ठ सम्झन्छन्, ‘त्यतिबेला माओवादी द्वन्द्व चरम अवस्थामा थियो । त्यसैले दलितको मुद्दालाई माओवादीको मुद्दा ठानेर उनीहरूले प्रसारण नगरेजस्तो लाग्छ ।’
लेखक आहुति जात व्यवस्थामाथि बनेका टेलिसिरियल र फिल्मलाई बेलाबखत यसरी दबाइने गरेको बताउँछन् । नेपाल भाषामा बनेको ‘पखा’ भन्ने सिनेमा गैरदलितले देखाउनै नदिएको उनी बताउँछन् । ‘किनभने त्यो जात व्यवस्थामाथि बनेको थियो । छुवाछुतको कथा थियो । तर, पछि यसलाई युट्युबमा रिलिज गरियो,’ उनले भने ।
बद्री अधिकारीको ‘अविरल बग्दछ इन्द्रावती’ ले दलितको मुद्दालाई राम्रोसँग देखाएको निर्देशक लामा बताउँछन् । त्यसो त दलितकै कथा समावेश भएको खगेन्द्र संग्रौलाको उपन्यास ‘जुनकिरीको संगीत’माथि पनि टेलिसिरियल बन्ने तयारी थियो । तर, बन्न सकेको छैन ।
आहुतिका अनुसार अहिले उनको लेखन र नवीन सुब्बाको निर्देशनमा दलितकै मुद्दामाथि नयाँ फिचर सिनेमा निर्माणको तयारी भइरहेको छ ।
‘हाम्रा फिल्मकर्मीमा यो हाम्रो मुद्दा हो भन्ने सचेतनाको अभाव छ ,’ लेखक अविनाश श्रेष्ठ भन्छन्, ‘अनि अर्को कुरा अधिकांश फिल्मकर्मी र स्टारहरू कथित उच्च जातका छन् । अनि उनीहरूलाई यो दलितको मुद्दासँग के लेनादेना ?’
दलितमाथि नै दुई टेलिसिरियल लेखिसकेका श्रेष्ठले त्यसपछि पनि सिनेमामा काम गर्ने प्रयत्न नगरेको होइनन्, तर सकेनन् । ‘हामी त लेखक न हो, यस्ता विषयमा लगानी गर्ने निर्माता नै पाइएन,’ उनले भने ।
रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्मालाई पनि नेपाली सिनेमामा दलितका मुद्दाले खासै स्थान नपाएको भन्ने लाग्छ । ‘दलित पात्रलाई हिरो बनाएर केही सिनेमा त बनेका छन् तर ती सिनेमाहरूले पनि दलितको खास मुद्दा के हो, त्यो देखाउन सकेनन्’, उनले भने ।
चरित्रचित्रण कस्तो ?
अधिकांश नेपाली सिनेमामा दलितको चरित्रचित्रण दलिएको, हेपिएको र कमजोर पात्रका रूपमा गरिएको पाइन्छ । उनीहरूको लवाइ–खवाइ फोहोरी र कमजोर देखाइएको छ ।
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘प्रसाद’ दलितको कथामाथि बनेको यस्तो फिल्म हो जसलाई लिएर बजारमा ठूलै बहस भएको थियो । खासगरी यो फिल्ममा दलित र महिलाको चरित्रचित्रणलाई लिएर ठूलै प्रश्न खडा भएको थियो ।
फिल्ममा कथित तल्लो जातका बाबुराम परियार (विपिन कार्की)ले कथित उपल्लो जातकी नारायणी कार्की (नम्रता श्रेष्ठ) लाई गाउँमा बिहे गरेपछि भगाएर सहर ल्याएपछिको संघर्षको कथा छ ।
‘यो फिल्ममा दलित पात्र अर्थात् बाबुरामका कारण नारायणीको कोखमा बच्चा हुन नसकेको देखाइएको छ,’ नेपाली फिल्मबारे थुप्रै अनुसन्धान गरेका अनुसन्धाता अनुभव अजित भन्छन्, ‘तर, उच्च जातको अर्को पुरुषले बलात्कार गरेपछि नारायणीको कोखमा बच्चा हुन्छ । यो फिल्मले दलित श्रीमानको संसर्गबाट क्षेत्री श्रीमतीको कोखमा बच्चा हुँदैन भन्ने अवधारणा बोकेजस्तो देखिन्छ । अझ दुवैले बलात्कारबाट जन्मिएको बच्चालाई प्रसाद स्वरूप स्वीकार्नु अर्को ठूलो समस्या हो ।’
त्यसो त ‘प्रसादलाई दलितविरोधी सिनेमा भन्न मिल्दैन,’ लेखक तथा चिन्तक आहुतीले यो फिल्म हेरेपछि कान्तिपुरमा लेखेका थिए, ‘ प्रसाद सिनेमाबारे गर्नुपर्ने बहसको मूल पाटो भने अर्कै हो । त्यो हो– बलात्कार र महिलाको शरीरमाथिको अधिकार । अन्तरजातीय विवाहलाई गर्वका साथ लिने आधुनिक महिला, जसको लोग्ने अत्यन्तै मायालु छ, उसले बलात्कारलाई लुकाउनु वा बलात्कारीलाई सजायको प्रक्रियामा नलानु कसरी मेल खान्छ ? हो, सिनेमाका सहायक पात्रहरू यस्ता हुन सक्छन्, हुन्छन् । तर मुख्य पात्र नै बलात्कारीलाई छुट दिने चरित्रको निर्माण गर्नु महिला अधिकारको प्रगतिशील अभियानलाई धोका दिनु हुन जान्छ ।’
तर ‘बलात्कारीको वीर्य कसरी प्रसाद ?’ भन्ने जिज्ञासामा फिल्मका पटकथाकार सुशील पौडेलले भनेका थिए, ‘ धार्मिक मान्यताअनुसार मन्दिरमा चढाइने प्रसाद चोखो वा जुठो के हो भनेर जाँच गरिँदैन । बरू चढिसकेको फलफूल प्रसादको नाममा दिइन्छ । फिल्ममा वीर्य पनि जोसुकैको होस्, आफूले भगवान् मानेकी नारायणीले स्वीकार गरेर जन्माएपछि बाबुरामले प्रसादका रूपमा ग्रहण गरेको हो । यहाँ वीर्य नभएर प्रसाद बच्चा हो । नारायणीलाई भगवानको बिम्बमा उतार्न खोजेका हौँ ।’
तथापि अनुसन्धाता अजित नेपाली फिल्मले दलित, जनजाती, महिला आदि विषय फिल्ममा उठान गरेपनि त्यसलाई राम्रोसँग सम्बोधन गर्न नसकेको बताउँछन् । राजकुमार रावको हिन्दी फिल्म ‘न्यूटन सिनेमा’को उदाहरण दिँदै उनी भन्छन्, ‘यो सिनेमाको प्रमुुख पात्र दलित हो । तर यो सिनेमामा दलित पात्रलाई समाजका अरू पात्रसरह प्रस्तुत गरिएको छ । यहाँ दलितलाई अर्कै ग्रहको मान्छेजसरी देखाइएको छैन । बरू उसको पनि आफ्नै अस्तित्व छ , ऊ पनि यही समाजको मान्छे हो जसरी प्रस्तुत गरिएको छ । यस्तो सिनेमा यति संवेदनशील हिसाबले भारतमै कम बनेका छन् । झन् भारतबाटै प्रभावित नेपालमा के अपेक्षा गर्नू ?’
हलिउडको मेनस्ट्रिम सिनेमा पनि अझै काला र गोराबीचको ‘लभ अफेयर’ एकदमै कम देखाइने अनुभव बताउँछन् । तर कालाहरूकै कथामाथि भने सिनेमा बनेको छ ।
‘यदि तपाईं कुनै दलित पात्र फिल्ममा देखाउँदै हुनुहुन्छ भने त्यसलाई यो समाजको अरू नै पात्रजसरी किन देखाउनु हुन्न ? किन उनीहरूलाई बाहिरियाजसरी व्यवहार गर्नुहुन्छ ?’, यो प्रश्न सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै अजित गैरदलित फिल्मकर्मीले दलितहरूप्रति देखाउने दयाको भाव सिनेमाका लागि सबैभन्दा हानिकारक भइरहेको बताउँछन् ।
‘गैरदलितले कुनै दलितको विषय उठाइरहँदा उसले सुरुदेखि नै दयाको भाव राखिरहेको हुन्छ,’ उनी भन्छन्, ‘ऊ ठान्छ, यो समुदायको मैले संरक्षण गर्नुपर्छ, उद्दार गर्नुपर्छ । सहानुभूतिको दृष्टिकोणबाट निर्देशित भएर उसले सिनेमा बनाउँछ, त्यहीकारण सिनेमाले दलितको यथार्थ देखाउन सकेको छैन ।’
दलितको सिनेमालाई न्यायसंगत ढंगले देखाउन दलित समुदायबाटै मेकरको आवश्यकता देख्छन् उनी । ‘दलन’मा दलित समुदायका आहुति स्वयं संलग्न भएको कारण दलितको मर्मलाई राम्रोसँग बोक्न सकेको उनको विश्लेषण छ । ‘हामीकहाँ फिल्ममेकरहरू दलितको विषय त उठाउँछन् तर उनीहरूको प्रमुख आग्रह दलितहरू हामीले बनाएको नियमकानुनमा बस्नुपर्छ, नत्र अस्वीकार्य छ जस्तो देखिन्छ,’ उनले भने ।
चिन्तक आहुति दलितका मुद्दामाथि सिनेमा नै कम बनिरहेको अवस्थामा जतिले यो विषय उठाइरहेका छन्, त्यसलाई सकारात्मक रूपमा नै लिनुपर्ने बताउँछन् । ‘जति पनि दलितको मुद्दासँग जोडिएका सिनेमा बनेका छन्, तिनले समाजको अर्थराजनीतिसँग जोडेर त्यसको व्यापक आयाम प्रस्तुत गर्न सकेका छैनन् । सामान्य केटाकेटीबीचको प्रेममै सिमित छन् । विचार र दृष्टिकोणका समस्या त छन् । तर, केही पनि नउठाउनु भन्दा त्यति कुरा उठ्नुलाई पनि सकारात्मक रूपमै लिनुपर्ने हुन्छ ।’
अहिलेसम्म बनेका दलित–गैरदलितको प्रेम–प्रसंग भएका सिनेमा कस्ता थिए त ? यसबारे यहाँ चर्चा गरिएको छः
रगत (२०५४)
यो फिल्मले दलित–गैरदलितको प्रेमलाई प्रमुख विषय बनाएको छ । फिल्ममा कथित तल्लो जातका कृष्ण (ध्रुव रिजाल)ले ठकुरीकी छोरी राधा (विना बुुढाथोकी)लाई प्रेम गर्दा उनका दाइ अर्थात् गाउँका बाबुुसाहेबले कृष्णको हत्या गर्छन् । त्यतिबेला कृष्णका भाइ गोपाल (सरोज खनाल) र बाबुुसाहेबकी छोरी लक्ष्मी (विपना थापा) सानै हुन्छन्, एकअर्काका मिल्ने साथी । यही निकटताको डरले बाबुसाहेब छोरीलाई सहर पढ्न पठाउँछन् । तर, गाउँमा वर्षौंदेखि गोपाल लक्ष्मीकै पर्खाइमा हुन्छन् । लक्ष्मी फर्किन्छिन् तर उनलाई आफ्नो बनाउन गोपालका लागि जात पर्खाल बनिदिन्छ । बाबुुसाहेबले धम्कीपूर्ण भाषामा गोपाललाई भन्छन्, ‘तैँले हाम्री छोरीलाई नाम लिएर बोलाउने होइन । तैंले हाम्री छोरीलाई सम्बोधन गर्दा मैयाँ सा’ब भन्ने ।’
यो सिनेमाका संवाद र दृश्यहरूले ५० को दशकमा हाम्रो समाज जातीय विभेदको कुन चरम अवस्थाबाट गुज्रिरहेको थियो भन्ने यथार्थ देखाउँछ । फिल्ममा ठकुरीहरू ठान्छन्, दलितसँग बिहे गर्नुभन्दा खोलामा डुबेर मर्नु बेस् । यसले देखाउँछ, दलितप्रतिको सामाजिक दृष्टिकोण । तर, फिल्मको मूल सारचाहीँ सरोज खनालले निर्वाह गरेको दलित पात्रले बोल्ने डायलग नै हो– ‘जसरी पानीको कुनै रंग हुँदैन, त्यसैगरी मान्छेको कुनै जात हुँदैन । मान्छे–मान्छे एउटै हो । हरेक मान्छेको शरीरमा उस्तै रगत बग्छ, तातो रगत, रातो रगत ।’
त्यतिबेला यो फिल्मले दलितको विषय उठान गरेपनि यसको कथ्यशैली भने बलिउड फर्मुलाको ह्याङओभरबाट मुक्त थिएन । त्यसैले फिल्ममा गीत, नृत्य र फाइटहरूको श्रृंखला छुट्ने कुरै भएन ।
सिमाना (०५२)
‘रगत’भन्दा अघि निर्माण भएको यो सिनेमा पनि जात व्यवस्थामा आधारित छ । ०५० को दशकमा निर्माण भएको राजेश हमालको यो हिट सिनेमालाई प्रकाश सायमीले निर्देशन गरेका हुन् । यो सिनेमामा जमिनदार शिवनारायण सिंह(सुनिल मिश्र) को छोरी चाँदनी (मेलिना मानन्धर)सँग कथित तल्लो जातका अमर मिजार (राजेश हमाल)को प्रेम बस्छ । सिनेमामा जमिनदारका चम्चे बनेका असइ छन्, मुरलीधर (हेमन्त बुढाथोकी), जसले अमर र चाँदनीबीचको हिमचिम उनलाई सुनाइदिन्छन् । त्यसपछि जमिनदारले उनकी छोरीको बिहे प्रहरीका इन्सपेक्टर (धिरेन शाक्य)सँग गराइदिन्छन् ।
फिल्ममा प्रेम प्राप्तिका निम्ति अमरले कुनै विद्रोह गर्दैनन् । फिल्ममा उनले आफूलाई रुख र प्रेमिकालाई किसानको संज्ञा दिँदै एउटा मनछुने संवाद बोल्छन्, ‘हामीबीच किसान र रुखको नाता हो । रुखले शितलता दिन्छ, साहस दिन्छ । यदि त्यो रुखले किसानलाई बाधा पु¥यायो भने किसानले त्यो रुख काट्नु पनि पर्छ । ’
खासमा यो संवादले भनेझैँ समाजमा दलितहरूको अवस्था रुखजस्तै छ । उनीहरूको श्रम र सीप सबैका लागि आवश्यकता बनेको छ तैपनि विभेद कायमै छ । यो सिनेमामा हमालले प्रहरीको जेल तोडेर जमिनदारको अत्याचारविरुद्ध संघर्षमा उत्रिन्छन् । फिल्मको अन्त्यमा एउटा प्रतीकात्मक दृश्य छ, जहाँ ‘कुजात’ भनिएका अमरले नै आफ्नी पूर्व प्रेमिका अर्थात् कथित उपल्लो जातकी चाँदनीको जीवन बचाउँछन्, अस्पतालमा रगत दिएर । यो सिनेमाले पनि दलितको विषय त उठायो तर उनीहरूको मर्म र मुुद्दाको गहिराइमा भने पुुग्न सकेको छैन । यसका निर्देशक सायमी स्वयम् भन्छन्, ‘हामीकहाँ यस्तो विषयवस्तुमा खासै काम भएको छैन । मैले त्यतिबेला पश्चिममा यस्तै जातीय विभेदका कारण निम्तिएको बर्बर घटना अखबारमा पढेको थिएँ । त्यसबाटै प्रभावित भएर सिनेमा बनाएको थिएँ ।’
बाटोमुनिको फूल (०६७)
सुरज सुुब्बा नाल्बोले निर्देशन गरेको यो फिल्मले मूलतः दलितकै मुद्दा उठाउने प्रयत्न गरेको छ । यो सुरेश परियार (यशकुुमार) र उपाध्याय बाहुनकी छोरी गुराँस (रेखा थापा)बीचको अन्तरजातीय प्रेमकथा हो । फिल्ममा सुरेशको परिवार आर्थिक रूपमा कमजोर छैन तर दलित भएकै कारण अपमानित छ । यो सिनेमाले समाजमा वर्गीय रूपमा माथि पुुगेका दलितहरूले पनि जातीय भेदभावचाहिँ भोगिरहेका छन् है भन्ने यथार्थ देखाउन खोजेको छ । सुरेशकी प्रेमिका गुराँसका पिताले दलितकै हकहितकका लागि भनेर ‘दलित निवारण’ नामको संस्था चलाइरहेका हुन्छन्, त्यसैले सुरेशको परिवारलाई लाग्छ, उनले पक्कै छोरी दिन अप्ठेरो मान्दैनन् । तर, जब सुरेश आमासहित छोरी माग्न जान्छन्, गुराँसका बुुबाको असली रूप देखापर्छ । ‘मैले दलित निवारण व्यापारका लागि खोलेको संस्था हो, तर कुनै दमैलाई छोरी दिनलाई होइन’ भनेर उनले जसरी सुरेश र उनकी आमाको अपमान गर्छन्, त्यसले दलितको पक्षमा वकालत गरेजस्तो गर्ने कथित उपल्लो जातको ढोँगी चरित्र पनि उदांगो पारिरहेजस्तो लाग्छ । यो फिल्ममा दलित पात्रको भूमिका निर्वाह गरेकी सुभद्रा अधिकारीले बोल्ने एउटा संवादले जात व्यवस्थाका कारण निम्तिएको यथार्थ दर्शाउँछ, ‘हामी दलित त मुठीका माखा न हौँ, खोलिदिए बाँच्छौ, बन्द गर्दिए मर्छौं ।’
यो फिल्ममा राजेश हमाल, बाबु बोगटी, नन्दिता केसी, हेमन्त बुढाथोकी, राजेश घतानीलगायत कलाकारको अभिनय छ । ‘मैले छोएको पानी चल्दैन’ जस्ता दलितको पीडा बोल्ने गीतका कारण पनि यो फिल्म चर्चामा आएको थियो । ‘यो फिल्मले दलितको विषय त राम्रैसँग उठाउन खोजेको हो, तर फिल्मको कलात्मक पाटो र प्रस्तुतीमा भने कमजोर नै थियो,’ त्यसताका सक्रिय फिल्म समीक्षा गरिरहेका दीपेन्द्र लामा भन्छन् ।
प्रसाद (०७५)
दिनेश राउत निर्देशित यो फिल्म दलितले गैरदलितसँग बिहे गरेपछिको संघर्षमा केन्द्रित छ । कथित तल्लो जातका बाबुराम परियार (विपिन कार्की)ले कथित उपल्लो जातकी वडाध्यक्षकी छोरी नारायणी कार्की (नम्रता श्रेष्ठ) लाई गाउँ (बागलुङ)बाट भगाएर सहर (काठमाडौँ) ल्याएसँगै सुरु हुन्छ यो फिल्मको कथा । भगाउनुुको कारण हो– अन्तरजातीय प्रेम ।
सहरमा आएपछिको संघर्षमा केन्द्रित छ यो फिल्म । शहरमा हाँसीखुशी जीवन बिताइरहेको यो जोडीलाई निःसन्तान हुनुको पीडाले पिरोल्दै लग्छ । त्यसैबेला बाबुुरामकै साथी तर हुनेखाने र चतुर रमेश (निश्चल बस्नेत)को गिद्दे नजर नारायणीमा पर्छ र बाबुराम नभएका बेला बलात्कृत हुन्छिन् । बलात्कारपछि नारायणीको मौनता, बलात्कारबाट जन्मिएको सन्तानलाई ‘प्रसाद’का रूपमा ग्रहण आदि विषयले गर्दा यो सिनेमाबारे निकै बहस भएको थियो । फिल्मले अन्तरजातीय जोडीको रहनसहन, अन्तर्विचार, संघर्ष, पीडा, प्रेम, आवेग आदिलाई गहिरोसँग प्रस्तुत गर्ने प्रयत्न गरेको छ ।
प्रेम र बिहेमात्रै विषय होइन
जात व्यवस्थाले पारेको प्रभावका बारेमा सिनेमाहरू कम बनेका छन् । जात व्यवस्थाको विषयलाई नेपालको राजनीतिले पनि प्रष्टरूपमा बोल्न सकेन, त्यसपछि साहित्यमा असाध्यै कम आयो । त्यसैगरी सिनेमामा त झन् असाध्यै कम आयो ।
नेपालमा जात व्यवस्था, अन्तरजातीय प्रेम प्रसंगलाई लिएर सरकारी स्तरबाट बनेको फिल्म ‘बदलिँदो आकाश’हो । त्यहाँ ब्राह्मण र क्षेत्रीबीचको प्रेम कथा छ । यहीँबाट सुरु भएजस्तो लाग्छ, अन्तरजातीय प्रेम कथामाथि फिल्म बन्ने क्रम ।
खासमा यस्ता विषयमा जति पनि सिनेमा बनेका छन्, तिनले दुईजना बीचको प्रेम त देखाए तर सिंगो समाजको संरचनालाई देखाउन चुके । जात व्यवस्थाका कारण बिहे गर्न नपाएकोमात्रै समस्या हो र ? होइन नि । उनीहरूको जीवन नै अगाडि बढ्न नसक्ने हुनु, उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक प्रगति नै हुन नसक्ने अवस्था सिर्जना हुनु मुख्य समस्या हो । प्रेम त एउटा सानो च्याप्टरमात्रै हो । फेरि सार्वभौम पनि होइन, सबैसँग हुने पनि होइन ।
व्यापक फलकमा त्यसको अर्थ राजनीतिक आयाम देखाउने हुनुपर्यो। केही हिन्दी सिनेमामा त्यो प्रयत्न भएको छ । प्रकाश झाको ‘दामुल’जस्तो सिनेमाले त्यहाँ प्रेमभन्दा पनि कसरी आर्थिक शोषण छ, प्रशासन कसरी मिल्छ, उनीहरूलाई कसरी न्यायबाट विमुख गरिन्छ भन्ने कुरा त्यहाँ राम्रोसँग देखाइन्छ ।
हामीकहाँ अर्थराजनीतिको व्यापक आयामलाई छोडेर त्यसको सानो टुक्रामा बढी केन्द्रित भएको अवस्था छ । सिंगो समाजको चरित्रका बारेमा व्याख्या भएको पाइँदैन ।