
यू–१९, सिनियर टिम, हङकङ ब्लिज, क्रिकेटको पावर हाउस अस्ट्रेलियामा ‘ए’ श्रेणीको क्लब क्रिकेट खेल्ने अवसर । संसारकै ठूलो ट्वान्टी–२० क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) हुँदै क्यारेबियन लिग (सीपीएल)सम्म । युवा क्रिकेटर सन्दीप लामिछानेको दुईवर्षे क्रिकेट यात्राका रोमाञ्चक हाइलाइट्स । अझ मैदानभित्र हेर्ने हो भने उनका केही छुटाउनै नहुने उपलब्धि छन्, जसले १७ वर्षकै उमेरमा सन्दीपको छवि प्रतिभाशाली क्रिकेटरका रूपमा स्थापित गरेको छ ।
सन् २०१५ मा बंगलादेशमा भएको यु–१९ विश्वकप क्रिकेटमा आयरल्यान्डविरुद्धको ह्याट्रिक, नामिबियामा गत फ्रेबुअरीमा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा कैयौं खारिएका खेलाडीलाई छायाँमा पार्दै लिडिङ विकेट टेकरका रूपमा प्लेयर अफ द टुर्नामेन्ट । राष्ट्रिय टिमबाट लिष्ट ‘ए’ का २१ खेलमा ४२ विकेट— उनका मैदानभित्रका केही महत्वपूर्ण उपलब्धि हुन् ।
यी सबै केवल दुई वर्षमा सम्भव भएका उपलब्धि हुन् । यी सबै उपलब्धिले उनको छवि ‘सेलिब्रेटी क्रिकेटर’ को बनाएको छ । सन्दीप स्वयंलाई पनि यो लाग्न थालेको छ, हिजोभन्दा आज धेरै कुरा फेरिएका छन् । फोनमा सयौं घण्टी बज्छन्, हजारौंले फेसबुक, ट्विटर र इन्स्ट्रामा पछ्याउँछन्, कमेन्ट र म्यासेज गर्छन् । कतै देखिँदा सेल्फी लिनेहरू झुमिन्छन्, सार्वजनिक कार्यक्रममा त ठीकै हो उनी बस्ने होटल, किनमेल तथा खानपिनका लागि पुग्ने सपिङ सेन्टर तथा रेस्टुराँदेखि मैदानसम्म उनीसँग सेल्फी लिनेहरूको तँछाड–मछाड चल्छ । सबै कुरा फेरिदो रहेछ, आफूलाई मेन्टेन गर्नुपर्ने रहेछ, सन्दीप आफ्नो सामान्य जीवनमा विगत दुई वर्षयता देखिएको परिवर्तनका सम्बन्धमा भन्छन्– सबै मानिसले हेरिरहेका हुन्छन्, त्यसैले सबै कुरा सचेत भएर गर्नुपर्ने रहेछ । अझ यी उपलिब्धको महत्व उनको व्यक्तिगत जीवनमा मात्र छैन । त्यो भन्दा बढी कति छ भन्ने कुरा उनका प्रदर्शनसँग जोडिएका कीर्तिमानहरूले देखाउँछ । सन्दीप यु–१९ विश्वकप क्रिकेटमा ह्याट्रिकको दुर्लभ कीर्तिमान बनाउने संसारभरका पाँचौ तथा नेपालका पहिलो युवा क्रिकेटर हुन् । सन् २०१५ मा बंगलादेशमा नेपालको राष्ट्रिय जर्सी लगाएको पहिलो प्रतियोगितामै उनले उक्त उपलब्धि हासिल गरे । लामिछानेले हाल टेस्ट मान्यता प्राप्त आयरल्यान्डविरुद्धको खेलमा ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाल सुपर–८ मा पुग्न सफल भयो । दायाँ हाते स्पिनर सन्दीपको जादुयी बलिङलाई अन्तर्राष्ट्रिय मिडियाले अस्ट्रेलियामा महान खेलाडी शेन वार्नसँग तुलना गर्दै आएका छन् ।
सन् २०१८ मा नामिबियामा सम्पन्न डिभिजन–२ मा उनी ६ खेलमा १७ विकेट हात पार्दै प्लेयर अफ दि टुर्नामेण्ट घोषित भए । नामिबियामा उनको प्रदर्शन उनी स्वयंका लागि मात्र खास थिएन्, नेपाललाई एकदिवसीय विश्वकप छनौटमा पुर्याउने महत्वपूर्ण कडीसमेत थियो । जिम्बाबेमा हालै सम्पन्न आइसीसी एकदिवसीय विश्वकप छनौटमा पनि उनले ६ खेलमा १३ विकेट लिए, त्यसले नेपाललाई एकदिवसीय मान्यता दिलाउन ठूलो योगदान दियो । सन्दीप लिस्ट ‘ए’मा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीमा सोमपाल कामी र भेट्रान बलर बसन्त रेग्मीपछि तेस्रो स्थानमा छन् । सोमपालले ३७ खेलमा ५२ विकेट लिएका छन् भने बसन्तले ३५ खेलमा ४६ विकेट हात पारेका छन्, जबकि सन्दीपले २१ खेलबाट ४२ विकेट ।
उनको सर्वाधिक ठूलो र खास चर्चा गर्न लायक उपलब्धि संसारकै सबैभन्दा प्रतिष्ठित र महँगो मानिने इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयर डेभिल्ससँगको अनुबन्ध हो । एसोसिएट देशका युवा क्रिकेटरका लागि दुर्लभ मानिने उक्त अवसर पाउने सन्दीप एकमात्र भाग्यमानी नेपाली क्रिकेटर हुन् । सन्दीपअघि एसोसिएट देशबाट अवसर पाउने औंलामा गन्न सकिने खेलाडी मात्र छन् । सन्दीपले छोटो समयमै आइपिएल ड्रिम पूरा गरेर आइपिएल खेल्ने पहिलो नेपालीको कीर्तिमान समेत आफ्नो नाममा लेखाए । सन्दीप नेपाली क्रिकेटले पाएका होनहार प्रतिभा हुन्, नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा भन्छन्– उनी ठूलो सम्भावना भएका उदीयमान युवा क्रिकेटर हुन् । उनले आइपिएलजस्तो ठूलो प्रतियोगितामा अवसर पाएका छन्, जुन हामी सबैका लागि गर्वको कुरा हो ।
विश्वकै लोकप्रिय र महँगो लिग आइपीएलको ११ औं संस्करणका लागि १४ माघमा बैग्लोरमा भएको अक्सनमा दिल्ली डेयर डेभिल्सले उनलाई २० लाख भारतीय रुपैयाँमा किनेको थियो । सन्दीप इज ग्रेट स्टोरी अफ अस, हामी सन्दीपलाई एक वर्षभन्दा अघिदेखि नै ट्रयाक गरिरहेका थियौं, जर्सी हस्तान्तरण गर्न काठमाडौं आएका दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दुवा भन्छन्– हङकङदेखि अस्ट्रेलियासम्म सबै ठाउँमा उनलाई ट्रयाक गर्यौं । उनले आफूलाई सिद्ध गर्ने ठूलो अवसर छ । नेपालीको ‘सेन्टिमेन्ट जित्न’ दिल्लीले सन्दीपलाई किनेको चर्चालाई अस्वीकार गर्दै दुवाले सन्दीप उत्कृष्ट युवा प्रतिभा भएकाले उनलाई टिममा भित्र्याएको बताएका थिए ।
सन्दीपको अर्को उपलब्धि हो– क्यारेबियन प्रिमियर लिग (सिपीएल)मा अनुबन्ध । टेस्ट प्लेइङ नेशन वेस्ट इन्डिजले आयोजना गर्ने सिपिएलमा पनि सन्दीपले अर्को अवसर पाएका छन् । उनलाई सिपिएल टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलर खर्चेर आफ्नो टिममा सामेल गरेको छ । सिपिएलमा उनी सर्वाधिक विस्फोटक ब्याटसम्यान क्रिस गेलको टिमबाट खेल्ने छन् । सिपीएल वेस्ट इन्डिजको आधिकारिक फ्रेन्चाइजमा आधारित ट्वान्टी–२० लिग हो ।
यी सबै उपलब्धिबाट सन्दीप आफैलाई कस्तो लागिरहेको छ ? सन्दीप स्वयंमलाई पनि केवल दुई वर्षको अवधिमा प्राप्त यी सबै महत्वपूर्ण उपलब्धिले रोमाञ्चित तुल्याइरहेको छ । गत शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा दिल्ली डेयर डेभिल्सको १ नम्बरको आफ्नो नाम रहेको जर्सीमा सजिदा सन्दीपले भने– मैले साँच्चै अनौठो अनुभव गरिरहेको छु । उनले अगाडि थपे, यो सबै सकारात्मक भैरहेको छ । म पछिसम्म यो उपलब्धि जोगाउन चाहन्छु ।
रातारात वा केही वर्षमै सेलिब्रेटी हुने सपना धेरैका लागि केवल सपना हुन्छ, सन्दीपले यसलाई यथार्थमा परिणत गरेका छन्, तर यो उनको भाग्यले मात्र सम्भव भएको होइन, एकपछि अर्को सफलताका पछाडि उनले निरन्तर क्रिकेटप्रति देखाएका लगाव र समर्पण नै प्रमुख कारण हो । पछिल्ला केवल दुई वर्षमा एक्लैको मेहनतले यो सबै भएको होइन, सन्दीप भन्छन्– यसमा मेरो आफ्नो मेहनत, परिवारको समर्थन, दिदी–भिनाजु, राजु सर, पुबुदु सरलगायत धेरैलाई यी उपलब्धिको श्रेय जान्छ । यो यात्रामा जोडिएका धेरै जनालाई यसको श्रेय जान्छ, मेरो टिम मेम्बरलाई जान्छ । यी युवा सेलिब्रेटी खेलाडीका लागि अहिले सामाजिक सञ्जालमा ‘प्राइड अफ नेसन’को ट्याग दिन थालिएको छ । आखिर यसले सन्दीपलाई कस्तो महसुस गराउँछ ? ‘आफ्नो देशको नाम लिएर जान पाउँदा जसलाई पनि गौरव अनुभव हुन्छ, उनी केही भावुक भए– देशको नाम र गौरव बढाउने जति भावनात्मक र खुसीको कुराहरू के हुन सक्छ ?
सन्दीपले क्रिकेटको अन्तर्राष्ट्रिय एरिनामा तहल्का मात्र पिटिरहेका छैनन्, क्रिकेटका पावरहाउस भारत, अस्ट्रेलिया, पाकिस्तानदेखि वेस्ट इन्डिजसम्म फैलिन थालेका छन् । सनसनीपूर्ण लेग स्पिनका कारण उनको नाम अन्तर्राष्ट्रिय क्रिकेटको दुनियाँमै ‘इमर्जिङ स्टार’का रुपमा लिइँदैछ ।
हरियाणादेखि राष्ट्रिय टिमसम्म
सन्दीपको घर चितवनको रत्ननगर—८ चित्रसारी हो । उनको पुख्र्यौली घर भने स्याङजा । उनका बुवा चन्द्रनारायण लामिछाने हरियाणामा रेलवेमा जागिर गर्थे । भारतलाई क्रिकेटको उर्वरभूमि मानिन्छ । सन्दीपको बाल्यकालको केही समय हरियाणामै बित्यो । सानैदेखि क्रिकेटप्रति आकर्षित सन्दीप हरियाणामा रहँदा आफ्ना दाजु र साथीहरूसँग टेनिस बलले क्रिकेट खेल्थे । त्यहीँ नै उनले क्रिकेट बल र ब्याट समाउन सिकेका हुन् । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । सन्दीपकी आमा कोपिलादेवी लामिछाने गृहिणी हुन् ।
उनका बुवा रिटायर्ड भएर नेपाल फर्किए । सन्दीप भने त्यसअघि नै नेपाल फर्किसकेका थिए । उनका बुवाले भारतबाट फर्किएपछि चितवनमा घर बनाए । चितवन फर्किएपछि सन्दीप नारायणगढमा प्रशिक्षक राजु खड्काले चलाइरहेको क्रिकेट एकेडेमी अफ चितवनमा भर्ना भए । उनको औपचारिक क्रिकेट यात्रा नारायणगढको क्यापाचौर मैदानबाट सुरु भएको हो ।
सन्दीप नवलपरासीको रजहरमा दिदी–भिनाजुसँग बस्थे, त्यहाँबाट क्यापाचौरको एकेडेमी पुग्न झन्डै एक घण्टा लाग्थ्यो । म हरेक दिन दिउँसो १ बजे क्रिकेट एकेडेमीका लागि निस्कन्थे, उनले साप्ताहिकसँग भने– म बस चढेर एकेडेमी पुग्थें, कहिलेकाहीं बस नपाइएको दिन २२ किलोमिटर हिँडेर पनि एकेडेमी पुगेको छु । सन्दीप एकेडेमीमा रनिङ, बलिङ र ब्याटिङको प्राक्टिस गर्थे । उनी झण्डै ४ घण्टा प्राक्टिस गरेपछि घर फर्कन्थे ।
एकेडेमीमा उनको कौशल तिखारियो । जसलाई तिखार्ने काम उनका गुरु राजु खड्काले गरे । ऊ पहिलेदेखि नै प्रतिभावान् थियो, खड्का सम्झन्छन्– मैले त त्यसमा पोलिस लगाउने काम मात्र गरेको हुँ । खड्काले सन्दीप भर्ना भएको भोलिपल्टै उनलाई बलिङ गर्न लगाए, जब उनको बल ‘टर्न’ भएको देखे, उनलाई एउटा नयाँ प्रतिभा फेला पारेजस्तो लाग्यो । बलमा टर्न देखिएपछि भोलि राम्रो स्पिनर बन्न सक्छ भन्ने लाग्यो, खड्काले थपे– जिल्ला र देशले राम्रो ट्यालेन्ट पाउने भयो भन्ने थियो । त्यसपछि उनले सन्दीपको बलिङमा सुधार गर्दै लगे, बलिड स्पिड बढाउन लगाए । सन्दीपले क्यापाचौरको मैदानमा निरन्तर दुई वर्ष कडा मेहनत गरे । त्यो निकै गाह्रो समय थियो, मेहनत गरियो, सन्दीप सुरुवाती दिनहरू सम्झिन्छन्– पहिलो अवसरका लागि मैले कठोर मेहनत गरे । पछि राम्रो हुँदै गयो, म आफूलाई भाग्यमानी मान्छु ।’
राष्ट्रिय क्रिकेट टिमका तत्कालीन प्रशिक्षक पुबुदु दसानायके चितवन पुगेका बेला उनी सन्दीपको प्रतिभाबाट परिचित भए । पुबुदुले नै सन् २०१५ मा उनलाई यु–१९ को क्याम्पका लागि काठमाडौं बोलाए । उनले त्यही क्रममा पहिलो पटक काठमाडौंमा पाइला टेकेका थिए । पुबुदु सरको आँखामा पर्नुअघि म त्यस्तै अवसरको पर्खाइमा थिए, सन्दीप सम्झन्छन्– उहाँले मलाई यु–१९ टिमको क्याम्पका लागि काठमाडौं बोलाउनुभयो, मलाई अहिले पनि सम्झना छ, यु–१९ टिम त्यतिबेला एसीसीको कुनै प्रतियोगिताको तयारी गर्दै थियो । मैले त्यतिबेला पनि ११–१२ विकेट लिएर राम्रै प्रदर्शन गरेको थिए ।
सन्दीपले त्यसपछि युवा राष्ट्रिय टिमसँग जोडिएर सन् २०१५ मा बंगलादेशमा भएको यु–१९ विश्वकपमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरे । डेब्यु प्रतियोगितामा आयल्यान्डविरुद्धको खेलमा ह्याट्रिकसहित ५ विकेट लिएर उनले सनसनी मच्चाए । त्यही प्रदर्शनका आधारमा सन्दीपले सन् २०१६ मा हङकङमा पहिलो पटक आयोजित ‘हङकङ ब्लिज’ मा अवसर पाए । त्यही खेल उनका लागि भाग्य चम्काउने प्रमुख अवसर बन्यो ।
सन्दीपले हङकङको कोलुन क्यान्टोसबाट क्रिकेट खेले त्यो त्यही टिम थियो, जसको कप्तानी अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले गर्दै थिए । त्यही क्रममा सन्दीपले क्लार्कसँग ‘विशेष सम्बन्ध’ बनाए । त्यही सम्बन्धकै कारण क्लार्कले उनलाई आफ्नो एकेडेमीमा ट्रेनिङ गर्न र ‘ए’ श्रेणीको क्लब क्रिकेट खेल्न अस्ट्रेलिया आउन निम्तो पठाए । माइकल क्लार्कजस्ता क्रिकेटको ठूलो नामसँग जोडिएपछि सन्दीपले अन्तर्राष्ट्रिय मिडियाहरूमा राम्रो कभरेज मात्र पाएनन्, उनको चर्चा पनि चुलिन थाल्यो ।
सन् २०१६ को सेप्टेम्बरमा उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा राष्ट्रिय टिमबाट डेब्यु गरे । कीर्तिपुरमा भएको नामिबियाविरुद्धको खेलमा डेब्यु गरेका सन्दीपले राष्ट्रिय टिमबाट पहिलो खेलमै विकेट लिए । त्यसयता उनी निरन्तर राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । सन्दीपले अहिलेसम्म नेपालका लागि लिस्ट ‘ए’ का २१ खेल खेल्ने क्रममा ४२ विकेट लिइसकेका छन् ।
आइपिएल सिक्ने अवसर हुनेछ
कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
निश्चित रूपमा राम्रो प्रतिक्रिया पाइरहेको छु । सबैले सकारात्मक कुरा गरिरहनुभएको छ, कसरी खेलहरूमा आफ्नो स्तर मेन्टेन गर्ने कुरा भनिरहनुभएको छ ।
सामाजिक सञ्जालमा पनि तपाईंको खुबै चर्चा हुन्छ ? कमेन्ट हेर्दा कस्तो अनुभूति हुन्छ ?
म सोसल मिडिया त्यति चलाउँदिनँ । थाहा भैरहेको हुन्छ, सबै जनाले फलो गरिरहनुभएको छ । एकदमै खुसी लाग्छ— सबैले मलाई माया दिइरहनुभएको छ ।
देशको गौरव र युथहरूको आइडलका रूपमा आफूलाई प्रस्तुत गरिँदा कस्तो अनुभूति हुन्छ ?
म पनि पहिले कसैको फ्यान थिए र उहाँहरूबाट प्रभावित भएर आफ्नो जीवनशैली अगाडि बढाइरहेको छु र आउने दिनमा म पनि चाहन्छु अरू पनि कोही ठूलो नाम बनेर आउन र उहाँहरूलाई पनि सबैले पछ्याउन् । त्यसले गर्दा खेलकै क्रेज बढ्छ ।
पहिलो हयाट्रिक लिँदाको अनुभव सुनाइदिनुस् न ?
पहिलो टुर थियो, अलि नर्भस र रमाइलो पनि लागिरहेको थियो । अन्डर–१९ विश्वकपमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी भएको कुरा मैले पछि मात्र थाहा पाएँ ।
आइपिएलमा अनुबन्ध भएको पहिलो खबर कसरी पाउनुभयो ?
हामी दुबईमा प्राक्टिस गरिरहेका थियौं । त्यतिबेला रमन दाइ (शिवाकोटी) ले हामीलाई सन्दीप आइपिएलमा छनौट भयो, दिल्ली डेयर डेभिल्सले किनेछ भनेर सुनाउनुभयो । मलाई निकै खुसी लाग्यो, सबै जना खुसी हुनुहुन्थ्यो, बधाई दिइरहनुभएको थियो ।
आइपिएलका लागि कस्तो योजना बनाउनुभएको छ ?
त्यहाँ गएर राम्रो गर्ने हो । अहिले नै त्यस्तो कुनै ठोस योजना बनाएको छैन । सबै खेलाडीको चाहना उत्कृष्ट प्रदर्शन गर्ने नै हुन्छ, मेरो पनि त्यही छ, टिमलाई जिताउन योगदान दिन सकूँ । राम्रो गर्ने, धेरै कुरा सिक्ने, अनुभवहरू बटुल्ने सोच छ ।
प्लेइङ–११ मा पर्ने सम्भावना कत्तिको छ ?
सबै प्लेयरको चाहना आफूलाई प्लेइङ ११ मा देख्ने हुन्छ, तर यसमा कोच र क्याप्टेनको दृष्टिकोण नै निर्णायक मानिन्छ ।
सन्दीपको फेरिएको दैनिकी
सन्दीप बिहान ६ देखि साढे ६ बजेसम्म ओछ्यान छाडिसक्छन् अनि त्यसपछि नुहाएर फ्रेस हुन्छन् । फ्रेस भएपछि भगवानको पूजा गर्छन् । उनी हनुमानका भक्त हुन् । सन्दीप बुद्धको पनि पूजा गर्छन् । त्यसपछि उनी प्राक्टिसका लागि निस्कन्छन् । प्राक्टिस सकिएपछि खाना खान्छन् । त्यसपछि नुहाएर फ्रेस भै कोठामा फर्कन्छन् अनि गीत सुन्न थाल्छन् । उनी प्राय: स्याड तथा मेलोडियस गीत सुन्छन् । सन्दीपलाई सबैभन्दा मनपर्ने गीत पर्खाइमा भिज्यो सिरानी... हो । उनी आफैं पनि गीत गाउँछन् । सन्दीपले आफ्नो पहिलो एल्बम ‘प्रतीक्षा’ बजारमा ल्याउने तयारी समेत गरिरहेका छन् ।
फुर्सदमा उनी घरमा फोन गर्छन् । कहिलेकाही साथीहरूसँग आउटिङमा निस्कँदा पनि उनलाई रमाइलो लाग्छ । त्यसपछि साँझ खाना खाएर १० बजेसम्म निदाइसक्छन् । उनलाई खानेकुरामा कुनै स्पेसल परिकार चाहिँदैन । रोटीसँग भिन्डीको तरकारी र दही मन पर्छ । भातसँग राजमा अनि चिकेन ग्रेभी पनि उनलाई मन पर्ने परिकार हो ।
चिटिक्क परेर हिड्ने सन्दीप धेरैजसो कोट पाइन्ट लगाउन रुचाउँछन् । उनलाई मनपर्ने रंग आकाशे नीलो र रातो हो । सन्दीपलाई प्रेरणादायक तथा हास्य चेतनायुक्त पुस्तक मन पर्छन् । म्यागजिनहरू पनि पढ्न रुचाउँछन् उनी । लन्डन सन्दीपको फेबरेट गन्तव्य हो । आफ्नो इच्छालाई नै प्रेरणाको स्रोत मान्ने सन्दीपका आइडियल पर्सन अस्ट्रेलियाका महान् क्रिकेटर शेन वार्न हुन् । उनी चलचित्र भने उति हेर्दैनन् ।
छोटो अवधिमै ठूला–ठूला उपलब्धिको खातमाथि उभिएका सन्दीपको सर्वाधिक खुसीको क्षण कुन होला ? सन्दीप भन्छन्– नेपालले एक दिवसीय क्रिकेट खेल्ने योग्यता पाएको क्षण सबैभन्दा खुसीको क्षण हो । यो हाम्रा लागि ऐतिहासिक क्षण हो । त्यसबाहेक उनी पहिलोपटक नेपालको जर्सीमा मैदानमा उत्रिएको क्षणलाई पनि अविस्मरणीय मान्छन् । उनी खुसीका क्षण सर्वप्रथम परिवारसँग साट्छन्, दिदी–भिनाजुलाई आफ्नो उपलब्धि सुनाउँछन् । तीन–चार जना क्रिकेट बाहिरका एकदमै क्लोज साथीसँग पनि उनी आफ्नो खुसी सेयर गर्छन् ।
सन्दीपले सधै अप मात्र हुँदैन, जति अप हुन्छ त्यति नै डाउनफलको पनि सम्भावना हुन्छ भन्ने तथ्य राम्रोसँग बुझेका छन् । त्यसैले उनी सुखपछि दु:ख आउने कुरामा विश्वास गर्छन् । लामिछाने भन्छन्– लाइफमा अप एन्ड डाउन भैरहन्छ । अप एण्ड डाउनबाट दु:खी हुनुभन्दा पनि त्यसबाट केही न केही सिक्न सक्नुपर्छ । उनलाई केटीहरूले कतिको पछ्याउँछन् ? मेरो नम्बर त कुनै पनि केटीसँग छैन, म्यासेजहरू भने आइरहन्छ, उनी भन्छन्– फेसबुक, इन्स्ट्रा, ट्वीटर सबैतिर म्यासेज आइरहन्छ । माया दर्साइएका त्यस्ता म्यासेजले उनलाई खुसी पनि तुल्याइरहेको हुन्छ ।
सन्दीपले परिपक्व हुँदैछन् सन्दीप युवा छन, छोटो समयमै उनले आफूलाई परिपक्व बनाउँदै लगेका छन् । पर्सनालिटी पनि राम्रो छ । गीत गाउन र सुन्नमा उनको विशेष रुचि छ । राजु लामाका गीत सुन्न बढी रुचाउँछन् । साथीहरूसँग आउटिङमा निस्कन पनि रुचि राख्छन् ।
दुई वर्षअघिसम्मको सामान्य यी ठिटोले आफूलाई निकै ग्रुम गरेका छन् । अहिले उनी धेरै फरक पनि भैसकेका छन् । मिडिया फेस गर्नेदेखि सार्वजनिक कार्यक्रममा पनि परिपक्व रूपमा प्रस्तुत हुन्छन् । उनले यी सबै कुरा आफ्ना सिनियर टिममेट तथा टिमसँग बस्दाको अनुशासनबाट सिकेका हुन् । उनी निट एन्ड क्लिन भएर बस्न तथा टिपटप भएर हिँड्न रुचाउँछन् । सन्दीपको हेयर स्टाइल स्टाइलिस छ, ब्लेजर, कोट र पाइन्ट लगाउन मन पराउँछन् । यो सबैमा उनले स्वयं आफूलाई ग्रुम गरेका हुन् ।
-छुम्बी लामा, क्यानका कार्यसञ्चालन अधिकृत
पिताको नजरमा सन्दीपचन्द्रनारायण लामिछानेको जन्मथलो स्याङ्जा हो । उनी वि.सं. २०१३ मा स्याङ्जा आरुचौर तालपोखरीमा जन्मिएका हुन् । चन्द्रनारायण सानै उमेरमा रोजगारी खोज्दै भारततर्फ लागे । गाउँमा बसेर केही नहुने देखेपछि २०२८ सालमा उनले नेपाल छाडेका थिए । भारतमा अनेक काम गर्दागर्दै उनले हरियाणाको जिन्दमा रेल यातायात सेवाको जागिर पाए । त्यसपछि स्याङ्जा आएर वि.सं. २०३६ मा विवाह गरे । चन्द्रनारायणका तीन छोरी तथा दुई छोरा छन् । सन्दीप उनका कान्छा छोरा हुन् ।
चन्द्रनारायणले हरियाणामै पहिलो पटक क्रिकेटका सम्बन्धमा जानकारी पाएका हुन् । नदेखेको खेल क्रिकेट देख्दा सुरुमा उनलाई अनौठो लाग्थ्यो तर विस्तारै यो खेल प्रति रुचि जाग्दै गयो । ‘भारतमा त जहाँतहीँ क्रिकेट खेलिन्छ । म रेल्बेको जागिरे । रेल्वे कै एउटा टिम पनि थियो । मैले खेल्न त खेलिनँ, तर हेर्दा हेर्दै यो खेल प्रति रुचि बढ्दै गयो,’ चन्द्रनारायणले भने ।
इन्डियन प्रिमियर लिग (आईपीएल) भारत र भारतबाहिर अत्यधिक रुचाइने क्रिकेट प्रतियोगिता हो । हरियाणामा हुँदा चन्द्रनारायण टिभीमा आईपीएल हेर्थे । ‘भारत र भारत बाहिर हुने अन्य क्रिकेट खेल कमै छुटाइन्थ्यो । आईपीएल त झन छुटाउँने कुरै भएन’ चन्द्रनारायणले भने । आईपीएल हेर्दा कान्छा छोरा सन्दीप पनि साथमै हुन्थे । यसरी टिभीमा म्याच हेर्दा ‘बलिङमा शेन वार्न र ब्याटिङमा सचिन जस्तो कोही छैन’ भन्ने बहस चल्थ्यो ।
चन्द्रनारायणलाई नेपालमा क्रिकेटको अवस्था कस्तो छ, खासै जानकारी थिएन । आईपीएलमा भारतका मात्र नभएर अन्य देशका उत्कृष्ट क्रिकेट खेलाडीहरू पनि खेल्न आउँथे । कुनै नेपाली आएर आईपीएल खेल्ला भन्ने उनको कल्पना बाहिरको कुरा थियो, तर संसारमा असम्भव भन्ने केही रहेनछ । कुनै बेला आफुसँगै बसेर टिभीमा आईपीएल हेर्ने आफ्नै कान्छा छोरा अहिले आईपीएल टिमसँग अनुबन्धित छन् ।
चन्द्रनारायण लामिछाने आईपीएलका लागि छनौट भएका पहिलो नेपाली क्रिकेटर सन्दीप लामिछानेका पिता हुन् । ‘म क्रिकेट खेल्छु, बाआमाको मात्र नभएर देशकै नाम राख्छु भन्थ्यो । उबेला सुन्दा खासै पत्यार नलाग्ने उसको भनाइ अहिले यथार्थ भएको छ’ चन्द्रनारायणले भने । आइपीएल खेल्न सन्दीप भारततर्फ लागेपछि यता सन्दीपका बाबुआमा तथा दाजु–भाउजू भने पुख्र्यौली थलो स्याङ्जा पुगे । चन्द्रनारायणको जीवन स्याङ्जाबाट भारत हुँदै पछिल्लो समय चितवन आएर अडिएको छ, तर सन्दीपको खेल जिवन एकपछि अर्को रफ्तारमा दौडँदैछ ।
सन्दीपले स्याङ्जाको सूर्योदय माविमा सुरुवाती शिक्षा लिएका हुन्, तर चन्द्रनारायणले कहिले भारत कहिले स्याङ्जा गर्नुभन्दा पढ्ने समयसम्म परिवारका सवैलाई भारत मै लगेर राख्ने निधो गरे । उनको यही सोचका कारण क्रिकेटर सन्दीपको जन्म भएको हो । भारत नगएको भए सम्भवत: सन्दीप लामिछानेको यो रुप देखा नपर्न सक्थ्यो भन्ने उनलाई लाग्छ ।
सन्दीप हरियाणाको जनता विद्यामन्दिरमा भर्ना भए । ‘त्यो स्कुलमा क्रिकेट सिकाइन्थ्यो । सन्दीपले बल ब्याट समाउन थालिहाल्यो । क्रिकेट खेल्न रुचि देखाएको हुँदा रेल्बेका मेरा साथीहरू पनि खुसी भए । किनभने रेल्वेको पनि आफ्नै क्रिकेट टिम थियो,’ चन्द्रनारायणले भने । यसरी क्रिकेटसँग जोडिएका सन्दीपका हरचाहनालाई आफूहरूले ख्याल राख्दै आएको उनले बताए ।
‘मेरा दुइ भाइ छोरामा दुवै भाइले क्रिकेटमा रुचि देखाए, तर जेठो छोराले भने मेरै बिँडो थाम्दै रेल्वेमा जागिर सुरु गर्यो । सन्दीप क्रिकेटमै मग्न भयो । ऊ पढाइमा पनि राम्रो थियो, तर हामीले पढाइ बिग्रन्छ क्रिकेट नखेल भनेनौं । उसको रुची र माग पूरा गर्दै गयौं’ चन्द्रनारायणले भने । यस्तैमा एक दिन सन्दीपले नेपाल नै गएर पढ्ने र क्रिकेट सिक्ने चाहना व्यक्त गरे ।
‘नारायणगढमा क्रिकेट सिकाइन्छ भन्ने थाहा पाएपछि ऊ नेपाल फर्कने भयो । नारायणगढ नजिक नवलपुरको रजहरमा दिदीको घर छ । हामी भारतमै थियौं, ऊ नेपाल आएर दिदीकहाँ बसी नारायणगढमा क्रिकेट सिक्न थाल्यो’ चन्द्रनारायणले भने । सन्दीप नेपालमै क्रिकेट सिकेर नेपाली राष्ट्रिय टिमबाट खेल्छु भन्दै हरियाणाबाट हिँडेको चन्द्रनारायण सम्झन्छन् ।
‘ऊ हिँड्न त हिँड्यो, सोचे जस्तो होला–नहोला भन्ने पिर हाम्रो मनमा थियो, तर अहिले जे जति भएको छ त्यो कल्पना गरेभन्दा कैयौं गुणा बढी छ,’ चन्द्रनारायणले भने । नारायणगढमा उनले पुर्व कप्तान राजु खड्काको साथ पाए । उनीसँग लिएको तालिमले सन्दीपलाई अघि बढ्न ठूलो मद्दत गर्यो भन्छन्— चन्द्रनारायण लामिछाने । चार महिनायतादेखि स्थायी रूपमा चितवनमै बस्दै आएका चन्द्रनारायण छोराले क्रिकेटमा अझै कमाल गर्न बाँकी नै भएको दाबीसमेत गर्छन् ।
-रमेशकुमार पौडेल