संसारमा संगीतको जस्तो परिदृश्य देखिँदैछ, नेपाली संगीतको दिशा र दशा पनि त्यही हो । विश्वव्यापीकरण र प्रविधि सांगीतिक रथका दुई पांग्रा हुन् । दक्षिण एसियाली, युरोपेली, अमेरिकी, अफ्रिकी हुन् वा क्यारेबियन, कुनै एक भूगोलका संगीत अर्को भूगोलको प्रभावबाट मुक्त छैनन् । हाम्रा आधुनिक संगीतमा पश्चिमेली प्रभाव अत्यधिक छ । बाजा र वाद्ययन्त्र मात्र नभएर पश्चिमेली शैली नै हामीमाथि हाबी छन् । हिजो नेपाली सुगम संगीत हिन्दुस्तानी शास्त्रीय र बलिउडका पास्र्व संगीतको अत्यधिक प्रभावमा रह्यो । तर, जसै भारतीय नै पश्चिमेली संगीतको उग्र प्रभावमा पर्दै गए, नेपाली संगीतमाथि भारतीय (खासमा बलिउड) र पश्चिमेली संगीतको दोहोरो प्रभाव पर्दै गयो । यसको अर्थ पूर्वीय संगीत मात्र पश्चिमेली संगीतको एकोहोरो प्रभावमा परे भन्ने होइन, पश्चिमेली पनि पूर्वीय शास्त्रीय संगीतबाट उति नै प्रभावित देखिन्छन् ।
विटल्सका गिटारबादक जर्ज ह्यारिसनले गुरु नै थापेर पण्डित रविशंकरसँग सितार सिकेनन् मात्र, विटल्सका केही कम्पोजिसनमा सितारको प्रयोग पनि गरे । विश्वव्यापीकरणका कारण संगीतमाथि वैश्विक प्रभाव त छँदै छ, सँगसँगै यसले एक भूगोलका लागि अर्को भूगोल बजारका रूपमा पनि उपलब्ध गराएको छ । हिजो नेपाली संगीत लोक, शास्त्रीय र सुगम गरी तीन धारमा प्रावहित रह्यो । तर, समयक्रमसँगै अन्य भँगाला पनि नेपाली संगीतको मूलधारमा मिसिँदै गए ।
पश्चिमेली क्लासिकल, रक र जाँज मात्र नेपाली आधुनिकताका अवयवमा सीमित रहेनन्, स्वयं पश्चिमेली नै प्रभावमा रहेको अफ्रिकन ‘आर एन्ड बी’ (रिदम एन्ड ब्लूज), क्यारिबियन रास्ताफारियन र रेग्गी अनि अमेरिकामा अफ्रिकन अनि ल्याटिनो अमेरिकनद्वारा विकसित हिप–हप अर्थात् र्याप म्युजिकको बाछिटा पनि नेपाली संगीतमा भरपुर परेको छ ।
त्यसैले आजको नेपाली संगीतको धार के हो भन्ने प्रश्नको ‘पोलिटिकल करेक्ट’ उत्तर नपाइन सक्छ । तर, संगीतलाई यहाँसम्म डोर्याउने कारक तत्त्व के हुन् भन्नेबारे विवेचना र विश्लेषण भने हुन सक्छ, जसका अनेकौं कारक हुन सक्छन् । र, तीमध्येका दुई शीर्ष कारक प्रविधि र बजारउपर चर्चा गरिनु सान्दर्भिक हुन सक्छ ।
सुन्नेबाट हेर्ने
नेपाली भाषाका प्रारम्भका गीतहरू नेपालबाहिरै रेकर्ड भए पनि राणाविरोधी क्रान्तिको शंखनादनिम्ति स्थापित ‘प्रजातन्त्र रेडियो’ प्रजातन्त्रको प्राप्तिपछि रेडियो नेपालका रूपमा स्थापित भएपछि नेपालमा सुगम संगीतको अध्याय सुरु भएको हो । रेडियो नेपालको स्थापनाबाट नेपालमा सूचनासँगै संगीतको युगको पनि आरम्भ भयो । स्वाभाविक थियो, श्रव्य माध्यम रेडियोबाट प्रसारित सूचना र संगीत सुनिनु मात्र सम्भव थियो । रेडियो पुस्ताले गीत–संगीत त्यसैगरी सुने जसरी उनीहरू समाचार सुन्थे । तर, प्रकृतिजस्तै प्रविधि पनि कहिल्यै स्थिर रहन सक्दैन ।
रेडियो स्थापनाले चार दशक पनि पार नगर्दै नेपालमा श्रव्यसँगै दृश्य माध्यम भित्रियो, जसलाई टेलिभिजन भनियो । हुन त टेलिभिजनको युगअघि नै चलचित्रमा ‘प्ले ब्याक’ (पाश्र्व गायन) मार्फत गीतउपर दृश्य नबनेका होइनन् । नेपालमा सिनेमा निर्माण ढिलो गरी सुरु हुनु र त्यो पनि न्यून संख्यामा उत्पादन हुने कारण संगीत लामो समयसम्म श्रव्य माध्यममै सीमित रहनुपर्यो । तर, टेलिभिजनले प्राप्त गरेको लोकप्रियता र चलचित्र निर्माणमा गुणात्मक नभए पनि संख्यात्मक छलाङसँगै नेपालमा पनि गीत–संंगीत काँच र कपडाको पर्दामा हेर्न थालियो ।
टेलिभिजन, सिनेमा र पछि इन्टरनेट माध्ययम सोसल साइटको अभ्युदयपछि त पढ्ने र सुन्ने कुरामाथि हेर्ने अर्थात् दृश्य नै हावी हुन थाल्यो । हिजो समाचार सुनिन्थ्यो र त्यसैगरी गीत–संगीत पनि सुनिन्थ्यो, तर आज समाचार र गीत हेरिन्छ । कुनै गायक–संगीतकारले गीत मात्र सार्वजनिक गर्छ भने उसको हालत त्यस्तो व्यक्ति जस्तो हुन्छ, जसले घर बनाउने सपना त देखेको छ, तर ऊ घरको साटो हातमा नक्सा लिएर बसेको छ । प्रविधिको विकास र परिष्करणका कारण क्यासेट (चक्का) इतिहास बनिसकेको छ । त्यसैगरी सिडी (कम्प्याक्ट डिक्स) लगभग लोपोन्मुख छ । एनालगबाट डिजिटल फड्कोका कारण संगीतसमेत डिजिटलाइज्ड भइसकेको छ । संगीतको उत्पादन वा कपी निमेषभरको मामिला बनेको छ । संगीतको संग्रह भौतिकभन्दा पनि ‘भर्चुअल’ (अवास्तविक) स्थानमा सम्भव भएकाले इन्टरनेट र एप्स (एप्लिकेसन) मार्फत यो उपलब्ध र सुलभ बनेको छ ।
हिट्स र मोनेटाइज
‘हिट्स’ संगीतसँग जोडिने शब्दावली हो । हिजो रेडियोमा सर्वाधिक फर्माइस बजाइने वा क्यासेट र सिडी बढी बिक्ने सर्जक (गायक र संगीतकार) हिट रहन्थे । ‘हिट’ ले लोकप्रियता र अर्थोपार्जन दुवै जनाउँथ्यो, जसको क्यासेट र सिडी बढी बिक्थ्यो, रोयल्टी त्यसैमुताबिक हात पथ्र्यो । तर, आज गीत–संंगीत सुन्नेबाट हेर्ने वस्तु बनेसँगै ती सिर्जना वा उत्पादन देखाइने माध्यम पनि बदलिएको छ । टेलिभिजनका पर्दाभन्दा बढी गीत आज युट्युबमा हेरिन्छन् । एउटा सर्जक कति ‘हिट’ छ भन्ने कुरा उसको सिर्जनाको ‘भ्यूज’ ले निर्धारण गर्छ । जति धेरै ‘भ्यूज’ उति धेरै नै अर्थोपार्जन । त्यसैले सिर्जनाको ‘मोनेटाइज’ (मुद्रीकरण) क्यासेट वा सिडीको बिक्रीबाट नभएर युट्युब वा संगीतसम्बद्ध एप्सको ‘भ्यूज’ ले निर्धारण गर्छ ।
गायक र संगीतकारको अर्थोपार्जनको अर्को माध्यमचाहिँ उनीहरूको स्टेज वा लाइभ पर्फमेन्स पनि हो । सूचना–प्रविधिको विकास, कनेक्टिभिटी र नेपालीभाषी समुदायको आन्तरिक र बाह्य आप्रवासनका कारण संगीत सर्जकका लागि स्टेज वा लाइभ पर्फमेन्सको स्पेस विस्तारित बन्दै गएको छ, जसबाट उनीहरूको आयमा उल्लेखनीय बढोत्तरी हुन गई जीवनयापनमा समेत गुणात्मक वृद्धि हुन थालेको छ ।
गीत–संगीतजस्ता सौम्य शक्ति (सफ्ट पावर) प्रति राज्यको उदासीनता व्याप्त रहेको परिप्रेक्ष्यमा यसका श्रोता र प्रशंसकबाट सर्जकको जीविका र अर्थोपार्जनमा उल्लेखनीय योगदान हुनु संगीतका लागि सुखद कुरा हो ।
तर, हिट हुने होडबाजीका कारण संगीतले चर्को मूल्य नचुकाउने चाहिँ होइन । क्षणिक लोकप्रियताले संगीतको गुणवत्तामा ह्रास ल्याइदिएको छ । ‘भ्यूज’ बाट गीत–संगीत ‘मोनिटाइज’ त हुन सक्ला तर ‘भ्यूज’ का आधारमा मात्रै संगीतको सर्वकालिकता वा लोकप्रियता मापन गर्न सकिँदैन । उदाहरणका लागि, कतिपय अवस्थामा मौलिक कम्पोजिसनभन्दा पनि त्यसको नक्कल अर्थात् ‘कभर’ बढी नै ‘भ्यूज’ भइरहेका हुन्छन् । छिमेकी मुलुक भारतमा मोहम्मद रफी, लता मंगेशकर, किशोर कुमार आदिका आवाजका मूल गीतभन्दा पनि तिनका कभर बढी नै ‘भ्यूज’ भइरहेका हुन्छन् ।
अर्काको गीतलाई स्टुडियोमा सिन्थेसाइजरको माध्यम रेकर्ड गर्दै मौद्रीकरण गर्नु भनेको संगीतको बजारिकरण नभएर बजारको संगीतीकरण हो । नेपालमा पनि यस्ता प्रशस्त उदाहरण पाइन्छन् । परिणामत: आज गीत–संगीत टिकाउभन्दा पनि बिकाउ वस्तु भएका छन् । राम्रा तर क्षणभंगुर सस्ता चिनियाँ मालजस्ता गीत र कम्पोजिसनले मन र मुटु छुने संगीतजस्तो परम आनन्ददायी र पवित्र वस्तुको हुर्मत लिएको छ ।