बगैंचामा माली काम गर्ने पिता नाति महर्जनकी छोरी सुनिता महर्जनले कराँतेमा स्वर्ण जितिन् । उनको सफलता एक पिताले संघर्ष गरेर सन्ततीलाई जुराइदिने अवसरको जित हो ।
१३औं दक्षिण एसियाली खेलकुद सागमा कराँतेको कुमुतेतर्फ ६८ केजी अन्तर्गत स्वर्ण जितेसँगै उनले नेपाल समर्थित दर्शकलाई गर्भिलो सान, मान र इज्जत दिलाइन् । दर्शकदीर्घाबाट जोससहितको स्वर गुन्जियो— नेपाल नेपाल नेपाल ।
यो आवाज मत्थर हुन नपाउँदै एक वृद्ध मानिस मैदानमा पुगे । विजेताले नेपालको झन्डासहित वृद्धलाई अँगालोमा बेस्सरी कसेर आँखाबाट टप्लक्क आँसु खसाइन् । वृद्धको आँखा पनि आँसुले भरिए । अहिले यो फोटो र भिडियो सामाजिक सञ्जालमा छाएको छ । उक्त फोटो एकाएक भाइरल बनेको छ । भाइरल फोटो र भिडियोका व्यक्ति हुन्— मनमैजु, काठमाडौंकी कराँते खेलाडी सुनिता महर्जन र उनका बुवा नाति महर्जन ।
सिंगल इभेन्टतर्फ पाकिस्तानकी खेलाडी कुल्सुमलाई पराजित गर्दै सुनिता महर्जनले स्वर्ण जितेकी हुन् । स्वर्ण जितेसँगै स्वर्ण पदक उनले बुवालाई समर्पित गरिन् । उनको अन्तर्राष्ट्रिय स्तरमा जितेको यो पहिलो सफलता हो । यसअघि उनले कुनै पनि अन्तर्राष्ट्रिय पदक हासिल गर्न सकेकी थिइनन् । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा नगरेकी भने होइनन् । भुटानमा आयोजित साउथ एसियन च्याम्पियनसिप, जकार्तामा आयोजित १८ औं एसियन गेम्स, सिरिज जापान उनले सहभागिता जनाएका अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धाका खेल हुन् । तर, सफलता भने हासिल गर्न सकिनन् उनले । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिस्पर्धा कमजोर हुने भएकाले पनि सफलता हात पार्न नसकेको उनी बताउँछिन् । ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जाँदा आफैं खर्च गर्नुपर्ने अवस्था आउँछ, जुन सम्भव नै हुँदैन, उनी भन्छिन्, ‘त्यही भएर पनि धेरै सहभागी भएको छैन ।’ उनका अनुसार आर्थिक अभावकै कारण खेलाडीहरू चाहेर पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न गार्हो छ ।
आफ्नो भाग्य बलियो भएर नै १३ औं साग खेल्न पाएको बताउँछिन् सुनिता । आठौं राष्ट्रिय खेलकुदमा उनी पराजित भइन् । उनले कुनै पनि पदक हासिल गर्न सकिनन् । पदक नजित्नेले आगामी साग खेलमा समावेश नगरिने नियम बन्यो । साग खेल्ने रहर भने उनमा एकदमै थियो, डर पनि त्यत्तिकै । अब के होला ? उनको मनमा दुविधा रहिरह्यो । घरेलु मैदानमा सागमा समावेश नभएपछि खेलको पनि के महत्त्व होला र ? उनको मनमा द्वन्द्व चलिरह्यो । संयोग उनलाई यो नियम लागू भएन । आठौं राष्ट्रिय खेलकुदमा छुटफुट भएका खेलाडीहरूलाई टिम फाइटमा अवसर दिइयो । त्यही टिममा परिन् सुनिता । टिम प्रवेश गरेसँगै व्यक्तिगत रूपमा आफ्नो तौलमा खेल्ने अवसर पाइन् । अब भने उनले आफ्नो तौलमा साग खेल्ने निश्चित भयो । त्यो पल सम्झिँदै उनी भन्छिन्, ‘सागमा आफ्नै तौलअनुसार खेल्न पाउन मेरो लागि एकदमै राम्रो कुरा थियो ।’
विद्यालयस्तरमा मात्र छिटफुट प्रतिस्पर्धा गरेकी उनले प्रशिक्षणको सल्लाहमा पहिलो पटक २०६८ मा छैटौं राष्ट्रिय खेलकुदमा सहभागी भइन् । नेपाल पुलिस क्लबको करारमा रहेर मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न धनगढी पुगिन् । त्यसमा उनले ५० केजीमा अनु अधिकारीसँग प्रतिस्पर्धा गरिन् र तेस्रो भइन् । उनी खेलमा पहिलो बन्न त सकिनन् तर जागिरको बाटो भने कोरिन् । यही समयमा नै हो उनले नेपाल पुलिस क्लबमा जागिर सुरु गरेको । नेपाल पुलिस क्लबमा जागिर पाउनु आफ्नो जीवनको टर्निङ प्वाइन्ट मान्छिन् उनी । पुलिस क्लबबाट नै उनले खेललाई अगाडि बढाइन् । उनको खेल जीवनलाई अगाडि बढाउन पुलिस क्लब एउटा गतिलो प्लेटफर्मका रूपमा उभियो । अहिले स्वर्ण पदक जित्नुमा
पनि उनि पुलिस क्लबलाई नै
श्रेय दिन्छिन् ।
सुनिताका दाइ विनोदले कराँतेमा राष्ट्रिय च्याम्पियन बन्ने उद्देश्य राखेका थिए । परिवारको पहिलो दाइको खेल हेर्न बाँकी तीन जना भाइबहिनी गइरहन्थे, सुनितालाई भने दाइले खेलको देख्दा अत्यधिक मज्जा लाग्थ्यो । दाइको खेलप्रतिको लगाव देखेर उनी पनि कराँते खेलमा आकर्षित भइन् । उनको पनि खेलप्रतिको रुचि बढ्दै गयो । खेल्नकै लागि उनी कहिले दाइलाई पछयाउँदै जान्थिन् त कहिले घरमै सिक्थिन् । दाइले भने खेललाई निरन्तर दिन सकेनन् तर बहिनीलाई खेलमा सधंै हौस्याइरहे । उनी कराँते मात्र मात्र कहाँ हो र, किक बक्सिङ पनि खेल्ने गर्थिन् । उनी भन्छिन्, ‘त्यो समयमा कराँतेमा किक बक्सिङ पनि समावेश हुन्थ्यो, पछि भने यसलाई हटाइयो ।’ बक्सिङ खेल्न कहाँ सजिलो हुन्थ्यो र बक्सिङ खेल्दा उनको नाक भाँचियो । नाक भाँचिएर रगत बगेको समय याद नभए पनि त्यो दुखाइ भने अझै उनलाई ताजा लाग्छ । त्यसपछि उनको बक्सिङ यात्रा त्यही टुंगियो । कराँतेलाई भने उनले निरन्तरता दिइरहिन् । बालाजुस्थित किन्डर गार्डेन विद्यालय अध्ययन गरेकी उनले खेलसँगसँगै पढाइलाई अघि बढाइन् । विद्यालय स्तरमा उनी दुई घण्टा अभ्यास गर्ने गर्थिन् ।
प्रशिक्षक विजय महर्जनले उनलाई एकदमै सहयोग गरेका थिए । दस कक्षाको पढाइसम्म उनले विद्यालयमै अभ्यास गरिरहिन् । विद्यालयको पढाइ त सकियो तर उनको खेलप्रतिको मोह सकिएको थिएन । उनलाई खेललाई थप उचाइमा पुर्याउनु थियो । तत्कालै उनले बालाजु कराँते डोजोमा आबद्ध भइन् । प्रशिक्षणको समय भने त्यति सजिलो भने थिएन । प्रशिक्षण लिनै गार्हो त्यसमाथि पनि प्रशिक्षकहरूको गाली बीचमै छोडिदिन्छु भन्ने नलागेको पनि होइन सुनितालाई । तर, खेल्ने रहर बीचमै छोड्न भने उनले सकिनन् । घरपरिवारको निरन्तर हौसलाले उनलाई खेल्नमा उत्साहित गराइरह्यो ।
डाइट– दूध र सातु
विद्यालय जीवनमा पोषण के हो ? खेलाडीलाई कस्तो खानपान हुनुपर्छ भन्ने सुनितालाई थाहा थिएन । सानैदेखि दूध मन पर्ने भएकी उनी दूध खान्थिन् अनि घरमै बनाएको सातु खुब खान्थिन् । छोरीले दूध मन पराउने भएकाले बुवाले घरमा गाई पालेका थियो । यही पोषणको भरमा उनी बाल्यकालदेखि खेल खेल्दै आइन् । ‘त्यो समयमा डाइट भन्ने नै केही थिएन घरमा जे हुन्थ्यो त्यही खाने गर्थांै, उनी भन्छिन्, अन्य खानेकुरा किन्नका लागि परिवारमा पैसा हुँदैनथ्यो ।’ उनका दाइ विनोद पनि खेललाई अगाडि बढाउन नसक्नुको कारण आवश्यक खानपान नहुनु बताउँछन् । भन्छन्, ‘डाइटसाइट केही हँुदैनथ्यो खेल्न पनि गाह्रो भयो अनि खेल्नै छोडेँ ।’
बगैंचामा फूल, घरमा छोरीसँगै हुर्किए
६४ वर्षीय नाति महर्जन कामका हिसाबले माली हुन् । उनी बगैंचामा सुन्दर फूल फुलाउँछन् । हेरचाह गर्छन् । यही कामबाट बालबच्चा हुर्काएको बताउँछन् । जब छोरीको गलामा स्वर्ण पदक देखेँ अनि उनी खुसीले भावविह्ल बने । छोरीको सफलतापछि उनलाई लाग्यो बगैंचामा फूल मात्रै होइन मैले छोरीलाई पनि फूल जस्तै हुर्काएछु । अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा छोरीले स्वर्ण जितेर बुवाको गलामा भिराउँदा सुनिताको बुवा नाति महर्जनले केही सोच्नै सकेनन् । ‘बोलु शब्द आएन’ उनी भन्छन्, ‘आँसु मात्रै झरिरह्यो ।’
नाति २०५० सालदेखि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निवासमा काम गर्थे । करिब चार वर्ष काम गरेपछि उनलाई गिरिजाले २०५४ सालमा राष्ट्र बैंकमा जागिर लगाइदिए । उनले त्यहाँबाट १४ सय तलब पाउँथे । दिनभरि बैंकमा काम गरे पनि उनी अरू समय गिरिजा निवासमै मालीको काम गर्थे । उनले धेरै किसिमका बिरुवाहरू हुर्काए । अहिले पनि उनलाई फूलसँगै रमाउन मन लाग्छ । माटोमा काम गर्दा गर्दै उनका हातखुट्टा फुटेका हुन्थे ।
तर, उनले छोराछोरी खुसी राख्न प्रयास गरिरहे छोराछोरीलाई उनले आफ्नो इच्छाअनुसार अघि बढ्न रोकेनन् । गिरिजाले छोराछोरीको इच्छाअनुसार अघि बढ्न दिनु भन्ने कुराले पनि उनलाई बिझाइरह्यो । पिटाइ खाएर घरमा आउँदा कहिलेकाहीँ नखेल अब भयो पनि भन्न भ्याए । तर, सुनिताको जोस–जाँगर देखेर उनले खेललाई नै अगाडि बढाउनका लागि हौसला दिइरहे । उनी भन्छन,् ‘घरमा मैले कुटेर मान्दैनन्, गुरुले कुटेर त सुध्रिएलान नि भनेर पनि मैले अघि बढ्न दिइरहे ।’
बाल्यकालदेखि नै चञ्चले स्वभावकी सुनिता कान्छी छोरी भएकाले पनि अरूको जस्तो दु:ख भने भोग्न नपरेको आमा बताउँछिन् । आर्थिक अवस्थाले पनि उनलाई खासै प्रभाव परेन । घरको काम गर्नु नपर्ने भएपछि खेलमा उनले समयको सदुपयोग राम्रै गरिन् । उनी भन्छिन्, ‘घरको कान्छी छोरी भएकाले पनि उनलाई धेरै कुरामा सजिलो भयो ।’ छोरीलाई खेलमा नपठाऊ भनेर आमालाई भन्नेहरू पनि धेरै थिए । आमा भन्छिन्, ‘यदि छोरीलाई अवसर दिएमा हरेक क्षेत्रमा अगाडि बढ्न सक्छन् ।’
वैवाहिक यात्रा
विद्यालयस्तरको पढाइ सकेर सुनिता पकनाजोलस्थित नेसनल कलेज अफ कम्प्युटर स्टडिजमा अध्ययन गर्न थालिन् । पढाइको सिलसिलामा उनको भेट सोहिल महर्जनसँग भयो । पहिलो भेटमै सोहिल सुनितासँग आकर्षित भए । करिब ४ वर्ष प्रेम सम्बन्धमा रहेर विवाह गरेँ । विवाहपछि महिला खेलाडीहरूले खेललाई निरन्तरता दिन नसकेको धेरै सुनिन्छन् । तर, सुनिताको खेल यात्रा भने रोकिएको छैन । सोहिलले हरेक समयमा सहयोग गर्दै आइरहेका छन् । उनी भन्छिन्, ‘यदि परिवारको साथ सहयोग भए विवाहित नारीहरूलाई कुनै असर पर्दैन ।’