सर्जरीकै लागि उनी बैंकक पुगिन् । उनले २०१४ मा बैंकक पुगेर ४ लाखमा स्तन सर्जरी गरिन् । स्तन सर्जरी गरेपछि आफ्नो पहिचानका लागि थप सहयोग पुगेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘स्तन महिलाहरूको एक पहिचान हो ।
उनी पुतलीसँग खेल्न रुचाउँथिन् । कोरी–बाटी चिटिक्क परेर विद्यालय जान खोज्थिन् । जामा लगाएर छमछमी नाच्न चाहन्थिन् । तर यो रहर पूरा गर्ने स्वाभाविक अवस्था भने उनको बालापनमा कहिल्यै आएन । बरु इच्छाविपरीत हाफ पाइन्ट र सर्ट लगाउन बाध्य भइन् । कारण जन्मिँदाको शारीरिक अवस्था छोराको थियो । समाजले उनलाई छोराका रूपमा चिन्थ्यो । छोरीको मनोभावमा छोराको देखावटी भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा बालापन गुजारेकी समलिंगी महिला हुन्— मेघना लामा ।
२०४८ सालमा झापामा जन्मिएकी हुन्— मेघना । छोराको रूपमा जन्म लिएकी उनी परिवारकी दोस्रो सन्तान हुन् । उनको व्यवहार भने ठ्याक्कै छोरीको जस्तो । हिँड्ने–बोल्ने हाउभाउ सबैको केटीको जस्तो । शारीरिक रूपमा उनी केटा भए पनि भावना कहिल्यै केटाको थिएन । उनलाई यति थाहा थियो, म अरूभन्दा भिन्न छु । शरीर केटाको, व्यवहार केटीको, उनको यस्तो हाउभाउ देखेर परिवार, समाज त छक्क पर्थे नै, अचम्म त के भने उनी आफंै पनि छक्क पर्थिन् । उनलाई लाग्थ्यो, म वास्तवमा को हुँ, किन यस्तो आफूलाई व्यवहार गर्न मन लाग्छ ? यस्ता प्रश्नबारे आफैंभित्रभित्र गुम्सिरहेकी हुन्थिन् । उनी न कसैबाट जवाफ पाउँथिन्, सतैको सहानुभूति । पाउँथिन् त केवल घृणा र अपमान । परिवारमा पनि छोरा मान्छे किन छोरी मान्छे भएर हिँडेको भन्ने जस्ता प्रश्नहरू बारम्बार उनीमाथि प्रहार भइरहन्थे ।
अझै विद्यालयमा भने साथीहरूको अपमान त कति सहनुपर्यो, पर्यो । उनलाई आफू केटी हुँ भन्ने लाग्थ्यो, कक्षामा केटीको संगत गर्न खोज्थिन् तर सबैले उनलाई केटाकै दर्जामा राखिदिन्थे । केटासँग न उनको भाव मिल्थ्यो, न त कुनै कुरा नै । उनले थुप्रै उपनाम पाउँथिन् । छक्का, हिजडाजस्ता उनका उपनाम थिए । यस्तो व्यवहारले उनलाई विद्यालयमा अपमान महसुस हुने गथ्र्यो ।
विद्यालयमा सबैभन्दा ठूलो समस्या थियो शौचालयको । विद्यालयमा महिला र पुरुषको शौचालय थियो । उनी महिला शौचालय जान रुचाउँथिन्, तर साथी र गुरुहरूको गिज्याइकै कारण उनी शौचालय प्रयोग गर्न सक्दिनथिन् । यसले गर्दा शौचालयका कारण छिटो घर पुग्ने बाध्यता थियो । उनी त्यो पल सम्झँदै भन्छिन्, ‘पुरुष शौचालय प्रयोग गर्न गार्हो लाग्थ्यो, महिला प्रयोग गर्दा अरूले देख्लान् भन्ने डर थियो, त्यसकारण शौचालयकै लागि भए पनि छिटो घर पुग्ने गर्थे ।’ विद्यालयमा धेरै प्रकारका समस्या भोग्नुपरे पनि पढाइलाई भने निरन्तरता दिइरहिन् ।
परिवारको व्यवहार समाजको तिरस्कारलाई प्रतिकार गर्दै उनी अगाडि बढिरहेको थिइन् । परिवारले पहिलो सन्तान गुमाइसकेको थियो । परिवारले उनलाई विवाह गर्न दबाब दिन थाल्यो, त्यो पनि केटीसँग । केटीसँग आफूले कसरी विवाह गर्ने ? उनलाई त्यो व्यवहार असह्य भइरह्यो, सहन सकिनन्, आफ्नो जिन्दगी उनलाई बेकार लाग्न थाल्यो । मुत्यृका लागि उनले विष सेवन गरिन् । लामो समय अस्पतालमै बिताइन् । भाग्यवश आफू बाँचेको उनी बताउँछिन् ।
मुत्युको मुखबाट तङ्रिँदै थिइन्, त्यही समय जन्मथलोमा तेस्रोलिङ्गीहरूको संस्था ‘ब्ल्यू डाइमन्ड सोसाइटीको शाखा खुल्यो । उनी सोसाइटीसँग आबद्ध भएपछि आफ्नो पहिचान खुलाउने मौका पाइन् । त्यही बेलादेखि नै हो खुलेर उनी केटीको भेषमा हिँड्न थालेको । जब उनी खुल्न थालिन्, आफूलाई सहज महसुुस गर्न थालिन् । उनले पहिचान त खुलाइन्, समाजमा भने उनलाई झन् समस्या हुन थाल्यो ।
समाजले हेर्ने नजर झन् पो नराम्रो हुन थाल्यो । आफू खुलेसँगै परिवारले नस्विकार्ने हो कि भन्ने त उनलाई लागेको थियो । तर परिवारमा भने उनलाई समस्या भएन । एक मात्र सन्तान मेघनालाई परिवारले आफ्नो इच्छाअनुसार अघि बढ्न सहमति दियो । यसकारण मेघनालाई परिवारबाट कुनै अवरोध झेल्नु परेन । सोसाइटीमा जागिर खान थालिन् तर विभेद भने कम थिएन ।
मेघनालाई मोडलिङमा सानैदेखि रुचि थियो । यो अवसर जुराइदियो ‘मिस पिंक नेपाल’ले । सन् २०१० मा मिस पिंकको उपाधि हासिल गरिन् । उपाधि जितेको खुसी छँदै थियो, उनलाई थप खुसी दिलायो— अन्य युवतीसँग र्याम्पमा हिँड्न पाउनुले । भन्छिन्, ‘अन्य युवतीहरू र्याम्पमा हिँड्न पाउँदा एकदमै खुसी भएकी थिएँ ।’ योसँगै उनले मोडलिङको यात्रा सुरु गरिन् । मिस पिंकको प्रतिनिधित्व गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने मौकासमेत पाइन् । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दा उनले धेरै कुरा सिक्ने मौका पाइन् ।
आफ्ना कारण परिवारसमेत पीडित भएपछि राम्रो जागिरको सपना बोकेर उनी काठमाडौं आइन् । काठमाडौंमा पनि भेदभाव कम थिएन । कोठा पाउन एकदमै समस्या, बाटोमा हिँड्दा रेस्टुराँ पस्दा मानिसहरूको भेदभाव उस्तै नै । सोचेजस्तो काठमाडौं बसाइ उनको भएन । उनी भन्छिन्, ‘सहरमा मानिसहरू बुझेका हुन्छन् भन्ने लाग्या थियो, तर काठमाडौं पनि झापाजस्तै पाएँ ।’
आफूजस्तै साथीहरूको जमघट हुने ठाउँ थियो वसन्तपुरको ‘जेसीपेनी रेस्टुराँ’ । भूकम्पपछि रेस्टुराँ भत्कियो रेस्टुराँ भत्किएसँगै मेघनाको मन भत्कियो । उनलाई लाग्यो, अब हामी कहाँ भेट गर्ने ? अन्य ठाउँमा त हामीलाई छिर्नसमेत दिँदैनन् । अरूको बाटो हेर्नुभन्दा उनले आफैं रेस्टुराँ खोल्ने र आफूजस्ता व्यक्तिहरूलाई रोजगारी सिर्जना गर्ने सोचाइ बनाइन् । परिवारको सपोर्ट त छँदै थियो ।
सोचअनुसार काम गर्न त्यत्तिकै समस्या भयो । त्यहाँ पनि उनको पहिचानको कुरा भयो । उनलाई देख्नेबित्तिकै ठाउँ दिन कसैले मान्दैनथे, रेस्टुराँका लागि धेरै ठाउँ भौंतारिन् तर पाउन सकिनन् । उनले जुक्ति लगाइन्, अर्को व्यक्तिलाई उभ्याउनु । ठाउँकै लागि उनले पार्टनरसिपमा साथी मछिन्द्र आचार्यलाई लिइन् । मछिन्द्रको साथ पाएपछि उनले वसन्तपुरमा रेस्टुराँ खोलिन्— ‘पिंक टिफानी रेस्टुरेन्ट एन्ड बार’ ।
बार समलिंगीले सञ्चालन गरेको नेपालकै पहिलो बार बन्न पुग्यो ।
यो रेस्टुराँ खुलेसँगै समलिंगी महिला–पुरुष, तेस्रो लिंगी तथा अन्य लैंगिक रूपले फरक वर्गका व्यक्तिहरूको जमघट हुन थाल्यो । व्यावसायिक रूपले उनलाई राम्रो हुँदै गयो । उनलाई चाहना बढ्दै गयो, ठमेलमा रेस्टुराँ सञ्चालन गर्ने । दुई वर्ष वसन्तपुरमा सञ्चालन गरेपछि ठमेलको सातघुम्तीमा रेस्टुराँ सञ्चालन गर्न थालिन् । उनले अहिले १० जना समलिंगी व्यक्तिहरूलाई रोजगार प्रदान गरेकी छन् । उनको रेस्टुराँको नामको पनि आफ्नै अर्थ छ । ‘गुलाबी रंगले समलिंगी तथा तेस्रोलिंगीहरूलाई संकेत गर्छु ।’ यो रेस्टुरेन्टले यही अर्थ बोकेको छ,’ उनी सुनाउँछिन् ।
उनी केटीजस्तै बनेर खुलस्त भएर हिँड्न थालिसकेकी थिइन् । शारीरिक बनावट पनि केटीकै बनाउने तयारी गरिन् । केटीको भेषमा उनलाई आफूलाई थप आकर्षित बनाउन स्तन सर्जरी गर्ने रहर जाग्यो । यसको सुविधा आफ्नो देशमा त छैन, कहाँ जाने ? सर्जरीकै लागि उनी बैंकक पुगिन् । उनले २०१४ मा बैंकक पुगेर ४ लाखमा स्तन सर्जरी गरिन् ।
स्तन सर्जरी गरेपछि आफ्नो पहिचानका लागि थप सहयोग पुगेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘स्तन महिलाहरूको एक पहिचान हो । त्यसकारण पनि मैले स्तन सर्जरी गरेर आफ्नो पहिचान बनाएँ ।’ उनलाई थप शारीरिक रूपमा परिवर्तन गर्दै लैजाने इच्छा छ । भन्छिन्, ‘भावनामा मात्रै होइन शारीरिक रूपमा पनि आफुलाई परिवर्तन गर्दै लानेछु ।’
मोडलिङ गर्ने उनको रहर भने अझै मरेको छैन । ‘व्यावसायिक जीवनले मोडलिङलाई निरन्तरता दिन सकिरहेको छैन,’ उनी भन्छिन्, ‘मोडलिमै राम्रो गर्ने इच्छा छ ।’ समाजले आफूहरूलाई नबुझेको गुनासो गर्दै उनी भन्छिन्, ‘अझ त्योभन्दा बढी समाजले दिएको दु:खविरुद्ध संघर्ष गर्नु छ ।’