कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले ११ चैतदेखि मुलुक एक सातालाई ‘लक डाउन’ गरेको छ । यससँगै सबै कामका तौरतरिकामा निकै बदलाव देखा परेको छ । नागरिकहरू ‘सेल्फ क्वारेन्टाइन’मा घरभित्रै रहनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।
अस्पताल, खाद्यान्न स्टोरलगायतका केही ठाउँ खुला राख्ने सरकारको निर्णयका बाबजुद पनि ती ठाउँसम्म धेरै सेवाग्राही पुग्दा बढ्न सक्ने कोरोना जोखिमको त्रासले निस्कन सक्ने अवस्थामा छैनन् ।
फेरिएको परिस्थितिमा स्वास्थ्यसँग सम्बन्धित नियमित चेकअप, फलोअप आदि प्रभावित भएका छन् । तथापि, केही स्वास्थ्य संस्था, अस्पताल तथा व्यवसायिक तथा पेशागत संगठनले प्रविधिमैत्री स्वास्थ्य सेवा सञ्चालनमा ल्याएका छन् । कोभिड–१९ ले उत्पन्न गरेको त्रास र जोखिमबीच अस्पतालहरू प्रविधि पछ्याउँदै सेवाग्राहीलाई घरमै सेवा पुर्याउन जुटेका छन् । राष्ट्रिय ट्रमा सेन्टरले अस्पतालमा भीडभाड कम गर्न हटलाइनमार्फत ओपीडी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले घरबाटै ओपीडी सेवा लिन ०१—४२२५२७५ नम्बरको हटलाइन सुरू गरेको हो । उक्त ओपीडी सेवा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुँदै आएको छ ।
ट्रमाका मेसु डा. सन्तोष पौडेलकाअनुसार हटलाइन सुरु गरेको पहिलो दिन १२ जनाले हटलाइनमा सम्पर्क गरेका थिए भने दोस्रो दिन २९ जनाले आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकको परामर्श लिएका थिए । ‘कोभिड–१९ को सम्भावित फैलावट रोक्न सरकारले गरेको लक डाउनको अवस्थामा यो निकै प्रभावकारी देखिएको छ,’ डा. पौडेलले भने, ‘फलोअपका लागि आउनुपर्ने बिरामीदेखि अन्य बिरामीलाई पनि परामर्श दिइरहेका छौं ।’ उनकाअनुसार ट्रमा सेन्टरले हटलाइनमार्फत औषधि सकिएका बिरामीहरूलाई प्रेस्क्राइब गर्नेदेखि प्लास्टर घरमै काट्नेसम्मका उपाय सिकाइरहेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जले हटलाइन र ‘कोरोना टेली हेल्थ सेन्टर’ सञ्चालनमा ल्याएको छ । शिक्षण अस्पतालले मोबाइल तथा टेलिफोनबाटै पनि स्वास्थ्य परामर्श लिन सकिने व्यवस्था गरेको छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले कुनै समस्याबारे परामर्श लिनु परेमा जुम, स्काइप वा अस्पतालको हटलाइन नम्बरमा सम्पर्क गर्न सक्ने बताए । यसका लागि अस्पतालका ०१–४४१००३४ नम्बरमा डायल गर्न सकिनेछ भने जुम एपको आइडी ८०६१५०९३२४ मा सम्पर्क गर्न सकिनेछ । टेली हेल्थ सेन्टरबाट नाक, कान तथा घाँटी, छालारोग, नशारोग आदिबारे परामर्श विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म लिन सकिने व्यवस्था अस्पतालले गरेको छ ।
शिक्षणले विभिन्न १७ वटा विभागबाट सेवा दिने गरी हटलाइन नम्बरहरू आफ्नो वेवसाइटमा सर्वसाधारणका लागि उपलब्ध गराएको छ । ‘हामीले हिजोबाट हटलाइन र टेली हेल्थ सेन्टर सञ्चालनमा ल्याएका हौं,’ निर्देशक डा. खड्काले भने, ‘आज बिहानैबाट बिरामीको फोन आउन सुरु भएको छ । डर्माटोलोजी र सर्जरीपछिका केसहरुबारे पनि फोन आइरहेको छ ।’ उनले अहिलेसम्म हटलाइनमा बिरामीको रेस्पोन्स राम्रो देखिएको पनि उल्लेख गरे ।
कान्ति बाल अस्पतालले कोभिड–१९ को प्रकोपका कारण स्वास्थ्य सेवा प्रदान गर्न अप्ठ्यारो परिस्थिति सिर्जना भएको भन्दै इमर्जेन्सीबाहेकको केसमा अस्पताल नआउन आग्रह गरेको छ । उसले पनि स्वास्थ्य सेवा सम्बन्धी अन्य जानकारी लिनका लागि हटलाइन सेवा सुरु गरेको छ । अस्पतालले सर्जिकल ड्युटी चिकित्सकलाई ०१–४४४३१३१÷९८४७३८६१५० र मेडिकल ड्युटी चिकित्सकलाई ०१–४४२७४४९÷९८४७३८६२०५ नम्बरमा फोन गर्न सकिने व्यवस्था गरेको छ । जसबाट आवश्यक जानकारी लिन सकिन्छ । कान्तिका निर्देशक डा. कृष्ण पौडेलकाअनुसार अस्पतालले सुरु गरेको मोबाइल सेवाको प्रभाव राम्रो देखिएको बताए । ‘बझाङलगायतका विभिन्न जिल्लाबाट फोन आउन थालेको छ,’ डा. पौडेलले भने, ‘यो बेलामा फोनबाट परामर्श सेवा सजिलो भैरहेको छ ।’ कान्ति अस्पतालमा अहिले ९ जना बालवालिकालाई आइसोलेसनमा राखेर उपचार गरिदैछ, जसमध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७ जनाको रिपोर्ट आइसकेको छैन । यस्तो बेलामा अभिभावकहरूले क्वारेन्टाइनको अनुशासन पालना गरेर अस्पताललाई सहयोग गरिदिन डा. पौडेलले आग्रह गरे ।
मुलुककै पुरानो वीर अस्पतालले फोनबाटै विशेषज्ञ सेवा तथा टोल फ्री सेवा सुरु गरेको छ । कोभिड–१९ को सम्भावित संक्रमण र लकडाउनको अवस्थालाई मध्यनजर गर्दै वीरले सघन उपचार, छाला तथा यौन, आकस्मिक उपचार, शल्यक्रिया, मेडिसिन, हाडजोर्नी, क्यान्सर, दन्त सेवा, इएनटी, मुटु तथा छाती, पेट तथा आन्द्रा, मूत्र, मिर्गौला, कलेजो र ओपीडीलगायतका सेवामा विशेषज्ञ परामर्श सेवा तथा जानकारी मोबाइलबाटै लिन मिल्ने व्यवस्था मिलाएको हो । साथै, वीरले १६६००१०२००० टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ । जसमा वीर अस्पतालमा उपचार गराइरहेका र अन्य विरामीले पनि सेवा लिन सक्नेछन् ।
अन्य केही निजी तथा सरकारी अस्पतालले पनि प्रविधीमैत्री स्वास्थ्य सेवामा जोड दिन थालेका छन् । केही गाउँपालिका र नगरपालिकाले पनि मोबाइलबाट स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएका छन् ।
मोबाइलबाट सेवा दिदै डाक्टर
डा. सन्जीव तिवारीको मोबाइलमा बिहान ६ बजेदेखि अबेर रातिसम्मै रिङ बज्छ । पेशाले फेमिली फिजिसियन उनको मोबाइल यसरी बज्न थालेको तीन दिनमात्रै भएको छ । कोभिड–१९ संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लक डाउन गरेपछि नेपाल चिकित्सक संघ (एनएमए)ले मोबाइलबाट सर्वसाधारणलाई स्वास्थ्य परामर्श दिने चिकित्सकहरूको सूची सार्वजनिक गरेको थियो । जसमा डा. तिवारीको मोबाइल नम्बर पनि सामेल थियो ।
त्यसयता पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्मका सर्वसाधारण आफ्ना स्वास्थ्य समस्या उनलाई सुनाइरहेका हुन्छन्, बिहानदेखि साँझसम्मै । ‘हामीले त्यहाँ सूचनामा टाइम सेट गरेका थियौं तर मलाई त बिहानैदेखि साँझसम्मै फोन आउँछन्,’ उनी भन्छन्, ‘यस्तो बेलामा सकेसम्म सबै फोन रेस्पोन्स गर्छु र परामर्श दिन्छु ।’ ज्वरो, घाँटी दुखेको, डाइबटिजदेखि हाइपर टेन्सनसम्मका बिरामी उनीसँग सल्लाह माग्छन् । ‘यस्तो परिस्थितिमा कसैलाई सहयोग गर्न पुर्याउन पाउँदा खुसी नै लाग्छ,’ मोबाइल डाक्टर बन्दाको अनुभूति सुनाउँदै उनी भन्छन्, ‘कतिपय केसमा त जँचाउने सल्लाह पनि दिनुपर्ने हुन्छ ।’
डा. सन्जीवजस्तै मोबाइल चिकित्सकका रूपमा बिरामीलाई परामर्श दिइरहेकी अर्की चिकित्सक हुन्– डा. संगीता भुसाल । उनले दैनिक ५० जति बिरामीलाई मोबाइलबाट परामर्श दिइरहेकी छिन् । ‘दैनिक ५०–६० जति कल आउँछ, यस्तो बेला मोबाइल चिकित्सकका रूपमा काम गर्दा राम्रै अनुभव भैरहेको छ,’ युवा चिकित्सक संघकी उपाध्यक्ष समेत रहेकी संगीता भन्छिन्, ‘डाक्टरसँग टच नभएका टाढा–टाढाका मानिसहरूलाई काउन्सिलिङ गर्न पाउँदा रमाइलो हुँदोरहेछ । हाम्रो काउन्सिलिङपछि ढुक्क भएर धन्यवाद भन्नुहुन्छ, खुशी लाग्छ ।’ उनका अनुसार अहिले सिजनल फ्लूको समय भएकाले धेरैजसो रुघाखोकी लागेका, घाँटी खसखस भएका र सिजनल ज्वरोका बिरामीहरू कोभिड भएको शंका गर्दै कल गर्ने गर्छन् ।
कोभिड–१९ संसारभर महामारीका रूपमा फैलिरहेका बेला चिकित्सकहरू सामाजिक सन्जालमार्फत फोन नम्बर सेयर गरेर ‘मोबाइल डाक्टर’का रूपमा बिरामीलाई सल्लाह तथा परामर्श दिन थालेका छन् । त्यसका लागि नेपालको सबैभन्दा पूरानो पेशागत संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले लक डाउनपछिको अवस्थामा स्वास्थ्य परामर्श दिनका लागि चिकित्सकहरूको लामो सूची नै सार्वजनिक गरेको छ । कोरोना भाइरस सम्बन्धि विशेषज्ञ चिकित्सकको सल्लाहका लागि संघले पदाधिकारीसहित ७० जना चिकित्सकको नाम र मोबाइल नम्बर सार्वजनिक गरेको छ । जसमा सबै विधाका विशेषज्ञ चिकित्सकहरू छन् । संघले जारी गरेको सूचीमा कतिपय चिकित्सकहरू मोबाइलमा परामर्शका लागि उपलब्ध हुने समय खुलाइएको छ ।
यस्तै, संघको गण्डकी शाखाले पनि विभिन्न १३ जना चिकित्सकहरूको मोबाइल नम्बर र समयसहित कोभिड–१९बारे परामर्श सेवा सुरु गरेको छ । संघका केन्द्रीय अध्यक्ष डा. लोचन कार्की आफूहरूले यसबाहेक हाम्रो पात्रोसँग मिलेर भिडियो कन्सल्टेसन सेवा पनि सुरु गरेको बताउँछन् । ‘हामीले हाम्रो पात्रोसँग मिलेर भिडियो कन्सल्टेसन सेवा पनि सुरु गरेका छौं,’ उनी भन्छन्, ‘एकदमै राम्रो रेस्पोन्स आइरहेको छ । मानिसहरू निकै खुशी छन् ।’ डा. कार्कीलाई दिनमा सयौं मानिसहरू आफ्नो स्वास्थ्य समस्याबारे परामर्श लिन कल गर्छन् । संघले केही समयमै सात वटै प्रदेशमा सेवा दिन सक्ने मेकानिज्मसहितको कल सेन्टर सुरु गर्ने तयारी पनि गरेको छ ।
यस्तै, युवा चिकित्सक संघले देशभरका कुनै पनि सर्वसाधारणको स्वास्थ्यमा समस्या देखिएमा चिकित्सकीय परामर्शका लागि भन्दै जनरल मेडिकलतर्फका ९ जना चिकित्सकको मोबाइल नम्बर सर्वसाधारणका लागि उपलब्ध गराएको छ भने डेन्टल कन्सल्टेसन र इमर्जेन्सी उपचारका लागि भन्दै दुई चिकित्सकको मोबाइल नम्बर उपलब्ध गराएको छ । युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेतले संघका १३ जना पदाधिकारीकै नम्बर सर्वसाधारणका लागि उपलब्ध गराइएको जानकारी दिए ।
‘पदाधिकारीमध्येका दुई जना राजधानीबाहिर हुनुहुुन्छ, अन्य १३ जनाको मोबाइल नम्बर हामीले सर्वसाधारणको स्वास्थ्य गुनासो सुन्नका लागि उपलब्ध गराएका छौं,’ उनले भने, ‘दैनिक एक जनाको फोनमा औसतमा ५ देखि १० जनासम्मको कल आइरहेको छ । हामीहरूले बिरामीको कम्प्लेनअनुसार परामर्श दिइरहेका छौं ।’
अहिलेको विषम परिस्थितीमा केही मनकारी चिकित्सकहरू सामाजिक सन्जालबाट मोबाइल डाक्टरका रूपमा सर्वसाधारणको सेवा सक्रिय छन् भने कोही सामाजिक सन्जालमार्फत । तर, यसरी अहिलेसम्म कति जना चिकित्सकहरू सर्वसाधारणलाई स्वास्थ्य परामर्श दिइरहेका छन् भन्ने यकिन आँकडा निकाल्न भने गाह्रो छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्की यसरी सामाजिक सन्जाल फेसबुकमार्फत स्वयम्सेवकको रूपमा सर्वसाधारणका स्वास्थ्य गुनासाको हल गर्ने चिकित्सकको संख्या देशभरमा धेरै हुन सक्ने अनुमान गर्छन् । उनकाअनुसार संघमार्फत मात्रै झण्डै १ सय बढी चिकित्सकहरू अहिले मोबाइल तथा भिडियोमार्फत परामर्श सेवा दिइरहेका छन् ।
मोवाइलवाट स्वास्थ्य परामर्श दिने चिकित्सकहरुको नामावली र सम्पर्क नम्बरहरु