- कोभिड–१९ को त्रासकाबीच दुई साताअघि ललितपुरकी विजयामा सिजनल फ्लू देखियो । उनी परिवारबाट टाढा बस्न थालिन् । छिन–छिनमा हात धुन थालिन् । आफ्नो सानो बच्चाबाट पनि टाढा रहन थालिन् । उनको निन्द्रा खल्बलियो, पटक्कै निन्द्रा नपर्ने हुन थाल्यो । विस्तारै परिवारलाई पनि सर्छ कि भनेर डराउन थालिन् । सिजनल फ्लू केही दिनमा ठीक भएपनि उनको अन्य स्वास्थ्य बिग्रँदै गयो । सास फेर्न गाह्रो हुने, छात्तीमा ढुंगाले थिचेजस्तो हुने, चिटचिट पसिना आउने, ढुकढुकी बढेजस्तो हुनेजस्ता समस्या देखिन थाले । स्वास्थ्य समस्या गम्भीर बन्दै गएपछि उनलाई पाटन मानसिक अस्पताल लगियो । चिकित्सकहरूले उनका सबै लक्षणहरू जाँच गरे । कोभिड–१९ को डरले उनमा एन्जाइटी डिसअर्डर भएको पत्ता लाग्यो । चिकित्सकहरूले उनलाई रिल्याक्सनका तरिकाहरू सिकाए, किताब पढ्न, मानिसहरूसँग घुलमिल हुन, साथीभाइसँग फोनमा कुराकानीमा समय बिताउन सिकाएर पठाए । एन्जाइटीको उपचारपछि दोस्रो फ्लोअपमा आउँदा उनका काफी सुधारहरू देखिएका छन् । अहिले पाटन अस्पतालमा कोभिड–१९ को डरले उत्पन्न गरेका एन्जाइटी डिसअर्डरका बिरामी दिनैपिच्छे आइरहेका हुन्छन् ।
- छ महिनाअघि ईपीएसमार्फत दक्षिण कोरिया जान काठमाडौं आउँदा मकवानपुरका रविन दंग थिए । उनका लागि दक्षिण कोरियाको जागिरसँग अनगिन्ती सपना जोडिएका थिए । कोरिया उड्ने दिन २३ वर्षीय उनलाई भाइले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएर फर्किए । बिदावारी भएर जब बोर्डिङ पास लिने ठाउँसम्म पुगे । उनका अगाडि डरको भयंकर पहाड खडा भयो । त्यही निस्सासिए मर्छुजस्ता लाग्न थालेपछि उनले कोरिया फ्लाइट मात्रै छँेडेनन्, बुनेका रंगीन सपनालाई लात मार्दै फर्किए । अस्वभाविक डरले एयरपोर्टबाटै फर्किएपछि परिवारले उनलाई पुरानो बानेश्वरस्थित पशुपति क्लिनिकमा लगेर चेकजाँच गराए । चिकित्सकहरूले रविनको स्वास्थ्य परीक्षण गरे । बल्ल थाहा भयो—उनमा क्लस्ट्रो फोबिया (बन्द ठाउँसँग डराउने एन्जाइटी) रहेछ । चिकित्सकले औषधि प्रेस्क्राइब गरे । औषधि सेवन थालेको केही महिनापछि अवस्था सामान्य भएपछि उनी कोरिया उडे ।
- केही समयअघि मानसिक अस्पताल पाटनमा कलेज पढिरहेकी १९ वर्षीया शर्मिला अनौठो समस्या लिएर आइन् । बुवाको अनुहार सम्झने बित्तिकै लगलग काप्ने, डराउने, पसिना आउने, गाह्रो हुने समस्यामा उनमा थियो । उनको सबै शारीरिक परीक्षण गर्दा स्वास्थ्य अवस्था ठीक देखियो । चिकित्सकहरूले काउन्सिलिङ थाले । निकैपछि ती किशोरीबाट उनी स्कुल पढ्दा आफ्नै बुवाबाट यौन हिंसाको शिकार भएकी खुल्यो । चिकित्सकहरूले सबै पक्षको अनुसन्धानपछि उनमा ‘पोष्ट टर्मेटिक डिसअर्डर (पिटीएडी)’ रहेको निष्कर्ष निकाले । उनीमाथि बुवाले त्यतिबेला गरेको हिंसाका कारण अहिले त्यस्तो समस्या देखिएको थियो । उपचारपछि अहिले ती किशोरी सामान्य अवस्थामा फर्किएकी छन् ।
एन्जाइटी डिसअर्डर अर्थात् दुश्चिन्ता नेपाली समाजमा स्वास्थ्य समस्याका रूपमा कसरी देखिँदैछ भन्न थाहा पाउन माथिका तीन दृष्टान्त पर्याप्त छन् । खराब चिन्ता पनि भनिने यो समस्या मानसिक, शारीरिक, वंशाणुगत र परिस्थितिजन्य कारणले निम्तिने मनोचिकित्सकहरू बताउँछन् । बहुराष्ट्रिय व्याधिका रूपमा देखिएको कोभिड–१९ महामारीको त्रास र सरकारले गरेको लकडाउनको कारण मानिसहरूमा एन्जाइटी देखिन थालेको माथिको पहिलो उदाहरणले पनि पुष्टि गर्छ । एन्जाइटीबाट युवा तथा तन्नेरीहरू सबैभन्दा धेरै प्रभावित देखिन्छन् । चालू आर्थिक वर्षका ७ महिनामा मानसिक अस्पताल पाटनमा मात्रै उपचारमा लागि पुगेका झन्डै १ हजार जनामा एन्जाइटी डिसअर्डरको समस्या देखिएको थियो । जसमा ५ सय ३६ जना महिला र ४ सय ४९ जना पुरुष रहेका थिए । तीमध्ये अधिकांश वयस्क युवायुवती रहेको अस्पतालले जनाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पाइलट सर्वेका रूपमा धनुषा, दोलखा र भक्तपुरका १ हजार ६ सय ४७ जना (१ हजार ३ सय ७१ जना १७ वर्षमाथिका वयस्क र २ सय ७६ जना १३ देखि १७ वर्ष उमेरका टिनएजर्स)मा गरेको सर्वेक्षणमा १२.९ प्रतिशतमा मानसिक समस्या देखिएको थियो । त्यसमध्ये १३ देखि १७ वर्ष उमेर समूहकामा ११.२ प्रतिशत र १७ वर्षदेखि माथिको उमेर समूहमा १३.२ प्रतिशतमा यस्तो समस्या देखिएको अनुसन्धानले देखाउँछ । उक्त अनुसन्धानमा १६.८ प्रतिशतमा विभिन्न खालका एन्जाइटी डिसअर्डर पाइएको थियो । १७ वर्षभन्दा कम उमेर समूहसम्मका ७.४ प्रतिशतमा एन्जाइटी डिसअर्डर देखिएको थियो भने १८ वर्षभन्दा माथिका वयस्क ९.४ प्रतिशतमा विभिन्न प्रकारका एन्जाइटी डिसअर्डरको समस्या थियो ।
अझ देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आएका बिरामीको एकीकृत तथ्यांक राख्ने स्वास्थ्य मन्त्रालयअन्तर्गतको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको तथ्यांकले अर्कै तस्बिर देखाउँछ । ‘एचएमआईएस’ भनिने उक्त सूचना प्रणालीमा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाको ओपिडीमा आउने बिरामीको तथ्यांक रेकर्ड हुन्छ । उक्त प्रणालीमा पछिल्ला ५ वर्षमा एन्जाइटी डिसअर्डरको समस्या लिएर आउने बिरामीको संख्या २ लाख १५ हजारभन्दा बढी छ । ५ वर्षको त्यो तथ्यांकलाई विश्लेषण गर्ने हो भने एन्जाइटी डिसअर्डरको समस्या औसत ९.२ प्रतिशतले हरेक वर्ष वृद्धि भइरहेको देखिन्छ । अझ सोचनीय पक्ष त के भने देशभरको तथ्यांक जम्मा हुने एकीकृत सिष्टम बताइए पनि ‘एचएमआईएस’मा दूरदराज र विपन्न ठाउँका बिरामीका तथ्यांक प्रभावकारी तरिकाले समेटिएको देखिँदैन्, भने अर्को त्यो क्षेत्रमा मानसिक स्वास्थ्य समस्या हो कि होइन भनेर पहिचान गर्ने जनशक्तिकै अभाव छ । जसका कारण अझै यो संख्यामा वृद्धि हुन सक्ने प्रशस्त ठाउँ देखिन्छ ।
एन्जाइटी डिसअर्डरको समस्या बढिरहेको छ त ? त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानकी एसोसियट प्रोसेफर डा. मिता राणा एन्जाइटिस डिसअर्डर विश्वव्यापीमै कमन डिसअर्डर भएकाले बढी देखिने बताउँछिन् । ‘यो वल्र्डवाइड रूपमै कमन डिसअर्डर हो,’ क्लिनिकल साइकोलोजिष्ट समेत रहेकी उनी भन्छिन्, ‘त्यस कारण यो अलि बढी देखिन्छ ।’ उनी जैविक तथा वातावरणीय प्रभाव, शरीरभित्रका हर्मोनहरूको कारण र वंशाणुगत गुणसँगै बदलिएको लाइफस्टाइल पनि यसको कारण हुन सक्ने तर्क गर्छिन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमोयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे यही कारण नै भन्ने नभए तापनि सामाजिक संरचना आएको परिवर्तन कारण यो बढिरहेको हुनसक्ने बताउँछन् । ‘बढ्दो सहरीकरण, वैदेशिक रोजगारी, आर्थिक संकट, मौसम परिवर्तन, सामाजिक सुरक्षाको अभाव, अस्वस्थ खानपान, व्यस्त जीवनशैलीजस्ता कुरा एन्जाइटी डिसअर्डर बढ्नुका कारण हुन्,’ उनी भन्छन् ।
अनुसन्धानहरूले पनि एन्जाइटी डिसअर्डर जैविक र वातावरणीय कारण, शरीरभित्रका केमिकलहरूको प्रभाव, वंशाणुगत रूपमा सर्ने तथा केही वातावरणीय घटनाका कारण पनि हुने गरेको देखिएको छ । त्यसबाहेक समाजमा बढिरहेको एक्लोपन, सामाजिक सुरक्षाको अभाव, अति महत्वकांक्षा र चरम निराशा, पारिवारिक कलह, आर्थिक संकट, धेरै सोच्ने बानी, मानसिक तनाव लिने, दुव्र्यसन, दीर्घरोग, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेश, दुर्घटनाबाट पर्न गएको प्रभाव एन्जाइटी असन्तुलन मुख्य कारणका रूपमा देखिएको चिकित्सकहरू बताउँछन् ।
मानसिक अस्पताल पाटनका प्रमुख विशेषज्ञ मनोचिकित्सक डा. अनन्त अधिकारी बायोलोजिकल, साइकोलोजिकल र सोसियल फ्याक्टरले इन्जाइटी डिसअर्डर हुने बताउँछन् । ‘व्यक्तिको मस्तिष्कको बनावट, मस्तिष्कमा हुने न्युरो केमिकलको सन्तुलन, वंशाणुगत गुण, हार्मोन परिवर्तनले पनि एन्जाइटिस डिसअर्डर हुन सक्छ,’ मानसिक अस्पतालका प्रवक्तासमेत रहेका उनी भन्छन्, ‘साइकोलोजिकल अन्तर्गत मानिसको व्यक्तित्वले पनि एन्जाइटी निम्त्याउन सक्छ । सोसियल फ्याक्टर जस्तै श्रीमान्–श्रीमतीको बिछोड, आर्थिक संकट, वैदेशिक रोजगार, इच्छाआकांक्षा धेरै हुने पूरा नहुने, तनावग्रस्त जीवनशैलीजस्ता कुराहरूले एन्जाइटी डिसअर्डर बढाउन भूमिका खेलेका हुन्छन् ।’ डा. अधिकारी कोभिड–१९ पछि मानिसहरूमा एन्जाइटी डिसअर्डरको समस्या वृद्धि भइरहेको बताउँदै अहिले मानिसहरूमा दिनभर हात मात्रे धोएर बस्ने, मास्क छोड्दै नछोडनेजस्ता मानसिक समस्या पनि देखिन थालेको बताउँछन् । ‘यहाँ अस्पताल आएका एक जना व्यक्तिले त ४ वटा मास्क लगाएर आएका थिए,’ उनी भन्छन्, ‘मानिसहरू अहिले अरू बेलाभन्दा सयौं गुणा बढी मानसिक तनाव लिन थालेकाले एन्जाइटी डिसअर्डरको समस्या पनि बढिरहेको छ ।’
दैनिक क्रियाकलाप, सिर्जनशीलता, कार्यक्षमता नै प्रभावित गर्ने र जीवनशैलीलाई नै अस्तव्यस्त पार्ने इन्जाइटी डिसअर्डरको समस्याबाट बच्नका लागि थुप्रै कुराहरू सन्तुलन मिलाउनुपर्नेमा विज्ञहरू जोड दिन्छन् । जसअन्तर्गत बायोलोजिकल, साइकोलोजिकल र सोसियल फ्याक्टरको सन्तुलनको भूमिका सबैभन्दा बढी रहन्छ । त्यसका लागि शारीरिक अभ्यास, कामको उचित व्यवस्थापन, उत्प्रेरक साथीको घेरा, समुदायको आड, परिवारको माया, डाइट, निन्द्रा, ध्यानजस्ता कुराहरूमार्फत सन्तुलित जीवनशैली निर्माणमा ध्यान दिनुपर्ने सल्लाह दिन्छन्—भरतपुर अस्पतालका मनोचिकित्सक डा. सुनिल साह ।
‘जनचेतना, सन्तुलित खानपान, पर्याप्त निन्द्रा, मोबाइल कम हेर्ने बानीको विकास गर्नुपर्छ,’ डा. साह भन्छन्, ‘गलत सूचना, खराब साथी संगती, गलत जीवनशैली, धेरै महत्वकांक्षाले पनि एन्जाइटी डिसअर्डर निम्त्याउँछ र निको हुन गाह्रो हुन्छ ।’ उनी जीवन कसरी व्यवस्थापन गर्ने, आफ्नो हैसियत के हो ? के–के गर्न सम्भव छ ? आफ्नो आर्थिक अवस्था कस्तो छ ? आफूमा कस्तो खालको क्षमता छ ? यस्ता कुरा बुझेर अगाडि बढ्न पनि सुझाव दिन्छन् ।
मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने संस्था कोसिसका कार्यकारी निर्देशक मातृकाप्रसाद देवकोटा पनि डा. साहको तर्कसँग सहमत छन् । ‘तनावमुक्त वातावरण, समय व्यवस्थापन, जीवनशैली व्यवस्थापन, पर्याप्त निन्द्रा, खानपिन, व्यायामजस्ता कुराले एन्जाइटी कम गर्न सहयोगी भूमिका खेल्छ,’ उनी भन्छन्, ‘यसबारेमा समुदायस्तरमा जनचेतनाको आवश्यकता देखिन्छ ।’ यसका सकारात्मक जीवनशैलीको अभ्यास, मदिरा नियन्त्रण, शारीरिक क्रियाकलाप र आरामका गतिविधि, प्रारम्भिक लक्षणहरूबारे जानकारी, इन्टरनेट र स्मार्टफोनमार्फत मनोवैज्ञानिक थेरापी र उपचार, सचेतनाका कार्यक्रमले पनि एन्जाइटी डिसअर्डरको रोकथामका लागि प्रभावकारी हुन सक्ने विज्ञहरूको मत छ ।
पछिल्लो समय परिस्थितिजन्य कारणले पनि इन्जाइटी डिसअर्डरको समस्या बढिरहेको मनोचिकित्सकहरू बताउँछन् । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ का कारण यतिबेला मुलुक लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा कोभिड–१९ का कारण पनि एन्जाइटी डिसअर्डर देखिन थालेको पाटन मानसिक अस्पतालकी मनोचिकित्सक डा. बिनिता ढुंगेल बताउँछन् । ‘अहिले कोभिड–१९ का कारण पनि मानिसहरू डरको समस्या देखिइरहेको छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा नडराइकन बस्नु नै उपयुक्त हुन्छ । कोभिड–१९ बाट लागेको ठूलो तथ्यांक हेर्नुभन्दा रिकभर भइरहेको तथ्यांकमा ध्यान दिनुपर्छ ।’
पहुँचबाहिर मानसिक स्वास्थ्य
सरकारी तथ्यांकनुसार नै वार्षिक ५० हजारको हाराहारीमा एन्जाइटी डिसअर्डरका बिरामी उपचारका लागि अस्पताल धाउछन् । एन्जाइटी डिसअर्डर मात्रै होइन्, अन्य मानसिक समस्याहरू पनि नेपालमा बढ्दो क्रममा छन् । तर, मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने जनशक्ति भने एकदमै कम छ । जसका कारण केही सहरी इलाकाको जनसंख्याबाहेक धेरैजसो ग्रामीण जनसंख्या मानसिक स्वास्थ्यको पहुँच बाहिरै देखिन्छ ।
नेपालमा चिकित्सकहरू दर्ता गर्ने निकाय नेपाल मेडिकल काउन्सिलका सदस्य कालुसिंह खत्रीकाअनुसार हाल नेपालमा २ सयको हाराहारीमा मनोचिकित्सकहरू क्रियाशील छन् । ‘यो संख्या पर्याप्त होइन्,’ उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रत्येक ४ लाख जनसंख्यामा एउटा मनोचिकित्सक हुनुपर्छ ।’ डा. खत्रीकाअनुसार त्यो मापदण्डलाई नै आधार मान्ने हो भने पनि नेपालमा १२ सय जना मनोचिकित्सक हुनुपर्ने हो ।
अझ सरकारी अस्पतालमा मानसिक रोगका चिकित्सकहरू झनै अभाव छ । नेपालमा प्रतिष्ठान बाहेकका सरकारी अस्पतालमा १५ जनामात्रै मानसिक स्वास्थ्यका चिकित्सकहरू क्रियाशील रहेको डा. साह बताउँछन् । जसको प्रत्यक्ष असर मानसिक रोगका बिरामीहरूमा देखिन्छ ।
सन् २०१३ मा टिपीओ नेपालले चितवनका १८ वर्षभन्दामाथि उमेर समूहका २ हजार मानिसमा गरेको एक अध्ययनमा १० प्रतिशतले एन्जाइटी र डिप्रेसनको उपचार गरिरहेको पाइएको थियो । त्यसमध्ये मनोचिकित्सक÷मनोविद्बाट उपचार लिनेको संख्या ३.६ प्रतिशत रहेको थियो भने सामान्य स्वास्थ्यकर्मीबाट १.८ प्रतिशत र धामीझाँक्री लगायतबाट ४.६ प्रतिशत मानिसले उपचार लिइरहेको पाइएको टिपीओ नेपालका अनुसन्धान प्रमुख नगेन्द्र लुइँटेल बताउँछन् । ‘मेडिकल हब भनिएको चितवनकै अवस्था यस्तो पाइयो,’ उनी भन्छन्, ‘यो अध्ययनले अझै पनि मानसिक रोगका बिरामीहरू कमै मात्रामा अस्पताल जान्छन् भन्ने देखाउँछ ।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को माथि पनि उल्लेख गरिएको पाइलट सर्वेले पनि मानसिक स्वास्थ्यमा पहुँचको ठिटलाग्दो अवस्था उदघाटित गर्छ । उक्त अनुसन्धानमा जम्मा सहभागीमध्ये पछिल्ला १२ महिनामा २१ प्रतिशत युवा सहभागीमा मानसिक समस्या देखियो, जसमध्ये पूर्ण उपचार पाउनेको संख्या १८ प्रतिशत मात्रै थियो । विज्ञहरू मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्नेमा जोड दिन्छन् ।
एन्जाइटी डिसअर्डर थरिथरीका
पेनिक एन्जाइटी डिसअर्डर
यो एन्जाइटीले मानिसलाई धेरै नै गाह्रो बनाउँछ । पूर्वअनुमानबिना एक्कासि मुटुको धड्कन बढ्ने, चिटचिट पसिना आउने, घाँटीमा केही अड्किएजस्तो हुने, निसासिएको महसुस गर्ने, श्वास फेर्न गाह्रो हुने, तुरुन्तै मरिएलाजस्तो अनुभव गर्ने जस्ता लक्षण देखापर्छन् । त्यसैले पेनिक एन्जाइटीका बिरामी सिधै मनोचिकित्सककहाँ आउनुहुन्न । किनभने यति गाह्रो हुन्छ कि बिरामीलाई अस्पताल पुग्न पनि भ्याइँदैन कि जस्तै हुन्छ । यस्तो एन्जाइटीको औषधि र साइकोलोजीकलअन्तर्गत परामर्श, रिल्याक्स, टेक्निकलगायतका कुराबाट उपचार गरिन्छ । तर पेनिक एन्जाइटी हो भनेर एकिन गर्नका लागि मुटुको समस्या हो कि होइन भनेर छुट्याउनुपर्छ । यो एन्जाइटी बढीमा १० मिनेटसम्म हुन्छ र केही समयपछि दोहोरिन्छ ।
पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी)
कुनै पनि नराम्रो घटनापछिको डरले यस्तो एन्जाइटी डिसअर्डर हुने गर्छ । विशेष परिस्थिति, ठूलो तनाव झेलेको अवस्थामा पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) आउँछ । जस्तो, आफ्नै अगाडि कसैको मृत्यु भयो, आफन्तको देहान्त भयो, ठूलो प्राकृतिक प्रकोपबाट बचियो, भूकम्प गयो, यौनहिंसाको शिकार भएर बच्यो भने पुरानो घटनालाई सम्झँदा, त्यो ठाउँमा पुग्दा गाह्रो हुने, छटपटी हुने, त्यही घटनाले तर्साउने हुन्छ त्यो पीटीएसडी एन्जाइटी डिसअर्डरअन्तर्गत पर्छ ।
पफर्मेन्स/सोसल एन्जाइटी डिसअर्डर
नजिकका मानिससँग कुराकानी गर्न गाह्रो नहुने तर मास र कुनै सामाजिक गतिविधि फेस गर्न डर लाग्छ भने त्यो सोसल एन्जाइटी डिसअर्डर हो । यो सोसल फोबिया पनि हो । जस्तै ठूलो मासमा कुनै प्रस्तुति दिनुप¥यो, भाषण गर्नुप¥यो भने सुरुमा एकदमै गाह्रो हुन्छ । त्यसमा कस्तो डर भने मैले मासमा राम्रो भाषण गर्न नसकुला, मैले बोलेका कुरा सुनेर दर्शकहरू हाँस्छन् कि ? मेरा कुरा मन पराउँदैनन् कि अथवा अरूले आफूलाई के सोच्लान् ? भन्ने खालको एन्जाइटी आउँछ । यस्ता मानिसहरूलाई मासको अगाडि केही प्रस्तुत गर्नुप¥यो भने धेरै नै गाह्रो हुन्छ । त्यस्ता मानिसहरूले धेरै अवसरहरू गुमाउँछन् । यो एन्जाइटी डिसअर्डरमा अरूले के भन्छन्, कसरी हेर्छन् अरूको नजरमा केही बिग्रने त होइन् भनेर एकदम डर लाग्ने हुन्छ ।
फोबिया
कुनै पनि निश्चित वस्तुको डर वा कुनै घटना वा कुनै चिजको डरले गर्दा दैनिक कार्यहरू पनि गर्न नसक्ने हुन्छ । क्लस्टो फोबिया भनेको सहजै भाग्न नसकिने ठाउँमा डर लाग्नु हो । जस्तै कोठाभित्र बस्दा डर लाग्ने, सार्वजनिक गाडीमा चढेको मान्छे अन्तिम सिटमा छ अब गाडी केही भइहाल्यो भने कहाँबाट भाग्ने भन्ने डरले उसमा छटपटि सुरु भैहाल्छ, भीडभाड अथवा जुलुसहरूको बीचमा परेपछि यता जाउँकि उता जाउँ भन्ने खालका लक्षणहरू देखा पर्छन् ।
जनरलाइज्ड एन्जाइटी डिसअर्डर
कुनै पनि कुराको डर नभएको बेला पनि एकदमै डराइरहने र चिन्ता लिने हुन्छ । जतिबेला पनि नकारात्मक कुराहरू आइरहन्छन्, हरेक कुरामा डराउनु र चिन्तित भइरहनुलाई जनरलाइज्ड डिसअर्डर भनिन्छ ।
स्पेसिफिक फोबिया
कुनै खास व्यक्ति, जनावर, जीवजन्तु, ठाउँदेखि डर लाग्नुलाई स्पेसिफिक फोबिया भनिन्छ । जस्तै, कसैलाई सर्पसँग डर लाग्छ भने घरमा बस्दा, जहाजमा यात्रा गर्दा अथवा जुनसुकै ठाउँमा पनि सर्प फुत्त कतैबाट निस्किहाल्छ, टोकी हाल्छ कि भन्ने डर दिमागमा घुमिरहन्छ । यो पनि एन्जाइटी डिसअर्डरको एक प्रकार हो ।
सहरमा एन्जाइटी बढी किन ?
डा. सुनिल साह, मनोचिकित्सक, भरतपुर अस्पताल
एन्जाइटी हरेक मानिसमा हुन्छ । डर, छटपटी, बेचैनी, नकारात्मक सोंच, मरि पो हालिन्छ कि, दैनिक जीवनका सानासाना कुरा मनमा आइरहेर सताउने, टाउको दुख्ने, मन अशान्त हुने, पटक–पटक दिसापिसाब लागिरहने, पेट दुख्ने, शरीर दुख्ने, ग्याष्ट्रिक भइरहने तर डाक्टर कहाँ जँचाउन जाँदा शरीरमा केही रोग देखिँदैन । बिरामीको रोग ज्यूँका त्यूँ रहन्छ । एन्जाइटीले गर्दा विभिन्न शारीरिक लक्षणहरू पनि देखिने हुन्छ, तर मानसिक रोगसँग प्रत्यक्ष काम गर्ने स्वास्थ्यकर्मीबाहेक अरूलाई मनको कुरा, सोंचको कुरा सोध्ने फुर्सद छैन । अनि बिरामीलाई थुप्रै नकारात्मक विचारहरूले गाँज्दै जान्छ । त्यसले छोड्दैन । यस्ता कुराहरू बाल्यकालदेखि युवावस्थसम्म आइपुग्दा यो बढी हुन्छ । बिस्तारै विभिन्न समस्याबाट गुज्रदै, दुःख पीडा भोग्दै उमेर बढ्दै गएपछि कम हुन्छ । कुनै पनि मानसिक रोग कोहि मानिसमा देखिन्छ कि देखिदैन भन्ने कुराहरू उसको मस्तिष्कको बनोट, भोगेको कुरा, सिकेको कुरादेखि कस्तो परिवेशमा हुर्कियो भन्ने जस्ता कुराले असर गरिरहेको हुन्छ । त्यसैले समग्रमा भन्नुपर्दा एन्जाइटी भनेको पागलपन होइन कि सामान्य खालको मानसिक रोग हो ।
नेपालमा कति मानिसमा एन्जाइटी छ भनेर एकिन तथ्यांक पाउन गाह्रो छ । मानसिक स्वास्थ्यमा सबैभन्दा ठूलो समस्या नै यही हो । किनभने हामीसँग भएको एकिन तथ्यांकलाई पनि व्यवस्थापन गरेर राम्ररी इन्ट्री हुँदैन । त्यही भएर यो स्वास्थ्य समस्या हेलामा पनि परेको छ । अब अहिले प्राप्त भएको डाटालाई हेर्ने हो भने सहरी क्षेत्रमा बढी एन्जाइटी भएको देखिन्छ । यस्तो किन भयो भने अहिले २ सयभन्दा कम मानसिक रोगका चिकित्सक छन् । तीमध्ये अधिकांश सहरी क्षेत्रमै छन् । सहरी क्षेत्रमा बसेका मान्छेहरू शारीरिक÷मानसिक रूपमा केही समस्या आयो भने अस्पताल गएर जँचाउनेहरू धेरै छन् । त्यहीकारण सहरी क्षेत्रमा धेरैजसो एन्जाइटीका बिरामीहरू छन् भन्ने तथ्यांकले देखाउँछ ।
यस्तै, हाम्रो जस्तो देशमा सहर र गाउको परिवेश अलि फरक छ । सहरमा एक्लोपन, सीमित कोठा, भागदौड, सामाजिक सेवाको भावनाको अभाव छ । तर, गाउँमा समाजसेवाको भावना हुन्छ, मानिसहरू मर्दापर्दा साथमा हुन्छन् । कसैलाई कुनै अप्ठ्यारो प¥यो भने गाउँलेहरू जुटेर सहयोग गर्छन् । त्यहाँ सामाजिक सुरक्षाको बलियो प्रबन्ध छ । तर, सहरमा सडकमा ढलेको मानिसलाई पनि उठाउने हातहरू पनि छैनन् । एन्जाइटी डिसअर्डर, डिप्रेसनजस्ता मानसिक रोगका बिरामीलाई माया गर्ने मान्छे, कुरा सुनिदिने मान्छे, समय दिने मान्छे भयो भने पनि सन्चो हुन्छ । साथै, सामाजिक सांस्कृतिक संरचनाले गर्दा पनि गाउँका मानिसहरू सहरका मानिसहरूभन्दा केही हदसम्म सन्तुष्ट देखिन्छन् । त्यसैले पनि सहरका मानिसहरूमा अलि बढी एन्जाइटी डिसअर्डर देखिएको हो ।
एन्जाइटी भनेको के हो भन्ने तथ्यपरक कुराहरूका बारेमा समाजमा जनचेतना फैलाएर एन्जाइटी डिसअर्डर कम गर्न सकिन्छ । किनभने, एन्जाइटीका बारेमा जानकारी भयो भने आफैं कम हुन्छ । समयमा खानपिन भएन भने पनि एन्जाइटी हुने सम्भावना बढी हुन्छ । त्यसैले खानपिनमा पनि ध्यान दिनुपर्छ । पर्याप्त निद्रा पनि एन्जाइटी कम गर्ने अर्को उपाय हो । अहिले विशेषगरी युवापिंढीहरू अधिकांश समय मोबाइलमा झुम्मिएको देखिन्छ । यो खराब बानी हो । मोबाइलप्रतिको क्रेजले पनि एन्जाइटी हुन्छ । त्यसैले मोबाइल चलाउने समय निर्धारण गर्नुपर्छ । यो बाहेक गलत सूचना, खराब साथीसंगती, गलत तरिकाको जीवनशैलीले एन्जाइटी निम्त्याउँछ र निको हुन गाह्रो हुन्छ । यस्तै, धेरै महत्वकांक्षा राख्नु पनि हुँदैन । त्यसैले जीवन कसरी व्यवस्थापन गर्ने, आफ्नो हैसियत के हो ? के–के गर्न सम्भव छ ? आफ्नो आर्थिक अवस्था कस्तो छ ? आफूमा कस्तो खालको क्षमता छ ? यस्ता कुरा बुझेर अघि बढियो र यी कुराहरू मिल्दै गयो भने एन्जाइटी कम हुन्छ ।
२६ करोड ४० लाखमा इन्जाइटी डिसअर्डर
विश्व स्वास्थ्य संगठनको सन् २०१५ को एक तथ्यांकअनुसार संसारको कुल जनसंख्याको ३.६ प्रतिशत एन्जाइटी डिसअर्डरको समस्या छ । उत्तः आकडाअनुसार विश्वको २६ करोड ४० लाख जनसंख्यामा यो समस्या रहेको देखिन्छ । जसमध्ये ४.६ प्रतिशत महिला र २.६ प्रतिशत पुरुषमा छ । उक्त तथ्यांक अनुसार पुरुषभन्दा झन्डै दोब्बर बढी महिला यो समस्याबाट पीडित देखिएका छन् । उमेरअनुसार धेरै फरक नपर्ने भए पनि एन्जाइटीको समस्या युवाहरूको तुलनामा वृद्धमा कम देखिएको छ । उक्त तथ्यांकअनुसार अफ्रिकामा १० प्रतिशत (२ करोड १३ लाख), पूर्व मेडिटेरियन १२ प्रतिशत ( ३ करोड १३ लाख), युरोपमा १४ प्रतिशत (३ करोड ६१ लाख), उत्तर र दक्षिण अमेरिकामा २१ प्रतिशत (५ करोड ७२ लाख) दक्षिण—पूर्व एसियामा २३ प्रतिशत (६ करोड) र पश्चिम प्यासिफिकमा २० प्रतिशत (५ करोड ४० लाख)मा एन्जाइटी डिसअर्डरको समस्या छ । संसारमा एन्जाइटी डिसअर्डर १४.९ प्रतिशतले उकालो लागिरहेको देखिन्छ, विश्वको तुलनामा भने नेपालमा वृद्धिदर भने कम देखिन्छ ।
के हो एन्जाइटी डिसअर्डर ?
एकदमै चिन्ता र डरको अनुभव हुने मानसिक समस्या एन्जाइटी डिसअर्डर हो । यसमा डर, सामाजिक डर, चोटपछिको डर, विभिन्न कुराहरूको चिन्ता र डर हुन्छ । यो समस्या सामान्यदेखि गम्भीर पनि हुन सक्छ र लामो अवधिसम्म रहिरहने हुन्छ ।
चिकित्सकहरूकाअनुसार कुनै पनि कुराको असामान्य, अत्याधिक, अस्वभाविक डर र चिन्ता नै एन्जाइटी डिसअर्डर हो ।
हावर्ड हेल्थकाअनुसार एन्जाइटी डिसअर्डर हुँदा कुनै पनि चीजको असामान्य चिन्ता हुने, डर मनमा लागिरहने, सानो—सानो कुरामा पनि एक्लै धेरै डराउने र चिन्ता लिने हुन्छ । मुटु ढुकढुक हुने, मुख सुक्ने, जिउ दुख्ने, काम्नु र डराउनु, रिस उठ्ने, पसिना आउने, दिमाग सोच्न नसक्ने हुने, थाक्ने, निन्द्रा नलाग्नेजस्ता लक्षणहरू एन्जाइटी डिसअर्डर भएका मानिसहरूमा देखा पर्ने हावर्ड हेल्थमा उल्लेख छ ।
मानसिक अस्पतालका प्रवक्ता डा. अधिकारी एन्जाइटी डिसअर्डरका शारीरिक, अटोनोमिक र मानसिक लक्षण हुने बताउँछन् । उनकाअनुसार शारीरिक लक्षणअन्तर्गत दुःख्ने, पीडा हुने, पोल्ने, झमझम गर्ने, तातेको महसुस हुने, टाउको दुख्ने, आँखा तिरमिराउने हुन्छ भने अटोनोमिक लक्षणअन्तर्गत स्नायुप्रणाली जस्तै, मुटुको चाल बढ्ने, चिटचिट पसिना आउने, आङ जुरुङ्ग हुनेजस्ता लक्षण देखिन्छ । साइकोलोजिकल लक्षण अन्तर्गत अनावश्यक डर, त्रास भयहरू मनमा आउने भएकाले समाजमा घुलमिल हुन गाह्रो हुने, आफ्नो नियमित काम गर्न नसक्ने, दिन काट्न गाह्रो हुने, खुला ठाउँमा जान डर लाग्ने, भीडमा जान डर लाग्ने, अग्लो ठाउँमा जान डर लाग्ने समस्याहरू उत्पन्न हुन्छन् ।
इम्पेरियल कलेज अफ मेडिसिन युकेका साइक्याट्रिक प्रा.डा.स्टुआर्ट ए. मोन्टगोमरीले एक वा एकभन्दा बढी घटनाको अत्याधिक चिन्ता र दुःख (६ महिना वा त्योभन्दा बढी) समय हुनु, चिन्ताबाट बाहिर निस्कन नसक्नु, एकदमै उकुसमुकुस हुनु र शान्त हुन नसक्नु, चाँडै थाक्नु, कुनै कुरामा ध्यान दिन नसक्ने, दिमाग खाली भइरहने, अरूसँग र आफैंसँग पनि रिस उठ्ने, जिउ दुख्ने, निन्द्रा प्रभावित हुनेजस्ता समस्यालाई एन्जाइटी डिसअर्डर भनेका छन् । उनकाअनुसार एन्जाइटी डिसअर्डर भएमा दैनिक कार्यहरू गर्न नसक्ने, मान्छेहरूसँग घुलमिल हुन नसक्ने, शरीरका अंगले काम गर्न छोडेको अनुभव हुने, मुटु दुख्ने, तनाव हुने, काप्ने, आत्तिने, थाक्ने, रुने, चाँडै, बिर्सने, एकदम डर लाग्ने, शरीर दुख्ने, निन्दा नपर्ने, धेरै कुराहरूबाट टाढा भाग्नेजस्ता समस्याहरू देखिन थाल्छन् ।
जीवनशैली बदलौं, संवाद बढाऔं
डा. अनन्त अधिकारी
एन्जाइटी डिसअर्डर मानसिक स्वास्थ्य समस्यामध्ये एकदमै सामान्य डिसअर्डरको समूहमा पर्छ । पहिला–पहिला न्युरोटिक डिसअर्डर भनिन्थ्यो । शारिरीक, मानसिक लक्षण, अटोनोमिक लक्षणहरू पनि देखिन्थ्यो । जाँच गर्दा केही पनि नदिखिने हुन्थ्यो तर बिरामीलाई भने प्रभावित गरिरहने । यस्तो खालको रोगको समूह चाहिँ एन्जाइटी डिसअर्डर अन्तर्गत पर्छ । नेपालीमा यसलाई ‘दुषचिन्ता’ भनिन्छ । जसले अनावश्यक सोच आएर दुःख दिन्छ ।
एन्जाइटी धेरै प्रकारका हुन्छन् । यसका लक्षणहरू त्यति नै धेरै हुन्छन् । सामान्य रूपमा एन्जाइटीका शारीरिक, अटोनोमिक र मानसिक लक्षण हुन्छन् । दुःख्ने, पीडा हुने, पोल्ने, झमझम गर्ने, तातेको महसुस हुने, टाउको दुख्ने, आँखा तिरमिराउनेजस्ता शारीरिक लक्षण एन्जाइटीमा देखिन्छ । अर्को अटोनोमिक लक्षणअन्तर्गत स्नायुप्रणाली पर्छन् । जस्तै, मुटुको चाल बढ्ने, चिटचिट पसिना आउने, आङ जुरुङ्ग हुनेजस्ता अटोनोमिक लक्षणअन्तर्गत देखिन्छ ।
साइकोलोजिकल अर्थात मानसिक लक्षणअन्तर्गत अनावश्यक डर त्रास भयहरू म्नमा आउँछन् । जसले गर्दा उसलाई समाजमा घुलमिल हुन गाह्रो हुने, आफ्नो नियमित काम गर्न नसक्ने अवस्था, दिन काट्न गाह्रो हुने, खुला ठाउँमा जान डर लाग्ने, भीडमा जान डर लाग्ने, अग्लो ठाउँमा जान डर लाग्ने जस्ता लक्षणहरू देखापर्छ । यिनीहरू सामान्य खालका एन्जाइटीमा देखिने लक्षणहरू भए । यो बाहेक पनि केही निश्चित एन्जाइटीहरू हुन्छन् ।
प्रायजसो आइरहने एन्जाइटीलाई जनरलाइज्ड एन्जाइटी डिसअर्डर (जीएडी) भनिन्छ । यसमा लामो समयसम्म बिरामीलाई दुषचिन्ता आउने हुन्छ । जसमा शारीरिक, मानसिक, अटोनोमिक लक्षणहरू आउँछन् । साथै डर, त्रास, भय पनि आउँछ तर के कारणले डर लाग्यो भन्ने हुँदैन । जस्तै, बन्द कोठामा बसिरहेको बेलामा माथिबाट केहीले थिचिहाल्छ कि ? म मरिहाल्छु कि ? बाटो क्रस गर्दा गाडीले हान्छ कि ? बाटोमा हिँड्दै गर्दा कतै ठोक्किएर पो मर्छु कि ? जस्ता अगाडि जे आउँछ त्योसँग अनावश्यक डराउने लक्षण देखापर्छ । यस्तो खाले एन्जाइटीलाई जनरलाइज्ड एन्जाइटी डिसअर्डर अन्तर्गत फ्रि फ्लोएटिङ एन्जाइटी भनिन्छ । यो निकै लामो समय रहन्छ । बाहिरी तनाव केही भयो भने यो अझै थपिन्छ ।
कसरी हुन्छ एन्जाइटी ?
एन्जाइटी अथवा मनोरोग यही कारणले आउँछ भन्न सकिँदैन । यसका विभिन्न मोडलहरूमा आधारित रहेर यसको व्याख्या गरिन्छ । व्यक्तिको मस्तिष्कको बनावट, मस्तिष्कमा हुने न्युरो केमिकलको व्यालेन्स, लागूऔषधको प्रयोग, वंशाणुगत गुणबाट आउने कुराहरू बायोलोजिकल कुरा भए । साइकोलोजिकलअन्तर्गत मानिसको व्यक्तित्वले पनि एन्जाइटी निम्त्याउन सक्छ । यस्तै सोसियल फ्याक्टरले पनि एन्जाइटी निम्त्याउनका लागि ठूलो सघाउ पु¥याएको हुन्छ । जस्तै श्रीमान्–श्रीमतीको बिछोड, आर्थिक संकट, वैदेशिक रोजगार, इच्छाआकांक्षा धेरै हुने पुरा नहुने, तनावग्रस्त जीवनशैली जस्ता कुराहरूले एन्जाइटी बढाउन बढी भूमिका खेलेका हुन्छन् । बायोलोजीको कुरा गर्दा हर्मोनको परिवर्तनले पनि एन्जाइटी आउन सक्छ ।
कतिपयलाई एन्जाइटी निर्मूल भए पनि धेरैजसो मानिसलाई भने एन्जाइटी दोहोरिने खतरा पनि त्यत्तिकै हुन्छ । कुनै तनावले आएको एन्जाइटी त्यो हल भएपछि हराउँछ । डराउने, बढी महत्वकांक्ष्ाँ राख्ने, आफ्नै कुरा लाद्न खोज्ने मान्छेहरूलाई एन्जाइटी दाहोरिन सक्छन् । साथै लागूपदार्थ सेवन गर्ने मानिसहरूमा पनि एन्जाइटी दोहोरिन सक्ने सम्भावना बढी हुन्छ । यिनीहरूमा पेनिक, जनरलाइज्ड एन्जाइटीका लक्षणहरू पनि देखा पर्न सक्छन् ।
कसरी कम गर्ने ?
इन्जाइटीलाई कम गर्नका लागि औषधीय उपचार पद्धति एउटा पाटो भए तापनि अन्य तरिकाबाट पनि एन्जाइटीबाट मुक्त हुन सकिन्छ । यसका लागि जीवनशैलीमा परिवर्तन गरेर, मानसिक परामर्श लिएर, सामाजिक घुलमिल र संवाद–अन्तक्र्रिया बढाएर यस्तो समस्यालाई कम गर्न सकिन्छ ।