
महामारीको रूपमा फैलिएको संक्रामक रोग कोभिड–१९ बाट संसारभर १ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । २ सय बढी देशमा २० लाखभन्दा बढी मानिस संक्रमित छन् । पहिलो विश्वका उत्कृष्ट स्वास्थ्य प्रणाली भएका देशहरूलाई समेत नियन्त्रण गर्न मुस्किल परिरहेको यो महामारी विरुद्धको लडाइँलाई ‘जैविक युद्ध’को संज्ञा दिन थालिएको छ । यो जैविक युद्धमा फ्रन्टलाइनका सिपाही चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नै हुन् । आइसोलेसनमा कोभिड–१९ संक्रमित बिरामीको जीवनरक्षा गर्ने लडाइँमा संसारका केही ठाउँमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी पनि ज्यान गुमाएका छन् ।
बिरामीको उपचारमा सक्रिय रहँदा कयौं स्वास्थ्यकर्मी संक्रमित भएर आइसोलेसनमा उपचाररत छन् । कोभिड–१९ का संक्रमितहरूको उपचारमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अहिले अलि फरक अनुभूति भइरहेको छ । नारायणी अस्पतालकी नर्स मनीषा पाण्डे श्रेष्ठले घरपरिवारलाई भनेरै आएकी छन्, ‘म युद्धमा हिँडेकी सिपाही हुँ, सफल भएरै आउनेछु ।’
कोभिड–१९ को विश्वव्यापी फैलावटकाबीच नेपालमा पनि बुधबारसम्म १६ जना कोभिड–१९ संक्रमितहरू भेटिएका छन् । २ जना मंगलबार कोभिड—१९ पुष्टि भएकाको उपचार पाटन अस्पतालको आइसोलेसनमा भइरहेको छ । नेपालका पहिलो कोभिड—१९ संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपश्चात निको भएर फर्किसकेका छन् । थप दुई जनाको त्यहीको आइसोलेसनमा उपचार भइरहेको छ । कोभिड–१९ को उपचारका लागि केन्द्र मानिएको टेकु अस्पतालले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सहयोगी कर्मचारी परिचालित गरेको छ । आइसोलेसनमा उपचार गराइरहेका कोभिड–१९ संक्रमित तथा शंकास्पदहरूको उपचारमा सक्रिय छ ।
यस्तै, कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा ५ जना कोभिड–१९ संक्रमित उपचार भइरहेको छ । २६ वेडको आइसोलेसनलाई दुई भागमा बाँडेर एउटामा कोभिड–१९ का शंकास्पद बिरामी र अर्कोमा कोभिड–१९ पोजेटिभ पुष्टि भएका बिरामीहरू राखेर उपचार गरिँदैछ । सीसिटीभीबाट उनीहरूको निगरानी गरिन्छ भने टवाइलेट र बाथरुमको अलग्गै व्यवस्था गरिएको अस्पतालका मेडिसिन विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए । अस्पतालका प्रवक्ता डा. जगदीश जोशीका अनुसार सेतीमा १९ जना चिकित्सक, ३१ जना नर्स, ९ स्वास्थ्यकर्मी र १५ जना सहयोगी कर्मचारीसहित ७४ जनाको टोली आइसोलेसनमा उपचार गरिरहेका कोभिड–१९ का संक्रमित तथा शंकास्पदहरूको उपचारमा खटिएको छ ।
बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पतालमा दुई जना कोभिड–१९ संक्रमित उपचार गराइरहेका छन् । जसमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विश्वकर्मा पोखरेल, डा. प्रदीप श्रेष्ठको टोली फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ । यस्तै, अस्पतालकी नर्सिङ इन्चार्ज शान्ति खड्का पौडेल, देवी भट्टराई र मिलन बरुवालले फ्रन्टलाइनमा रहेर बिरामीमा सेवामा संलग्न छन् भने ल्याब टेक्नोलोजिस्ट सुरज बराल पनि बिरामीहरूको स्वाब लिने काममा सक्रिय रहेको अस्पतालका मेसु डा. पोखरेलले जानकारी दिए ।
यस्तै, पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा तीन जना कोभिड–१९ संक्रमित भारतीय र एक जना नेपालीको उपचार भइरहेको छ । आइसोलेसनमा उपचाररत उनीहरूको उपचारमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय, डा. उदय सिंह, डा. राकेश तिवारी, डा. निरज सिंह र नर्सहरू श्रुति साह, अस्मिता थापा, मनीषा पाण्डे, हेमा थापा तथा पारामेडिक्सहरू राजीव चौरासिया र मनकलाल यादव संलग्न छन् । ‘३० गते यहाँ ३ जनामा पहिलो पटक कोभिड—१९ पोजेटिभ देखिएको हो,’ डा. उपाध्यायले भने, ‘हामीले एक साताको रुटिङमा आइसोलेसनमा काम गर्ने टिम
छुट्याएका छौं ।’ एक सातापछि डा. सिंह र नर्स साहको टिमलाई अर्को टिमले आइसोलेसनमा रिप्लेस गर्ने उनले बताए । यतिमात्र होइन, नेपालमा अरू धेरै अस्पतालहरूमा आइसोलेसनमा राखिएका शंकास्पद कोभिड–१९ का बिरामीको रेखदेखमा पनि सयौं चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी खटिएका छन् । कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा फ्रन्टलाइनमा रहेर सक्रिय रहेका केही चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ :
टिम सेती प्रादेशिक अस्पताल
डा. शेरबहादुर कमर
अघिल्लो साता डा. शेरबहादुर कमर सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका बिरामी उपचार गर्ने ड्युटीमा खटिए । आइतबार कुराकानी गर्दा उनी अघिल्लो साता कोभिड–१९ का संक्रमितहरूको उपचारमा खटिएकाले अलग्गै बसिरहेका थिए । डा. कमर अहिले सेती प्रादेशिक अस्पतालमा १० औं तहका सिनियर कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन् । उनी सेती प्रादेशिक अस्पतालको मेडिसिन विभागमा प्रमुखसमेत हुन् । गोरखाको लखन थापा गाउँपालिका जन्मिएका कमर २०६३ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका हुन् । त्यसपछि उनले २ वर्ष दोलखाको जिरी अस्पतालमा काम गरे । त्यहाँ काम गरेपछि उनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा छात्रवृत्ति पाएर इन्टरनल मेडिसिनमा ३ वर्ष एमडी गर्न बिताए । एमडी सकेपछि उनको पोष्टिङ महाकाली अस्पतालमा भयो । ६ महिना त्यहाँ काम गरेपछि डा. कमर सेती प्रादेशिक अस्पतालमा सरुवा भए ।
स्थानीय सरकारी स्कुलबाटै एसएलसी गरेका डा. कमरले महाराजगन्ज क्याम्पसबाट एचए उत्तीर्ण गरेका हुन् । उनले २०६१ सालमा त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगन्जबाटै छात्रवृत्तिमा एमबीबीएस गरेका हुन् ।
डा. जगदिश जोशी
इमर्जेन्सी फिजिसियन विशेषज्ञ डा. जगदीश जोशी यसै अस्पतालका इमर्जेन्सी विभाग प्रमुख तथा प्रवक्ता हुन् । विगत २ वर्षयता उनी यस अस्पतालमा कार्यरत छन् । डा. जोशीकै कमान्डिङमा सेती प्रादेशिक अस्पतालमा हाल ५ जना कोभिड—१९ संक्रमितको उपचार भइरहेको छ । चैत ११ मा अस्पताल भर्ना भएका बिरामीमा चैत १४ गते पहिलो पटक पोजेटिभ रिपोर्ट आएपछि व्यवस्थापनमा समस्या भएको अनुभव उनी सुनाउँछन् । ‘कोरोनाको महामारीका लागि सरकार नै पूर्व तयारी अवस्थामा थिएन,’ उनी भन्छन्, ‘सेती प्रादेशिक अस्पताल हुने त कुरै भएन्, जसले गर्दा सुरु—सुरुमा यसको व्यवस्थापनमा निकै कठिनाई भयो ।’ स्वास्थ्यकर्मी र कर्मचारीहरूमा मनोवैज्ञानिक त्रास थियो, जसले गर्दा दबाबमा काम गर्नुपरेको उनी बताउँछन् । कोरोना संक्रमितको उपचारमा खटिन थालेयता उनी घर गएका छैनन् । ‘घर नगएको दुई साता भयो,’ ४० वर्षीय उनी भन्छन्, ‘मेरो घर यहीँ नजिकै हो तर परिवारको स्वास्थ्यको खाल गर्दै दुई सातायता नजिकैको होटलमा बसिरहेको छु ।’
डोटीमा जन्मिएका जोशीले धनगढीस्थित ऐश्वर्य विद्या निकेतनबाट २०५३ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । ललितपुरस्थित क्याम्पियन एकेडेमीबाट प्लस टु अध्ययन पूरा गरेका उनले सरकारी कोटामा चीनको सिनच्याङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस उत्तीर्ण गरेका हुन् । सरकारी छात्रवृत्तिमै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१४ मा उनले एमडी गरे । १४ वर्षदेखि चिकित्सकीय पेसामा आबद्ध रहेका डा. जोशीसँग थुप्रै निजी तथा सरकारी अस्पतालमा काम गरेको अनुभव छन् । २ वर्षअघि लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट नवौं तहमा नाम निस्किएपछि उनी सेती प्रादेशिक अस्पतालमा कार्यरत छन् ।
डा. निराजन शर्मा
डा. निराजन शर्माले पहिलो पटक कोभिड–१९ संक्रमितको उपचारमा संलग्न हुँदा घरमा भएको १९ महिनाको छोरोलाई सम्झिए । ‘संक्रमितलाई छोएपछि छोरोको झल्को आयो,’ उनी भन्छन्, ‘यदि मलाई केही भइहाल्यो भने भनेर केही समय चिन्तित भएँ ।’ कर्तव्यका अगाडि उनको चिन्ता धेरैबेर टिकेन । यस अस्पतालमा पुष्टि भएका पहिलो कोभिड–१९ संक्रमितको उपचारमा डा. शर्मा प्रत्यक्ष रूपमा संलग्न थिए । त्यसो त उनमा डर चिन्ता हुनु स्वाभाविकै हो । त्यो बेलासम्म अस्पतालमा व्यवस्थित वार्ड र पर्याप्त जनशक्तिको अभाव थियो । ‘पीपीई थियो तर भरपर्दो छ कि छैन भन्नेमा आशंका थियो,’ उनी भन्छन्, ‘तैपनि टिमको आत्मबल बढाउनका लागि मनमा भएको डर चिन्तालाई बाहिर देखाइनँ ।’ मनमा सेवाको भाव राखेर उनी नियमित रूपमा संक्रमितको उपचारमा संलग्न भए । ‘सुरु–सुरुमा बिरामीहरू पनि आत्तिनुभएको थियो,’ डा. शर्मा अनुभव बाँडछन् ‘उहाँहरूलाई आश्वासन दिएर हौसला दिन थालेपछि उहाँहरू खुसी देखिन थाल्नुभयो ।’ यसरी कोभिड—१९ संक्रमितको उपचारमा संलग्न भइरहँदा यस्तो अवस्थामा पारिवारिक र सामाजिक दायित्वभन्दा माथि उठेर सोच्नुपर्ने रहेछ भन्ने उनले बुझेका छन् ।
काठमाडौंको लैनचौरमा जन्मिएका डा. शर्मा चिकित्सा पेसामा संलग्न भएको करिब १० वर्ष भयो । सेन्ट जेभियर्स स्कुल जावलाखेलबाट एसएलसी र प्लस टु उत्तीर्ण गरेका उनले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस पूरा गरेका हुन् । उनले फिलिपिन्सको भिसेन्ते सोतो मेमोरियल मेडिकल सेन्टरबाट एमडी गरेका छन् । डा. तीन वर्षयता सेती प्रादेशिक अस्पतालमा मन्त्रालयको करारअन्तर्गत नवौं तहमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन् । त्यसअघि उनले न्युरो अस्पतालमा साढे २ वर्ष, ग्रान्डीमा ६ महिना काम गरेका थिए ।
डा. विजयविक्रम बम
कैलालीमा जन्मिएका डा. विजयविक्रम बम विगत एक वर्षयता सेती प्रादेशिक अस्पतालमा कार्यरत छन् । कोभिड—१९ संक्रमितको फ्रन्टलाइनमा रहेर उपचार गरिरहेका उनी सुरुमा निकै डराएका थिए । तर, अहिले बुझ्दै गएपछि भने उनमा डर हटिसकेको छ । ‘सुरुमा निकै डर लागेको थियो,’ उनी भन्छन्, ‘हाम्रो लागि यो नौलो रोग पनि थियो तर अहिले डर हटिसकेको छ ।’
धनगढीस्थित ऐश्वर्य विद्या निकेतनबाट २०५६ मा एसएलसी उत्तीर्ण गरेका डा. बम भारतको देहरादुनस्थित राजाराम मोहनरोय एकेडेमीबाट प्लस टु अध्ययन पूरा गरेका हुन् । उनले चीनको सिचुवान युनिभर्सिटीबाट एमबीबीएस अध्ययन गरेका पूरा गरेका हुन् भने पाकिस्तानको युनिभर्सिटी अफ हेल्थ साइन्सबाट २०१६ मा एमडी अध्ययन सकेका हुन् ।
सीमा शर्मा
‘आफैंले हिस्ट्री लिएको बिरामीको कोभिड–१९ पोजेटिभ देखियो भन्ने सुनेपछि छाँगाबाट खसेजस्तै भएँ,’ अस्पतालकी नर्सिङ अधिकृत सीमा शर्मा भन्छिन्, ‘अहिले त डर हराउँदै गएको छ ।’ विगत १२ वर्षयता नर्सिङ पेसामा आबद्ध शर्माले यस अस्पतालमा देखिएको पहिलो कोभिड–१९ संक्रमितको हिस्ट्री लिएकी थिइन् । यतिबेला उक्त अस्पतालमा उनको कमान्डिङमा ३१ जना नर्स कोभिड–१९ संक्रमितको उपचारमा संलग्न छन् । कोभिड–१ संक्रमितको नियमित स्वास्थ्य अवस्थाको बारेमा अपडेट यिनै नर्सहरूले लिने गरेका छन् । ‘कोरोना संक्रमितसँग प्रत्यक्ष संलग्न भएर उपचार गर्नुपर्ने भएकाले सुरु–सुरुमा निकै डर लाग्थ्यो,’ ३१ वर्षीया शर्मा भन्छिन्, ‘अहिले त डर लाग्दैन, बानी परिसक्यो ।
धनगढीमा जन्मिएकी शर्माले २०६० सालमा मिलन विद्या निकेतन इंग्लिस बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् । त्यसपछि सेती महाकाली नर्सिङ क्याम्पसमा स्टाफ नर्सको अध्ययन गरिन् भने यति हेल्थ साइन्स एकेडेमीबाट ब्याचलर इन नर्सिङ गरेकी हुन् । उनले नर्सिङमा स्नातकोत्तर भने वीर हस्पिटल नर्सिङ कलेजबाट पूरा गरेकी हुन् । २०६५ सालमा लोकसेवा आयोगबाट सरकारी नर्सिङ सेवामा नाम निकालेपछि उनको सरकारी सेवा सुरु हुन्छ । यो अवधिमा उनले थुपै्र जिल्लाका अस्पतालहरूमा काम गरिसकेकी छिन् । उनी सेती प्रादेशिक अस्पतालमा नर्सिङ अधिकृतका रूपमा काम गर्न थालेको ६ महिना भएको छ । त्यसभन्दाअघि उनले डडेल्धुरा अस्पतालमा १ वर्ष नर्सिङ अधिकृतको जिम्मेवारीमा रहेर काम गरेकी थिइन् । यसअघि सेती अञ्चल अस्पतालमै ४ वर्ष, डोटी जिल्ला अस्पतालमा २ वर्ष, बझाङ जिल्ला अस्पतालमा २ वर्षमा स्टाफ नर्सका रूपमा काम गरेको अनुभव सीमासँग छ ।
मीना थापा
अर्घाखाँची सन्धिखर्कमा जन्मिएकी मीना थापा सेती प्रादेशिक अस्पतालमा विगत १० वर्षयता स्टाफ नर्सका रूपमा कार्यरत छिन् । यतिबेला उनी कोभिड–१९ संक्रमित बिरामीलाई राखिएको आइसोलेसन वार्डको नर्सिङ इन्चार्जको जिम्मेवारीमा काम गरिरहेकी छिन् । जब अस्पतालमा उपचाररत बिरामीमा कोभिड–१९ को पहिलो केस पुष्टि भयो । त्यसपछि २÷३ दिन निन्द्रासमेत नलागेको अनुभव उनको छ । ‘सुरुसुरुमा यो रोग के हो कस्तो हो भन्ने कुरा नै थाहा थिएन,’ उनी भन्छिन्, ‘डर र चिन्ताले २÷३ रात निन्द्रा नै लागेन ।’ तर अहिले भने उनी डराउन छाडेकी छिन् । संक्रमित बिरामी पनि स्वास्थ्य अवस्था सामान्य भएकाले अहिले खासै गाह्रो नभएको उनी बताउँछिन् । ‘अहिले कोभिड–१९ संक्रमितको स्वास्थ्य सामान्य छ,’ उनी भन्छिन्, ‘यदि उहाँहरूको स्वास्थ्यमा थप समस्या देखियो भने हामीलाई पनि समस्या पर्छ ।’
भगवती माध्यमिक विद्यालय सन्धिखर्कबाट एसएलसी उत्तीर्ण गरेकी मीनाले नेपालगञ्ज नर्सिङ क्याम्पसबाट पीसिएल नर्सिङको अध्ययन पूरा गरेकी हुन् । उनले ओम हेल्थ क्याम्पस काठमाडौंबाट नर्सिङमा स्नातक गरेकी छन् । २०५९ सालमा लोकसेवा आयोगमार्फत सरकारी सेवामा नाम निकालेपछि उनी करिब ८ वर्ष कैलालीको चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरिन् । २०६७ सालदेखि सेती अस्पतालमा कार्यरत छिन् ।
विष्णु रिजाल
सुरु–सुरुका दिनमा कोभिड–१९ संक्रमितको उपचार गर्नुपर्छ भनेपछि मनमा खुबै डर लागेको थियो नर्स विष्णु रिजाललाई । भन्छिन्, ‘बिस्तारै सेवाको भावना आएपछि डर हट्यो ।’ विगत ५ वर्षयता सेती प्रादेशिक अस्पतालमा स्टाफ नर्सका रूपमा कार्यरत रिजाल कोभिड–१९ संक्रमितको उपचारमा भिडिरहेकी छिन् । बर्र्दियामा जन्मिएकी रिजालले २०५८ सालमा बर्दियाको अंशुबर्मा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । एसएलसीपछि उनले नेपालगन्ज नर्सिङ कलेजबाट स्टाफ नर्सिङ अध्ययन पूरा गरिन् भने भेरी नर्सिङ कलेजबाट नर्सिङमा स्नातक गरेकी थिइन् । २०७० सालबाट सरकारी सेवा सुरु गरेकी उनले यसभन्दा अघि बैतडी जिल्ला अस्पतालमा २ वर्ष काम गरेकी छिन् । साथै उनले धनगढीमा रहेको फारवेष्ट टेक्निकल कलेजमा १ वर्ष अध्यापनसमेत गरेकी थिइन् ।
गौरीदत्त जोशी
अस्पताल छिर्नुभन्दा पहिले प्रवेशविन्दुका रुपमा यस अस्पतालले १० चैतदेखि ट्राइज एरिया बनाएको छ । जहाँ सबै खालका बिरामीहरूको पहिलो स्क्रीनिङ हुन्छ । त्यसपछि त्यहीबाट बिरामीलाई ज्वरो क्लिनिक र इमर्जेन्सी कहाँ पठाउने भन्ने कुरा निर्धारण हुन्छ । अस्पताल जान दिनुभन्दा पहिले स्क्रीनिङ गरिने उक्त ठाउँमा ९ जना पारामेडिक्स र ५ जना सहयोगी कर्मचारी खटिएका छन् । अहिले त्यही ट्राइज एरियाको नेृतत्व सि.अहेब अधिकृत गौरीदत्त जोशीले गरिरहेका छन् । बैतडीमा जन्मिएका जोशी २०५३ सालदेखि सरकारी सेवा सुरु गरेका हुन् । झन्डै २५ वर्ष लामो सरकारी जागिरयात्राका क्रममा उनले बाजुरा, बैतडीमा पनि सेवा गरे । पब्लिक हेल्थमा समेत स्नातकोत्तर गरेका उनी पछिल्लो समय सेती प्रादेशिक अस्पतालमा कार्यरत छन् । पञ्चदेवल मावि रिम बैतडीमा एसएलसी गरेका जोशीले भारतको पिथौरागढबाट आइएस्सी गरेका हुन् । उनले नेपाल सरकारको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र धनगढीबाट अबेह र सी अहेब पढेका हुन् । भन्छन्, ‘अहिलेको समयमा फ्रन्ट डेस्क सबैभन्दा रिस्क एरिया हो, सबै खालका बिरामीको चेक गर्नुपर्छ । तर, कर्तव्यको पालना त गर्नैपर्छ ।’
टिम टेकु ट्रपिकल तथा सरुवा रोग अस्पताल
डा. अनुप बाँस्तोला
डा. अनुप बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एघारौं तहका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन तथा प्रवक्ता हुन् । उनी विगत १३ वर्षयता टेकु अस्पतालमा कार्यरत छन् । यतिबेला कोभिड–१९ संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न रहेका बाँस्तोला टिम वर्कमा विश्वास गर्छन् । कोभिड–१९ संक्रमितको उपचारमा संलग्न डाक्टरहरूको टिमलाई आफूले लिड गरिरहेको उनी बताउँछन् । ‘यो एक्लैले गर्ने काम होइन,’ उनी भन्छन्, ‘त्यसैले टिममा रहेका डाक्टर, नर्सहरूको हौसला बढाएर उपचारमा संलग्न भैरहेका छौं ।’ यो अवस्थासम्म अस्पताल प्रशासन, निर्देशक, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारीहरूबाट राम्रो सहयोग पाएको उनी बताउँछन् । पहिलो संक्रमितको उपचारमा प्रत्यक्ष खटिँदा उनले उच्च मनोबलका साथ काम गरेका थिए । ‘यो विश्व महामारीको अवस्थामा हामीले मनमा डर त्रास लिने होइन,’ उनी भन्छन्, ‘यो बेलालाई अवसरको रुपमा लिएर उपचारमा खटिने हो ।’ यस्तो अवस्थामा सबै विधाका चिकित्सकहरूको उत्तिकै जिम्मेवारी रहेको उनी बताउँछन् । त्यसैले सबै विधाका डाक्टरहरूले संकटको घडीमा देश र जनताको सेवा गर्छु भनेर अगाडि आउनुपर्ने उनी बताउँछन् । ‘यो एउटा युद्ध नै हो, यतिबेला छात्रवृत्तिमा पढेकादेखि सबै चिकित्सकहरू मोर्चामा अग्रपंक्तिमा रहेर नागरिक र सरकारलाई साथ दिनुपर्छ,’ उनी थप्छन्, ‘अनिमात्र, यो जैविक युद्ध जितिन्छ र हामी स्वास्थ्यकर्मीको कर्तव्य पनि पूरा हुन्छ ।’
पोखरामा जन्मिएका बाँस्तोलाले २०५३ सालमा लक्ष्मी आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । काठमाडौं युनिभर्सिटीबाट आइएस्सी अध्ययन पुरा गरेका उनले नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस गरेका हुन् । डा. बाँस्तोलाले दुई विधामा एमडी गरेका छन् । न्याम्सबाट डर्माटोलोजीमा एमडी गरे भने ट्रोपिकल एन्ड इन्फिक्सियस डिजिजमा बैंककको स्कुल अफ ट्रोपिकल मेडिसिन, महिडोल युनिभर्सिटी, थाइल्याण्डबाट गरेका हुन् । २०६३ सालमा लोकसेवा आयोगमा नाम निकालेर सरकारी सेवा सुरु गरेका उनले २ वर्ष दार्चुला जिल्ला अस्पतालमा काम गरे भने १३ वर्षयता टेकु अस्पतालमा कार्यरत छन् ।
डा. विकेश श्रेष्ठ
दमौली, तनहुँ घर भएका डा. विकेश श्रेष्ठ विगत १ वर्षदेखि यसै अस्पतालमा कार्यरत छन् । श्रेष्ठले नेपालमा देखिएको पहिलो कोभिड–१९ संक्रमितलाई ओपीडीमा उनले नै जाँच गरेका थिए । ‘त्यतिबेलासम्म त्यो रोग हामी सबैको लागि नौलो थियो,’ उनी भन्छन्, ‘ती व्यक्तिलाई संक्रमण पुष्टि भएपछि केही साता डर लाग्यो ।’ मनमा डर भएपनि उनले कोभिड–१९ का बारेमा वेबसाइटहरूमा हेर्न थाले । कोभिड–१९ का बारेमा बुझेपछि डर आफैं कम भएको उनी बताउँछन् । दमौलीस्थित कन्काई माध्यमिक विद्यालयबाट २०६० सालमा एलएलसी उत्तीर्ण गरेका उनले बूढानीलकण्ठ स्कुलबाट प्लस टु उत्तीर्ण गरे । त्यसपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजबाट एमबीबीएस सकेपछि सरकारी छात्रावृत्तिमा उनले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट एमडी सिध्याएका हुन् । एमडी सकेपछि १ वर्षयता टेकु अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा करारमा कार्यरत छन् । कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिने यी डाक्टर ड्युटी सकिएपछि ं रानीबारीस्थित आफ्नै निवासमा बस्छन् । ‘आमाबुबालाई दमौली पठाएँ,’ ३० वर्षीय डा. श्रेष्ठ भन्छन्, ‘सावधानी अपनाएर श्रीमतीसँग घरमै बस्छु ।’
डा. प्रदीप यादव
जनकपुरमा जन्मिएका डा. प्रदीप यादव यो अस्पतालमा कोभिड–१९ संक्रमितको उपचारको फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् । कोभिड–१९ को संक्रमण पुष्टि भएका पहिलो बिरामीको उपचारमा उनी पनि प्रत्यक्ष संलग्न भएका थिए । सुरुमा त उनलाई कोभिड—१९ संक्रमितको उपचारमा आइसोलेसन कक्षमा जाँदा डर लाग्थ्यो । तर, त्यो डर अनुहारमा देखाउँदैन थिए । ‘सुरु–सुरुमा त निकै डर लाग्यो, घरपरिवारमा पनि चिन्ता बढ्न थाल्यो,’ उनी भन्छन्, ‘मनमा डर भएपनि अनुहारमा देखाइन, आत्मविश्वास बढाएर निरन्तर काम गरें ।’ यतिबेला उनी मानसिक रूपमा तयार भइसकेका छन् । अहिले परिवारका सदस्यले पनि यस्तो संकटको अवस्थामा राज्यलाई सहयोग गर्नुपर्छ भन्न थालेको उनी बताउँछन् । ‘घरपरिवारसँग दिनहुँ कुराकानी हुन्छ, उहाँहरूमा चिन्ता त छ नै तर यस्तो अवस्थामा पछि हट्नुहुन्न भनेर हौसला थपिरहनुभएको छ,’ उनले भने ।
जनकपुरकै माध्यमिक विद्यालय रम्दैयाबाट २०६३ सालमा एसएलसी उत्तीर्ण गरेका यादबले धनुषा साइन्स क्याम्पसबाट प्लस टु सके । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट सरकारी छात्रवृत्तिमा एमबीबीएस सकेका उनी विगत साढे दुईवर्ष यता चिकित्सा पेसामा आबद्ध छन् । सुनसरीको इनरुवा जिल्ला अस्पतालमा करिब ६ महिना काम गरेपछि उनी २ वर्षयता टेकु अस्पतालमा करारअन्तर्गत मेडिकल अफिसरको रुपमा कार्यरत छन् । यतिबेला कोरोना संक्रमितको उपचारमा धेरैजसो सरकारी छात्रवृत्तिमा अध्ययन गरेर करार सेवामा काम गरिरहेका डाक्टरमात्र कार्यरत छन् । यस्तो अवस्थामा सरकारले निजीका डाक्टरहरूको सक्रियतालाई बढाउनुपर्ने उनी बताउँछन् ।
डा. प्राची दुलाल
काठमाडौं नैकापकी डा. प्राची दुलाल आईसीयु चिकित्सक हुन् । नेपालको पहिलो कोभिड–१९ संक्रमित उपचारदेखि हाल आइसोलेसनमा रहेका कोभिड–१९ संक्रमित तथा शंकास्पद बिरामीको उपचारमा उनी फ्रन्टलाइनमा रहेर उपचारमा खटिरहेकी छन् । ‘पहिलो केस आउँदा त हामी चिकित्सकलाई पनि थाहै थिएन,’ यी २५ वर्षीया युवा चिकित्सक भन्छिन्, ‘यो रोग नै नयाँ छ, हामीहरूले पनि विदेशतिरका प्रोटोकलहरू हेरेर जानकारी लिने हो ।’ डा. प्राची अस्पतालमा उपचार भएका तीन जना कोभिड—१९ संक्रमित र अन्य शंकास्पदको उपचारमा खटिरहेकी छन् । भन्छिन्, ‘बिरामीको उपचारमा रहँदा र निको बनाउन पाउँदा त्यसले बेग्लै आनन्द हुन्छ । तर, अहिले यो भाइरस नयाँ भएकाले आफूले घरका परिवारलाई सारुलाकी भन्ने चिन्ता भने हुने गर्छ ।’ अन्यलाई सारिदिने कुराले चिन्ता हुने उनी बताउँछिन् । पीपीई पनि थोरै भएकाले पनि चिकित्सकहरूले अहिले कसरी त्यसलाई बढी बचत गर्ने भन्नेमा लागेका छन् ।
डा. प्राचीले सिद्धार्थ वनस्थलीबाट एसएलसी उत्तीर्ण गरेकी हुन् भने युनाइटेड स्कुल ललितपुरबाट प्लस टु पास गरेकी हुन् । उनी २०१२ को एमबीबीएस ब्याच हुन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट उनले सरकारी छात्रवृत्तिमै एमबीबीएस गरेकी हुन् । एमबीबीएसपछि भरतपुर अस्पतालमा १४ महिना काम गरेपछि गत दसंैलगत्तै उनी टेकु अस्पतालमा काम गर्न थालेकी हुन् ।
डा. उज्ज्वल सुवेदी
पाल्पाको मदनपुरका डा. उज्ज्वल सुवेदी मेडिकल अफिसरका रूपमा कार्यरत छन् । देशकै प्रमुख कोरोना अस्पतालका रूपमा परिचय बनाएको टेकु अस्पतालमा कोभिड—१९ संक्रमित उपचारमा काम गर्नु पाउनुलाई उनले नयाँ अनुभव हासिल गर्ने अवसरका रुपमा लिएका छन् । भन्छन्, ‘घरमा आमाहरूले साह्रै चिन्ता गर्नुहुन्छ, तर मुलुकको प्रमुख कोभिड अस्पतालमा काम गर्नु पाउनुलाई मैले अवसरका रूपमा लिएको छु ।’ डा. उज्ज्वल पनि नेपालमा देखिएको पहिलो कोभिड–१९ को केसदेखि नै फ्रन्टलाइनमा रहेर खटिरहेका छन् । सुरुको केसमा उपचारपछि मात्रै थाहा पाएपछि भने उनमा केही डर लागेको थियो । ‘पहिलो कोभिड—१९ संक्रमितलाई हामीले सामान्य पन्जा र मास्क लगाएर मत्रै हेरेका थियौं पछि कोभिड—१९ पोजेटिभ पुष्टी भएपछि १४ दिनसम्म आफूलाई पनि डर लाग्यो,’ उनी भन्छन्, ‘त्यसपछि फिमेल कोरोना संक्रमित आउनुभयो, उहाँ आउँदासम्म पनि अलिअलि डर थियो । अहिले त डर छैन् ।’ न्यु होराइजन स्कुल पाल्पाबाटैं एसएलसी गरेका उज्ज्वलले माइतीघरस्थित सेन्ट जेभियर कलेजबाट प्लस टु सकेका हुन् । उनले पोखरास्थित मणिपाल मेडिकल कलेजबाट सरकारी छात्रवृत्तिमा २०१८ मा एमबीबीएस उत्तीर्ण गरे । त्यसपछि केही झन्डै एक वर्ष रामपुर अस्पतालमा काम गरेका उनी गत भदौदेखि टेकु अस्पतालमा काम गरिरहेका छन् ।
डा. कृष्ण यादव
‘सुरुमा डर लागिरहेको थियो, अहिले त कोभिड—१९ संक्रमित बिरामीका उपचारमा खटिदा आवश्यक पर्ने सामग्री पनि छ, अहिले त डर लाग्दैन्,’ डा. कृष्ण यादव आफ्नो अनुभव सुनाउँछन्, ‘तर, नयाँ रोग भएकाले बिरामीलाई ठीक होला कि नहोला भनेर चिन्ता भने लागिरहन्छ ।’ सिरहाको लहानमा जन्मिएका २६ वर्षीया यी चिकित्सक पनि नेपालमा कोभिड—१९ को पहिलो केसदेखि नै फ्रन्टलाइनमा रहेर बिरामीको उपचारमा सक्रिय छन् ।
लहानको लिटिल स्टार इंग्लिस बोर्डिङ स्कुलबाट एसएलसी गरेका उनले माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट २०६८ सालमा प्लस टु उत्तीर्ण गरेका हुन् । चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट सन् २०१८ मा उनले एमबीबीएस उत्तीर्ण गरेका हुन् । सरकारी छात्रवृत्तिमा एमबीबीएसका पढेका उनले त्यसपछि झन्डै एक वर्ष सुनसरीको हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरे । गत भदौ १६ गतदेखि भने उनी टेकु अस्पतालमा कार्यरत छन् ।
डा. अनुभव पौडेल
प्यूठानको दरबानमा जन्मिएका अनुभव पौडेल माओवादी युद्धकालमा भर्खरै हुर्किंदै थिए । उनी पढ्ने स्कुल नै युद्धको चपेटामा परेर बन्द भएपछि उनी शिक्षा हासिल गर्न नेपालगन्ज आए । नेपालगन्जको ब्राइटल्याण्ड स्कुलबाट उनले २०६५ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौ आए । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा नाम निस्किएपछि उनले त्यहीबाट २०६७ सालमा प्लस टु उत्तीर्ण गरे । पढाइमा अब्बल उनले सरकारी छात्रवृत्ति कोटामा एमबीबीएसका लागि नाम निकालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढेका हुन् । सन् २०१८ मा एमबीबीएस उत्तीर्ण गरेपछि सरकारसँगको करारनामाअनुसार उनले १४ महिना रोल्पा जिल्ला अस्पतालमा काम गरे ।
त्यसपछि गत भदौदेखि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन् । नेपालमा देखिएको पहिलो कोभिड–१९ का बिरामीदेखि अहिलेसम्म डा. पौडेल फ्रन्टलाइनमै रहेर बिरामीको सेवामा खटिरहेका छन् । ‘कोभिड–१९ को सेन्टरमा काम गर्ने भएकाले पनि सुरुमा केही गाह्रो भएको थियो, पीपीईलगायत सबै सामग्री उपलब्ध भएपछि अहिले सजिलो छ,‘ २७ वर्षीया डा. अनुभव सुनाउँछन्, ‘अहिलेसम्म क्रिटिकल केसहरू पनि छैन, सरहरूको गाइडेन्सले थप सहयोग भैरहेको छ ।’ उनले के गर्ने, कसरी गर्ने भन्ने विषयमा अस्पतालमा बरिष्ठ चिकित्सकहरूले दिने सल्लाहले पनि आफूहरूलाई आइसोलेसन वार्डमा काम गर्दा ‘बुष्टअप’ हुने गरेको बताए ।
डा. सुशील शर्मा
धनगढीमा जन्मिएका डा. सुशील शर्मा पनि यसै अस्पतालमा कार्यरत छन् । जब चीनको वुहानबाट आएका एक नेपालीमा कोभिड—१९ भाइरस पुष्टि भयो । जुनबेला चीनमा कोरोना भाइरसले महामारीका रूप लिइसकेको थियो । नेपालमा पनि कोभिड–१९ संक्रमित देखिन थालेपछि उनको मनमा अब नेपालमा पनि चीनकै अवस्था आउने भयो भन्ने लागेको थियो । फेरि चीन, इटली, स्पेन लगायतका देशमा स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि भने थप डर लाग्न थालेको उनी बताउँछन् । ‘हामीसँग पर्याप्त सुरक्षा सामग्री थिएन, उतातिर स्वास्थ्यकर्मी नै संक्रमित हुन थाले भन्ने सुनिन थाल्यो,’ उनी भन्छन्, ‘त्यसपछि चाहिँ के गर्ने कसो गर्ने भनेर डर लाग्यो ।’ यतिबेला उनी कोरोनाको आशंका गरेर भर्ना भएका र रिपोर्ट आउन बाँकी रहेका बिरामीको उपचारमा संलग्न छन् । २०६४ सालमा धनगढीस्थित कैलाली मोडल स्कुलबाट एसएलसी उत्तिर्ण गरेका उनले धनगढीकै नेसनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)बाट प्लस टुसम्मको अध्ययन पूरा गरेका हुन् । त्यसपछि उनले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट सरकारी छात्रवृत्तिमा एमबिबिएस गरेका हुन् । उनी २ वर्ष यता चिकित्सा पेसामा आबद्ध छन् । करिव १३ महिना डोटीको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेका उनी १ वर्षयता टेकु अस्पतालमा छात्रवृत्ति करारअन्तर्गत काम गर्दै आएका छन् ।
बेली पौडेल
चितवनमा जन्मिएकी बेली पौडेल विगत २४ वर्षयता नर्सिङ निरिक्षकको रुपमा कार्यरत छिन् । उनी यतिबेला भने कोभिड—१९ संक्रमित बिरामी राखिएको आइसोलेसन वार्डको नर्सिङ स्टाफ इन्चार्जसमेत हुन् । कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न रहेकी उनलाई पहिलो कोभिड—१९ संक्रमित बिरामी आउँदा सुरुमा के गर्ने कसो गर्ने जस्तो भएको थियो । ‘हाम्रो लागि यो नौलो अनुभव थियो,’ ५० वर्षीया पौडेल भन्छिन्, ‘कत्तिको सुरक्षित रहनुपर्छ, यो रोग कसरी सर्छ भन्ने पनि थाहा थिएन । बिस्तारै बुझ्दै आयौं ।’ सुरुवातीका दिनमा मास्क र पञ्जामात्र लगाएर संक्रमितको वरपर जाने गरेको भए तापनि अहिले भने सुरक्षा सामग्री पीपीई प्रयोग गरेरमात्र जाने गरेको उनी बताउँछिन् । २०४९ सालदेखि नर्सिङ पेसामा आबद्ध पौडेलले २०४४ सालमा चितवनस्थित बालकुमारी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । विरगञ्ज नर्सिङ क्याम्पसबाट पीसिएल नर्सिङ गरेकी उनले महाराजगञ्ज नर्सिङ क्याम्पसबाट नर्सिङमा स्नातक गरेकी हुन् । साथै उनले समाजशास्त्रमा स्नातकोत्तर र शिक्षाशास्त्र संकायमा एमफिल गरेकी छिन् । २०५१ मा लोक सेवा आयोगमा नाम निस्किएपछि उनी सरकारी सेवामा आबद्ध भइन् । त्यसअघि उनले कान्ति बाल अस्पतालमा करारमा काम गरेकी थिइन् । साथै नारायणी उपक्षेत्रीय अस्पतालमा पनि उनले डेढ वर्ष काम गरेकी छिन् ।
मीरा निरौला
कोभिड—१९ संक्रमितसँग प्रत्यक्ष उपचारमा संलग्न भइरहेको अवस्थामा मिरा निरौलालाई एक्कासि रुघाखोकी लाग्यो । त्यसपछि उनले कोभिड–१९ परीक्षण गराइन् । तर, रिपोर्ट नेगेटिभ आयो । यो अवधिमा उनी करिब ९ दिन घर गइनन् । पछिल्लो पटक फेरि परीक्षण गराइन् । त्यसमा पनि नेगेटिभ रिपोर्ट आएपछिमात्र घर गएको बताउँछिन् । पहिलो कोभिड–१९ संक्रमितको उपचारमा उनी बिना मास्क उपचारमा खटिएकी थिइन् । किनभने त्यो बेलामा कोरोना भाइरस के हो भन्ने पनि राम्रोसँग थाहा थिएन । तैपनि पीपीई बिना नै कोरोना संक्रमितको उपचारमा खटिएको अवस्थामा पनि कसैलाई कोभिड—१९ को संक्रमण नभएपछि काम गर्न आत्मबल बढेको उनी सुनाउँछिन् ।
मोरङमा जन्मिएकी निरौला विगत २६ वर्षयता नर्सिङ पेसामा आबद्ध छिन् । २०४७ सालमा सरस्वती माध्यमिक विद्यालय, कल्याणपुरबाट एसएलसी उत्तीर्ण गरेकी उनले वीरगन्ज नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ पूरा गरेकी हुन् भने महाराजगञ्ज नर्सिङ क्याम्पसबाट बिएन र एमएन अध्ययन पूरा गरिन्् । २०५१ सालमा लोकसेवा आयोगमा नाम निकालेपछि उनले कोसी प्रादेशिक अस्पतालमा ४ वर्ष काम गरिन् । त्यसपछि कान्ति बाल अस्पतालमा ८ वर्ष काम गरेपछि उनी विगत १३ वर्षयता टेकु अस्पतालमा कार्यरत छिन् ।
सानु नकर्मी
काठमाडौं बालाजुमा जन्मिएकी सानु नकर्मी २० वर्षदेखि नर्सिङ पेसामा आबद्ध छिन् । नेपालमा देखिएको पहिलो कोभिड—१९ संक्रमितको उपचारमा उनी प्रत्यक्ष संलग्न थिइन् । ती बिरामी सुरुमा अस्पताल भर्ना हुँदा उनको बेलुकाको ड्युटी परेको थियो । ती बिरामीमा ज्वरो र अक्सिजनको कमी भएकाले उनले नै ती बिरामीलाई बाफ, अक्सिजन लगाइदिइन् । पछि तिनै बिरामीमा कोभिड—१९ पोजेटिभ देखियो । त्यसपछि आफूलाई पनि केही हुने हो कि भनेर डर लागेको नकर्मी बताउँछिन् । ‘सामान्य खोकी लाग्दा पनि कोरोना हो कि भनेर शंका लाग्न थाल्यो,’ उनले भनिन् ।
उनले २०४८ सालमा तरुण माध्यमिक विद्यालय बालाजुबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । उनले वीर हस्पिटल नर्सिङ क्याम्पसबाट स्टाफ नर्सिङ र स्नातक अध्ययन पूरा गरेकी हुन् । हाल टेकु अस्पतालमा कार्यरत उनले सरकारी सेवा सुरु गर्नुभन्दा पहिला काठमाडौं मोडल अस्पतालमा स्टाफ नर्सका रूपमा ८ वर्ष काम गरेकी थिइन् । २०६३ सालमा लोकसेवा आयोगमा नाम निकालेपछि उनले साढे २ वर्ष रसुवा जिल्ला अस्पतालमा काम गरिन् भने ११ वर्षयता टेकु अस्पतालमा आबद्ध छिन् ।
सिर्जना बज्राचार्य
भैरहवामा जन्मिएकी सिर्जना बज्राचार्य विगत १० वर्षयता नर्सिङ पेसामा आबद्ध छिन् । २०६२ सालमा भैरहवास्थित आदर्श विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेकी उनले वीर हस्पिटल नर्सिङ क्याम्पसबाट स्टाफ नर्सिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसबाट बिएन पूरा गरेकी हुन् । २०६७ सालमा लोकसेवामा नाम निकालेपछि उनले करिब ३ वर्ष महोत्तरीस्थित लोहरपट्टि प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरिन् । त्यसपछि उनले तीन वर्ष बिएन अध्ययन गरिन् । विगत ३ वर्षयता उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छिन् ।
यतिबेला कोभिड—१९ संक्रमितको उपचारमा संलग्न भइरहँदा उनले सुरुवाती अवस्था र अहिलेमा निकैै सहज महसुस गर्न थालेकी छिन् । ‘सुरुमा त कोरोना भाइरस भनेको के हो भन्ने पनि राम्रोसँग थाहा थिएन,’ ३१ वर्षीया उनी भन्छिन्, ‘तर अहिले त्यसको बारेमा बुझिसकेका छौं । साथै अस्पतालमा पनि राम्रो व्यवस्थापन भइसकेको छ ।’ चीनमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि आएको छ त्यसैले मास्क, सेनिटाइजर, पञ्जा अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने उनलाई थाहा थियो । जुनबेला पीपीईको बारेमा राम्रोसँग थाहा नभएको उनी बताउँछिन् । अहिले उनी अस्पतालमा बस्दा पनि पीपीई लगाएर बस्छिन् । कोरोना संक्रमित भएको ठाउँमा जाँदा भने एडभान्स पीपीई लगाएर जाने गरेको उनी बताउँछिन् ।
टिम धौलागिरि अञ्चल अस्पताल
डा. शैलेन्द्र विश्वकर्मा पोखरेल
पर्वतको कुश्मा घर भएका शैलेन्द्र विश्वकर्मा पोखरेल धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हुन् । ४५ वर्षका पोखरेल तीन वर्षदेखि बागलुङमा कार्यरत छन् । नेपाल मेडिकल कलेजबाट एमबीबीएस र भरतपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मेडिकल सर्जनको पढाइ सकेका पोखरेल ५ वर्षसम्म भरतपुर अस्पतालमै कार्यरत थिए । व्यवस्थापकीय र उपचार दुवै कामहरूको संयोजन गर्नुपर्ने दायित्व डा. पोखरेलको छ । मौसमी ज्वरो, रुघाखोकी र दुर्घटनाका बिरामीको उपचार गर्ने काम पनि यहाँ रोकिएको छैन । त्यसमा पोखरेलको नेतृत्व सफल देखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर बताउँछन् । एक महिनादेखि दैनिकी फेरिनुको साथै कामको जिम्मा बढी भएको पोखरेलले बताए । ‘नियमित काम भइरहेकै छ, तीन जना कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराइएकाले थप जिम्मेवारी छ,’ उनले भने । बिहानै उठेर दैनिक कार्ययोजना बनाउने, रेपिट रेस्पोन्स टिमको बैठक बस्ने, कोरोना संक्रमितको अबस्था बुझेर मन्त्रालयमा रिपोर्टिङ गर्ने उनको मुख्य जिम्मा छ ।
दैनिक संक्रमितसँग स्वास्थ्य अबस्थाबारे बुझ्ने, उनीहरूको समस्यासम्बन्धी औषधिका लागि चिकित्सकको टिममा छलफल गर्ने र आवस्यक औषधि चलाउने काममा उनको व्यस्तता छ । पोखरेलको नेतृत्वपछि हाल १० जना विशेषज्ञ डाक्टर र मेडिकल अधिकृतसमेत २३ जना कार्यरत छन् । ४० जना नर्स, ४० कै हाराहारीमा अन्य स्वास्थ्यकर्मी पनि छन् । सबैको कार्यालय प्रमुखको रूपमा पोखरेल खटिन्छन् । जिल्लाभर पुगेको टोलीबाट रेपिट टेष्टको रिपोर्ट संकलनको काम पनि उनले गरे । कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । डा. पोखरेलले भने, ‘औपधि पत्ता नलागेकाले अन्य विज्ञको सल्लाहमा औषधि चलाउने गरिएको छ ।’ विभाग, मन्त्रालय र इपिडिमियोलोजी महाशाखाका चिकित्सकहरूको सल्लाहमा औषधि दिने गरेको उनले बताए । ‘आफू र आफ्नो घरपरिवारसहित समाज जोगाउने जिम्मा छ, त्यसमा कुनै त्रुटि नहुने गरी काम गर्नु परेको छ’ उनले भने । कोरोना विरुद्धको लडाइबाट छिटै विजय पाउन सकिने आशा लिएर काम गरिरहेका छन् ।
डा. प्रदीप श्रेष्ठ
यस अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत डा. प्रदीप श्रेष्ठ कोभिड—१९ संक्रमितको उपचारमा फ्रन्टलाइनरका रुपमा सक्रिय छन् । बिरामीलाई उपचार गर्ने शैली उही भए पनि कोभिड—१९ विश्वव्यापी रूपमै फैलिरहेको संक्रामक रोग भएकाले निकै सचेतता अपनाउनुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । ‘उपचारमा संग्लनहरूमा पनि संक्रमण भैरहेकाले यसमा हामीले पनि उच्च सजगता अपनाएर उपचारमा खट्नुपर्ने अवस्था छ,’ डा. प्रदिप भन्छन्, ‘छुट्टै सर्तकर्ता अपनाउनुपर्छ ।’
भक्तपुरको ठिमीमा जन्मिएका डा. श्रेष्ठले २०६० सालमा आदर्श माध्यमिक विद्यालय ठिमीबाट एसएलसी उत्तीर्ण गरेका हुन् । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट उनले आइएस्सी उत्तीर्ण गरे । डा. श्रेष्ठले सरकारी छात्रवृत्तिमा नाम निकालेर काठमाडौं मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्ने अवसर पाए । उनले सन् २०१२ मा एमबीबीएस सके । सरकारसँगको छात्रवृत्ति करारनामाअनुसार उनी दुई वर्ष धादिङ जिल्ला अस्पतालमा कार्यरत रहे । त्यसपछि उनले न्याम्समा एमडीमा अध्ययन गरे । ०७५ सालमा उनले न्याम्सबाट इन्टरनल मेडिसिनमा एमडी अध्ययन पूरा गरे । त्यसपछि झन्डै दुई वर्षदेखि उनी करार सेवामा धौलागिरि अञ्चल अस्पतालमा कार्यरत छन् ।
शान्ति खड्का पौडेल
शान्ति खड्का पौडेल अस्पतालकी नर्सिङ इन्चार्ज हुन् । सामान्य अवस्थामा नियमित खटिनुपर्ने जिम्माबाहेक खड्काले कोरोना संक्रमणको समस्या आएपछि दोब्बर जिम्मेवारी सम्हालिरहेकी छन् । धौलागिरि अञ्चल अस्पतालमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरूलाई पहिलो पटक नजिकमा गएर सेवा गर्ने जिम्मा नर्सलाई छ । इन्चार्ज भएकाले उनलाई बढी जिम्मा छ । उनलाई देवी भट्टराई र मिलन बरुवालले साथ दिएका छन् । तीन जनाले पालैपालो कोरोना संक्रमितको उपचार र सेवा गर्छन् । बिहान, दिउँसो, बेलुकी र रातिको समयमा बिरामीको रक्तचाप, ज्वरो, दमसहित अन्य समस्या बुझ्ने, औषधि खुवाउनेलगायतको काम गर्न उनीहरू खटिन्छन् । जसले सेवा गरेपनि बिरामीको अबस्थाबारे रिपोर्टिङको काम खड्काले गर्छिन् ।
जागिरे जीवनको २२ वर्षमा संसारभरको समस्या भएको कोरोना भाइरस मात्र पाएको उनले बताइन् । तर भूकम्प, झाडापखालाको प्रकोप, मौसमी फ्लुजस्ता महामारीमा पनि उनले काम गरेको अनुभव संगालेकी छिन् । ‘ती महामारीमा स्वास्थ्यकर्मी जोखिममा थोरै पर्थे, अहिले धेरै पर्छन्’ उनले भनिन्, ‘सेकेण्ड–सेकेण्डमा सञ्चारमाध्यम र जोकसैले गर्ने निगरानी पनि चुनौतीमा पर्छन् ।’ लामो समय पोखरामा बसेर काम गरेकी ४० वर्षीया खड्का २ वर्षदेखि बागलुङमा छिन् । उनको परिवार भने पोखरामा बसिरहेको छ । दिनदिनै छोराछोरीले फोन गर्दा घर जाने मन भए पनि बिरामीको उपचार र निको बनाएर मात्र घर फर्कने अठोट लिएर उनले काम गरिरहेकी छिन् । उनले भनिन्, ‘सयौं बर्षमा आएको महामारीलाई अवसरका रूपमा लिएर चुनौती सामना गर्न खोजेकी छु ।’
देवी भट्टराई
तनहुँको राइपुर घर भए पनि विगत २१ वर्षदेखि बागलुङमा बसेर काम गरेकी देवी भट्टराई सिनियर नर्समा हुन् । २०४५ सालमा स्थायी नर्समा नाम निकालेर काम थालेपछि उनले धेरै समय बाग्लुङ बिताइन् । त्यसअघि उनी वीर अस्पतालमा कार्यरत थिइन् । दशरथ रंगाशालामा भएको दुर्घटनाको बेला वीर अस्पतालमा काम गरेको पहिलो अनुभवबाट उनले महामारी र दुर्घटनाहरू कस्तो हुन्छ भन्ने बुझेको बताइन् । अहिले कोभिड—१९ संक्रमित बिरामीको उपचारमा खटिएकी उनी आइसोलेसनमा जानुपर्दा फुल पीपीई लगाउने, अरु बिरामीलाई भेट्दा रेनकोटजस्तो प्लास्टिक लगाएर काम गर्ने गरेको अनुभव सुनाउछिन् । ‘पेशागत धर्मले हामी कुनै पनि काममा पछि पर्दैनौं, तर आफू पनि बाँचेर मात्र काम गर्नुपर्छ भन्ने मान्यता अहिले यो महामारीमा मात्र सिक्न पायौं ।
२४ घण्टा खटिने तीनजना नर्सहरूमध्ये उनी पनि आइसोलेसनमा ८ घण्टा र अरू समय अस्पतालका नियमित उपचारमा खटिने गरेकी छिन् । पहिला त्रिविको अनमी पढेपछि उनले पाल्पास्थित मिसन अस्पतालमा स्टाफ नर्स पढेकी हुन् । मिसन अस्पतालको गाइडले आफ्नो स्वभावसमेत सहयोगी र बिरामीदेखेपछि सेवा गरिरहुँ जस्तो हुने गरेको समेत उनले अनुभव सुनाइन् । अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्रमा पनि उनले दशकदेखि काम गर्दै आएकी छिन् । सडकमा अलपत्र परेका, हिंसामा परेका जस्ता महिलाको एकद्वार प्रणालीबाट उद्दार गर्ने यो केन्द्र हो । यहाँ आएको पिडितले अस्पतालजन्य उपचारदेखि कानुनी उपचारसमेत भित्रैबाट पाउने व्यवस्था छ । त्यसको उनी इन्चार्जसमेत हुन् ।
मिलन बरुवाल
घर पनि बागलुङ बजारमै भएकोले मिलन बरुवाल अधिकांश समय अस्पतालमै खटिएकी हुन्थिन् । कोभिड—१९ संक्रमित बिरामी भेटिएपछि त उनी अस्पतालको फ्रन्ट लाइनमा खटिने नर्स हुन् । अहिले धौलागिरि अञ्चल अस्पताल कोभिड—१९ उपचार केन्द्र जस्तै छ । आइसोलेसनमा पनि बिरामी छन् । त्यसैले जोखिम क्षेत्रमा पर्छ । बरुवालले आइसोलेसनको जिम्मा पनि लिएकी छिन् । त्यसैले सुरक्षित भएर काम गर्ने मत्र नभई घरपरिवारलाई समेत सुरक्षित राख्ने उनको चुनौती हो । यति धेरै कठिन अबस्थामा काम गरेको उनको अरू अनुभव छैन । त्यसैले युट्युब हेरेर धेरै उपचार पद्धतिको खोजी गरिरहेकी छिन् । भन्छिन् ‘संसारभर एउटै समस्या भोगेको बिषय भएकोले हामी पनि अनविज्ञ हुनु स्वाभाबिक हो । तर, युट्युबको सहाराले धेरै कुरा सिकेकी छु ।’ कति दुरीमा बसेर उपचार गर्ने, कसरी आइसोलेसनमा जाने र फर्कने भन्ने निश्चित फ्रेमवर्क बनाएर काम गरिरहेको उनले बताइन् ।
अन्य महामारीमा बिरामी मर्छ की भनेर डराउँदै काम गरेकोमा यो पटक आफू र आफ्नो परिवार समेतमा संक्रमण हुन नदिने गरी कसरी काम गर्ने भन्ने सजगता चाहिएको उनको अनुभव छ । हरेक दिन पीपीई लगाएर फेर्ने बेलामा बढी साबधानी अपनाउने गरेको उनले बताइन् । ‘आइसोलेसन थप्ने, नमूना संकलन कसरी गर्ने र रेपिट रेस्पोन्स टिमको निर्देशन अनुसार काम गरेका छौं’ बरुवालले भनिन्, ‘धेरै महामारी अनुभव गरियो, यस्तो मानिसदेखेर मानिस डराउने अबस्था आएको थिएन ।’ सबैजना चनाखो बन्ने र सुरक्षित बन्नुपर्ने उनले सुझाव दिइन् । पूर्वाञ्चल विश्वविद्यालयबाट बिएन र त्रिवि शिक्षण अस्पतालबाट स्नातकोत्तर गरेकी बरुवाल १३ वर्षदेखि बागलुङमा क्रियाशील छिन् । डिजास्टर म्यानेजमेन्टतर्फ भूकम्पको जोखिमको बेला काम गरेको अनुभव पनि उनले संगालेकी छिन् ।
देवप्रकाश घिमिरे
उमेरले ४० पुग्नै लागेका देवप्रकाश घिमिरेले जागिरे जीवनको १८ वर्षसम्म जनस्वास्थ्यको क्षेत्रमा बिताए । उनी धौलागिरि अस्पतालका क्षय–कुष्ठ सुपरभाइजर हुन् । बागलुङ प्राविधिक शिक्षा प्रतिष्ठानमा पढेका घिमिरे केही समयअघि मात्र धौलागिरी अञ्चल अस्पतालमा सरुवा भएर आएका हुन् । अस्पताल पुग्नासाथ घिमिरेलाई ¥यापिड रेस्पोन्स टिमको सदस्य राखियो । हरेक दिनको व्यवस्थापकीय काममा उनी खटिने गरेका छन् । तीन सातादेखि बागलुङमा दुई जना बिरामी उपचार गराइरहेका छन् । त्यसअघि शंकास्पद भएर आइसोलेसनमा बसेका एक युवा चारदिन बसेर घर फर्के । उनीहरूको पहिलो चरणको काउन्सिलिङमा घिमिरे खटिएका थिए ।
घरमा दमको बिरामी आमालाई छाडेर एक महिनादेखि उनी डेरामा बसेका छन् । ‘म संक्रमित छैन, तर अस्पताल र बिरामीको लसपसले बूढी आमा, श्रीमती र छोराछोरीलाई बचाउन म घर जान सकिन’ घिमिरेले भने, ‘गाउँ जाने मानिस खोजेर आमाको औषधि पठाउने गरेको छु ।’ सरकारले बागलुङमा एक हजार जनाको ¥यापिड टेस्टमा घिमिरेले सबैभन्दा दुर्गम मानिने बरेङ गाउँपालिकामा खटिएर काम गरे । दशवटै पालिकामा भएका स्वास्थ्य गतिविधि, सबै पालिका इन्चार्जको काम, सबै स्वास्थ्यचौकीमा भएका अन्य स्वास्थ्य परीक्षण, ¥यापिड रेस्पोन्स टिमले जिल्लाभर दिएको राहत वितरणदेखि औषधि वितरण र उपचारका सबै गतिविधि उनले जानकारीमा राख्छन् । दैनिक डाक्टर, नर्स र स्वास्थ्यकर्मीले घरपरिवार नभनी गरेको कामलाई सञ्चार माध्यमले दिएको साथबाट काम गर्ने उर्जा आउने उनी बताउँछन् । ‘बूढा आमाबाबुले जागिरै छाडेर घर आइज भन्ने अबस्थामा संचार माध्यम र आम नागरिकको भरोसा बन्न पाएकाले सेवामा लाग्न मन लाग्छ’ घिमिरेले भने, ‘सामाजिक संजालका केही टिकाटिप्पणीले अप्ठ्यारो बनाएको छ ।’
टिम नारायणी अस्पताल
डा. मदन उपाध्याय
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याययले चिकित्सक नर्सको सम्पूर्ण खटनपटन र व्यवस्थापन हेर्दै आएका छन् । ३० चैतदेखि अस्पतालको आइसोलेसनमा कोभिड–१९ पोजेटिभ देखिएका ३ जना भारतीयको उपचार हुँदै आएको छ । ‘यो निकै चुनौतीपूर्ण समय छ,’ मेसु डा. उपाध्याय भन्छन्, ‘घरपरिवार र बालबच्चासहित खुसी र सुख छाडेर यतिबेला हामीहरू फ्रन्टलाइनमा खटिरहेका छौं ।’ अस्पतालमा उपचाररत कोभिड–१९ का बिरामीहरूको रेखदेख तथा उपचारको रुटिङ मिलाउनदेखि अन्य कुराको व्यवस्थापन गर्ने काम डा. उपाध्यायको काँधमा छ ।
जनकपुरमा जन्मिएका डा. उपाध्यायले त्यहीको स्थानीय बोर्डिङ स्कुलबाट एसएलसी गरेका हुन् । उनले रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजको एमबीबीएस पहिलो ब्याचका उनले सन् २००३ मा एमबीबीएस सकेका हुन् । डा. उपाध्यायले माहिडोल युनिभर्सिटी थाइल्यान्डबाट एमपीएच गरेका छन् । ६ वर्षअघि नवौं तहमा सरकारी जागिर प्रवेश गरेका उनी अहिले ११ तहका चिकित्सक हुन् ।
डा. उदयनारायण सिंह
अस्पतालको इमर्जेन्सी विभागका प्रमुख डा. उदयनारायण सिंह यतिबेला कोभिड–१९ संक्रमित बिरामीको उपचारमा सक्रिय छन् । अस्पतालमा वैज्ञानिक संरचनाअनुसार भौतिक संरचना, प्रवेश र बाहिरने व्यवस्था पनि छैन् । तर, पनि उनको टोली उच्च सतकर्तासहित कोभिड–१९ संक्रमितहरूको उपचारमा तल्लीन छ । ‘मनका डर छैन्, सतर्कता भने अपनाइरहेका छौं,’ उनले भने, ‘यो बेला हामीले नगरे कसले गर्ने ?’ आइसोलेसनमा गएर बिरामीहरू मज्जाले कुरा गर्ने र उनीहरूको स्वास्थ्य अवस्थाको निरन्तर अपडेट लिने काम डा. सिंहले गरिरहेका हुन्छन् । भन्छन्, ‘अहिलेसम्म चारै जना संक्रमितको अवस्था सामान्य छ ।’ यसबाहेक उनको सक्रियता अस्पतालले सञ्चालनमा ल्याएको ज्वरो किलनिकमा पनि छ । उच्च मनोबलका साथ काम गर्नेपर्नेमा उनको जोड छ ।
३७ वर्षीय डा. सिंह सर्लाहीमा जन्मिएका हुन् । उनले वीरगन्जस्थित गौतम माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंस्थित डनबस्को कलेजबाट प्लस टु उतीर्ण गरेका हुन् । डा. उदयले सन् २००७ मा चीनको सिन्च्याङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस र सन् २०१० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट जनरल प्राक्टिस र इमर्जेन्सी केयरमा एमडी गरेका हुन् । २ वर्ष विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपप्राध्यापकका रुपमा काम गरेका उनी २०७३ सालमा सरकारी सेवामा प्रवेश गरेका हुन् । त्यहीबेला अहिलेसम्म उनी नारायणी अस्पतालमा कार्यरत छन् ।
डा. राकेश तिवारी
डा. राकेश तिवारीलाई अहिले सबैभन्दा धेरै कर्तव्यबोध भएको छ, त्यसैले उनी संक्रमितको डरलाई जितेर आइसोलेसनमा रहेका कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा खटिरहेका छन् । ‘डा. भएकाले कर्तव्यबोध भएको छ, डर पनि लागिरहेको छ,’ उनी भन्छन्, ‘यस्तो महामारीका बेला हामीले कर्तव्यबोध गरेनौं भने त राम्रो भएन ।’ ३० चैतदेखि पोजेटिभ देखिएका संक्रमित उपचार र अन्य विरामीहरूको उपचारमा पनि उनको सक्रियता उतिकै छ ।
बारा कलैया स्थायी घर भएका डा. तिवारीको स्कुललिङ ज्ञानज्योति माविमा भएको हो । उनले त्यहीबाट वि.सं. २०५५ मा एसएलसी उत्तीर्ण गरेका हुन् । सेन्ट जेभियर्स स्कुल माइतीघरबाट प्लस टु गरेका उनले सरकारी छात्रवृत्तिमा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट सन् २००९ मा एमबीबीएस पूरा गरे । डा. तिवारी सरकारसंगको करारअनुसार दुई वर्ष पर्साको बबई प्राथमिक स्वास्थ्य चौकीका काम गरे । त्यही क्रममा उनले लोकसेवामार्फत सरकारी सेवामा प्रवेश गरे । सरकारी सेवामा स्थायी जागिरे भएपछि दुई वर्ष पुनः त्यही काम गरे । त्यसपछि उनको सरुवा नारायणी अस्पतालमा भयो । त्यही रहँदा उनले छात्रवृत्तिमै सन् २०१६ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी सके । त्यसपछि पुनः नारायणी अस्पतालमा सेवारत छन् ।
डा. निरजकुमार सिंह
‘फष्ट टाइम एक्सपिरियन्स हो । लाइफमै यस्तो देखिएको थिएन्,’ कोभिड–१९ संक्रमितको फ्रन्टलाइनमा रहेर उपचारमा सक्रिय हुंदाको अनुभव सोध्दा डा. निरजले सिंहले सुनाए । सामान्य डर हुनु स्वभाविक भए पनि उनी पेशागत जिम्मेवारीबोध गर्दै मनोबल उच्च बनाएर आइसोलेसनका बिरामीको सेवामा सक्रिय छन् । भन्छन्, ‘दह्रो पावर र उच्च मनोबलका साथ काम गर्नुपर्छ ।’
पर्साकै स्थानीय ४२ वषीय यी फिजिसियनले नेपाल मेडिकल कलेजबाट सन् २०१२ मा एमडी सकेका हुन् । बेलारुसबाट उनले सन् २००१ मा एमबीबीएस गरेका हुन् । डा. सिंह झण्डै १८ वर्षदेखि नारायणी अस्पतालमा कार्यरत छन् । बुवा जागिरका सिलसिलामा मलंगवा भएकाले उनले मलंगवाकै कृष्णदेवी माध्यमिक विद्यालयबाट एसएलसी गरेका हुन् । उनले प्लस टुको अध्ययन भने भारतबाट पूरा गरेका हुन् ।
श्रुति साह
श्रुति साह नारायणी अस्पतालका नर्सिङ अधिकृत तथा निमित्त मेट्रोन हुन् । सुरुमा कोभिड–१९ पोजेटिभ देखिएपछि कसरी काम गर्ने, कस्तो हुने होला भन्ने उनमा धेरै कौतुहल र डर थियो । ‘११ गतेदेखि हामीले कोभिडका शंकास्पद बिरामीहरू हेरिरहेका थियौं,’ उनले सुनाइन्, ‘सुरुमा अलिकति डर भए पनि अहिले सबै साहसपूर्वक काम गरिरहेका छौं ।’ उनको भूमिका अहिले नर्सिङ व्यवस्थापनका साथै आफैं बिरामीको रेखदेख गर्ने पनि छ । सुरुमा स्टाफको मनोबल बढाउने चुनौती रहेको बताउँदै सिनियर र जुनियर मिलाएर टिम बनाएको उल्लेख गरिन् । जनकपुरकी साहले सरकारी सेवामा प्रवेश गरेको तीन वर्ष भयो । ३३ वर्षीया उनको विद्याालय तहसम्मको शिक्षा जनकपुरमै भएको हो । उनले बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानबाट बिएस्सी तथा एमएस्सी नर्सिङ गरेकी छन् । सरकारी सेवामा प्रवेश गर्नुपूर्व उनले विभिन्न प्राइभेट स्वास्थ्य संस्थाहरूमा काम गरेकी थिइन् ।
हेमा थापा
हेमा थापा विगत २५ वर्षयता यसै अस्पतालमा कार्यरत छिन् । यतिबेला उक्त अस्पतालमा तीन जना कोरोना संक्रमितको उपचार भइरहेको छ । थापा कोरोना संक्रमित राखिएको आइसोलेसन वार्डको सुपरभाइजरसमेत हुन् । उनले विभिन्न माध्यमबाट कोरोना भाइरसको बारेमा सुन्दै नियमित अपडेट हेर्दै आएकी थिइन् । तर, उनलाई आफ्नै अस्पतालमा कोरोना संक्रमित आउलान् र उनीहरूको उपचारमा खटिनुपर्छ होला भन्ने लागेको थिएन । जब नारायणी अस्पतालमा कोरोना संक्रमितहरू आए त्यो दिन उनलाई अब के गर्ने कसरी गर्ने होला भनेर डर लागेको बताउँछिन् । तर, उनले त्यो डर बाहिर देखाइनन् । ‘मनमा डर त थियो,’ उनी भन्छिन्, ‘म सिनियर भएकाले म आफैं डराएँ भने मभन्दा जुनियर बहिनीहरूलेको आत्मबल घट्छ भन्ने सोंचेर डरलाई दबाएर काम गरें ।’ यतिबेला उनले कोरोना संक्रमितको उपचारमा संलग्न नर्सहरूलाई हौसला दिँदै काम गरिरहेकी छिन् । जसले गर्दा अभिभावकत्व महसुस भइरहेको उनी बताउँछिन् । बाराको सिमरामा जन्मिएकी उनले सिमरा माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरिन् । वीरगन्ज नर्सिङ क्याम्पसबाट स्टाफ नर्सिङ र बीएनसम्मको अध्ययन सकेकी हुन् । २०५३ सालमा लोक सेवा आयोगमार्फत सरकारी सेवामा नाम निकालेपछि उनी यस अस्पतालको विभिन्न विभागमा काम गर्दै आइरहेकी छिन् ।
मनीषा पाण्डे श्रेष्ठ
‘युद्धमा गएको सिपाहीझैं अनुभव भइरहेको छ,’ अस्पतालकी स्टाफ नर्स मनीषा पाण्डे श्रेष्ठले भनिन्, ‘घरमा यो लडाइँमा सफल भएर आउँछु भनेर नै आएकी हुँ ।’ कोभिड–१९ पोजेटिभहरूको उपचार भइरहेको नारायणी अस्पतालको आइसोलेसनमा उनी काम गरिरहेकी छन् । त्यसैले मनमा अलिअलि डर त छ नै । तर, बिरामीहरूसँगको अन्तक्र्रियालगायतले विस्तारै त्यो डर घट्दो क्रममा छ । अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षा कवच पीपीई भएकाले अलि ढुक्कसँग काम गर्ने वातावरण रहेको अनुभव उनी सुनाउँछिन् । २६ वर्षीया मनीषाको स्थायी घर नुवाकोट हो । उनले स्थानीय स्कुलबाटै एसएलसी पास गरेकी हुन् । सानैदेखि नर्सिङमा रुचि भएकी पाण्डे एलएलसीपछि नर्सिङको पढाइ गर्न काठमाडौं आइन् । होप इन्टरनेसल कलेजबाट उनले पिसीएल नर्सिङको अध्ययन पूरा गरिन् । त्यसपछि झन्डै साढे दुई वर्ष उनी काठमाडौंकै एक निजी हस्पिटलमा स्टाफ नर्सको रुपमा कार्यरत रहिन् । विगत ६ वर्षदेखि भने उनी नारायणी उपक्षेत्रीय अस्पतालमा स्टाफ नर्सका रूपमा सेवा गरिरहेकी छन् ।
अस्मिता थापा
‘सुरुमा डर लागिरहेको थियो,’ अस्मिता थापा भन्छिन्, ‘अहिले त डर हटिसक्यो । घर परिवार, सिनियर स्टाफहरूको मोटिभेसनले काम गर्ने हौसला थपेको छ ।’ अस्पतालमा तीनजना कोभिड—१९ संक्रमितको भर्ना हुँदा उनी ड्युटीमै थिइन् । जसले गर्दा सुरुमा एकदमै डर लागेको उनी बताउँछिन् । अहिले स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरे तापनि उनमा मनोवैज्ञानिक त्रास भने कायमै छ । वीरगन्जमा जन्मिएकी थापाले २०६९ सालमा वीरगञ्ज मनकामना माध्यमिक विद्यालयबाट एसएसली उत्तीर्ण गरेकी हुन् भने वीरगन्जकै द हिमाल इन्स्टिच्युट अफ हेन्थ एन्ड साइन्सबाट स्टाफ नर्सिङ अध्ययन गरेकी हुन् । उनी तीन वर्षयता यस अस्पतालमा कार्यरत छिन् ।