१८ वर्षदेखि बेलायत बस्दै आएकी सुनिता ढुंगाना कोभिड–१९ लाई जित्ने अर्की नेपाली हुन् । लन्डनको इलिङमा बसोबास गर्ने उनी इलिङ हस्पिटलको एक्युट रेस्पीरेटोरी विभागमा कार्यरत नर्स हुन् ।
४६ वर्षीया ढुंगानालाई पछिल्ला १८ वर्षमा इबोला, स्वाइन फ्लुजस्ता रोगका बिरामीको उपचारमा खटिदा पनि कहिल्यै ज्वरो आएको याद छैन । कोरोना भाइरस फैलिएसँगै उनले काम गर्ने श्वास–प्रश्वासकै रोगसँग सम्बन्धित वार्डमा शंकास्पद र कोभिड संक्रमित बिरामीहरू भर्ना हुन थाले । केही दिनमै अस्पतालको साइड वार्ड कोभिड वार्डमा परिणत भयो ।
१२ घण्टा लामो ड्युटी हुने भएकाले मार्च २८ मा पनि उनी बिहानै घरबाट निस्किइन् । ‘ड्युटीमै थिएँ, केही असहज अनुभव भयो । टाउको पनि दुख्न थाल्यो’ उनले भनिन्, ‘सुरुमा आफू राति नसुतेका कारण यसो भएको हुनसक्छ भनेर ध्यान दिइनँ । ज्वरो नै आएपछि चेक गरेँ । ३८ डिग्री सेल्सियस पुगेको रहेछ ।’ लगतै इन्चार्जलाई उनले यो कुरा सुनाइन् ।
‘केही समय रेस्ट गर्नुहोस् । चिया कफी पिउनुहोस्,’ नर्सिङ इन्चार्जले भनिन् । केही समय रेस्ट गरिन्, कफी खाइन् । प्यारासिटामोल पनि लिइन् । अलि सहज भएपछि पुनः काममा फर्किइन् । तर, फेरि ज्वरो देखियो, चक्कर आउन थाल्यो, एकदमै कमजोर अनुभव हुन थाल्यो । त्यो सुनाएपछि डाक्टर र नर्सिङ इन्चार्ज दुवैले संक्रमण भएको हुन सक्ने भन्दै आइसोलेसनमा बस्न सुझाए । घर ४ जना साना बच्चा पनि भएकाले आफ्नो कोठामा ‘आइसोलेसन’ मेन्टेन गरिन् । ९ दिनसम्म हनहनी ज्वरो आइरहयो, ३ दिनपछि निरन्तर खोकी लाग्न थाल्यो । चिकित्सकको सल्लाहअनुसार उनले ४÷४ घण्टाको फरकमा १ हजार एमजीको प्यारासिटामोल लिन थालिन् । ‘नियमित तापक्रम, अक्सिजनको लेभल चेक गरिरहें र त्यो डाक्टरहरूलाई अपडेट गरिरहें,’ उनी सुनाउँछिन् ।
डिस्पोजेबल भाडामा दूरी कायम गरेर परिवारका सदस्यले उनलाई ढोकामा खाना राखिदिन्थे । त्यसबाहेक श्रीमान्ले ज्वानो, मेथी, अदुवा, बेसार राखेर झोल बनाइदिन्थे । त्यस अवधिमा उनले झोल खानेकुरा र पानी धेरै खाइन् । परिवारको सहयोग र केयरले आत्मबल बढायो । अन्ततः भाइरसलाई जितेर १८ अप्रिलमा काममा फर्किइन् ।
‘यो एकदमै संक्रामक रोग हो, तर ८० प्रतिशत मानिस निको भएर घर फर्किएका छन् । कडाइपूर्वक आइसोलेसन पालना गर्नुहोस्, हाइजिन मेन्टेन गर्नुहोस्’ उनी भन्छिन्, ‘जसलाई जतिबेला पनि संक्रमण हुनसक्छ, त्यसैले लुकाउनु हुँदैन् । स्वस्थ खाना, प्रसस्त पानी, झोल खानेकुरामा ध्यान दिँदा त्यसले फाइदा गर्छ ।’ आत्तिन र भयभित नहुने भन्दै संक्रमणबाट बच्न सबैभन्दा बढी ध्यान सरसफाइमा दिनुपर्ने र
मिचीमिची हात धुनुपर्नेमा उनी जोड दिन्छिन् ।