म २१ वर्षीया विवाहित महिला हुँ । हाल मेरो गर्भमा ४ महिनाको शिशु छ । आजभोलि मेरो ढाड दुख्न थालेको छ । यो नराम्रो त होइन नि ? यस्तो अवस्थामा पीडा कम गर्न औषधि सेवन गर्नुपर्ने हुन्छ कि हुँदैन ?
-बी.
सामान्यत: गर्भ रहेको दोस्रो तीन महिना सुरक्षित एवं राम्रो अवस्था हो । यो अवस्थामा खानामा पनि रुचि बढ्छ । कसै–कसैलाई भने ढाड दुख्ने समस्याले पिरोल्न सक्छ । पाठेघर ठूलो भएर ढाडको मांसपेशी तन्किएका कारण यस्तो भएको हो ।
यस्तो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्नु राम्रो होइन, बरु ढाड दुख्ने अन्य कारणहरू खोज्नुपर्छ ।
कुनै–कुनै बेला पिसाबको संक्रमणले पनि ढाड तथा पेटमा पीडा हुन सक्छ । तातो रबर ब्यागले सेक्दा तथा आराम गर्दा पीडा कम हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने हुन्छ । तत्काल पीडा कम गर्न ढाडमा मल्हम लगाउन सकिन्छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल