म २६ वर्षीया गृहिणी हुँ । मेरो महिनावारी सुरुदेखि नियमित थियो, तर अहिले छोरी पाएपछि नियमित भएन । मेरी छोरी एक वर्षकी भइन् । छोरी ६ महिनाकी भएपछि महिनावारी खुल्यो । त्यसपछि दुई महिना नियमित नै भयो, तर यसपटक एकै महिनामा दुई पटक महिनावारी भैसक्यो । मैले के गर्ने होला ? ममा निकै ठूलो समस्या आएको त होइन ?
- रू
बच्चा पाइसकेपछि वा नपाउँदै पनि कसै–कसैमा महिना नपुग्दै वा महिनामा दुई–तीन पटक पनि एक–दुई दिन थोरै–थोरै रगत देखा पर्न सक्छ । समान्यतः यो हार्मोनल असन्तुलनका कारण हुन्छ । धेरै महिलामा यो बिस्तारै आफैं निको भएर जान्छ । धेरै रगत खेर गएको अवस्थामा भने उपचार गराउनुपर्ने हुन सक्छ ।
तुरुन्त सन्तान नचाहने महिलाहरूले यस्तो अवस्थामा पिल्स अर्थात् परिवार नियोजनका लागि प्रयोग गरिने खाने चक्की (निलोकन, सुनौलो गुलाब, ओभरल) खान सक्छन् । पिल्समा भएको हार्मोनले महिनावारीलाई नियमित बनाउनुका साथै परिवार नियोजनको काम पनि गर्छ । यसरी औषधी सुरु गर्नुअघि अन्य कुनै कारण हो कि होइन, परीक्षण गराउनु उपयुक्त हुन्छ । यसका लागि नजिकको स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुका साथै केही परीक्षण (अल्ट्रासाउन्ड, थाइराइड आदि) गराउनुहोला ।