महिलाहरूमा सामान्यतः महिनावारी १३–१४ वर्षदेखि नै सुरु हुन्छ, तर अन्डको निष्कासन तथा पाठेघरको परिपक्वता केही ढिलो हुन सक्छ । महिला परिपक्व भएपछि वा भनौं महिनावारी सुरु हुने भएपछि पाठेघर तथा अन्डाशयमा दुई किसिमका हार्मोन (इस्ट्रोजेन र प्रोजेस्टेरोन) को उत्पादन हुन्छ । यी दुई हार्मोनले पाठेघरको सङ्कुचन (कन्ट्राक्सन) तथा यसका भित्री तह (इन्डोमेट्रियम) बनाउन, भत्काउन तथा महिनावारी गराउनमा ठूलो भूमिका निर्वाह गरेका हुन्छन् ।
यी हार्मोनको उत्पादन पाठेघर र अण्डाशयमा भए पनि यसको उत्पादनको नियन्त्रण मस्तिष्कको हाईपोथालामस तथा एन्टेरियर पिट्युटरी ग्रन्थीले गरिरहेका हुन्छन् । महिनावारी हुनुमा यी हार्मोनबाहेक पोषण, वंशाणुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका हुन्छ । सामान्यतः अण्डाशयले उत्पादन गरेको अण्डको निक्षेदन अर्थात फर्टिलाइजेसन नभएपछि पाठेघरको भिक्री तह (इन्डोमेट्रियम) टुत्रिन्छ र महिनावारी हुन्छ ।
सामान्यतः १५ वर्षसम्ममा हरेक किशोरीको महिनावारी सुरु हुन्छ, तर केहीमा सामान्य ढिलाई हुँदैमा आत्तिहाल्नु पर्दैन । महिनावारी नहुने समस्यालाई एमोनेरिया भनिन्छ । समयमा महिनावारी नहुने अनेकन् कारण छन् । महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाइपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस्) मा आएको सामान्य गडबडीले पनि महिनावारी रोक्न सक्छ । कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनीमार्गको बनौट तथा विकासमा अवरोधले पनि महिनावारी नभएको हुन सक्छ । कुन कारणले गर्दा महिनावारी नभएको हो पत्ता लगाउनुपर्छ । महिनावारी नहुने सबै महिलाले गर्भधारण गर्न सक्छन् भन्न सकिँदैन, तर कारण पत्तालगाएर उपचार गरेको खण्डमा धेरैले सन्तान जन्माउन सक्छन् । किशोर अवस्थामा कसै–कसैमा पाठेघरको परिपक्वता ढिलो हुने तथा हार्मोनको उत्पादनमा असन्तुलन देखा पर्ने हुन्छ ।
महिनावारी भैरहेका महिलाहरूको महिनावारी ६ महिनाभन्दा बढी रोकिनुलाई सेकेन्डरी एमोनेरिया भनिन्छ । हुन त शिशुलाई दूध ख्वाइरहेको अवस्थाका साथै गर्भावस्था र वृद्धावस्थामा पनि महिनावारी रोकिन्छ । यसबाहेक अण्डवाहिनी नली, अण्डाशयको संक्रमण, थाइराइड तथा अन्य हार्मोनको असन्तुलन, पोलिसिटिक ओभरियन सिन्ड्रमजस्ता रोगले पनि महिनावारी रोकिन सक्छ । महिनावारी रोकिएको कारण पत्ता लगाउन विभिन्न परीक्षणहरू गर्नुपर्ने हुन्छ । यस्ता धेरै अवस्थामा सामान्य औषधि सेवनबाटै समस्याबाट मुक्ति प्राप्त गर्न सकिन्छ । केही अवस्थामा भने लामो समयसम्म औषधी सेवन गर्नुपर्ने हुन सक्छ ।
महिनावारीमा तल्लो पेट दुख्नु सामान्य हो, तर अत्यधिक पेट दुख्ने तथा पीडाकै कारणले नियमित कामहरू गर्न नसक्ने भएको अवस्थालाई डिस्मेनोरिया भनिन्छ । ५ देखि १० प्रतिशत महिलामा यो समस्या देखिए पनि किशोरावस्थामा यसले अझ बढी दुःख दिन्छ । मानसिक तनाव तथा सहन नसक्ने हुँदा मात्र डिस्मेनोरिया हुने होइन । पाठेघरको खराबी, भासोप्रेसिन तथा प्रोजेस्ट्रोनजस्ता हार्मोन बढी उत्पादन हुने लगायत अन्य कारणले पनि डिस्मेनोरिया गराउन सक्छ । डिस्मेनारिया भएका धेरैलाई पीडा कम गर्ने सामान्य औषधिले निको बनाउन सक्छ, तर कसै–कसैलाई परीक्षण गरेर अन्य औषधि तथा उपचार दिनुपर्ने हुनसक्छ । महिनावारीमा पीडा भयो भन्दैमा आफुखुसी औषधी सेवन गर्नुचाहिँ उपयुक्त होइन ।
महिलाहरूमा उमेरको प्रभाव
म.
हिलाहरूका हकमा १४ देखि ४८ वर्षसम्मको उमेरलाई यौन सक्रियताको उमेर मानिन्छ । यो समय नै महिलाहरूमा रजस्वला हुने समय पनि हो । महिलाहरूमा हुने रजस्वलाको प्राकृतिक नियम भनेकै उनीहरूमा यौन इच्छा जागृत हुने र सन्तान जन्माउने क्षमता कायम रहनु हो । अमेरिकाबाट प्रकाशित हुने मेनोपाज ः द जर्नल अफ नर्थ अमेरिकन मेनोपाज सोसाइटीमा प्रकाशित समाचारअनुसार सामान्य अवस्थामा पनि रजस्वला हुने क्रम बन्द भएपछि महिलाहरूको यौन सक्रियतामा कमी आउँछ । त्यसपछि उनीहरू यौन सम्पर्क राख्ने विषयमा अनिच्छा व्यक्त गर्न थाल्छन् । यस्तो समस्या लगभग संसारभरिकै महिलाहरूमा देखापर्छ । यसको कारण प्राकृतिक नै भएको विज्ञहरूले बताउँदै आएका छन् । यसबाहेक यसका लागि महिलाहरूको उक्त उमेरपछि यौनांगमा देखिने सुख्खापन र त्यसले सिर्जना गर्ने पीडा पनि जिम्मेवार रहेको उक्त अध्ययनले बताएको छ । अध्ययनअनुसार उमेर सँगसँगै देखापर्ने यौन उत्तेजनामा कमीका लागि न्यानोपनको अभाव, निद्रा खल्बलिन सक्ने सम्भावना, सुख्खा योनी, पीडादायक यौनसम्पर्क जस्ता कुराहरू जिम्मेवार हुन्छन् ।