सामान्य अर्थमा यूटीआई भनेको पिसाब नली, पिसाब थैली वा मृगौलाको ब्याक्टेरियल संक्रमण हो । महिलाहरूको पिसाब नली (युरेथ्रा) सानो अर्थात् करिब ४ सेन्टिमिटरको हुन्छ । त्यसैले योनिमार्ग तथा मलाशयमा प्राकृतिक रूपमा पाइने ब्याक्टेरिया नै पिसाबनलीमा पुगेर संक्रमण गर्छिन् । यही कारणले महिलाहरूमा यूटीआई हुने सम्भावना बढी हुन्छ ।
२० वर्ष नाघेका करिब एकतिहाई महिलामा कम्तीमा एक पटक यूटीआई भैसक्ने तथ्याङ्कले देखाउँछ । पानी कम सेवन गर्ने तथा पिसाब मार्गको पत्थरीले पनि यूटीआईको सम्भावना बढाउँछ । यूटीआई पुरुषलाई नहुने त होइन, तर तुलनात्मक रूपमा महिलालाई बढी हुन्छ । ई. कोलाई नामक ब्याक्टेरिया यूटीआईको प्रमुख कारण हो । यूटीआई भएका बेला ज्वरो आउने, वान्ता हुने, पेट दुख्ने, बारम्बार पिसाब आउने तथा पिसाब पोल्ने आदि हुन सक्छ ।
यूटीआई जीवाणुहरूको संक्रमणले गर्दा हुने रोग हो र यसलाई औषधिको सेवनले पूर्ण रूपमा निको पार्न सकिन्छ, तर पनि पटक–पटकको समस्याले बिशेषगरी महिलाहरू पीडित तथा चिन्तित भएको पाइन्छ । त्यसैले यस्ता बिमारीको उपचार गर्दा एन्टिबायोटिक्सको मात्रा पूरा गरेर मात्र पुग्दैन । संक्रमणको मुख्य कारक नै पत्ता लगाउनु आवश्यक हुन्छ ।
यूटीआईको उपचार गर्दा ब्याक्टेरियाको कल्चर गर्नुपर्ने तथा आवश्यक भए सिस्टोस्कोपी तथा युरोलोजिस्टको सहयोग समेत लिनुपर्ने हुन सक्छ । यसबाहेक व्यक्तिगत सरसफाइमा ध्यान पुर्याउने तथा प्रशस्त पानी पिउने जस्ता सामान्य गतिविधिले पनि यो समस्या कम गर्न सकिन्छ । यसमा योनिमार्गको सफाइ एवं महिनावारीका क्रममा सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ ।