चाडबाडका बेला घरमा बढी चहलपहल हुन्छ । अझ दसैंको लामो बिदामा बालबालिकाहरू मात्र होइन, घरका सबै सदस्यको जमघटले छुट्टै रमाइलो महसुस गराउँछ । यस्तो जमघटमा घरका गृहणीहरूमा थप भार पर्छ । किनमेल, पाहुना सत्कार, भान्साको काम तथा घरको सजावट यी सबै भार मुख्य रूपमा घरका गृहणीहरूमाथि हुन्छ, तर यस्तो अवस्थामा पनि गर्भवतीहरूको स्याहारमा कमी आउन दिनु हुँदैन् ।
विशेषगरी तीन महिनाभन्दा कम तथा सात–आठ महिना पुगिसकेका गर्भवतीहरूको विशेष स्याहार गर्नुपर्छ । तीन महिना नपुगेका गर्भवतीहरूमा शारिरिक दौडधूप तथा मानसिक तनावका कारण गर्भ खेर जाने सम्भावना बढी हुने भएकाले गर्भवतीले लामो यात्रा गर्ने, भारी बोक्ने, धेरै दौडधूप गर्ने तथा तनावमा बस्ने जस्ता काम गर्नु हुँदैन । गर्भवतीहरूले खानामा रुचि कम भए पनि बारम्बार थोरै–थोरै खाने तथा पानी बढी पिउने बानी बसाल्नुपर्छ ।
सामान्यत: ३ महिनादेखि ६ महिनासम्मको गर्भ बढी सुरक्षित हुन्छ र यतिबेला त्यति गार्हो नहुन सक्छ, तर ६ महिना पुगिसकेका गर्भवती महिलाहरूले बढी सजग हुनुपर्छ । लामो यात्रा गर्ने, भारी बोक्ने, धेरै दौडधूप गर्ने आदि काम गर्नु हुँदैन । उनीहरूमा शारिरिक वा मानसिक तनावले गर्भको अवधि पूरा नहँुदै व्यथा सुरु हुन सक्छ । त्यसैले त्यस्ता गतिविधिमा सरिक नभै आराममा बढी जोड दिनु पर्छ, तर पूर्ण बेडरेस्ट गर्नु हँुदैन । चाडबाडमा अस्पतालहरूमा कतिपय सेवा बन्द गरिएको हुन सक्छ । त्यसैले आपत्कालीन अवस्थामा कुन अस्पतालमा सम्पर्क गर्ने आफ्नो चिकित्सकसँग सल्लाह गर्नुपर्छ ।