चाडपर्वका बेला धेरैजसोको घरमा रातो मासु पाक्छ । रातो मासुअन्तर्गत खसी, बोका, बंगुर, बँदेल, राँगा आदिको मासु पर्छन् । लामो छुट्टी हुने भएकाले दसैंका बेला धेरै मानिस घरमै बस्ने भएकाले खाना राम्रोसँग पच्न पाउँदैन । चाडपर्वमा आफ्नो स्वास्थ्यलाई ध्यान दिएर खानपान गर्नुपर्छ । यसका लागि डाइटिसियन रश्मी बजिमय श्रेष्ठको सुझाव :
ग्याँस्ट्रिकको समस्या भएकाहरूले चिल्लो तथा बोसोयुक्त एवं तारेको मासु खानु हुँदैन । बिरामी वा दीर्घ रोगीले सकेसम्म उसिनेको मासुमा लसुन, जिराको धूलो, बेसार, नुन तथा थोरै ओलिभ ओयल हालेर खानुपर्छ ।
मधुमेहका बिरामीका लागि रातो भन्दा पनि सेतो मासु तथा माछा उपयुक्त हुन्छ । मधुमेहका बिरामीले २० देखि २५ प्रतिशत क्यालोरी प्रोटिनबाट लिनुपर्छ ।
उच्च रक्तचापका बिरामीले तोकिएको मात्रा भन्दा बढी रातो मासु खानु हुँदैन । किनभने यसमा स्याचुरेटेड फ्याट बढी हुन्छ । यसले गर्दा कोलस्टेरोल तथा ट्राइग्लिसिरोइड बढ्छ । फलस्वरूप मुटुमा असर पर्ने जोखिम हुन्छ ।
मुटुरोगीले आफ्नो स्वास्थ्यलाई बेवास्ता गरी चिल्लो तथा पीरो खानेकुरा बढी खाए उच्च रक्तचापका साथै स्ट्रोकसमेत हुन सक्छ । यसैगरी मुटुको नशा साँघुरिएका बिरामीले पनि रातो मासु खानु हुँदैन । यस्ता बिरामीले कुखुरा तथा माछा ग्रिल गरेर खानु लाभदायक हुन्छ ।
युरिक एसिडका बिरामीले पनि रातो मासु खानु हँुदैन । यसमा भएको प्युरिन कन्टेन्टले युरिक एसिड बढाउँछ । युरिक एसिडका बिरामीका लागि माछा लाभदायक हुन्छ ।
मिर्गौलाका बिरामीले रातो मासु, प्रोटिन तथा पोटासियमयुक्त खाना कमै मात्रामा खानुपर्छ ।
कोलस्टेरोलका बिरामीले रातो मासु, कलेजो तथा फोक्सो खानु हुँदैन । गेडागुडी, कुखुराको मासु तथा माछा नतारी थोरै तेलमा बेक गरेर खानु लाभदायक हुन्छ । यस्ता बिरामीले हरियो तरकारी तथा सागपातमा पनि उत्तिकै जोड दिनुपर्छ ।
कलेजोका बिरामीले कलेजोलाई असर पार्ने खानेकुरा अल्कोहल तथा मासु खाँदा विशेष ध्यान पुर्याउनुपर्छ । रक्तअल्पता भएकाहरूका लागि कलेजो फाइदाजनक हुन्छ, किनभने यसमा प्रशस्त मात्रामा आइरन हुन्छ ।
अपच भए के गर्ने ?
मासु खाएपछि मेवाका केही टुक्रा खाए राम्रोसँग पच्छ भने झोल कुरा तथा पानी प्रशस्त मात्रामा पिउनुपर्छ । खानेकुरा खाएपछि व्यायाम गर्नुपर्छ । यस्तो स्थितिमा ग्रिन सलाद तथा ज्वानो–पानीमा बीरेनुन हालेर पिउन सकिन्छ ।
शारीरिक अभ्यास पनि
यतिबेला सबैजसो फेस्टिभ मूडमा हुन्छन् । मासु तथा अन्य खानेकुरा खाने तथा बसी–बसी तास खेल्ने क्रममा शारीरिक व्यायाम हुन पाउँदैन । यसले गर्दा शरीरमा कोलस्टेरोल तथा ट्राइग्लिसिरोइडको मात्रा वृद्धि हुन्छ । खानाका साथै शारीरिक अभ्यास गरे खाएको कुरा पचेर शरीरलाई फाइदा मिल्छ । घरमै पनि विभिन्न किसिमका शारीरिक व्यायाम गर्न सकिन्छ ।