
साप्ताहिक संवाददाता
बहादुर शाहको हस्तक्षेप राजा प्रतापसिंह शाहकी विधवा राजमाता राजेन्द्रलक्ष्मीलाई मन परेन, तसर्थ राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई कैद गरेर सत्ता आफ्नो हातमा लिइन् । दोस्रो पटक आफ्नै भाउजूद्वारा कैद गरिएका बहादुर शाहलाई त्यतिबेला पनि राजगुरु गजराज मिश्रले नै थुनामुक्त गराए, तर यसपटक बहादुर शाहले निर्वासनमा नगै उल्टै आफ्नी भाउजूलाई कैद गरेर सत्ता हत्याए । बहादुर शाहको यस्तो प्रतिघातपछि राजेन्द्रलक्ष्मी चुप लागिनन् । उनले केही भारदारको सहयोगमा फेरि बहादुर शाहविरुद्ध विद्रोह गर्दै सत्ता कब्जा गरेर बहादुर शाहलाई थुनामा राख्ने आदेश दिइन् । तेस्रो पटक कैद गरिएका बहादुर शाहलाई एकपटक फेरि राजगुरु गजराज मिश्रले नै थुनाबाट छुटाए । थुनामुक्त भएपछि बहादुर शाह फेरि आफ्नी भाउजूविरुद्ध षड्यन्त्रको तानाबाना बुन्न थाले । उता राजेन्द्रलक्ष्मी सोचेजस्तो अबला नारी थिइनन् । उनले बहादुर शाहको कठोर प्रतिकार गर्दै आफ्नो सत्ता कायमै राखिन् । अन्तत: भाउजूसँगको राजनैतिक घात-प्रतिघातबाट थाकेर बहादुर शाह वि.सं. १८३८ को वैशाख महिनामा बेतिया हुँदै पटना स्वनिर्वासनमा गए । वि.सं. १८४३ मा राजमाता राजेन्द्रलक्ष्मीको निधन भएपछि मात्र बहादुर शाह नेपाल फर्किए ।



