हाम्रो इतिहासको कालखण्ड बुझाउने चित्र आज बेलायत, अमेरिका, अस्ट्रेलिया, ताइवान र विभिन्न मुलुकमा पुगेका छन्,
चित्रले कुनै पनि समाजको संस्कृति, सभ्यता र इतिहास बोल्न सक्छ । अझ ऐतिहासिक चित्र हुन् भने त तिनले आफ्नो समयको समाज नै अभिव्यक्त गर्छन् । इतिहासमा चित्रकलाको भूमिकाबारे कलाकार एकाराम सिंको बुझाइ पनि यस्तै छ । कलाकार सिं र चित्रकलाबीचको सम्बन्ध घनिष्ठ र बेजोड किसिमको छ । नजिकबाट नेपाली इतिहासको चित्रकला, समाज, सभ्यता तथा संस्कृति बुझ्नेहरू उनलाई यी चित्रकला र इतिहास अध्ययनका परिपूरक मान्छन् ।
सिंमा सानैदेखि नेपाली कला, इतिहास तथा भूगोलसम्बन्धी भोक थियो । उनी विद्यालयमा छँदै अर्थात् बाल्यकालदेखि नै चित्र कोर्थे । त्यसको भोकले उनलाई यतिसम्म बेचैन बनायो कि उनले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरसमेत इतिहास, कला तथा संस्कृति विषयमै गरे । उनको अध्ययनको भोक यतिमा मात्रै सीमित भएन । उनले विभिन्न नेपाली चित्रकलाहरूका बारेमा रिसर्चसमेत गरे । जहाँ उनलाई समय–समयमा नेपालबाट विदेश पुगेका नेपाली चित्रकलाहरूको बारेमा थाहा पाउने अवसर मिल्यो । उनले त्यही क्रममा नेपालका त्यस्ता चित्रहरूका बारेमा जानकारी पाए, जुन नेपाल र नेपालीले नबुझेको तर, विदेश र विदेशीले चिनेर विदेशसम्म पुर्याएका थिए । ती चित्रहरूको अध्ययन गर्दै जाँदा उनलाई ती चित्रले नेपालको धेरै महत्त्व बोकेको र त्यसलाई जसरी भए पनि हुबहु उतार्नुपर्छ भन्ने लाग्यो ।
नेपाली इतिहास र सभ्यता बोकेका ती चित्र हेर्नका लागि नेपालीहरू विदेश जान नसक्ने र त्यसको नेपालमै जर्गेना गर्नुपर्छ भन्ने उद्देश्यले उनले तिनै चित्रहरू बनाउन थाले । एकाराम विगत २० वर्षदेखि नेपाली इतिहास बोकेका चित्रहरूको अध्ययन, निर्माण, जर्गेना तथा सूचना दिने काममा सक्रिय छन् । यो बीचको अवधिमा उनले लिच्छविकालीन समय, मल्लकालीन समय, राणाकालदेखि शाह राजासम्मको चित्रका साथै विभिन्न देवीदेवताका चित्रहरू कोरेका छन् ।
उनका चित्रहरूमा केही शाह राजाहरू, मल्लकालीन समयका राजा भूपतेन्द्र मल्ल, खस प्रदेशका राजा रिपु मल्ल, ललितपुरको पाटनमा कृष्ण मन्दिर बनाउने सिद्धिनरसिंह मल्ल, राजाहरूमा नेपालेश्वरका नामले चिनिने राजा जयप्रकाश मल्ल, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाह र पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणासमेत अटाएका छन् ।
त्यस्तै उनले काठमाडौं उपत्यकाका नेवार समुदायले महत्त्वका साथ हेर्ने बिस्केट जात्रा, काठमाडौं उपत्यकामा आक्रमण गर्न आएका पाल्पाका राजा मुकुन्द सेन र उनका सैनिक, विभिन्न तान्त्रिक चित्रहरू, नेपालको सती प्रथा, बाइसे चौबीसे राज्यअन्तर्गतको कान्तिपुरको तत्कालीन समयको नक्सा, मल्लकालीन समयको शपथपत्र, केही वाल पेन्टिङ तथा केही देवीदेवताका चित्रहरू बनाएका छन् । ती चित्रहरू बनाउन उनले जीवनको ६ महिनादेखि ३ वर्षसम्म खर्चिएका छन् ।
ती सबै चित्रले नेपालको विभिन्न समयको तत्कालीन समाज, चालचलन, परम्परा, रीतिरिवाज, संस्कृति तथा सभ्यताका बारेमा बुझ्न मुख्य भूमिका खेल्छ । माथि उल्लेख गरिएका चित्रहरूमध्ये केही मात्र नेपालमा रहेका तर प्राय:जसो सबै चित्र विभिन्न देशमा पुगिसकेको इतिहासविद् तथा कलाकार एकाराम सिं बताउँछन् । हाम्रो इतिहासको कालखण्ड बुझाउने चित्र आज बेलायत, अमेरिका, अस्ट्रेलिया, ताइवान र अन्य विभिन्न मुलुकमा छन्, ती चित्रहरूको राज्यले संरक्षण गर्न नसक्नु दु:खको कुरा भएको उनी बताउँछन् ।
‘नेपाली समाजका हाम्रा केही त्यस्ता चित्रहरू थिए, जुन चित्रहरू केवल चित्र मात्र नभएर त्यो बेलाको इतिहास तथा सभ्यतालाई बोक्ने काम गरेका थिए । इतिहासका चित्रहरूलाई हामीले चिन्न सकेनौं, बरु विदेशीले चिन्यो, सिं भन्छन्– ‘त्यही भएर आज हाम्रा मौलिकता बोकेका नेपाली चित्रहरू विदेशका संग्रहालयमा छन् । हाम्रोमा त एउटा चित्र राख्ने म्युजियमसम्म पनि छैन । एउटा छ भक्तपुरमा आर्ट म्युजियम, त्यहाँबाट पनि हाम्रा चित्रहरू चोरी भएका छन् । अहिले त्यहाँ ( म्युजियम) बाहिर सस्तो मूल्यमा पाइने थान्काहरूले भरिएका छन् । आफ्नो देशको मौलिकता जोगाउने काममा राज्य नै अग्रसर भएर लाग्नुपर्ने हो, तर राज्य यस्तो कार्यमा चासो नभएको जस्तो देखिन्छ ।’
एकारामको मुख्य उद्देश्य चित्रको माध्यमबाट परापूर्वकालको इतिहास, त्यो बेलाको सभ्यता, चित्र लेखन, समाज, मौलिकता, लिपि, भाषा तथा राजा–महाराजाका बारेमा अहिलेको मानिसलाई बुझाउन खोज्नु तथा सूचना दिनु हो । उनी आफैं बिस्तारै आर्टसम्बन्धी एउटा म्युजियम बनाउने योजनामा छन्, जहाँ उनले आफूले बनाएका चित्रहरू राख्नेछन् । एकाराम नेपाल इतिहास झल्काउने कुनै पनि चित्र बेच्न चाहान्नन् । चित्रहरू आफूलाई आफ्नो सन्तानजस्तो लाग्ने कारणले पनि उनलाई त्यसमा रुचि लाग्दैन ।
राज्यले पनि इतिहास बुझाउनका लागि किताबको प्रयोग गर्ने गर्छ तर अझैसम्म पनि चित्रलाई पुरातात्त्विक विषय नभनेर संरक्षण गर्ने गरेको छैन । पहिला चित्र नै त्यो एउटा आधार थियो, जसले अहिलेको जस्तो क्यामेरा नभएको समयमा पनि इतिहासलाई जोगाउने, बुझाउने तथा चिनाउने काम गरेको थियो ।
वि.सं २०७१ मा भक्तपुरको काष्ठमण्डपमा माथि भनिएजस्तो २५ वटा चित्रलाई उनले प्रदर्शन गरे । पुरातत्त्व विभागले १५ दिनका लागि प्रदर्शन गर्न अनुमति दिए पनि मान्छेको उल्लेख्य भीड र काष्ठमाण्डपको पुरानो संरचनाका कारण उनले त्यो प्रदर्शनी ३ दिनभन्दा बढी देखाउन सकेनन् । उक्त मन्दिर ०७२ सालको भूकम्पले भत्कायो । त्यसयता उनले पनि विभिन्न कारणले इतिहास बोकेका आफ्ना चित्रहरू देखाउन पाएका छैनन्ध ।
मुख्य तस्बिर : कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल । यिनी राजाहरूमा नेपालेश्वर उपनामले समेत चिनिन्छन् । जयप्रकाशको शासन कालमा कान्तिपुर राज्य स्वर्णयुगमा प्रवेश गरेको विश्वास गरिन्छ ।
इन्सेटमा : मल्लकालीन समयमा भक्तपुरका राजा रञ्जित मल्लले पाटनको राजाको पद खाली भएपछि भक्तपुरसँगै पाटनको पनि विकास गर्ने र जनताहरूलाई कुनै किसिमको दु:ख दिन्न भनेर मणि मण्डप गणेशलाई साक्षी राखेर खाएको शपथ पत्र ।