हरियाली वातावरण र नीलो आकाशलाई प्रदूषित पार्दै सडकदेखि अलि परका गाउँबाट धूलोको ठूलै मुस्लो निस्कियो । त्यो घरहरू ढलेको संकेत थियो । यतिबेलासम्म सबैको अनुहारमा त्रास छाइसकेको थियो । ‘बस रोकौं न बस रोकौं न,’ डा. कमला मगर मलीन स्वरमा भनिरहेकी थिइन् । सडक वरिपरि ढल्न लागेका घरहरू मात्र देखिँदै गए । हूलका हूल मानिस खाली स्थानमा भेला भैसकेका थिए । केहि मिनेटमा बस जिरो किलो पुगेर रोकियो । त्यतिबेला थाहा भयो २९ वैशाखको भूकम्प ६.८ रेक्टरको रहेछ । बसको गुडाइका कारण हुनुपर्छ, यति ठूलो भूकम्पमा पनि हामीले जमिनको कम्पन महसुस गरेनौं ।
जिरो किलोमा पराकम्पनले निरन्तर झस्काइरह्यो । सबैले आ–आफ्नो परिवारसँग सम्पर्क गर्न थाले तर समस्या नेटवर्कमै थियो । फोन लाग्यो भने आफूलाई भाग्यमानी मान्नुपर्ने अवस्था थियो जुन स्थिति १२ वैशाखको महाभूकम्पलगत्तै पनि बेहोरिएको थियो । महाभूकम्पले ‘कोमा’मा पुर्याएको काठमाडौं अब ध्वस्तै भएजस्तो लाग्यो । विस्तारै फोन लाग्यो र काठमाडौंको स्थिति त्यति बिग्रिएको छैन भन्ने थाहा भयो र अहिलेको भूकम्पको केन्द्रबिन्दु दोलखा र सिन्धुपाल्चोकको सीमा भएको पनि । दोस्रो सूचनाले हामीलाई झस्कायो । किनभने ६ चित्किसकसहितको हाम्रो टोली दोलखाको विकट गाउँहरू ठूलो पातल, गैरीमोदी र मिर्गेका भूकम्प पीडितहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न हिडेको थियो ।
‘जिल्ला पुरै ध्वस्त छ, सडकमा सुक्खा पहिरो आइरहेको छ । अब जान सक्ने अवस्था छैन, तपाईंहरू त्यहीबाट फर्कनुस्,’ गन्तव्य स्थलका स्थानीय बासिन्दाको कुरा दोलखाका विष्णु ठोकरले सुनाए । केही साथी घर फर्कौं भन्न थाले । छिनछिनमै आइरहेको पराकम्पको त्रासले जिरो किलोका होटलमा खाना खान पनि बारम्बार भित्रबाहिर गर्नुपर्यो । स्वयम्सेवा गर्न निस्किएकाले काम गर्ने अवसर यही हो भन्ने पनि लाग्यो । टिम लिडर कुसुम मगरको उत्प्रेरणात्मक ‘ब्रिफिङ’ अनुसार जहाँसम्म बस जान्छ, त्यहीसम्म पुग्ने निर्णयसहित जिरो किलोको बसाइ डेढ घन्टामै टुंग्याएर हामी चरिकोटतर्फ लाग्यौं ।
क्षतिग्रस्त घरहरू नियाल्दै अघि बढ्दा भेटिएका सबै प्रहरी र अरु मान्छेले सुक्खा पहिरोले बाटो छेकिएको छ नजानुस् भने, तर हामी पहिरोले आधा छोपिएको सडकको परवाह नगरी अघि बढिरह्यौं । चरिकोटनजिक पहिरोले पुरै सडक थुनेपछि प्रहरीले ‘रिस्क’ नलिनु भन्दै खरीढुंगामै सबै सवारी रोकेको रहेछ । बाटो पन्छाउन आएको प्रहरी टोली पनि त्यही भेटियो । भूकम्पपीडितहरूलाई सहयोग गर्न आएको भन्दै अनुरोध गरेपछि प्रहरीले अघि बढ्न त दियो तर ठाउँ ठाउँमा चिरिएको सडकले थप त्रसित बनाइदियो । करिब एक घन्टाको प्रतीक्षापछि डोजरले बाटो खोल्यो र राजधानी छाडेको नौ घन्टामा चरिकोट पुगियो ।
बेलुका ८ बजे चरिकोट पुग्दा अँध्यारो भैसकेको थियो । खाना खाने कुनै पनि होटल खुला थिएनन् । सबैले घर छाडेर खाली स्थानमा पालमुनि बास बनाएका थिए । हामीले पनि टुँडिखेलमा बसभित्रै रात काट्यौं । बिहान पाँचै बजे उठेर पहाडी सहरको फन्को मारियो । यतिबेलासम्म चरिकोटले आफ्नो कृत्रिम सौन्दर्य (गगनचुम्बी महल) गुमाइसकेको रहेछ । अधिकांश पुराना र थुप्रै नयाँ घरले उभिन छाडीसकेछन् । गल्लीबीचका घरहरूको छत जोडिएछ । चरीघ्याङ जाने सडकमा त घरहरू पैदल हिँड्नेलाई तत्कालै किचुँलाझैं गरेर कोल्टिएछन् । नगरबीचकै सडक चिरिएछ । ‘यहाँ म्यानेजर अझै पुरिएका छन्, निकाल्नै बाँकी छ, डोजर र स्काभेटर नल्याई लास निकाल्न सकिँदैन,’ एकाबिहानै अरनिको विकास बैंकअघि स्थानीय बासिन्दाहरू भन्दै थिए ।
..............................................
सुन लुटिएको खानी
यसबीच हाम्रो गन्तव्य फेरियो । २७ जनाको टोली २९ वैशाखको भूकम्पको केन्द्रबिन्दु भनिएको सुनखानीतर्फ मोडियो । पहिलेको गन्तव्यभन्दा केन्द्रबिन्दु वरपर समस्या बढी भएको अनुमान थियो । कच्ची सडकमार्फत् सुनखानीतर्फ ठूलो बसमा अघि बढ्दा मानिसहरू अचम्भित हुँदै हेरिरहेका थिए । उनीहरूको हेराई, प्रत्येक घुम्तीमा चिरिएका सडक र भत्किएका खोल्सीले हामी सुरक्षित छौं भन्नेमा शंका–उपशंका उब्जाइरह्यो ।
जहाँसम्म बस पुग्छ, त्यही शिविर चलाउने योजना थियो । गुरुजी आँटी थिए । चिरिएकै भागतिर बस गुडाउँदै उनी भन्थे, ‘जहाँसम्म बस गुड्छ, त्यहीसम्म लान्छु ।’ मैले सोचे, ‘पानी पर्यो वा भूकम्पले बाटो बन्द गरिदियो भने हामी त हिँडेरै भएपनि फर्कनेछौं तर बस दोलखामै रहलाजस्तो छ ।’ चरिकोटबाट डेढ घन्टामै सुन्द्रावती हँुदै सुरक्षितसाथ सुनखानी पुगियो ।
स्वास्थ्य चौकीको दुईमध्ये एक भवन कतिबेला ढल्छ भन्ने अवस्थामा थियो । अर्को भवन पनि सग्लो थिएन । त्यहीनजिक वर–पीपलबीचको चउरमा टेन्ट राखेर केही बेरमै स्वास्थ्य शिविर सुरु भयो । सिंगटीको छिमेकी यो गाउँका सिकिस्त बिरामीलाई हेलिकप्टरले चरिकोट र काठमाडौं पुर्याइसकेको थियो । स्थानीय बासिन्दाहरू बिस्तारै भेला हुन थाले, कुनै पनि मुहार उज्यालो थिएन । थियो त केवल बाघको पन्जाबाट फुत्किएको मृगकोजस्तै ।
बारीमा गहुँ पाकेर भित्र्याउने बेला भएको छ । गाविस सचिव दिलबहादुर आचार्य कुनै पनि सार्वजनिक भवन, विद्यालय तथा क्याम्पस सीधा नभएको, खानेपानीका सेवा ठप्प भएको बताइरहेका थिए । पूरा गाविसमा एकमात्र शौचालय सुरक्षित थियो । ‘वैशाख १२ गतेको महाभूकम्पमा जेजति बचेको थियो, ती सबै २९ गतेले निमिट्यान्न पारिदियो । कुनै पनि घर पस्न सक्ने अवस्था छैन,’ आचार्यले भने । ६६ वर्षीय मनमाया शिवाकोटीले भनिन्, ‘आउँदैछु भनेजस्तो गरेर भूकम्प आयो, आइरह्यो र फेरि आउँदैछु भनेजस्तो गरी गयो ।’
घर क्षतिग्रस्त भएपछि नजिकको पाटोमा चित्रा, जस्ता र त्रिपालले बारेर बनाइएका टहरा देख्दा लाग्थ्यो, सुनको खानी (सुन जोड खानी) बाट सुन लुटिएको छ । नजिककै पहाडमा सुक्खा पहिरो गैरहेको देखिन्थ्यो । द्वन्द्वकालमा बम पड्किएजस्तै आवाज निकालेर पराकम्पन आइरहेको थियो । यस्तोमा उनीहरू अभ्यस्त भैसकेका थिए । उनीहरू प्रत्येक कम्पनमा एकअर्कालाई हेराहेर गर्थे, किनभने जति तर्सिनु तर्सिसकेका थिए ।
राति हामी टेन्टमा सुत्यौं । तैपनि आवाज दिएर आउने पराकम्पका कारण त्रासमुक्त थिएनौं । वर–पीपल घेरिएका ढुंगा आइहाले छेकिएला भनेर टाउकोनजिक राखिएको झोलामा प्रत्येक ब्युँझाइ—झस्काइलगत्तै हात पुग्थ्यो । बिहानीपखको पराकम्पनले नजिकैको घर गल्र्याम्मै ढाल्यो । त्यतिबेला दोर्जे तामाङ ‘हैट’ भन्दै जुरुक्क उठे । विहान सवा ३ मात्र भएको थियो । कुखुरा बास्न थाल्यो । यस्तैमा निदाइएछ ।
पहिरोका कारण बस लिएर ठूलो संख्यामा मानवीय क्षति भएको सिंगटी जानसक्ने अवस्था थिएन । त्यसैले ३१ वैशाखमा सुन्द्रावती फर्किएर भत्किएको विद्यालयको आँगनमै स्वास्थ्य शिविर सुरु गर्यौं । जहाँबाट सुक्खा पहिरो गैरहेको पहाड अगाडि नै देखिन्थ्यो । अघिल्लो दिन नदी किनारमा अमेरिकी मरिन कप्र्स हेलिकप्टरको खोजी भैरहेको थियो । हेलकप्टरले बिहीबार कालिन्चोक डाँडामा फन्को मारिरहेको थियो ।
सुन्द्रावतीमा पनि कुनै त्यस्तो घर थिएन, जुन भूकम्पले क्षति नपुर्याएको होस् । यहाँ सूर्यास्तसम्म पनि बिरामीको लस्कर लाग्यो । भोलिपल्ट फर्कने बेला पनि हूलका हूल मानिस आएका थिए । यसमा कहिल्यै औषधि नलिएका ८० वर्षीय भक्तमाया थामी र सुखमाया थामी पनि थिए । भूकम्पमा घाइते भएकाहरूलाई बोकेरै शिविरसम्म ल्याइएको थियो ।
..............................................
९१ का जवान
‘मेरी श्रीमतीलाई अलि सन्चो छैन, हेरिदिनुपर्यो,’ कडा स्वरमा टेकबहादुर वलीले भने, ‘उनी यहाँ आउन सक्दिनन् । घरमै जानुपर्यो ।’ दम्पतीकै उमेर ८०—८० वर्ष लेखाइयो तर, छोरी पार्वतीका अनुसार ८४ वर्षको पूजा गरेकै ७ वर्ष भैसक्यो । हट्टाकट्टा देखिएका टेकबहादुर दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएका थिए, बिस्तारै टोपी खोल्दै गफिन थाले, ‘भूकम्पपछि श्रीमती ओछ्यानमै छे । म उनलाई छाडेर कही जान सक्दिन, हेरेरै बसिरहेको छु । उनी यहाँ आउन नमानेर हो नत्र म आफैं बोकेर ल्याउँथे ।’
उनको कपालले ढाका टोपी उछिन्दै कान छोपेको थियो । वलीले भने, ‘यो त राख्नैपर्यो नि । जमानामा त अझ कस्तो थियो । अहिले पो अलि बूढो भइयो त ।’ भूकम्पले घर क्षतिग्रस्त भएपछि उनले बाँसको खम्बा, चित्रा, स्याउला र पुराना पाल उपयोग गरेर बारीको पाटोमा टहरो बनाएका छन् । त्यसमा भित्र छिर्ने द्वार मात्र छैन, सँगै टाँसिएको भान्छा कोठा पनि छ । मोहीले भरिएको ठेकी पनि थियो । पानी परे तर्काउन कुलो खनिएको छ । टहरा अस्थायी होइन, स्थायी बसोबासकै लागि योग्य हुने गरी बनाइएको थियो । त्यो पनि आफ्नै बलबुतामा ।
टहराबाटै भत्किएको घरभित्र भकारी र भाँडाकुडा देखिन्थ्यो । ‘निकाल्न सेनालाई अनुरोध गरेको थिएँ, तर ठूलो क्षति भएकैमा व्यस्त रहेछ,’ उनले भने, ‘गहँु पाक्यो तर भित्र्याउने ठाउँ छैन ।’
..............................................
१ जेठमा सुन्द्रावतीबाट चरिकोट फर्कंदा बाटोमा चराचुरुंगीको चिरबिराहटले भूकम्पले आहत बनाएको मस्तिष्कलाई राहत दियो । पँहेला ऐसेलु र काफलले जंगलको आकर्षण विछट्टै थियो । चिरिएकै बाटोमा बसभित्रबाट त्यसलाई नियाल्दै भूकम्पपछि पनि सग्लै रहेको भीमेश्वर मन्दिरको दर्शन गरियो । भीमेश्वरलाई पसिना आएको (अनिष्टको संकेत) र नजिककै त्रिपुरासुन्दरी भने क्षतिग्रस्त भएको भीमेश्वरका पुजारी बताइरहेका थिए ।
गौरीशंकर अस्पतालले भवनबाहिरै बारीमा पालमुनि राखेर बिरामीको उपचार गरिरहेको रहेछ । भुइँमा विछ्याइएका १७ बेडमध्ये एकमा चिलंखाकी ८३ वर्षीय राममति विसंखे पनि थिइन् । सानो पेट दुख्ने समस्याले अस्पताल आएकी उनलाई हेर्न नाति संजीव (९ वर्ष) र नातिनी संजिताले (७ वर्ष) तैनाथ थिए । ‘दाई मन्दीप राहत लिन सिंगटी जानुभएको थियो तर फर्कनु भएन,’ संजीवले भने, ‘उहाँसगै गाउँबाट गएका ४० जनामध्ये ९–१० जना मात्र फर्किए । त्यसैले दाईको केहि पत्तो लाग्छ कि भनेर बुबाआमा सिंगटी जानुभएको छ ।’ १७ वर्षे दाइका सम्बन्धमा उनलाई थप प्रश्न सोध्ने हिम्मत आएन ।
राजधानी फर्कंदा खाडीचौर माथिको पहाडबाट सुक्खा पहिरो निरन्तर खसिरहेको देखिन्थ्यो । खासा–तातोपानी नाकाको निक्कै व्यस्त रहने यो बजार पुरै सुनसान थियो । मानिस फाट्टफुट्ट देखिए । धेरै घर नदीतिरै ढल्किएका थिए । सँगै रहेका ब्याकुल माइला (राष्ट्रगानका रचनाकार) को कवितारूपी बोली ‘आकाश खस्ने’ सुन्दै फर्कियौं । सहचालक भाइको सिन्धुपाल्चोकस्थित परिवार सम्पर्कविहिन भएको ५ दिन भैसकेको थियो । पाँचखाल आइपुग्दा डा.राजीवरञ्जन यादवलाई बुबाको फोन आयो । सबैलाई चुप लाग्न आग्रह गर्दै उनले भने, ‘म हस्पिटलमा ड्युटी गर्दैछु ।’ फोन राखेपछि उनले प्रस्ट्याए, ‘इपिसेन्टर गएर पकिएको भन्यो भने त बुबाले मारिहाल्नुहुन्छ । काठमाडौं पुगेपछि भन्दा त डर नहुने भो नि ।’
१२ वैशाखको महाभूकम्प जाँदा म फिल्म हेर्न भनेर सिभिल मलको सातौं तल्लामा पुगेको थिएँ । त्यतिबेला बालुवा खसेको, सिसा फुटेको र बिल्डिङसँगै हल्लिएको अनुभवले आफैंलाई कुनै थ्रिलर मुभीको पात्रजस्तो बनाएको थियो । धरहरा ढलेलगत्तै मनै कुँढ्याउने लासको पोका देखियो । लगत्तै कहालीलाग्दो वसन्तपुर हेर्नुपर्यो । दोलखाबाट फर्कदा राजधानीमा पाल र टेन्ट धेरै देखिए, तर मन केहि शान्त थियो । किनभने यसपल्ट ढल्नलाई अर्को धरहरा थिएन । न त वसन्तपुरमा त्यस्तो खास बचेको पुरातात्विक सम्पत्ति नै थियो । काठमाडौंमा कम्पित घर र त्रसित मानिस मात्र थिए ।