
साप्ताहिक संवाददाता

इतिहासमा उल्लेख भएअनुसार वि.सं. १३१० को भूकम्पअघि काठमाडौं उपत्यकामा भयानक अनिकाल परेको थियो । उक्त अनिकालले उपत्यकाको ठूलो जनसंख्या प्रभावित थियो । यस्तै विपत्का बीच वि.सं. १३१० को भूकम्पले उपत्यकाका ९० प्रतिशत जनता प्रभावित भएका थिए भने आधाभन्दा बढी मानिस मारिएको अनुमान इतिहासकारहरूको छ । आजभन्दा ७ सय ६२ वर्षअघि गएको उक्त भूकम्पको धक्का कति ठूलो थियो भन्ने विषयमा भूगर्भविद्हरूले अनुमान मात्र गर्न सकेका छन् । भूकम्प विज्ञानअनुसार हरेक ७ देखि ८ सय वर्षको अन्तरालमा ९ देखि १० रेक्टर स्केलको भूकम्प जाने सम्भावना रहेको र उक्त भूकम्पपछि नेपालमा त्यति ठूलो भूकम्प नगएकाले पनि उक्त भूकम्प ९ रेक्टरस्केलभन्दा ठूलै हुनुपर्ने अनुमान अहिलेका अनुसन्धानकर्ताहरूको छ । उक्त भूकम्पअघि उपत्यकाको शासन केन्द्र देवपत्तन (अहिलेको पशुपति क्षेत्र) थियो । सम्भवत: सोही भूकम्पका कारण अहिले इतिहासमा चर्चा गरिने लिच्छवी शासकहरूको मानगृह (मानदेवद्वारा निर्मित), कैलाशकुट भवन (अंशुबर्माद्वारा निर्मित), भद्राधिवास (नरेन्द्रदेवद्वारा निर्मित) जस्ता दरबारहरू धुलिसात भए । जनसंख्याको ठूलो हिस्सा भूकम्प प्रभावित भएकाले पनि ती दरबारको पुनर्निर्माण हुन नसकेको हुनसक्छ ।
यस्तो विपद्मा राजा अभय मल्लसमेत मारिएपछि उनका जेठा छोरा जयदेव मल्लले काठमाडौं र पाटनको सत्ता आफ्नो हातमा लिएका थिए भने कान्छा छोरा आनन्द मल्लले भूकम्पले ध्वस्त भक्तपुरको पुनर्निर्माण गरेर नयाँ राज्य कायम गरेको कुरा इतिहासमा उल्लेख छ । आनन्द मल्लले नै भक्तपुरको थप सुरक्षाका लागि अहिलेको बनेपा, पनौती, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र साँगाजस्ता बस्ती बसाएका थिए, जसलाई आजभोलि संयुक्त रुपमा सातगाउँसमेत भनिन्छ ।