साप्ताहिक संवाददाता
जुलाई ८ मा अस्ट्रेलियाको सिड्नी सहरमा सम्पन्न ‘प्याजेन्ट अफ द वल्र्ड–२०१६’ शीर्षकको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाएकी जुनिता लामाले मुख्य उपाधि नै जितिन् । सन् २००३ मा आयुषा श्रेष्ठले वल्र्ड मिस युनिभर्सिटी–२००३ को मुख्य उपाधि जितेपछि जुनिता अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका लागि मुख्य उपाधि जित्ने दोस्रो युवती हुन् ।
अक्टोबर २९ मा फिलिपिन्सको मनिलामा सम्पन्न मिस अर्थ २०१६ मा मिस नेपाल अर्थ २०१६ की विजेता रोशनी खत्रीले रिसोर्ट वेयर कम्पिटिसनमा सिल्भर मेडल जितिन् । यसैगरी जापानको टोकियोमा सम्पन्न ५६ औं संस्करणको मिस इन्टरनेसनल–२०१६ मा २३ वर्षीया वर्षा लेखीले पिपल्स च्वाइस अनलाइन पोलमा सर्वाधिक मत प्राप्त गरिन् ।
१८ डिसेम्बरमा सम्पन्न मिस वल्र्ड–२०१६ मा विश्वका १ सय १६ मुलुकका सुन्दरीहरूबीच प्रतिस्पर्धा गरेकी मिस नेपाल–२०१६ की विजेता अस्मि श्रेष्ठ ब्युटी विथ पपर्स विधामा आफूलाई टप फाइभमा पुर्याउन सफल भइन् । मार्च २७ देखि अप्रिल १५ सम्म इजिप्टमा सञ्चालित ‘मिस इको युनिभर्स–२०१६’ प्रतियोगितामा नगमा श्रेष्ठलाई बेस्ट टुरिज्म भिडियोको एवार्ड प्राप्त भयो ।
डिसेम्बर महिनामा श्रीलंकास्थित बेरुवाला समुद्रीतट नजिकै सम्पन्न हेरिटेज प्याजेन्टको तेस्रो संस्करणमा नेपालकी आश्रा कुँवरले मिसतर्फ पिस एम्बेसडर तथा सिर्जना पुनले मिस टिनतर्फ टुरिज्म एम्बेसडरको एवार्ड जिते । प्रतिस्पर्धामा आश्राले इन्भाइरोमेन्टल एम्बेसडर एवार्डतर्फ सिल्भर मेडल समेत हात पारेकी थिइन् भने सिर्जना पुनले आफ्नो उमेर समूहमा कल्चरल ड्रेस तथा इन्भाइरोमेन्टल ड्रेसतर्फ क्रमश: सिल्भर तथा ब्रोन्ज मेडल जितेकी थिइन् । मिसेज समूहतर्फ सहभागिता जनाएकी मन्जु बन्जारा ढकालले भने आफ्नो उमेर समूहअन्तर्गतको इन्भाइरोमेन्ट र टुरिज्म ड्रेसतर्फ गोल्ड मेडलमा सफलता हात पारिन् । यसैगरी मन्जुले इन्भाइरोमेन्टल एम्बेसडरतर्फ सिल्भर तथा बेस्ट टुरिज्म भिडियो तथा कल्चरल एम्बेसडरतर्फ ब्रोन्ज मेडलमा आफ्नो पक्षमा पारिन् ।
पुरुषहरूमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनल–२०१६ मा नेपालका तर्फबाट पहिलो पटक सहभागिता जनाउँदै रोकेश तण्डुकारले नेसनल कस्ट्युम एवार्ड प्राप्त गरे । फिलिपिन्सस्थित भेगान कन्भेन्सन सेन्टरमा सञ्चालन भएको पहिलो संस्करणको मिस्टर टुरिज्म वल्र्ड–२०१६ मा नेपाली प्रतिनिधि सर्ज संगीत श्रेष्ठ फस्ट रनर्सअप घोषित भए । संगीतले प्रतियोगितामा डार्लिङ अफ प्रेस विधाको एवार्ड समेत हात पारे ।
अगस्ट २० मा इन्डोनेसियाको पेकानबरुमा सञ्चालन भएको पहिलो संस्करणको पुरुष सौन्दर्य प्रतियोगिता म्यान अफ द इयर–२०१६ मा २२ वर्षीय सन्दिप पोखरेल पिपल्स च्वाइस एवार्ड तथा म्यान अफ द इयर–२०१६ बेस्ट ट्यालेन्ट, मास्टर्लीको एवार्ड जिते । मे ६ मा थाइल्यान्डको चियाङमाईमा सम्पन्न मिस्टर ग्लोबल–२०१६ मा नेपालका तर्फबाट मोडल एवं अभिनेता दिक्पाल कार्कीले प्रतिनिधित्व जनाए । उक्त प्रतिस्पर्धामा दिक्पालले छैटौं स्थान हासिल गरेका थिए ।
यसैगरी फिलिपिन्समा जुलाई २२ मा सम्पन्न मिस्टर युनाइटेड कन्टिनेन्टस–२०१६ मा मनोज भण्डारीले एउटा उप–प्रतिस्पर्धामा मिस्टर हन्ड्ेरड आइल्यान्ड्सको एवार्ड प्राप्त गरे । सेप्टेम्बर १७ मा बेलायतमा सञ्चालन भएको फेस अफ द वल्र्ड इन्टरनेसनल–२०१६ मा नेपालका पीयूष कर्णले तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा उनले बेस्ट रनवे एवार्ड समेत जिते । बालबालिकाहरूसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागितासँगै सफलताले पनि यो वर्ष निरन्तरता प्राप्त गर्यो । जनवरी ३ देखि ९ सम्म रुसमा सञ्चालित प्रिन्स एन्ड प्रिन्सेस अफ दि युनिभर्स–२०१७ मा रक्षा थापाले टिन विधाको मुख्य उपाधि योङ प्रिन्सेस अफ दि युनिभर्स–२०१७’ जितिन् ।
यसैगरी जर्जियाको टिबिल्सीमा सम्पन्न लिटिल मिस युनिभर्स–२०१६ मा नेपाली प्रतिनिधि नौ वर्षीया संयुक्ति थापाले फस्ट रनर्सअपको उपाधि जितिन् । उनले उक्त प्रतियोगितामा लिटिल मिस लेडी अफ द युनिभर्सका साथै आफ्नो उमेर समूहमा यङ मिस युनिभर्स विधातर्फ फस्ट रनर्सअपको उपाधि समेत प्राप्त गरिन् । नेपाललाई बेस्ट थ्रोन्स पार्टी एवार्ड तथा बेस्ट प्यारेन्ट्स एवार्ड पनि प्राप्त भयो । बेस्ट प्यारेन्ट्सको एवार्ड संयुक्तिकी आमा रजनी थापालाई प्रदान गरिएको थियो । विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेज ग्लोब–२०१६ मा सविता पाण्डेले प्रतिनिधित्व गर्दै मिसेज एनर्जेटिक एवार्ड विजेता भइन् ।