
२०१७ को तुलनामा २०१८ बलिउडका लागि केही कारणले सुखद रह्यो । सफल चलचित्रको संख्यामा अघिल्लो वर्षको तुलनामा केही वृद्धि भए पनि दुःखद् कुरा के भो भने, २०१८ मा स्टार पावरले खासै चमत्कार गर्न सकेन । चलचित्र समीक्षकहरूका अनुसार कथावस्तु एवं प्रस्तुतीकरणमा भने बलिउडले निरन्तर फड्को मारिरहेको छ ।
ब्लकवस्टर चलचित्र
ब्लकवस्टर चलचित्र त्यो हो जसले समाजका हरेक वर्गका व्यक्तिबाट पर्याप्त पैसा असुल्छ । एउटा चलचित्र ब्लकवस्टर हुँदा पोस्टर टास्नेदेखि स्टारसम्म लाइटम्यानदेखि क्यामेराम्यानसम्मलाई खुसी तुल्याउँछ । यो वर्ष रणवीर कपुर अभिनित चलचित्र सन्जुले चित्तबुझ्दो कमाई ग¥यो । रणवीरको करिअरमा यो चलचित्र सबैभन्दा सफल चलचित्र सावित भयो । त्यस्तै चलचित्र पद्मावतको हिसाब किताब पनि राम्रो रह्यो । विभिन्न विरोधका बाबजुद पद्मावत प्रदर्शनमा आयो । चलचित्रले कमालको व्यापार ग¥यो ।
सुपरहिट चलचित्र
यो वर्ष बलिउडबाट जति सुपरहिट चलचित्र प्रदर्शनमा आए त्यसमा खासै नाम चलेका स्टार छैनन् । बधाई होले दर्शकलाई खुब हँसायो । यो चलचित्रलाई निरन्तर एक महिनासम्म दर्शकले साथ दिए । यस्तै आलिया भट्ट अभिनित चलचित्र राजीले बलिउडमा नायिका प्रधान चलचित्र पनि चल्न सक्छन् भन्ने सन्देश दियो । टाइगर श्राफ अभिनित चलचित्र वागी–२ ले पनि राम्रो व्यापार ग¥यो । वर्षको अन्तिमतिर प्रदर्शनमा आएको डव चलचित्र २.० को हिन्दी भर्सन शानदार व्यापार गर्दै सुपरहिट सावित भयो ।
हिट चलचित्र
आयुषमान खुरानाको थ्रिलर चलचित्र अन्धाधुन्दले राम्रै दर्शक जुटायो । यस्तै जोन अव्राहमको परमाणु तथा सत्यमेव जयतेले पनि आफुलाई सफल सावित गरे । वरुण धवन तथा अनुष्का शर्माको चलचित्र सुई धागाले पनि आफ्नो स्टारडम छोड्यो । जाहन्वी कपुरको पर्दापण चलचित्र धड्क हिट सावित भयो । वीरे दि वेडिङमा अधिकासं महिला कलाकार थिए तर त्यसले सम्पूर्ण किसिमका दर्शक बटुल्यो । अजय देवगण तथा अक्षयकुमार जस्ता स्टार अभिनित चलचित्र रेड तथा प्याडम्यान हिट त भए तर यी चलचित्रबाट अलिक बढी अपेक्षा गरिएको थियो ।
औसत चलचित्र
यो श्रेणीमा सामेल चलचित्रले आफ्नो लागत मात्र होइन केही नाफासमेत कमाए । अक्षयकुमारको गोल्ड बक्सअफिसमा औसत सावित भयो । सन्तोजनक व्यापार गरेका चलचित्र १ सय २ नट आउट, अक्टोवर र हिचकीमध्ये हिचकीको व्यापार केही राम्रो रह्यो ।
फ्लप चलचित्र
बलिउडका असफल चलचित्रको सूची पनि निकै लामो छ । यो सूचीका अधिकांश चलचित्रले लगानी मात्र डुबाएनन्, स्टारको स्टारडममा समेत प्रश्न खडा गरे । फ्लप चलचित्रमध्ये अमिर खानको ठग्स अफ हिन्दोस्तान सबैभन्दा माथि छ । करोडौंको लागतमा तयार भएको यो चलचित्र नराम्रोसँग पछारियो । यो चलचित्र प्रदर्शन भएको केही सातापछि आमिर खानले चलचित्र असफल भएको कुरा स्वीकारसमेत गरे । सलमान खानको चलचित्र रेस–३ पनि असफल चलचित्रको सूचीमा समाहित भयो । आशा राखिएको चलचित्र नमस्ते इंल्याण्डले केही दिनमै सबैलाई नमस्ते गरिदियो । वर्षको अन्त्यमा प्रदर्शित शाहरूख खानको जिरो पनि बक्स अफिसमा जिरो सावित भयो ।
हलिउडको दबदबा
बलिउडले संसारभर आफ्नो क्षेत्र विस्तार गरिरहेका बेला यो वर्ष बलिउड बजारमा हलिउडले राम्रैसँग आक्रमण ग¥यो । बलिउड वजारमा हलिउड चलचित्र एभेन्जर्स : इन्फिनिटी वार ब्लकवस्टर सावित भयो । यो चलचित्रले लगभग २ सय २२ करोड रुपैयाँ कलेक्सन ग¥यो । मिसन इम्पोसिवल, इन्क्रेडिवल्स–२, जुरासिक वर्ड : फलन किङ्गडम आदिले समेत बलिउडमा शानदार व्यापार गरे ।
खस्कियो स्टारडम
बलिउडका सवैभन्दा नाम चलेका स्टार्सले यो वर्ष कुनै चमत्कार गर्न सकेनन् । आमिर खान, शाहरूख खान तथा सलमान खानका चलचित्रहरू असफल भए । अक्षयकुमारको २.० त सफल भयो, तर बलिउड विज्ञहरू भन्छन्, ‘यदि रजनीकान्त नभएको भए यो चलचित्र पनि फ्लप हुन सक्थ्यो, अक्षय एक्लैले केही गर्न सक्दैनथे ।’ अक्षयको यसअघि प्रदर्शित चलचित्र प्याडम्यान गोल्डले अपेक्षाभन्दा कम सफलता पायो तर रणवीर कपुर र रणवीर सिंहका लागि यो वर्ष यादगार रह्यो । बरुण धवनको चमक मात्र देखियो । अपेक्षाकृत सफलता प्राप्त गर्न नसके पनि उनीहरूको स्टारडम भने नखस्किएको कतिपयको तर्क छ । अर्जुन कपुर तथा सिद्धार्थ मल्होत्रा लगातार पछाडि धकेलिए । टाइगर श्राफ अलिकति उक्लिए । जोन अब्राहमका लागि यो वर्ष राम्रै रह्यो । बधाई हो तथा अन्धाधुन्धपछि आयुष्मान खुराना बलिउड स्टार सावित भए । यही कुरा राजकुमार रावको हकमा पनि लागू हुन्छ । सनी देओल, गोविन्दा तथा सन्जय दत्त अव विगतका स्टार हुन भन्ने बाहेक अरू केही हुन सकेन । सोनुके टिटु स्विटीपछि कार्तिक आर्यनको कद राम्रैसँग बढ्यो । अभिषेक वच्चनले यो वर्ष पनि प्रयास बाहेक अरू केही गर्न सकेनन् । शाहिद कपूर पद्मावतको सफलतापछि मख्ख परे ।
नयाँ स्क्रिन
यो वर्ष जाहन्वी कपुर तथा सारा अलि खानले बलिउडमा पर्दापण गरे । यी दुई अभिनेत्रीलाई धेरैले लामो रेसको घोडा बताएका छन् । अभिनेत्री प्रियंका चोपडाले बलिउडमा खासै केही गर्न सकिनन् । दीपिका पादुकोण निकै चुजी भइन् । पद्मावतले उनको उचाइ डबल गरिदियो । कैटरिना कैफलाई ठग्स अफ हिन्दोस्तानको असफलताले नराम्रोसँग झड्का दियो । आलिया भट्टले राजीको प्रदर्शनपछि अब उनी बलिउडकी स्टार अभिनेत्रीको सूचीमा उक्लिदैछिन् भन्ने सावित गरिन् । अभिनेत्री अनुष्का शर्माको अनुहारमा कुनै कालो बादल लागेन । सन्जु, सुई धागा जस्ता हिट चलचित्र दिएकी अनुष्काको अभिनयको समेत प्रशंसा भयो । श्रद्धा कपुरको चलचित्र स्त्रीले पनि दर्शकको मन राम्रैसँग जित्यो । अघिल्ला वर्षजस्तो ज्याकलिन फर्नाडिस, सोनाक्षी सिन्हा आदि अभिनेत्रीका लागि यो वर्ष उपलब्धिमूलक रहेन । अभिनेत्री सोनम कपूरका लागि यो वर्ष सम्झनलायक रह्यो । पहिलो कुरा उनी विवाह बन्धनमा बाँधिईन्, अर्को कुरा सोनमद्वारा अभिनित चलचित्र प्याडम्यान, विरे दि वेडिङ, सन्जु आदि सफल सावित भए ।